16 May 2024  |   शुक्रबार, जेष्ठ ४, २०८१

यी हुन् पहिरो जान लागेका ९ संकेत र बच्ने ६ उपाय (भिडिओ)

मिसनटुडे संवाददाता
प्रकाशित मितिः मङ्लबार, असार २२, २०७८  

वर्षा याम भएकाले दैनिक वर्षासँगै जताततै बाढी, डुबान तथा पहिरोको जोखिम छ। यसबीच कतिपय स्थानमा बाढी, पहिरोबाट ठूलो जनधनको क्षतिसमेत भइसकेको छ।

बाढी, पहिरो रोक्न त सकिन्न, तर बेलैमा होसियारी गरियो भने क्षतिबाट बच्न सकिन्छ।

यसैकारण यस क्षेत्रका विज्ञले दिनदिनै वर्षा, बाढीको सम्भावनाबारे जानकारी दिइरहेका छन् भने यसबाट बच्ने उपाय अपनाउन आग्रह गरिरहेका छन्।

यसै क्रममा खानी तथा भूगर्भ विभागका सिनियर डिभिजनल जियोलोजिस्ट शिवकुमार बाँस्कोटाले पहिरो जाँदै छ भन्ने कुरा सधैं थाहा पाउन सम्भव नभए पनि कपितय अवस्थामा यसका पूर्वसंकेत पाइने बताएका छन्।

उनका अनुसार यी हुन्, पहिरो जान लागेको संकेत :

१. घर-आँगन, बस्तीवरिपरि चिरा परेको देखिनु

२. जमिनबाट कटकट गर्ने आवाज आउनु

३. रुख र बिजुलीका पोल ढल्किएको देखिनु

४. पानीका मूल अस्वाभाविक रूपमा सुक्नु वा बढ्नु, नयाँ ठाउँमा मूल देखापर्नु र भइरहेका मूलबाट पानी धमिलो आउनु

५. भिरालो जमिनबाट ढुंगामाटो खस्नु

६. ठाडो खोल्सामा एक्कासि बहाव रोकिनु माथिपट्टि पहिरो खसेर थुनिएर रोकिएको हुन सक्छ।

७. एक्कासि घरका झ्याल-ढोका बन्द गर्न/खोल्न अप्ठ्यारो हुनु

८. घरका भित्ता र भुइँमा चिरा देखिनु

९. बस्तीभन्दा तल ठूलो खोला अथवा नदी छ र त्यसले सक्रिय रूपमा जमिन कटान गर्न लागेको छ भने

पहिरो जान नदिन के गर्ने ?

१. बर्सातभन्दा अगाडि नै भेल-पानीलाई बस्तीनजिक अथवा कमजोर भूभागमा एकत्रित नगरेर सुरक्षित ठाउँबाट त्यसलाई निकास दिने

२. घरवरपर ससाना कान्लामा चिरा देखिएका छन् भने चिम्टाइलो माटो लगेर त्यसमा खाँद्ने, पुर्ने। सम्भव भएसम्म त्यसमा पानी छिर्न नपाओस् भनेर त्रिपाल वा प्लास्टिकले छोप्ने

३. पहिले पहिरो गएका स्थानमा घर नबनाउने

४. नदीनालाको पानीको बहावलाई जमिन कटान हुन नदिने गरी व्यवस्थापन गर्ने। यसमा विभिन्न इन्जिनियरिङ डिजाइन पनि पर्छन्।

५. जथाभावी डोजर, एक्साभेटर प्रयोग नगर्ने

६. भिरालो डाँडा वा पहाडको ठ्याक्कै मुनि बस्ती नबसाल्ने

​सुन्नुहोस्, भिडिओ सन्देशः

प्रकाशित मितिः मङ्लबार, असार २२, २०७८     2:10:34 PM  |