26 April 2024  |   शनिबार, बैशाख १५, २०८१

गुण्डागर्दी विरुद्ध बाँके प्रहरीको अपरेसन

मिसनटुडे संवाददाता
प्रकाशित मितिः सोमवार, अशोज १३, २०७६  

टोलीले स्थानीय प्रहरीको सहयोगमा गुण्डागर्दीमा संग्लनहरुलाई नियन्त्रणमा लिनुका साथै अन्य बिषयमा समेत सुचना संकलन गर्नेछ ।

उक्त टोलीलाई आवश्यक परे गोली हान्न सक्ने अधिकार समेत दिइएको छ ।

कृष्ण ओली । नेपालगञ्ज ।

पत्रकार सम्मेलनमा बाँकेका एसपी वीर बहादुर ओली र डिएसपी शिव बहादुर सिंह ।                           तस्बिर मिसन

जिल्ला प्रहरी कार्यालय बाँकेको गुण्डागर्दीमा संग्लन समुह तथा व्यक्तिहरुलाई खोज्न सुरु गरेको छ । केही समययता जिल्लामा गुण्डागर्दी बढेको गुनासो बढेपछि प्रहरीले गुण्डागर्दीमा संग्लनहरुलाई खोजी गर्न विशेष अपरेसन चलाउन सुरु गरेको हो । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक वीर बहादुर ओलीले गुण्डागर्दी विरुद्ध विशेष अपरेसन चलाएको चार दिन भइसकेको जानकारी दिए । ‘हामीले गुण्डागर्दीलाई टोटल जिरो बनाउनुपर्छ ।

गुण्डागर्दी कुनै पनी समाजमा असह्य हुन्छ’ आइतबार आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘कुनै पनी निहुले हामी गुण्डागर्दीको सौतावाजी गर्नेवाला छैनौं, त्यसलाई कानुन अनुसार कारवाही गर्न तयार छौं र गर्छौ पनी ।’ केही दिन पहिलेमात्र नेपालगञ्जका धम्बोझी र विपी चोकमा युवाहरुको समुहबिच खुकुरी हानाहान भएपछि प्रहरी गुण्डागर्दी विरुद्ध आक्रमक रुपमा प्रस्तुत भएको छ । विपी र धम्बोझी चोकमा खुकुरी हानाहान हुदा तीन जना युवकहरु घाइते भएका थिए ।

गुण्डागर्दी निस्तेज पार्न समुदायकसँग सहकार्य गरिने प्रहरी उपरीक्षक ओलीको भनाई रहेको छ । ‘२० बर्षभन्दा तलका धेरै बच्चाहरु हामीले यसमा संग्लन भएको देख्यौं’ उनले भने, ‘पछिल्लो चार दिन भित्र ३५ देखि ३७ जना युवाहरुलाई नियन्त्रणमा लिएका छौं ।’ त्यसमध्ये गुण्डागर्दीमा संग्लन भएकाहरुलाई मुद्दा चलाइएको उनले जानकारी दिए । प्रहरीले नियन्त्रणमा लिएका व्यक्तिहरुको फोटो समेत खिचेर राखेको छ । ‘नियन्त्रणमा लिएर छोडेका युवाहरुको फोटो खिचेर राखेका छौं’ प्रहरी उपरीक्षक ओलीले भने, ‘आउँदो दिनमा प्रहरीले मात्र एक्लै गरेको सम्भव छैन । यदी समुदाय र नागरीक समाज सबैले सहयोग ग¥यो भने हामी गुण्डागर्दी नियन्त्रण गर्न सक्छौं ।’ बाँकेका कार्यरत एक प्रहरी अधिकृतले गुण्डागर्दीमा संग्लन व्यक्तिहरुको सुची तयार पार्न निर्देशन आएको बताए । ‘गुण्डागर्दीमा कुनै पनी सम्झौता नगर्न जिल्लाबाट निर्देशन भएको छ’ ती अधिकृतले भने, ‘विभिन्न आवरणमा गुण्डागर्दी गरिरहेका युवाहरुलाई निगरानीमा राखिएको छ ।’

इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक हेम बहादुर शाहीले गुण्डागर्दीमा संग्लनहरुको खोजी भइरहेको बताए । ‘कोहलपुर क्षेत्रमा पनी गुण्डागर्दी बढिरहेको रहेछ’ उनले भने, ‘अब विभिन्न आवरणमा गुण्डागर्दी गर्नेहरुलाई कारवाहीको दायरमा ल्याइन्छ ।’ अहिले सोही अभियान अन्तरर्गत रातीमा होहल्ला गर्ने हिड्ने युवा, मादक पदार्थ सेवन गर्नेहरुलाई नियन्त्रणमा लिने काम भइरहेको उनले बताए । प्रहरी नायब उपरीक्षक शाहीले कही कतै गुण्डागर्दी भएको देखे प्रहरीलाई खबर गर्न आम मानिसहरुलाई आग्रह समेत गरे ।

शहरमा मात्र नभएर प्रहरीले गुण्डागर्दीमा संग्लनहरुलाई खोज्न एउटा विशेष टोली गाउँ गाउँमा समेत परिचालन गरेको छ । उक्त टोलीले स्थानीय प्रहरीको सहयोगमा गुण्डागर्दीमा संग्लनहरुलाई नियन्त्रणमा लिनुका साथै अन्य बिषयमा समेत सुचना संकलन गर्नेछ ।’ उक्त टोलीलाई आवश्यक परे गोली हान्न सक्ने अधिकार समेत दिइएको जिल्ला प्रहरी कार्यालय बाँकेका एक प्रहरी अधिकारीले जानकारी
दिए । वडा प्रहरी कार्यालय नेपालगञ्जका इन्चार्ज प्रहरी निरीक्षक हरी बहादुर बस्नेतले नगरमा गुण्डागर्दी सह्य नहुने बताए । ‘केही दिनयता गुण्डागर्दी विरुद्व नगरमा आक्रमक रुपमा प्रस्तुत भएका छौं’ उनले भने, ‘अब नगरमा गुण्डागर्दी गरेर जिविका चलाउछौं भनेर नसोच्दा हुन्छ ।’ वडा प्रहरीले रातको समयमा उच्छृखल गतिविधि गर्नेलाई निगरानी गर्दै नियन्त्रणमा लिन सुरु गरिसकेको अवस्था छ ।

केही दिनयता वडा प्रहरीले रातको समयमा नेपालगञ्ज नगरमा हो–हल्ला गर्दै मोटरसाइकलमा सवार एक सय भन्दा बढी युवाहरुलाई नियन्त्रणमा लिइसकेको छ । ‘रातमा उच्छृखल गतिविधि गर्नेहरुलाई निगरानी गरेर नियन्त्रणमा लिने गरेका छौं’ इन्चार्ज प्रहरी निरीक्षक बस्नेतले भने, ‘पहिलोपटकलाई सम्झाई बुझाई अभिभावकको जिम्मा लगाउने गरेका छौं । दोस्रो पटक फेला परे मुद्दा चलाइनेछ ।’ अनुशासन पुर्वक रातको समय र अन्य कुनै या अरु कारण बस सबै हिड्न पाइन्छ तर उच्छृखल गतिविधि र आवारागिरि गर्नेहरुलाई कारबाहीको दायरामा आउछन् उनले भने ।

‘मेरो कार्यकालमा मैले यस्तो आवारागिरि र, उच्छृखल गतिविधि र गुण्डागर्दी हुन दिदैन’ प्रहरी निरीक्षक बस्नेतले भने, ‘नेपालगञ्ज वडा प्रहरी प्रमुख भएर आएदेखि रातको समयमा हो–हल्ला गर्दै हिड्नेको कमि हुँदै आएको छ ।’

 

प्रकाशित मितिः सोमवार, अशोज १३, २०७६     8:44:34 AM  |