19 April 2024  |   शुक्रबार, बैशाख ७, २०८१

राराको रङ्गमञ्चमा रमाउँदै

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शनिबार, जेष्ठ २९, २०७८  

महानन्द ढकाल

तिब्बत मानसरोवरका लागि आधार प्रवेशद्वार पनि हो कर्णालीको हुम्ला । यातायातको असुविधाले गर्दा कर्णाली पछि परेको छ । कर्णालीको पानीलाई मात्रै सदुपयोग गर्न सक्ने हो भने कर्णालीको मुहार फेरिन सक्छ । पाखा पखेराहरूलाई मौसम अनुसारको कृषिमा प्रयोग गर्न सक्ने हो भने किन हुन्थ्यो भोकमरी ? स्याउ खेतीले मात्रै पनि मुहार फेर्न सक्छ कर्णालीको । ओखर र जडिबुटीले सम्पन्नसाली बनाउनसक्छ कर्णालीलाई । तर हिजोदेखि आजसम्म दरिद्रता, असहाय, भोक रोग र गरिवीबाट पीडित छ कर्णाली । चिन्नेलाई श्रीखण्ड नचिन्नेलाई खुर्पाको बीड जस्तो बनेको छ कर्णाली ।
हामी कर्णालीमै केन्द्रित थियौं । समयले साढे चार बजेको सङ्केत गरेको थियो । घाम डाँडामा देखिए । कति छिटै बिदा माग्न खोजेका हामीसँग ? शुभ कालीका गाउँपालीका हुल्म बजार पुग्नु भन्दा पहिला बाटो साँघुरो र डर लाग्दो रहेछ । पुरै चट्टान काटेर बनाएको । दैलेख काटेपछि बाटो अलि खतरा लाग्यो । जता हेर्यो उतै चट्टान । कालैकालो चट्टान मात्रै । कालो माटो भएको भए कति खेती हुन्थ्यो होला ? तर चट्टानै चट्टान । आँखाले देख्नेसम्म भिरैभिर । खेती गर्ने जमिन नै नभए जस्तो । कताकति देखिएका खेती गर्ने गह्राहरू पनि गोरु घुमाउन नमिल्ने जस्ता । कालीकोट साँच्चिकै दुर्गम नै रहेछ जस्तो लाग्यो ।
तिला तरेर हामी मान्मातिर उकालियौं । तिलाको तिरैतिर बाटो बनेको भए जुम्ला नजिक हुन्थ्यो । कालिकोटको मान्मा झनै दुर्गम । जानेका हुन् कालीकोटका नेताहरूले बाटो घुमाएर मान्मा पु¥याइदिए । धुम्दै फिर्दै मान्माको बजार पुग्दा सात बजिसकेको थियो । अप्ठ्यारो बाटो । कतै पक्की कतै कच्ची । पिच फुटेर बिग्रेको बाटोले झनै उचाल्ने र पछार्ने ग¥यो । कुनै कुनै ठाउँमा त हाम्रो बोली बन्द हुन्थ्यो ।
बाटोमा भोक लागेको थियो । एकातिर नाङ्मा नपुगिएला भन्ने डर अर्कोतिर खाजा खाइहाल्यौं भन्ने खालका होटलहरू पनि बाटोमा फेला परेनन् । तीन बजेपछि चिया खान नपाएपछि त झन मेरो त टाउको दुखे जस्तो भइहाल्थ्यो । यो कुरा सुमित्रालाई राम्रोसँग थाहा थियो । उनीसँगै भएको भए ‘कतै चिया पिउने कि’ पक्कै भन्ने थिइन् । अगाडिको गाडीमा भएको भए पक्कै ‘चिया पकाउने होटल छन् कि’ भनेर आँखा डुलाउँथिन् । फरक गाडीमा थियौं । नौलो अनुभूति हुँदै थियो । एउटै यात्रामा हिँडेका दुई श्रीमान श्रीमती सायद यसरी अलग अलग गाडीमा बिरलै हिँड्छन् होला । तर हामी हिँड्यौं । महिलालाई महिलाहरूसँगै बस्न सजिलो होला भन्ने पनि लाग्यो । एउटै गाडीमा नहिँड्दा केही छट्पटी भने हुदो रहेछ । कतै भिर देखियो तर्सिनु पर्ने । साँघुरो बाटो देखियो झस्किनु पर्ने । पैह्रो गएको देखियो भने मनले अनेक सोच्दो रहेछ । पछाडिका कसरी आउलान् भन्ने पिर । गाडी नदेख्दासम्म र फोन नगर्दासम्म छट्पटी मात्रै भइरहने । मलाई जस्तै युवराज सरलाई भयो कि भएन खै ? उति बेलासोधिएन अब कसरी सोध्नु सम्झना मात्रै बाँकी छ युवराज सरको ।
मान्मामा पुग्दा झमक्कै साँझ प¥यो । साँझमा पनि सुन्दर देखियो मान्मा बजार । मान्मा पुगेपछि साहित्यकार मित्रहरू दुर्गाप्रसाद काफ्ले र पुष्प आचार्यलाई सम्झिएँ । दुर्गाजीसँग भेट पनि भयो । पुष्पजीसँग सम्पर्क मात्रै । चिया नास्तातिर लाग्यौं । मःम, पकौडा खार्यौ । चिया पियौं । दिनभरि हिडेको शरीर दुखेको थियो । मान्मा मै बस्न पाए पनि हुन्थ्यो भन्ने लाग्यो । चालक धावक र जनकले मान्मामा नै बस्न जोड गर्दै थिए । घडीले सात बजाइसकेको थियो ।
‘नाग्मा पुग्न तीन घण्टा लाग्छ । बाटो खराब छ ।’ होटलका साहुजीले भने । बाटो राम्रो छैन भन्ने कुराले झन् सातो गयो । रातिको समय खराब बाटो कसरी जानु मनमा छट्पटी भयो । अर्जुन तिवारी सर जसरी पनि जानु पर्छ भन्ने पक्षमा देखिनु भयो । मेडमहरू मौन थिए । कृष्ण अधिकारीले कालीकोट घरभई बाँसगढी लामो समय पढाएका जे. पी. उपाध्याय ढकालसँग नाग्मा बजारको बारेमा बुझ्नु भयो । बस्ने होटल भए नभएको सोध्नु भयो । उनका दाइ नाग्माका व्यापारी रहेछन् । होटलमा सम्पर्क गराइदिए । हामी बाह्र बजे पुगे पनि खान बस्नेको कुनै झमेला नहुने भयो । नाग्मा पुग्न सके बाटो छोटिन्थ्यो । समयमा नै रारा पुगिन्थ्यो । ठिकै छ भन्ने लाग्यो । चालकहरूले काईकुई गर्दा गर्दै पनि हामी अगाडि बढ्यौं ।
नाग्मा ‘छाया चन्द होटल’ पुग्दा साढे दस भइसकेको थियो । शरीर माथि ठूलै पहिरो खसे जस्तै दुखेको थियो । छिटो खान पाए सुत्न हुन्थ्यो भन्ने लाग्यो । सुताइ कस्तो हुने हो भन्ने पनि थियो । होटल साँघुरो रहेछ । व्यवस्थित रहेन छ । सानो बजारको होटल । काम चलाउमा नै टिकेको रहेछ । भाडा लिएर चलाएका रहेछन् । आफ्नो त एटेज् सहितको होटल निर्माणाधिन रहेछ । अर्काको घर भनेर होला व्यवस्थित नगराएका ।
खानपिन भने राम्रै रहेछ । स्थानीय उत्पादनमा जोड दियौं । तिला नदीका माछा । मार्सी चामलको भात । लोकल कुखुराको मासु । कोदाको ढिडो । सिमीको दाल । हाम्रो साँझको खानामा समेटिए । खाना खाएर सुत्न जाँदा बाह्र बजिसकेको थियो ।
नाग्मा बजार तिला नदीको तिरमा रहेछ । बिहान साढे चारबजे तिर आँखा खुले । तिलानदी एक तमासले सुसाइरहेकी थिइन् । मीठो धुन दिएर । तिला नदीसँगै सुते जस्तो लाग्दै थियो । बैशाख एक गते थियो । नयाँ वर्ष । तराईमा गर्मी चढिसकेको थियो । नाग्मामा निकै चिसो रहेछ । कृष्णप्रसाद पौडेल, छविलाल बराल र कृष्णराज अधिकारी र म एउटा कोठामा थियौं । मेडमहरू सबै एउटामा । युवराज घिमिरे र अर्जुन तिवारी सर एउटामा । प्रकाश अर्याल, अनुज कुमार थारू र जितेन्द्र पौडेल अर्कोमा । गाडीका मालिकहरू जो चालक बनेर आउनु भएको थियो । उहाँहरूको बन्दोबस्त म गर्छु पैसा लाग्दैन भनेर होटलवाला साहुजीले पुछारको कोठामा लगे । हामीलाई लाग्यो राम्रै सम्मान दिने भए तर राती सुत्न नसकेर जनक पौडेल त गाडीमा आएर पो सुतेछन् । हामीले त बिहान मात्रै थाहा पायौं ।
साथीहरू उठेका थिएनन् । मेरै नजिक सुतेका कृष्णराज अधिकारी एक तमासले घुरिरहनु भएको थियो । दिनभरिको थकान म पनि राम्रैसँग घुरे हुँला तर थाह भएन । कृष्ण पौडेल र छवि बराल पनि पक्कै घुरे होलान् तर थाहा भएन ।
शरीर नुहाउन पर्ने भएको थियो । तातो पानीको व्यवस्था थिएन । चिसोले मुख धुन पनि गाह्रो हुँदै थियो । चिसो पनि कति हो ? घरसँग जोडिएको बाथरुम रहेछ । तिला नदीकै छेउमा । नदीको चिसो सिरोटो सिधै अङ्कमाल गर्न आइपुग्यो । मैले अङ्कमाल गर्न सकिन । सिरोटोसँग रमाउन पनि सकिन बार्दलीमा उभिएर ।
भ्रमण सुन्दर हुन तनावलाई धेरै टाढा छोड्नु पर्ने हुन्छ । सानो छोरीको गुनासो ठूलो थियो । सँगै जान्छु भनेर जिद्दी गरेकी थिइन् । हामीले नाइनास्ती गरिदियौं । घरमै छोडिदियौं । मन अमिलो भएको थियो घरमा छोड्दा पनि । हुन त घरमा आमाहरू हुनुहुन्थ्यो । गाडीको बसाइ र रातिको सुताई पनि केही साह्रो गाह्रो भएकै हो । दुईवटा गाडीमा दुई बुढा बुढीको बसाइ उपयुक्त हो कसरी भन्नु र ? न मोबाइल चार्ज हुन सक्यो । न शरीर नै ।
पाँच बजेतिर साथीहरू उठे । ‘बिहान तिला नदीमा मज्जाले नुहाएर जाने हो’ जितेन्द्र सरको कुरा थियो । बिहान उठ्ने बित्तिकै खोलामा झर्नु भयो । तर नुहाउन सक्नु भएन । हिउँ पग्लेर बनेको नदी हिउँ जत्तिकै चिसो थियो । धावकलाई पनि नदी छुन मन लागेछ । नदीकै पानीले मुख धोएर फर्किए । नदीको किनारैभरि सिस्नो थियो । भाँचेर लिएर आए । सबैलाई नयाँ वर्षको शुभकामना भन्दै हातमा छुवाउँदै गरे । पानी सहितको सिस्नोले मज्जाले पोले हातहरू । विठ्यााइँ पनि कति जानेका ? रमाइला रहेछन् धावक ।
मुगुबाट आएकी हिमा नदी र जुम्लाबाट आएकी तिला नदी कालिकोटको नाग्मामा भेटिएर कर्णाली भेट्न जाने रहेछन् । तिलाको किनारै किनार गए जुम्ला खलङ्गा गइने रहेछ । हिमा नदीको तिर समाते सिंजा उपत्यका । नेपाली भाषाको उत्पति भएको ठाउँ । वसन्त आचार्य र सुरेस आचार्यसँग हुँदा मैले सिंजा जुम्लाको पूर्व र खलङ्गा पश्चिम सम्झेको थिएँ । यहाँ आए पछि थाहा भयो, मैले त ठिक उल्टो पो सोचेको रहेछु । सिंजा उपत्यका हुँदै रहेछ रारा मुगु जाने बाटो ।
हिमा गाउँपालिका जुम्लाको स्वागत गेटले स्वागत ग¥यो हामीलाई । हिमा नदीलाई पच्छाउँदै सिंजा उपत्यकातिर लाग्यौं हामीहरू । हिमा नदीमा ठाउँ ठाउँमा काठका सुन्दर पुलहरू देखिए । काष्ठकलाको विकास राम्रो रहेछ भन्ने लाग्यो जुम्लामा । राजारानी र सिपाही तथा विभिन्न देवी देवताका काष्ठ मूर्तिकला पुलमा मज्जाले हेर्न पाइयो । कर्णालीको सभ्यता र संस्कृतिलाई उजागर गरिरहेको थियो यी काष्ठकलाले । वास्तवमा कर्णाली संस्कृति र सभ्यताको केन्द्रविन्दु नै हो । नेपाली भाषाको उद्गमस्थल सिंजा उपत्यकालाई मानिन्छ । भौगोलिक विविधता, प्राकृतिक सुन्दरता र विविध जातजातिको सामूहिक बासस्थान रहेको पाइन्छ कर्णालीमा ।
हाम्रो यात्रा जारी थियो । गन्तव्य रारा मुगु । सिंजा उपत्यकालाई दाहिने पारेर उत्तर हानिदै थियौं हामी । उत्तर दक्षिण फैलिएको रहेछ सिंजा उपत्यका । हिमा नदीले जिबन्त बनाएको रहेछ सिंजालाई । सुन्दर दृश्यहरूले मन लोभ्याइरहेको थिए हाम्रो । सुन्दर लाग्दै थियो कर्णाली । यही सुन्दर कर्णालीमा मिसिए जस्तो लाग्यो गरिबी, बेरोजगारी, मौसमी बसाइँसराइँ, सीमित आर्थिक अवसर र भौगोलिक विकटता पनि । कमजोर व्यापार र बजार, असहज सञ्चार सुविधा र दुरावस्था भोगिरहेकै छ कर्णालीले ।
हामीले चिया नास्ता खाएका थिएनौं । बाटोमा जहाँ फेला पर्छ त्यही खाने सल्लाह भयो । नामै धावक गाडी दौडाएको दौडाइ गरे । पछाडिको गाडीले भेट्नै सकेन । चिया नास्ता गर्ने राम्रो ठाउँ नै पाइएन । सिमीको तरकारी र रोटी खाने मन थियो कतै भेट्टिएन । ‘चाउचाउ बनाइदिऊँ’ भनेका थिए एक दुई होटलले हामीलाई । तर मन लागेन । दुधवला चिया पनि कही पाइएन । चिया खोज्दै गोठी जिउला पुग्यौं हामी । सिंजा उपत्यकाको उत्तरी कुनामा । कननकासुनदरी गाउँपालिकामा पर्दो रहेछ गोठी जिउला । साढे नौ भइसकेको थियो यहाँ पुग्दा । पछाडिको गाडी चार पाँच किलोमिटर पछाडि भएको थाहा भयो । गोठी जिउला काटेपछि खाना खाने राम्रो ठाउँ छैन भन्ने जानकारी भयो । नास्ता भन्दा खानाकै तयारी गरौं भन्ने सल्लाह भयो । मार्सी चामलको भात, जुम्ली सिमीको दाल, च्याग्राको मासु र भाँगोको चटनी अडर ग¥यौं । खानाको अडर गरेपछि वरिपरिको दृष्य हेर्न थाल्यौं । पेट गडवड होला जस्तो भयो । मेडिकलको खोजिमा लागें । प्रकाश अर्याल र अनुज थारू समसाको खोजिमा । भोक लाग्ने बेला त भएको थियो नै । औषधि खाएपछि एउटा समसा खाएँ । साथीहरूले दुईदुईवटा खाए ।
खाना अडर गरेकै होटल पछाडि मार्सी धान कुटाउँदै रहेछन् । सानो मिल थियो । मट्टीतेलबाट चल्ने रहेछ यो मिल । कुटाउँदै गरेको ताजा मार्सी चामल भनेर चार पाँच किलोको दरले सबै सर मेडमहरूले खरिद गर्नु भयो । जुम्लाको चिनो यही हुने भयो । घरपरिवार र छरछिमेकलाई चखाउन पाइने भन्ने लाग्यो सबैलाई । पछिल्लो समय मार्सी चामल राम्रो ब्राण्ड बनेको थियो । बाबुराम प्रधानमन्त्री हुँदा मुस्ताङ गाडीले मार्केट लियो । केपी प्रधान मन्त्री भएपछि मार्सी चामल ब्राण्ड बन्यो ।
खाना खादा खादै साढे एक बज्यो । च्याङ्ग्राको पछि लाग्दा ढिलो भयो । खाना खाएर रारातिर तेर्सियौं हामी । सिंजा उपत्यकालाई दक्षिण पश्चिम छेड्दै पाखै पाखो उत्तर पूर्वतिर लाग्यौं । हिमा नदीले हाम्रो साथ छोडेकी थिइनन् । करिव एक घण्टा हिडेपछि सातो जाने बाटो फेला पर्यो । पानीबिना पहिरो गइरहेको थियो । डोजरले बाटो सफा गर्दै थियो । गाडीबाट ओर्लियौं । सिङ्गल र समूह समूहमा फोटाहरू खिच्यौं । हिउँ पर्ने यो पाखामा कताकति सल्लाका रूखहरू थिए । दृष्यहरू सुन्दर थिए । सिंजाको फाँट टाढाटाढासम्म देखिएको थियो । करिव एक घण्टा रोकियौं हामी ।
मुगु पुगिसकेका थिएनौं । भिरकोबाटो डर लाग्दो थियो । नागबेली र धुलाम्यै बाटोले सातो नै खायो । पाखाहरू उजाड थिए । दुई चारवटा घरहरू कताकति भित्तामा टाँसिए जस्ता देखिन्थे । जुम्लालाई जतिजति छोड्दै थियौं उतिउति यात्रा असजिलो हुँदै थियो । बाटो देखेरै डर लाग्दो । पुरै पहरो काटेर बनाएको । छेउमा बस्नेले त डिलतिर हेर्नै नसकिने । कतै उकालो कतै मोड । उकालोमा ब्रेक लगाउँदै चढाउँदै गर्नु पर्यो कति ठाउँमा । ब्रेकले नथामे गाडी कहाँ पुग्थ्यो थाहा नै थिएन । मुटुनै सिरिङ्ग हुने । बाइकमा आउनेहरू कसरी चढ्छन् होला यस्तो बाटो भन्ने लाग्यो । ‘यो बाटो फेरि जिन्दगीमा आउँदिन’ चालकले नै यसो भनेपछि हामी नडराउने त कुरै भएन । धावकको पनि पहिलो यात्रा रहेछ चालक बनेर आएको । पछि मात्रै थाहा भयो हामीलाई । निडर र साहसी भने थिए धावक । यही साहसले हामीलाई रारा पु¥याएको रहेछ । कालिकोटको बाटोभन्दा पनि निकै खतरनाक लाग्यो मुगु पुग्नु पूर्वको जुम्लाको बाटो ।
यो बाटो हिड्दै गर्दा राज्यको उपस्थिति न्यून छ भन्ने लाग्यो कर्णालीमा । राज्यका थोरै मात्र संयन्त्रहरू परिचालित भएको देखियो यहाँ  । राज्यको सौतेनी व्यवहारले गर्दा कर्णाली पछाडि परेको थियो । पछाडि पारिएको थियो । पदयात्रा र साहसिक पर्यटनस्थलका रूपमा पनि ठूलो सम्भावना देखिन्छ कर्णालीमा । आर्थिक अभाव, भोकमरी, विकटता र चेतनाको अभाव छ कर्णालीमा । शिक्षा स्वास्थ्यमा पछि छ कर्णाली । रोजगारीका लागि ओरालो झर्न वाध्य कर्णाली । राज्यले थोरै मात्र कसरत गर्ने हो भने कर्णालीले धेरैको करिअर बनाउन सक्छ । सम्भावनाको खानी लाग्छ कर्णालीमा । उज्यालो आकाशमुनि उज्याला सम्भावना बोकेर पर्खिरहेको छ कर्णाली ।
मुगु लाग्ने बित्तिकै रारा राष्ट्रिय निकुञ्जको पाटन बुलबुले पोष्टमा गाडीहरू इन्ट्री ग¥र्यौ । ठूलै चौर रहेछ पाटन बुलबुलेमा । भेडाहरू चरिरहेका थिए । उज्यालो चौर । सफा र सुन्दर चौर । सबैको मन खिच्यो यो पाटनले । दुबोको डसना र दुबैको सिरानी बनाएर आकाश हेर्दै पल्टौं जस्तो लाग्यो एकैछिन् । तर समय थिएन हामीसँग । कतिबेला रारा पुगिएला भन्ने छट्पटी मनभरि थियो । मुगु लागेपछि हरियाली बढी नै देखियो । सल्लाको वनले डाँडा काँडा र पाखा पखेराहरू ढाकेको थियो । सल्लाका रूखहरू यति ठूला हुन्छन् भन्ने मैले सोचेकै थिइन् । अग्ला न अग्ला, सिधा र सालका रुख जस्तै मोटा सल्लाका रुखहरू बाटोभरि देखिए । प्रकृतिले योजनाबद्ध रुपले वृक्षारोपण गरे जस्तो । मल र सिचाइको सुविधा दिए जस्तो । मुगुका भिरपाखाहरू मलिलो लाग्यो । माटो राम्रो नभइ त कसरी हुर्कन्थे होला र यी अजङ्गका रूखहरू ?
हामी उकालिदै थियौं । हाम्रा कानहरूले उचाइको अनुभव गर्न थालेका थिए । कान डम्म हुन थालेका थिए । मलाई कताकता डर पनि लाग्दै थियो । धेरै भएको थिएन कोभिड ज्ञढ बाट पीडित भएर उठेको । कोभिडको प्रभाव फोक्सोमा नै हन्थ्यो । अक्सिजनको कमी हुने पो हो कि भन्ने पनि लाग्यो । लसुन र टिमुरले लेक लाग्न दिदैन भन्दा रहेछन् । हो होइन मलाई थाहा भएन । हामीसङ्ग थिएन । मेडमहरूसङ्ग थियो । मेडमहरूको गाडी पछाडि नै थियो । धावकको गाडीको गति बढी नै रहेछ । सङगै हिडौं, गति कम गर्नु भनेर पटकपटक भन्नु प¥यो । नामै धावक गाडी दौडाएको दौडाइ गरे आज पनि ।
बाटोमा खोला थियो । खोलामा घट्टे कटेरो । गाडी रोक्न लगायौं । केही बेरमा पछाडिको गाडी पनि आइपुग्यो । मेरा कानहरू खुलिसकेका थिएनन् । अक्सिजनको कमी भए जस्तो भयो । इश्वरी मेडमले टिमुर दिनु भयो । दुई दाना मुखमा राखें । मुखबाट पानी रसायो । अर्जुन सर र सुमित्रा मेडम पनि कोभिडबाट पीडित भइसक्नु भएको थियो । उहाँहरूले अप्ठ्यारो महसुस गर्नु भएको रहेनछ। रारा झन अचाइमा रहेछ भने समस्या हुन्छ कि भन्ने डर पनि लाग्यो । अब डराएर फर्किने अवस्था पनि त थिएन । घट्ट हेर्न गयौं । घट्टमा दुई जना मुगेली युवतीहरुले कोदो पिसाइ रहेका थिए । सुमित्रा मेमले अन्तरवार्ता नै लिनु भयो । राम्रो सिस्टम रहेछ घट्टमा । जसले पनि अन्न पिस्न पाउने रहेछ । पैसा तिर्नु नपर्ने । मन लागे आयो पिस्यो लग्यो । चौविस घण्टे सेवा रहेछ घट्टको ।  त्रमशः अर्काे हप्ता

प्रकाशित मितिः शनिबार, जेष्ठ २९, २०७८     8:46:08 AM  |