26 April 2024  |   शनिबार, बैशाख १५, २०८१

बाँकेमा समुदायमा फैलियो कोरोना, तीन दिनसम्म निषेधाज्ञा जारी

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शुक्रबार, साउन १६, २०७७  

कोहलपुर ।

बाँकेमा एकैदिन थप २९ जनामा कोरोना भाइरस (कोभिड–१९) पुष्टि भएको छ । संक्रमण नियन्त्रण उन्मुख भइरहेका बेला जिल्ला पुनः संक्रमण फैलिएको हो । समुदाय स्तरमा एकै दिन थप २८ जना व्यक्तिमा बिहीवार कोरोना पुष्टि भएको छ । बिहीबार थप पुष्टि भएका जिल्लाका २९ जनामध्ये २८ जना क्वारेन्टिनमा नबसेका व्यक्तिहरु हुन् ।

त्रिभुवन चोक क्षेत्र तथा आन्तरिक राजश्व कार्यालय नेपालगञ्ज र बाँके जिल्ला अदालतबाट कोरोना संक्रमित फेला परेको जिल्ला स्वास्थ्य कार्यालय बाँके कोरोना रोग स्रोत व्यक्ति नरेश श्रेष्ठले जानकारी दिए । उनका अनुसार त्रिभुवन चोक क्षेत्रमा केहीदिन अघि गरिएको कन्ट्रयाक्ट ट्रेसिङका क्रममा एकै पटक १७ जना व्यक्तिमा कोरोना भाइरस पोजेटिभ देखिएको हो । यस्तै आन्तरिक राजश्व कार्यालय नेपालगञ्जका ५ जना कर्मचारी र ५ जना कर्मचारीका परिवार तथा बाँके जिल्ला अदालतका एक जना कर्मचारीमा कोरोना भाइरस पोजेटिभ देखिएको थियो ।

कोरोना स्रोत व्यक्ति श्रेष्ठका अनुसार यसअघि जिल्लामा संख्या घटेर १२ जना मात्र संक्रमित रहेका थिए । ‘त्रिभुवन चोक क्षेत्रमा एकै पटक धेरै ब्यक्तिमा कोरोना देखियो, राजश्व कार्यालय र अदालतका कर्मचारी तथा परिवारका सदस्यलाई देखियो, यसबाट नै कोरोना भाइरस समुदाय स्तरमै फैलिएको प्रष्ट हुन्छ,’ श्रेष्ठले भने ‘अब हामी नियम अनुसार संक्रमित ब्यक्तिको कन्ट्रयाक्ट ट्रेसिङको काम थाल्नेछौं ।’

समुदाय स्तरमा एक्कासी संक्रमण बढेपछि कोरोना नियन्त्रण तथा ब्यवस्थापन समितिको आकस्मिक बैठकले आगामी आइतबारबाट लागु हुने गरी तीन दिनका लागि बाँके जिल्लाभर पूर्ण रुपमा निषेधाज्ञा जारी गर्ने निर्णय गरेको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी एवम् समितिका संयोजक रामबहादुर कुरुङवाङले समुदाय स्तरमै २८ जना ब्यक्तिमा कोरोना पोजिटिभ देखिएपछि समितिको बैठकले बाँके जिल्लाभर पूर्णरुपमा निषेधाज्ञा जारी गर्ने निर्णय गरेको जानकारी दिए ।

‘बाँकेमा कोरोना भाइरस संक्रमितको संख्या क्रमशः घट्दै गइरहेको अवस्थामा अचानक समुदाय स्तरमै फैलिएपछि निषेधाज्ञा जारी गर्नु परेको हो,’ उनले भने ‘संक्रमितको संख्या देखियो भने निषेधाज्ञा बढाउँदै लैजाने हो ।’ त्रिभुवन चोक क्षेत्रमा फेला परेका नयाँ संक्रमितलाई लायन्स डेन्टल अस्पताल नेपालगञ्जको आइसोलेसन सेन्टरमा राखिएको छ ।

कोरोना संक्रमित निजामति कर्मचारी र उनीहरुका परिवारलाई आन्तरिक राजश्व कार्यालयलाई आइसोलेसन सेन्टर बनाएर राखिएको छ । राजश्व कार्यालयको काम काज पूर्णरुपले बन्द गरेर आइसोलेसन सेन्टर स्थापना गरी कर्मचारी र उनीहरुका परिवारलाई त्यहाँ राखिएको हो । समुदायमा कोरोना संक्रमण फैलिएपछि नेपालगञ्जबासी फेरीपनि त्रसित भएका छन् । लामो लकडाउन खुलेपछि आफ्नो नियमित कामकाजमा फर्केका नेपालगञ्जबासीलाई समुदाय स्तरमा कोरोना फैलिदाँ त्रसित गराएको हो ।

प्रकाशित मितिः शुक्रबार, साउन १६, २०७७     8:31:05 AM  |