27 May 2024  |   सोमवार, जेष्ठ १४, २०८१

महामारीको अन्योलबारे के भन्छन् युवापुस्ता ?

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शनिबार, जेष्ठ २२, २०७८  

काठमाडौं । देशभर नै दोस्रो लहरको कोरोना महामारी प्याप्त रहँदा हरेक पेशा व्यवसायदेखि हरेक उमेर समूहका मानिसहरुमा अन्योलता छाएको छ । एकातिर आफैं संक्रमित भइने डरसँगै मानिसहरु छन् भने अर्कातिर आफ्नो भविष्यमा कस्तो असर पर्छ भन्ने सोचले मानिसमा अन्योलता सिर्जना गराइदिएको छ ।

स्वयः मानिस नै मानिससँग डराएर हिँडिरहेका बेला एकले अर्कालाई शंका गर्नुपर्ने सशंकित समय सिर्जना गरिदिएको छ । नयाँ पत्रिकामा फोटो पत्रकारको रुपमा कार्यरत दिपेन्द्र ढुंगाना महामारीले आफ्नो दैनिकीलाई पूर्ण रुपमा परिवर्तन गरिदिएको बताउँछन् ।

उनी भन्छन्, ‘कोही मान्छेले नौलो मान्छे देख्यो भने उसलाई नै शंका गर्नुपर्ने अवस्था छ । मान्छेसँग मान्छे डराउनुपर्ने अवस्थाको सिर्जना भएको छ ।’

ढुंगाना महामारी नहुँदाका दिनहरु सम्झिँदै फोटो खिच्नको लागि आन्दोलनदेखि कुनै कार्यक्रममा जाँदाको भन्दा अहिलेको समय विल्कुल फरक भएको बताउँछन् । दिनभर कोरोना संक्रमितलाई अस्पतालमा ल्याएको देखि मृत्युपछि जलाएको दृश्यसम्म उनले कैद गरेका छन् ।

कुनै दिन आफूले निकै संवेनशिल तस्बिर लिनुपर्ने अवस्था आउँछ भन्ने बारेमा उनले आफूलाई तयार त गरेका छन् । तर, आन्दोलनमा प्रहरीले अश्रु ग्यास हानेको वा कुनै दुर्घटनाको तस्बिर खिचेकोभन्दा फरक अवस्था अहिले भएको उनी बताउँछन् ।

भन्छन्, ‘एउटा चितामा मान्छे जलिरहँदा हत्तारहत्तार अर्को चिता तयार गरेको अवस्था पनि देखियो । आफ्नो परिवारलाई मृत्युमा पनि अंगालो हालेर रुन नपाएको अवस्था देखियो । अरुबेला नदेखेका यी दृश्यहरुले अहिले चाहिँ केही मात्रामा विक्षिप्त बनाएका हुन् ।’

सुरुवातमा दिनमा यस्ता दृश्यहरुले उनलाई बढि नै तर्साउँथे । अहिले बानी परेको छ । अस्पतालमा बिरामी छटपटाएकोदेखि मृत्युपछि खरानीमा परिणत भएकोसम्मका दृश्यहरुले अहिले पनि उनलाई दुःखित त बनाउँछ । तर, आफूलाई सम्हाल्दै काम गरिरहेको बताउँछन् उनी ।

कोरोना महामारीको पहिलो लहर चलिरहँदा दिपेन्द्र आफैंले चिनेका साथीहरुले आफ्नो जागिर गुमाउनु परेको थियो । आफू कार्यरत क्षेत्रमै पनि भोली के होला भन्ने अवस्था थियो । दोस्रो भेरियन्टले फेरि महामारीको रुप लिएको बेला यो डर फेरि आएको बताउँछन् उनी । भन्छन्, ‘पत्रकार महासंघले श्रमजिवी पत्रकारलाई जागिरबाट ननिकाल्नु भनेर जारी गरेको पत्र पढेको थिएँ । अहिले पनि पहिलेजस्तै मानिसले आफ्नो जागिर गुमाउने डर छ ।’

आफू कार्यरत रहेको संस्थाले दोस्रो लहरमा महामारी फैलिदाँ यससँग जुध्न व्यक्तिगत स्वास्थ्य सुरक्षाका सामग्रीहरु उपलब्ध गराएर मानसिकदेखि शाररिक रुपमा पनि कर्मचारीलाई तयार गरेको सम्झिन्छन् उनी ।

भन्छन्, ‘अस्पतालदेखि भिडभाडको क्षेत्रमा जाँदा सुरक्षित भएर जान संस्थाले हामीलाई सुरक्षाका सामग्री दिएको थियो । अहिले आफ्नो जागिर गुमाउनुपर्छ भन्ने डर म कार्यारत संस्थामा भएको छैन् । कुनै दिन संस्था जोगाउने वा कर्मचारीलाई जोगाउने भन्ने अवस्था आयो भने त्यो बेला बेग्लै अवस्था आउँछ होला ।’

अघिल्लो पटक महामारीको पहिलो लहर चलिरहँदाजस्तो जागिर गुमाउनुपर्ने अवस्था नभएको उनको बुझाई छ । पहिलो लहरबाट कर्मचारीदेखि संस्थाले पनि पाठ सिकेकाले यसपटक त्यस्तो हुने सम्भावना कम भएको उनी बताउँछन् ।

‘जनआन्दोलनको बेला हामीभन्दा अग्रज फोटो पत्रकारले खिचेका तस्बिरहरु अहिले दस्ताबेजको रुपमा छन्,’ दिपेन्द्र महामारीमा आफू गरिरहेको कामले भविष्यमा राख्ने प्रभावबारे बोल्छन्, ‘अहिलेको महामारीमा हामी धेरै फोटो पत्रकार फिल्डमा छैनौं । हामी १२ देखि १५ जना छौं । हामीले गरेका काम आफ्नो करियरदेखि इतिहासकै लागि पनि महत्वपूर्ण र दस्तावेजको रुपमा रहन्छ भन्ने बुझेको छु ।’ आफ्नो करियरमा थप जिम्मेवारी बहन गर्नको लागि यो समयमा गरेको कामले सिकाएको उनी बताउँछन् ।

पत्रकारलाई जागिरमा सुरक्षा छ, जागिर गुमाउने डर छैन भने मात्रै काम चुस्त र दुरुस्त रुपमा गर्न सकिने उनले बुझेका छन् । भन्छन्, ‘जब सेक्युरेटी भएमा मात्रै हामीले अरु नसोची काम गर्न सक्छौं । जागिर गुम्ला कि भन्ने डरबीच काम गर्न सकिदैंन् । यो महामारीले पनि संस्थादेखि हामी पत्रकारलाई पनि यो पाठ पढाएको छ ।’

मेडिकल मार्केटिङमा संलग्न कपिल चौलागाईं दोस्रो लहरको कोरोना महामारी फैलिनुअघि फिल्डमै थिए । विशेषगरि क्यान्सरसँग सम्बन्धित औषधीको बजार व्यवस्थापनको काममा संलग्न उनको दैनिकी अस्पतालभित्र बित्थ्यो । महामारी सुरु भएपछि अहिले उनी उत्पयका छाडेर आफ्नो जंसिंहपौवा घर गएका छन् ।

महामारी सुरु भएयता उनलाई आफ्ना् करियर कता जाला भन्ने डर लागेको छ । भन्छन्, ‘ माहामारी हुनुभन्दा पहिले अफिस रेगुलर थियो । अहिले त्यो पनि छैन् । घरमै बसेर अध्ययन त भइरहेको छ । तर, यस्तो महामारीले अरु क्षेत्रलाई पारेको असर देख्दा मेरो करियरलाई पनि कता डोहोर्याउँछ भन्ने लागेको छ ।’

कपिललाई आफ्नो करियरको चिन्ताले अन्योलता त सिर्जना गरेको छ नै, सँगै सामाजिक सञ्जालदेखि सबैतिर देखिने भय र क्रासले मानसिक रुपमा पनि तर्साइरहेको छ । एकतिर महामारीका कारण गुमेका ज्यानहरु छन्, अर्कातिर महामारीले थलिएका पेशा व्यवसायहरु । यी बारे थाहा पाउँदा चिन्तित हुन्छन् उनी । भन्छन्, ‘डर र क्रास त छँदै छ । तर, यो महामारीमा भइरहेको नेपालको राजनैतिक खिचातानिले दिक्क बढि लाग्दो छ । महामारीले तर्साइरहेका नागरिकलाई राजनितिले पनि तर्साइरहेको छ ।’

अन्योलताबीच आफ्नो जागिर भोली के होला भन्ने डर पालिरहेका छन् उनलाई । घरपरिवारप्रतिको दायित्व पुरा गर्न पनि आफूले केही नयाँ गर्नुपर्छ भन्ने त लाग्छ उनलाई । तर, अहिलेको अवस्थामा केही नयाँ गर्नसक्ने अवस्था नै नभएको बताउँछन् । भन्छन्, ‘यतिखेर सबैभन्दा ठूलो कुरो त जीवन रक्षा नै हो भन्ने लागेको छ । बाँकिकुरा सोच्दै गरौँला भन्ने छ । तर के सोच्ने थाहा छैन । अहिले महामारीदेखि यो देशको राजनीतिसम्मले घेरेर सोच्नै नसक्ने गरि गलाएको महसुस गरिरहेको छु ।’

कौशलटार बस्ने अप्सना चौलागाईंलाई यो महामारीले औपचारिक अध्ययनभन्दा बाहिर निस्किएर पढ्ने फुर्सद दिएको बताउँछिन् । लेखनमा रुचि राख्ने उनी अहिले आफ्नो ज्ञानलाई बृहत्तर बनाउन त पाएकी छिन् । तर, लेख्न बस्यो भने अहिले उनका शब्दहरु फुर्दैनन् । भन्छिन्, ‘पढ्न पाइयो । तर, लेखनको लागि जे जति अनुभव चाहिन्छ त्यो गर्न पाएको छैन् । घरभित्रै गुम्सिएको कुरा लेखनमा देखिएको छ । उदासिनता, दुःख, बिरह नै लेखनमा हाबी भएको छ ।’

अर्कातिर उनलाई आफ्नो औपचारिक अध्ययन पनि ढिलो भएको बताउँछिन् । अहिले ब्याचलर्स सकिनुपर्नेमा उनी तेस्रो वर्षको परिक्षा ढिलो हुँदा त्यसले असर गरेको बताउँछिन् । भन्छिन्, ‘असारमा हुनुपर्ने परिक्षा माघमा भयो । रिजल्ट पनि आएको छैन् । अहिले सामान्य रुपमा हुन्थ्यो भने इन्टर्न गरेर मास्टर्स सुरु हुन्थ्यो । तर, सबैतिर यसले असर गर्दा मेरो अध्ययनमा पनि ढिलो बनाएको छ ।’

महामारी चारैतिर पारेको असरका कारण आफूले केही गर्न सुरु गरौं वा नगरौं भन्ने अन्योलता महसुस गरिरहेकी छिन् उनी । आफूलाई इच्छा लागेको विषयमा पढ्ने होस वा केही नयाँ गर्ने कुरामा, चारैतिर डर र क्रास मात्रै महसुस गरिरहेको बताउँछिन् । भन्छिन्, ‘यो सबै कुरा गर्दा भोली के हुने हो भन्ने डर लागिरहेको छ । पढाईदेखि कामकै कुरामा पनि केही गर्ने वा नगर्ने भन्ने दुविधा सिर्जना भएको छ । केही गर्नलाई पनि अवस्था ठीक छैन् । एकप्रकारको दिक्दारीपूर्ण अवस्था आएको छ मेरो बुझाईमा ।’

पर्यटन क्षेत्रसँग संलग्न शिशिर बञ्जरा ठमेलमा होटल र एक ट्राभल कम्पनी चलाउँछन् । लक्जरी होलिडेज नामकको ट्राभल कम्पनी र टिम्बरल्याण्ड नामक होटलका सञ्चालक उनको अहिले दुवै व्यवसाय ठप्प छ । तर, वर्तमानमा व्यवसाय ठप्प भएपनि यसले भोली नयाँ बिहानी ल्याउने गरि तयारी गर्न समय दिएको उनले बुझेका छन् ।

‘डर त मलाई पनि छ,’ उनी भन्छन्, ‘२०२० को सुरुवातदेखि व्यवसाय बिहिन भएको छ पर्यटन क्षेत्र । तर, मैले दीर्घकालीन सोच बनाएर काम गरेका कारण अहिले म डराएको छैन । आगामी २० वर्षसम्मको तयारी अनुसार व्यवसाय सुरु गरेको थिएँ । यो महामारीलाई व्यापारमा हुने नाफा र घाटाकै रुपमा हेरेको छु ।’

महामारीले सबैभन्दा थलिएको व्यवसाय नै पयर्टन र ट्राभलको छ अहिले । यसबीच शिशिरले पति कता कता डर त महसुस गरेका छन् । भन्छन्, ‘ट्रेकिङ्गको कामपनिशून्य बराबर नै भएको छ । भविष्यमा अन्योलता त छ । तर, आत्तिएको छैन् । हामी प्रविधिको प्रयोगबाट मार्केटिङलाई बलियो बनाएर भोलीको लागि तयार भइरहेका छौं ।’

जीवनको व्यवसायिक पाटोबारे त्यत्ति नडराएपनि उनी महामारीको भयानक दृश्यहरुबाट तर्सिएका भने छन् । सामाजिक सञ्जालदेखि समाचारमा आउने कुराले उनीमा पनि यो क्रास पैदा गरेको छ ।

‘चारैतिर डरैडर भरिएको अवस्था छ,’ शिरि भन्छन्, ‘यस्तोमा अछुतो कोही छैन् । उपचारदेखि खाना नपाएर मान्छे मरेका छन् । यसले चिन्तित त बनाएको छ । तर, आफूलाई मोटिभेटेड राख्नकै लागि भएपनि म यी दर्दनाक दृश्यहरुलाई अहिले वेवास्ता गरिरहेको छु । बरु, आफूलाई अन्य कुरामा व्यस्त बनाएर यस्ता कुराहरुबाट भाग्ने प्रयास गरिरहेको छु ।’

कन्टेन्ट क्रियसनमा संलग्न सागर लामिछानेको दैनिकी महामारी सुरु हुनुअघि पनि बढि मात्रामा कोठाभित्रै हुन्थ्यो । अहिले पनि उनी कोठा भित्रै छन् । युट्युबर रहेका उनी केन्द्र मोशन पिक्चर्स नामक प्रोडक्सन हाउसमा संलग्नमध्ये एक हुन् । निषेधाज्ञा नहुँदा उनीको कम्पनीले निरन्तर ट्रेन्डिङ्गमा आउने कन्टेन्टहरु उत्पादन गरिरहेको थियो । तर, निषेधाज्ञापछि भने उनको पनि काम ठप्प छ ।

‘हामीले धेरै म्युजिक भिडियोदेखि अन्य कन्टेन्टको सुटिङ गनुपर्ने थियो,’ उनी भन्छन्, ‘अहिले त्यो पनि रोकियो । आफैंले ट्राभल डकुमेन्ट्री सुरु गर्ने तयारी गरिरहेको थिएँ, त्यो पनि भएन् । अहिले सबैतिरबाट हेर्दा अवस्था नाजुक भएको महशुस गरिरहेको छु ।’

कम्पनीले कन्टेन्ट निकाल्न नसक्दा कमाई पनि सिमित भएको छ । आफ्नो दैनिकीमा खासै परिवर्तन नआएका कारण उनी कोठामै पुस्तक पढ्नेदेखि आफ्नो कामको लागि नयाँ सोचहरु बनाउने काममा व्यक्त छन् । भन्छन्, ‘मेरो काम पहिले पनि कोठामै बसेर कम्युटर अगाडि हुन्थ्यो । अहिले पनि त्यहि छ । मात्र फरक मेरो काम अहिले सोचमा सिमित भएको छ । काम सोचिन्छ । तर, त्यसलाई गर्न पाएको छैन् ।’

युट्बरले महामारीमा कृयटरले पाउने रकममा केही कम गरेपनि आर्थिक रुपमा असर हुने अवस्था अहिले नआएको बताउँछन् उनी । भन्छन्, ‘अहिले पनि कोठाबाटै गर्ने काम त गरिरहेको छु । जबसम्म युट्युब छ, तबसम्म बाँच्न पुग्ने कमाई भइरहेको छ । तर, यो महामारी लम्बिदैं गएमा युट्युबबाट पनि कमाई भइरहन्छ भन्न सकिदैंन् । यो बन्द हुनसक्छ । त्यस्तो अवस्था आएमा सोच गाउँ गएर कृषि गरेर बस्ने छ ।’

आफैं कन्टेन्ट कृयटर भएका कारण उनले यो महामारीमा नागरिकलाई राज्यले गरेको व्यवहारलाई सुक्ष्म रुपमा हेरिरहेका छन् । अरु केही कुराले चिन्ता नदिएपनि उनलाई यो कुराले चिन्ता दिएको छ । नागरिकले बनाएको सरकारले नागरिकलाई नै वेवास्ता गरेको देख्दा उनी अस्थिर हुन कहिलेकाँही ।

भन्छन्, ‘मानिस मरिरहेको बेला हाम्रो सरकार कुर्सिको लोभमा लडिरहेको छ । एकातिर अस्पतालको त्रासदीपूर्ण दृश्य देखिरहँदा अर्कोतिर हाम्रा नेताहरु एकअर्कालाई अक्षेप लगाइरहेका छन् । मलाई यो बेला यहि कुराले बढि तनाब दिएको छ ।’

अघिल्लो पटकको लकडाउनका बेलाजस्तै यस पटक पनि उनले राज्य जनताको लागि नभएको बुझेका छन् । सागर भन्छन्, ‘यो महामारीले मलाई अरु कुरा पनि सिकायो होला । तर, सबैभन्दा बढि यो राज्य हामी नागरिकको लागि होइन् भन्ने बुझायो । भोलि मलाई नै केही भएमा यो राज्यको भरमा बस्नुहुन्न भन्ने यो महामारीबाट बुझेँ मैले ।’

प्रकाशित मितिः शनिबार, जेष्ठ २२, २०७८     5:58:04 PM  |