30 April 2024  |   मङ्लबार, बैशाख १८, २०८१

‘सरकारलाई कोरोना केन्द्रीत हुनको लागि ध्यानाकर्षण गराइरहेका छौँ ’

मिसनटुडे संवाददाता
प्रकाशित मितिः आइतवार, जेष्ठ १६, २०७८  

कोरोनाका कहरको दोस्रो लहर चलिरहेको छ । पछिल्ला केही दिन यता दोस्रो चरणको कोरोना संक्रमण केही कम भएको देखिएपनि तेस्रो चरणको कोरोनाको पनि सम्भावना रहेको स्वास्थ्यविज्ञहरुले बताएका छन् । पहिलो चरणको भन्दा निकै संक्रामक देखिएको कोरोनाका कारण नेपालमा मात्रै धेरै मानवीय क्षति भएको छ । अझै पनि दैनिक कोरोनाका कारण मृत्यु हुने, संक्रमित हुनेहरुको संख्या बढिरहेको छ । यस्तै कोरोना जित्नेहरुको संख्यापनि पछिल्ला केही दिनयता बढ्दै गएको छ । कोरोनाका महामारी नियन्त्रणका लागि देशभर चौतर्फी रुपमा प्रयास समेत भइरहेका छन् । सरकार तथा अन्य सरोकारवालाहरुको सहयोगले नै कोरोना रोकथाममा सघाउ पुगिरहेको छ ।  तर पनि अस्पतालहरुले अक्सिजनको र बिरामीहरुले बेडको समस्या भोगिरहेका छन् । यस्तो अवस्थामा भगवानको रुपमा काम गरिरहेका स्वास्थ्यकर्मी माथि कुटपिट गर्ने जस्ता अमानवीय कार्य हुने गरेका छन् । यसले गर्दा गर्दा स्वास्थ्यकर्मीहरुको मनोबल गिराउने खालका गतिविधि समेत भइरहेका छन् । यस्ता कार्यमा संलग्नहरुलाई कारबाहीको दायरामा ल्याउनुपर्ने हुन्छ । स्वास्थ्यकर्मीहरुको सुरक्षाको जिम्मा सरकारले लिनुपर्छ । यस्तै महामारीको समयमा राजनीतिक दलको भूमिका समेत निकै महत्वपूर्ण हुने गर्दछ । जुन दलहरुले गरिरहेका छन् । यस्तै बाँके जिल्लामा राजनीतिक दलको भूमिका, कोरोना रोकथाम तथा नियन्त्रणको लागि थालेको प्रयास, गरिरहेको समन्वय लगायतका विषयमा नेपाल काँगे्रस बाँकेका सभापति किरण कोइरालासँग मिसन टुडे दैनिकका शुभाकर विश्वकर्माले गरेको कुराकानीको सम्पादित
अंश :

१. कोरोना महामारीको समयमा तपाईंको दैनिकी कसरी बितिरहेको छ ?

हामीले कोरोनाको पहिलो चरण पनि भोग्यौँ । अहिले दोस्रो चरणमा पनि भोगिरहेका छौ । पछिल्ला केही दिनयता सकारात्मक समाचार समेत प्रवाह हुन थालेका छन् । निको हुनेको क्रम बढ्न थालेको छ । संक्रमित बढिरहेपनि मृतकको संख्या समेत कम हुँदै जानु राम्रो कुरा हो । यस्तो परिस्थितिमा हाम्रो पार्टीको तर्फबाट विभिन्न गतिविधि भइरहेका छन् । हामीले कोरोना रोकथाम तथा नियन्त्रणको लागि प्रयास गरिहेका छौँ । पार्टीको सभापतिको रुपमा म पनि आफ्नो तर्फबाट जनतासँग जोडिएको छु । उहाँहरुसँग दैनिक सम्पर्कमा हुन्छु । उहाँहरुका समस्याका बारेमा पनि बुझिरहेको हुन्थ्यौ । हामीले बारम्बार सरकारलाई अस्पताललाई सुविधा सम्पन्न बनाउन, स्वास्थ्यकर्मीको सुविधाका लागि धेरै पटक गुहार मागेका छौँ । बाँके काँग्रेसले त जिल्लामा स्वास्थ्य संकटकाल लगाउन समेत माग गरेको हो । जनशक्ति पनि बढाउनु पर्ने हाम्रो माग हो । यस्तो अवस्थामा कोरोना संक्रमितको उपचार गर्नेहरु नै स्वास्थ्यकर्मी पनि संक्रमित हुनुभयो । उहाँहरुले आफू संक्रमित हुँदा पनि अन्य कोरोना संक्रमितको उपचार गर्नुभयो । बाँके जिल्ला समेत कोरोनाबाट नराम्रो सँग प्रभावित भइरहेको छ । भेरी अस्पतालमा २४ जिल्लाका कोरोना संक्रमितको उपचार भइरहेको छ । अन्य जिल्लामा समेत सप्लाई हुने गरेको छ । हाम्रो पार्टीको तर्फबाट हामीले अक्सिजन प्लान्ट समेत व्यवस्थापनमा सहयोग गरेका थियौँ । सोही अनुसार म आफै पनि सक्रिय भए । अन्य नेता साथीहरु समेत सक्रिय हुनुभयो । हाम्रो ध्यानाकर्षण सरकारले सुनेन ।

२. नेपाल काँग्रेसको तर्फबाट जिल्लाका स्थानीय तहमा पार्टीलाई कसरी परिचालन गरेको छ ?

यो समयमा भनेको आफू सुरक्षित हुने समय हो । पहिला हामी आफू सुरक्षित हुन जरुरी छ । त्यसको लागि हामीले हाम्रो पार्टीका नेता, कार्यकर्ता तथा सम्पूर्ण नागरिकलाई सुरक्षित रहन आग्रह गरेका छौँ । हामीले विभिन्न माध्यमबाट सचेतनाका कार्यक्रम पनि गरिरहेका छौँ । अरु बेला जस्तो हुल बाँधेर बाहिर निस्कन सक्ने अवस्था पनि छैन । त्यसैले हामीले सानो समूहमा परिणाम मुखी काम गर्नको लागि पार्टीका जिम्मेवार साथीहरुलाई स्वास्यका मापदण्ड पुरा गरेर काम गर्न भनेको छौँ । सबै साथीहरुले आफ्नो गाउँपालिका तथा वडा स्तरमा जनप्रतिनिधि र स्थानीय सरकारसँग समन्वय भइरहेको छ । मैले पनि स्थानीय सरकार प्रमुखहरुसँग टेलिफोन गरेर नागरिकको उचित व्यवस्थापनको लागि ध्यानाकर्षण गराएको छु ।यतिबेला जनता परिचालन गर्ने अवस्था त छैन । त्यसैले नेताहरुलाई परिचालन गरिएको छ ।बेला–बेलामा स्थानीय तहमा भएका नराम्रा कामका विषयमा हामीले खबरदारी समेत गर्दै आएका छौँ । त्यहा भएका समस्या समाधानको लागि हाम्रो चाँसो सधै रहेको छ । लकडाउनका कारण मानिसहरु बाहिर निस्कन पाएका छैनन् । उनीहरुलाई रोगको भन्दा पनि भोकको डर रहेको छ । त्यसैले सरकारले आफ्ना नागरिकको सुरक्षा गर्न माग गर्दछु । हेदै जाउ सरकारले के गर्छ ।

३. कोरोना महामारीको फ्रन्टलाईनमा खटिएका स्वास्थ्यकर्मी माथि कुटपिट गर्ने सम्मका घटना भए, यस्तो घटनालाई काँग्रेसले कसरी लिएको छ ?

यसमा यस्तो छ, मान्छे, आफन्त मर्दा दुःख लाग्नु स्वाभाविक हो । आफूलाई दुःख पर्यो भन्दँै स्वास्थ्यकर्मीहरुलाई घाँटी थिच्ने, लात्तीले हान्ने जस्ता कार्य जुन भए । यस्तो कार्यको जति निन्दा गरेपनि पुग्दैन । यो त सरासर दानवी प्रवृत्ति हो । यो साह्र नराम्रो काम हो । म के भन्न चाहन्छु भने अस्पतालमा रहेका गार्ड कहाँ गएका थिए । अस्पतालमा हिंसा मच्चाउनेहरुलाई किन समयमा नरोकेको । आज एक जनाको ज्यान गएको भए के हुन्थ्यो । यसमा अस्पताल प्रशासनको समेत कमजोरी रहेको देख्छु । यो अवस्था हुँदा पनि के हेरेर बसेका थिए । उनीहरुले पनि यस्तो किसिमको आक्रमण पनि गर्नु हुँदैन थियो । डाक्टर नर्सहरुले आफ्नो ज्यानको समेत बाजी लगाएर बिरामीको सेवा गरिरहेका छन् । भेरीमा स्वास्थ्यकर्मीहरुले उदाहणीय काम गरेका छन् । उनीहरुको पनि परिवार छ । उनीहरुलाई आफ्ना सन्तानको माया लाग्छ । आफ्नो ज्यान जोखिममा रहेकाहरुलाई मार्न खोज्नु कस्तो मानसिकता हो । उनीहरु आफै बिरामी परेर भएपनि हाम्रो सेवा गरिरहेका छन् । यसमा अस्पताल प्रशासनले व्यवस्थापन गर्न नसकेको हो । यत्रो घटना हुँदा पनि हौनता साध्ने । दोषीलाई अभिलम्भ कारबाही हुनुपर्छ । यो राम्रो घटना होइन । स्वास्थ्यकर्मीहरुको मनोबल गिराउने काम कसैले पनि नगरौँ । उनीहरुलाई आंतकित बनाउने काम राम्रो होइन । सुरक्षा व्यवस्था कडा बनाउन माग गर्दछु ।स्वास्थ्यकर्मीहरुको कडा सुरक्षा व्यवस्था गर्ने काम गर्नुपर्छ । बिरामीहरुको सेवा पनि गुणस्तरीय हुनुपर्छ । जनताले गुनासो गर्ने खालका काम अस्पताल र स्वास्थ्यकर्मी दुवैबाट नहोस । हाम्रो भनाई यो की, अब यस्तो घटना कहिल्यै पनि नदोहोरियोस । जो विश्वास गरेर अस्पतालमा आएको उसको विश्वासमा ठेस लाग्ने काम नहोस । त्यसैले समय मै दोषी माथि कारबाही भएन भने हाम्रो पार्टी कडा रुपमा प्रस्तुत हुने पनि चेतावनी दिन चाहन्छु ।

४. जिल्लामा आठ वटै स्थानीय तहले कोरोना रोकथाम र नियन्त्रणका लागि कत्तिको भूमिका खेलेको पाउनु भएको छ ?

स्थानीय सरकारले आफ्नो तर्फबाट गर्नु पर्ने काम गरिरहेका छन् । पहिलो चरणको कोरोनाका बेला बाँकेका स्थानीय पालिकाले गरेको काम निकै सह्रानीय रहेको छ । दोस्रो चरणमा समेत उनीहरुले छोटो समयमा राम्रा काम पनि भएका छन् । हामीले पनि राम्रोलाई राम्रो र नराम्रोलाई नराम्रो भन्न सक्नुपर्छ । त्यसैले कमजोरीहरु पक्कै पनि भएका छन् । तर त्यस्ता कमजोरी सच्याएर अघि बढ्न म आग्रह गर्न चाहन्छु । आइसोलेसन र कोभिड अस्पताल बनाइएको छ । ती अझै सुविधासम्पन्न बनाउनुपर्ने मेरो माग रहेको छ । वडाहरुमा समेत काम भइरहेको छ ।जनताको सुरक्षाको लागि वडा कार्यालय समेत दिइरहेको अवस्था छ । मैले देखेको के छ भने, सबै सहरमा मात्रै छ, गाउँमा केही पनि छैन भन्ने जस्तो देखिएको छ । यो साह्रै गलत सोच हो। स्थानीय सरकारले पनि यस्ता कुरामा ध्यान दिन सक्नुपर्छ । अझै पनि सीमा खुल्ला गरिनुहुदैन । यो भारतसँग सीमा जोडिएको समेत जिल्ला हो । यहाँ ओहरदोहर भइरहन्छ । यसले हामीले दुःख पायौँ । अब भने हामी समेत हुनैपर्छ । अझै पनि व्यवस्थापनलाई दु्रस्त बनाउनुपर्छ ।

५. गणतन्त्र स्थापनाको दशक पुगिसकेको छ, अहिलेको अवस्थामा गणतन्त्र खतरामा छ वा सुरक्षित के देख्नुहुन्छ नी ?

संघीय लोकतान्त्रिक गणतन्त्र आइसकेपछि धेरै जनताले परिवर्तनको आशा गरेका थिए । अहिले संघीय शासन समेत लागु छ । गाउँगाउँमा सिंहदरबारको नारा समेत लागिरहेको छ । केन्द्रीत शासन समेत वीकेन्द्रीत भएको अवस्था हो, तर पनि जनताले त्यसको अनुभूति अहिले पनि गर्न पाएका छैनन् । सोच राम्रो थियो । तर काम राम्रो हुन सकेन । शासक राम्रो भएन भने कति दुःख हुन्छ भन्ने प्रत्यक्ष उदाहरण अहिलेको सरकार हो। बहुमत सहितको सरकार अहिले अल्पमतसम्म आइपुगेको छ । ओली नेतृत्वको सरकारले खुसी नेपालीको नारा लगाएको थियो । त्यो नारा मै सीमित भयो । २०१५ सालमा विपी कोइरालाको पालामा गठन भएको थियो । त्यो सरकारले गरेको कामलाई मन नपराएर राजाले कु गरेका थिए । अहिले ओलीले जुन विश्वास पाउनु भयो दुई तिहाईको । जनतालाई उनको पार्टीलाई विश्वास गरेका थिए । तर ओली जिले अहिलेसम्म आइपुग्दा पुरा विश्वास गुमाइसक्नु भएको छ । जनता महामारीमा छन् । सरकार कुर्सी बचाउन तिरै लागेको छ । जनपक्षमा काम हुन सकेको छैन ।

६. अन्त्यमा सम्पूर्ण नागरिकहरुलाई कोरोनाबाट सुरक्षित रहनको लागि भन्ने चाहनुहुन्छ नी ?

म त के भन्छु भने सरकारको नियमको पालना गरौँ । जनताको समस्या पनि सरकारले बुझोस । सधै घर भित्रै राखेर मात्रै हुदैन । रोगबाट पनि बच्नु पर्ने बाध्यता रहेको छ । अर्कातिर भोकको भय पनि छुट्टै छ । त्यसैले सम्पूर्ण नागरिकहरुलाई पहिला आफ्नो स्वास्थ्यको ख्याल गर्न अनुरोध गर्न चाहन्छु । नियमको पालना गरौँ अत्यावश्यक नपरी बाहिर ननिस्कऔँ । मास्कको प्रयोग गरौँ । सामाजिक दुरी कायम गरौँ ।

प्रकाशित मितिः आइतवार, जेष्ठ १६, २०७८     7:14:37 AM  |