27 April 2024  |   शनिबार, बैशाख १५, २०८१

नेपालगन्ज भन्सारमा तरकारी र फलफूलको विषादी परीक्षण कायमै

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शुक्रबार, फाल्गुन २६, २०७९  

विषादीका मात्रालाई विधिअनुसार ०–३५ प्रतिशतसम्मको विषादीलाई भिœयाउन मिल्ने, ३५–४५ सम्मकोलाई केही दिन पर्खेर विषादीको प्रभाव कम भइसकेपछि मात्रै भिœयाउन दिने र ४५ प्रतिशतभन्दा बढी भएको तरकारी तथा फलफूललाई भिœयाउन नै नदिई नष्ट गर्नुपर्ने प्रावधान रहेको खाद्य अनुसन्धान अधिकृत दाहाल बताउँछन् ।

नेपालगन्ज ।

केही दिनअघि सरकारले भारतीय विषादीको परीक्षण गर्ने प्रस्ताव मन्त्रिपरिषद्ले फिर्ता पठाउने निर्णय गरेको खबर सार्वजनिक भयो । यद्दपि नेपालगन्जस्थित खाद्य आयात निर्यात गुणस्तर प्रमाणीकरण कार्यालयले भारतीय तरकारीमा विषादीको परीक्षण निरन्तररुपमा भइरहेको जनाएको छ । भन्सार कार्यालयले भारतबाट आयात हुने तरकारीको नमुना कार्यालयमा पठाउने गरेको र कार्यालयले परीक्षण गरेर मापदण्डअनुसार भएनभएको प्रमाणित गरेपछि मात्रै भित्रिन दिइने गरिएको कार्यालय प्रमुख सन्तोष दाहाल बताउँछन् । दैनिक औसतमा १५ देखि २० वटा नमुना परीक्षणका लागि आउने गरेको उनले बताए ।

अहिले कार्यालयले विषादीको परीक्षण गर्न अपनारहेको विधि ‘कीटनाशक अवशेषहरूको लागि द्रुत बायोप्सी (आरबीपिआर)’ विधि हो । उक्त विधिले तरकारी तथा फलफूलको नमुनामा रसायनमार्फत परीक्षण गरी विषादीका कारण परेको प्रभावलाई विश्लेषण गरेर खान योग्य वा अयोग्य निक्र्यौल गर्ने गर्दछ ।

विषादीका मात्रालाई विधिअनुसार ०–३५ प्रतिशतसम्मको विषादीलाई भिœयाउन मिल्ने, ३५–४५ सम्मकोलाई केही दिन पर्खेर विषादीको प्रभाव कम भइसकेपछि मात्रै भिœयाउन दिने र ४५ प्रतिशतभन्दा बढी भएको तरकारी तथा फलफूललाई भिœयाउन नै नदिई नष्ट गर्नुपर्ने प्रावधान रहेको खाद्य अनुसन्धान अधिकृत दाहाल बताउँछन् । सरकारले अहिले अघि बढाउन खोजेको आयातित तरकारीको गुणस्तर जाँचको विधि ‘जिसिएमस’ प्रविधि हो । उक्त प्रविधिले कुन विषादी कति मात्रामा छ भन्ने पत्ता लगाउन मद्दत गर्ने दाहाल बताउँछन् ।

दाहालले आफू कार्यालयमा आएको करिब डेढ वर्ष भएको र यस अवधिमा आरबीपिआर ४५ प्रतिशतभन्दा बढी विषादी रहेको भेटिएको रेकर्ड नभएको उनले बताए । यद्दपि ३५ देखि ४५ प्रतिशतसम्म विषादी केहीपटक भेटिएको र त्यस्तो तरकारीलाई विषादीको असर कम नहुन्जेल भित्रिन नदिन सिफारिस गरिएको उनी बताउँछन् ।

त्यसरी रोक्नुपरेका तरकारीमा आलु र फलफूलमा सुन्तला रहेको उनको भनाइ छ । कार्यालयमा सबै किसिमका खाद्य वस्तुहरु आयात वा निर्यात गर्दा गुणस्तर प्रमाणिकरण गर्नुपर्ने व्यवस्था छ । यसका साथै तरकारी, फलफूल र माछा मासुमा विषादीको परीक्षण गरी सिफारिस गर्नुपर्ने जिम्मेवारी पनि रहेको छ । त्यसका लागि एकजना खाद्य अनुसन्धान अधिकृत र दुईजना प्राविधिक सहायक गरी तीनजनाको दरबन्दी कार्यालयमा रहेको छ ।

नेपालगन्ज भन्सार कार्यालयको तथ्यांकअनुसार चालु आर्थिक वर्ष २०७९/८० को माघ मसान्तसम्म दुई करोड ६७ लाख ५२ हजार ६ सय ४८ किलो आलु भित्रिएको छ भने १७ लाख चार हजार नौ सय ३७ किलोग्राम टमाटर, ३४ लाख ७१ हजार दुई सय १४ किलो प्याज र १३ लाख ३५ हजार तीन सय ८७ किलोग्राम विभिन्न तरकारी भारतबाट आयात भएको छ ।

यसैगरी १९ लाख २४ हजार ७१ किलो केरा, १० लाख ८७ हजार किलो स्याउ, दुई लाख ३९ हजार पाँच सय ४९ किलो सुन्तला, एक लाख ८० हजार पाँच सय ६८ किलो आँप, दुई लाख ४३ हजार तीन सय ३४ किलो अंगुर नेपालगन्ज नाकाबाट भित्रिएको छ ।

जनताको गुनासो फरक

खुला सीमाका कारण अवैधरुपमा भारतीय बजारबाट तरकारी परीक्षणबिनै भित्रिने गरेको जनगुनासो बढ्दै गएको छ । तस्करीमार्फत तरकारी परीक्षणनै नगरी भित्रिने गरेको गुनासो व्याप्त छ । नेपाल भित्रिनुअघि विषादी भए/नभएको जाँच गर्ने संयन्त्रलाई छल्दै भारतीय तरकारी तथा फलफूल निर्बाध आयात हुने गरेका नेपालगन्जका मिलन खड्काले बताए ।

तस्करीमार्फत विषादीयुक्त तरकारी नेपाली उपभोक्ताले उपभोग गरिरहेको उनको भनाइ छ । सरकारले दैनिक गर्ने परीक्षण, नेपालगन्जमा तरकारी तथा फलफूल खपतसँगै आन्तरिक उत्पादन र अन्य जिल्लाबाट आउने तरकारी तथा फलफूलको तथ्यांक हेर्दा पनि परीक्षणबिनै भारतबाट तरकारी र फलफूल भित्रिने अनुमान गर्न सकिने स्थानीयको भनाइ छ ।

 

प्रकाशित मितिः शुक्रबार, फाल्गुन २६, २०७९     1:31:40 PM  |