18 May 2024  |   आइतवार, जेष्ठ ६, २०८१

‘ढुक्क हुनुस् हामी इमानदारीसाथ आफूले गरेका वाचा पूरा गर्छाैं’

मिसनटुडे संवाददाता
प्रकाशित मितिः सोमवार, माघ १५, २०८०  

बैजनाथ गाउँपालिकाका स्थानीयहरू प्रायः कृषि पेसामा आबद्ध रहेका छन् । उनीहरूलाई कृषिमै आत्मनिर्भर बनाउन हामी लागिपरेको अध्यक्ष प्रकाशबहादुर शाहीले बताए । निर्वाचनका बेला पनि हामीले कृषिलाई प्राथमिकता दिने कुरा गरेका थियौँ । ७ सय ५३ पालिकामध्ये किसानहरूका लागि धेरै बजेट ल्याउने पहिलो पालिका हो, बैजनाथ । प्रदेश र संघबाट हामीले ८ करोड रुपैयाँ ल्याएका छौँ । अध्यक्ष शाहीसँगमिसनकर्मी गणेश रावतले गरेको कुराकानीको सम्पादित अंशः

० निर्वाचनका बेला जनताका बीचमा गरेका प्रतिबद्धता अहिले तपाई निर्वाचित भएर आएपछि कसरी पूरा गरिरहनुभएको छ ?

जनताले हामीलाई आशा, भरोसा र विश्वास गरेर चुनेर पठाएका हुन् । हामी आएको पनि करिब डेढ वर्षको समय अवधि पूरा भइसकेको छ । हामी आएपछि बैजनाथ गाउँपालिकाभित्र विकास निर्माणदेखि शिक्षा, स्वस्थ्य, खानेपानीलगायका धेरै काम गरेका छौँ । निर्वाचनका बेला जनताका बीचमा विभिन्न प्रतिबद्धता र आश्वासन दिएका थियौँ । अहिले सोहीअनुसार जनताका बीचमा गरेका प्रतिबद्धता र जनताका आवश्यताका आधारमा काम गरिरहेका छौँ । कतिपय काम थालनी गरेका छौँ भने कतिपय काम सम्पन्न भइसकेका छन् ।

० १,२,३ गरेर भन्नुस् त आजसम्म के–के काम गर्नुभयो ?

२०७१ सालमा स्थापना भएर त्यत्तिकै बसेको नौबस्ता औद्योगिक क्षेत्रको काम जिरोबाट सुरु गरेर ड्रोनबाट नक्सा खिचेर काम सुरु गरेका छौँ । यसबाट आर्थिक समृद्धि, राजस्व संकलनका साथै २०औँ हजार युवाले रोजगारी पाउन सक्नेछन् । त्यस क्षेत्रमा रहेका स्थानीयलाई व्यवस्थापन गरेर कलकारखाना र उद्योग सञ्चालन गरी मनग्य आम्दानी लिन सकिने वातावरण बनाउँदै छौँ । विद्यालय अनुगम तथा शिक्षक दरबन्दी मिलान, विद्यालय मर्जलगायतका काम गरेका छौँ । १ लाखको दरले प्राविधिकतर्फ छात्रवृति दिने व्यवस्था र बैजनाथ गाउँपालिकाभित्र रहेका ४ वटा उच्च माविका छात्रहरूको ५० प्रतिशत फि पनि स्थानीय सरकारले तिरिरहेको छ । बहुमुखी क्याम्पसको लबिङ, कृषि क्याम्पसका लागि बैजनाथ ८ थपुवामा १ करोड रुपैयाँमा डिपिआर गरी भवनको काम अघि बढाइसकेका छौँ । बैजनाथलाई शैक्षिक हब बनाउन राजनीतिक दल, शिक्षक, अभिभाव, कर्मचारी र जनप्रतिनिधिबीच समन्वय गरेर अघि बढेका छौँ । गाउँपालिकाभित्र सम्पूर्ण विद्यालयसम्म पिच रोड, पुलहरू, शिक्षा, स्वास्थ्य, तटबन्ध र नमुना बस्ती बनाउन प्रदेश सरकारबाट करिब ३४ करोड रुपैयाँ ल्याउन सफल भएका छौँ ।

० कृषिलाई प्राथमिकता दिएको कुरा गर्नुभयो तर, कागजे कृषकहरूले मात्रै अनुदान पाउने गरेको आरोप लाग्छ । तपाईंको पालिकामा पनि यस्तै छ ?

पहिला के थियो मलाई थाहा छैन । जब म निर्वाचित भएर आएँ स्वयम् आफैँ फिल्डमा गएर दर्ता भए÷नभएको किसान हो या होइन भनेर अनुगमन गरेर मात्र अनुदान दिने गरेका छौँ, झोले किसानलाई होइन । बैजनाथ गाउँपालिकाका स्थानीयहरू प्रायः कृषि पेसामा आबद्ध रहेका छन् । उनीहरूलाई कृषिमै आत्मनिर्भर बनाउन हामी लागिपरेका छौँ । निर्वाचनका बेला पनि हामीले कृषिलाई प्राथमिकता दिने कुरा गरेका थियौँ । ७ सय ५३ पालिकामध्ये किसानहरूका लागि धेरै बजेट ल्याउने पहिलो पालिका हो, बैजनाथ । प्रदेश र संघबाट हामीले ८ करोड रुपैयाँ ल्याएका छौँ । त्यस्तै, किसानसँग पालिका प्रमुख कार्यक्रम पनि सञ्चालन गरेका छौँ । कृषिलाई यान्त्रिकीकरण, सिँचाइ सुविधा, पशुपालन, पशु सुधार, गाई, भैँसी, बोका, बंगुरलगायतका पशुचौपाया पनि किसानलाई सहयोग गरेका छौँ । पालिकाभित्र ७० प्रतिशत अनुदानमा अटो वितरण, सिँचाइ, बाँध, पोखरी निर्माण गर्ने र खाद्यान्न र बिउ डिपो स्थापना गरेका छौँ । किसानहरूको वर्गीकरण गरेर कृषकको उत्पादन खरिद गरी डिपोमा ल्याउने र आवश्यक परेको सयमा सोही मूल्यमा बिक्री गर्ने व्यवस्था मिलाएका छौँ । किसानहरूले उत्पादन गरेका वस्तु बीचमा बिचौलियाबाट बचाउन र यातायातको भाडा तिर्न नसक्ने किसानहरूका लागि डिपोको व्यवस्था गरिएको हो । भूमिहीन किसानलाई ४ वटा वडामा निस्सा वितरण पनि गरिसकेका छौँ र अरू ४ वडामा प्रक्रिया अघि बढाएका छौँ ।

० तपाईं निर्वाचित भएर आएको केही समयमै ३ वटा ऐम्बुलेन्स सञ्चालन गर्नुभयो कत्तिको उपयोगी र स्वास्थ्य क्षेत्रमा के सुधार भयो?

बैजनाथ गाउँपालिकाभित्र रहेका समुदायका महिलाहरू घरमै सुत्केरी हुँदा कतिपय शिशु र आमाको ज्यानसमेत गएको छ । ऐम्बुलेन्स सञ्चालन भएबाट बर्थिङ सेन्टरमा सुत्केरी हुने आमाको संख्या ३ गुणा बढेको छ । बर्थिङ सेन्टरमा सुत्केरी हुने महिलालाई १ हजार सरकारले दिने गरेको छ भने गाउँपालिकाले १५ सय रुपैयाँ थपेर दिने व्यवस्था गरेका छौँ । अतिविपन्न जो अस्पतालसम्म जान गाडी भाडा तिर्न सक्ने अवस्था छैन उनीहरूले अकालमै ज्यान गुमाउन नपरोस् भनेर वडाको सिफारिसमा अस्पतालसम्म पु¥याउन निःशुल्क एम्बुलेन्सको व्यवस्था गरेका छौँ । साथै बनकटुवा न्युसिटीमा १५ शड्ढयाको अस्पताल निर्माण भइरहेको छ ।

० गाउँपालिकाभित्र कतै कुनै क्षेत्रलाई कृषि पकेट क्षेत्र घोषण गर्नुभएको छ ?

यसको सुरुवात हामीले गरेका छौँ । बैजनाथ गाउँपालिका–७ र ८ वडालाई तरकारी पकेट क्षेत्र घोषण गरिएको छ । त्यहाँ कृृषकहरूको संख्या पनि धेरै र माटोको उर्वराशक्ति पनि राम्रो भएकाले तरकारी पकेट क्षेत्र घोषणा गरेका हौँ । फर्म दर्ता, समूह दर्ताका आधारमा १५ वटा अनुदान पकेट क्षेत्रमा दिने पनि पक्का भइसकेको छ । ताकि हामीले बैजनाथलाई कृषिमा आत्मनिर्भर बनाउन सकौँ ।

० किसानसँग पालिका प्रमुख कार्यक्रमको प्रभावकारिता कत्तिको भएको पाउनु भएको छ ?

अहिले किसानहरू एकदमै हर्षित छन् । म आफैँ यसमा सम्बन्धित व्यक्ति भएकाले किसानहरूका घरदैलोमा पुगिरहेको छु । जसले किसानहरूको माया बढिरहेको छ । किसानको मुहारमा खुसी छाएको छ । यसले गर्दा प्रत्यक्ष कृषकका गुनासाहरू सुन्न र सम्बोधन गर्न सहज हुने गरेको छ । विगतका अध्यक्षहरू यसरी हाम्रो घरदैलोमा आएर समस्या बुझेका थिएनन् अहिले आएकोमा धन्यवाद भन्ने गरेका छन् । जसले थप काम गर्ने हौसला बढेको छ ।

० निर्वाचनका बेला जनताका माझ गरेका प्रतिबद्धता र वाचा पूरा गर्न कत्तिको सहज हुँदोरहेछ त ?

निर्वाचनका बेला पक्कै पनि हामीले यो पनि गर्छौं त्यो पनि गर्छाै भनेर धेरै बोलेका हुन्छौँ । आश्वासन दिएका हुन्छौँ हामीले पनि यसरी नै आश्वासन दिएका थियौँ । त्यसपछि जनताका इच्छा, आकांक्षा धेरै हुन्छन् । तर स्थानीय सरकारसँग सीमित स्रोत साधन हुन्छ । हामीलाई आउने बजेट सीमित हुन्छ । त्यसबाटै स्वास्थ्य, शिक्षा, रोजगारी, खानेपानीलगायतका आधारभूत आवश्यता पूरा गर्नुपर्ने हुन्छ । नीति र विधि अनुसार काम गर्नुपर्ने हुन्छ । हिजो बाहिर रहेर बोल्दा र त्यो कुर्चीमा बसेर काम गर्दा केही कठिनाइ त पक्कै हुन्छन् । तर, मेरो कार्यकाल सकिँदासम्म देखिने गरेर काम गरिरहेको छु । पक्कै पनि जनताले अनुभूति गर्नेछन् ।

० १४औँ हिउँदे गाउँसभाबाट बडघर ऐन पारित गर्नुको मुख्य कारण के हो ?

बैजनाथ गाउँपालकाभित्र ३८ प्रतिशत थारू समुदायको बसोबास अर्थात् बाहुल्यता रहेको छ । उनीहरूको न्याय र अधिकारका लागि बडघर ऐन पारित गरिएको हो । थारू समुदाय मात्रै नभई सबै समुदायलाई समान रूपमा हेरेका छौँ । जनताका आकांक्षा पूरा हुन्छन् । जनताले हामीलाई विश्वास गरेर निर्वाचित गरेपछि उत्तरदायित्व बहन गरी पूर्ण समय दियौँ भने विकास असम्भव छैन । अवसर र चुनौती दुबै रहेकाले यसको सदुपयोग गरेर जनताका इच्छा पूरा गर्न सकिनेमा हामी विश्वस्त छौँ ।

० शैक्षिक गुणस्तरका लागि के कस्ता योजना अघि सार्नुभएको छ ?

शिक्षा क्षेत्रमा हामीले आन्तरिक स्रोतबाट ३ करोड अनुदान दिने गरेका छौँ । राज्यको अनुदान छुट्टै छ । स्थानीय सरकार मात्रै नभई प्रदेश, संघले पनि शिक्षामा जोड दिनु जरुरी छ । अहिले बैजनाथ गाउँपालिकाभित्र रहेका विद्यालयका भौतिक अवस्था त नाजुक नै छन् । पूर्वाधार, विद्यार्थी संख्या र शिक्षकबिनै कक्षा थप्ने होडबाजीले अलि समस्या छ । यसको समाधानका लागि विद्यालय मर्ज गर्ने नीति बनाउँदै छौँ । अनुगमनमा जाँदा खानेपानी, शौचालय, भौतिक पूर्वाधारका अवस्था नाजुक भेटिए । त्यो समस्या समाधान गर्न गम्भीर रूपमा लागिपरेका छौँ ।

० बजेटको व्यवस्थापन कसरी गर्नुभएको छ ?

हामीले चालु खर्चलाई पुँजीमा ढाल्ने गरेका छौँ । किनभने, चालु खर्च गर्नु राम्रो देखिँदैन । चालु आर्थिक वर्षमा छुट्टयाएका बजेट खर्च नभएका हामीले पुँजीमा हालेका छौँ । गत वर्ष ८१.५ प्रतिशत पुँजीगत खर्चमा बैजनाथ पहिलो भएको थियो । गाउँपालिकाको प्रवेशद्वार नहुँदा हिउँदे गाउँ सभाबाट २ वटा प्रवेशद्वार बनाउने निर्णय पास भएको छ ।

० अन्तिममा के भन्न चाहनुहुन्छ ?

जनताका आवश्यता र निर्वाचनका बेला गरेका वाचा पूरा गरेर छाड्छौँ । अहिलेसम्म धेरै काम गर्न सफल भएका पनि छौँ । समृद्धि र सुखी बैजनाथ बनाउन सबै राजनीतिक दलदेखि सबैको सल्लाह सुभाव लिने पद्धतिको विकास गरेर अघि बढेका छौँ । ढुक्क हुनुस् हामी इमानदारीसाथ आफूले गरेका वाचा पूरा गर्छाैं ।

प्रकाशित मितिः सोमवार, माघ १५, २०८०     8:31:49 AM  |