26 April 2024  |   शुक्रबार, बैशाख १४, २०८१

बाँकेमा समुदायस्तरमा देखियो कोरोना

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शनिबार, साउन १०, २०७७  

कोहलपुर ।

पीसीआर विधिबाट कोरोना परीक्षणको लागि स्वाब संकलन गरिदैं ।

बाँकेमा क्वारेन्टिनमा बसेका व्यक्तिहरुमा मात्र नभएर समुदायका व्यक्तिहरुमा समेत कोरोना संक्रमण देखिन थालेको छ । घरमा नै बसिरहेका व्यक्तिहरुमा समेत कोरोना देखिन थालेपछि जिल्लामा समुदायस्तरमा नै कोरोना फैलिएको आशंका गर्न थालिएको हो । जिल्लामा शुक्रबार कोरोना पुष्टि भएका दुई महिला र दुई पुरुष गरी चारै जना क्वारेन्टिनमा नबसेका व्यक्तिहरु हुन् । नेपालगञ्ज उप–महानगरपालिका दुई पुरुष र कोहलपुर नगरपालिका दुई महिला क्वारेन्टिनमा नबसेका व्यक्तिहरु रहेको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।

संक्रमण पुष्टि भएका सबैजना क्वारेन्टिनमा बसेका व्यक्ति नभएको स्वास्थ्य कार्यालय बाँकेका अधिकृत तथा कोरोना स्रोत व्यक्ति नरेश श्रेष्ठले जानकारी दिए । स्वास्थ्य कार्यालयले गरेको ‘¥यान्डम स्याम्पलिङ’ को क्रममा नेपालगञ्जका पुरुषको स्वाब संकलन गरेर परीक्षणको लागि मंगलबार प्रयोगशालामा पठाइएको थियो । शुक्रबार पीसीआर रिपोर्ट आउँदा दुवै जनाको कोरोना पोजिटिभ आएको हो । कोरोना पुष्टि भएकाहरुमा नेपालगञ्ज ११ का ४० वर्षिय पुरुष र नेपालगञ्ज १२ का १८ वर्षिय पुरुष रहेको कोरोना स्रोत व्यक्ति श्रेष्ठले जानकारी दिए । उनका अनुसार ४० वर्षिय पुरुष एक एनजिओमा काम गर्छन् भने १८ वर्षिय पुरुष विद्यार्थी हुन् ।

एनजिओमा कार्यरत पुरुषले एचआइभी संक्रमितहरुलाई औषधी बाँड्ने काम गर्ने गरेको कोरोना स्रोत व्यक्ति श्रेष्ठले बताए । कर्णाली प्रदेशमा घर भएका विद्यार्थी भने केहीदिन अघि नेपालगञ्ज आइपुगेका थिए । शुक्रबार नै कोहलपुर नगरपालिका– ९ मा कोरोना पुष्टि भएका दुई महिला समेत क्वारेन्टिनमा बसेका थिएनन् । संक्रमित ४७ र २१ वर्षिय महिला बुधबार भारतबाट फर्किएर क्वारेन्टिनमा नबसेर सिधैं घर गएका थिए । बाँकेका कोरोना स्रोत व्यक्ति श्रेष्ठले दुवै जनाले बिहीवार बागेश्वरी क्वारेन्टिनमा आएर स्वाब दिएको जानकारी दिए ।

‘कोहलपुरमा संक्रमित दुवै महिलाको बिहीवार मात्र स्वाब संकलन गरिएको थियो’ उनले भने, ‘दुवै जना भारतबाट फर्किएर सिधैं घरमा पुगेको पाइएको छ ।’ बुधबार मात्र घरमै बसेकी नेपालगञ्ज–१८ की २६ वर्षिया महिलामा पनि कोरोना पुष्टि भएको थियो । १२ दिन अघि कैलालीको धनगढीबाट आएर घरमा उनी बसिरहेकी थिइन् । बाहिरबाट आएकाले शंका लागेर जाँच्न जाँदा कोरोना पुष्टि भएको हो ।

पछिल्लो केहीदिनयता आएको रिपोर्टहरुले पनि बाँकेमा समुदायस्तरमा कोरोना पुगिसकेको पुष्टि गर्ने स्वास्थ्यकर्मीहरु बताउँछन् । अब समुदायस्तरमा कोरोना परीक्षणको दायरा बढाउनुपर्ने विज्ञहरुले सुझाव दिएका छन् ।

प्रकाशित मितिः शनिबार, साउन १०, २०७७     6:54:45 AM  |