29 March 2024  |   शुक्रबार, चैत्र १६, २०८०

‘अधिकारका लागि बोल्दा धेरै धम्की आउँछन्’

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बुधबार, भदौ ३१, २०७७  

बाँकेमा अहिले पनि बाल विवाहको अवस्था भयावह छ । एक तथ्यांकका अनुसार बाँकेमा वर्षेनी ८०.२ प्रतिशत बाल विवाह हुने गरेको छ । केन्द्रीय तथ्यांक ब्युरोले जारी गरेको विवरण अनुसार किशोरीहरुको उमेर नपुगी १९ वर्षको उमेर मै बढी विवाह हुने गरेको छ । कोभिड–१९ बेलामा झन् यस्ता घटना बढी भएको पाइएको छ । बाँकेमा सबै स्थानीय तहमा लकडाउनको अवधिमा मात्रै ६९ वटा बालविवाह भएका छन् । सबैभन्दा बढी राप्तीसोनारीमा ४२ वटा बाल विवाह भए । तीमध्ये प्रहरी समक्ष उजुरीका ७ वटा मात्रै बाल विवाहका सूचना प्राप्त भएको प्रहरी बताउँछन् । एउटाको मात्रै मुद्धा प्रक्रियामा गएको छ । यहाँका ८ स्थानीय तहमध्ये कोहलपुर नगरपालिकामा समेत १२ वटा बाल विवाह भएको सचेतन किशोरी क्लबले जनाएको छ । यसै सन्दर्भमा कोहलपुर नगर क्षेत्रमा बाल विवाहको अवस्था, महामारीमा बालबालिकाले भोग्नु परेका समस्या लगायतका विषयमा पालिकास्तरीय सचेतन किशोरी क्लबकी अध्यक्ष भावना भूसालसँग मिसन टुडे दैनिकका शुभाकर विश्वकर्माले गरेको कुराकानीको सम्पादित अंश ।

१. कोरोना कहरका बीच किशोरी क्लबले अहिले कसरी काम गरिरहेको छ ?

सिंगो विश्व कोरोना महामारीको चपेटामा छ । हामी पनि लामो समयदेखि लकडाउनको अवस्थामा छौं । यस्तो बेलामा समेत बालबालिका सम्बन्धिमा गतिविधि भइरहेका छन् । हामीले विशेष सावधानी अपनाएर सुरक्षाका साथ काम गरिरहेका छौं । नगर क्षेत्रमा थूप्रै बालबालिकाका केसहरु आइरहेका छन् । सम्भव भएसम्म हामी ती केसहरुको समाधानको लागि, पीडितलाई न्याय दिनको लागि सक्रिय रुप मै लागिरहेको अवस्था छ । यस बीचमा कोहलपुरमा १२ वटा बाल विवाह भएको हामीले जानकारी पाएका छौं । तीमध्ये हामी केही रोक्न समेत सफल भयौं भने केही केसहरु प्रक्रियामा छन् । कोरोनाको कहर भएपनि काम भइरहेको छ । वर्तमान अवस्थाका कारण हामी सोचे भन्दा पनि बढी क्रियाशिल हुन सकेका छैनौं । कोरोनाले सबै क्षेत्र जस्तै हामीलाई समेत प्रभाव पारेको छ ।

२. नगर क्षेत्रमा किशोरी क्लब स्थापनाको उद्देश्य के–हो नी ?

बाल विवाह यहाँको प्रमुख समस्या मध्ये एक हो । बाँकेमा वर्षेनी ८० प्रतिशत बाल विवाह हुने गरेको पाइएको छ । यति मात्रै होइन यहाँका बालबालिका, किशोर र किशोरीहरु निकै नै समस्यामा छन् । उनीहरुको हकहितको लागि शसक्त आवाज उठाउनको लागि क्लबको स्थापना भएको हो । कोहलपुर बाल विवाहमुक्त बनाउने हाम्रो प्रमुख उद्धेश्य हो । त्यसको लागि हामीले यहाँ बाम्बार विभिन्न कार्यहरु गरिरहेका छौं । यसको लागि निरन्तर लागिरहेको अवस्था हो । यतिमात्रै होइन बालबालिका माथि हुने हरेक क्रियाकलापको विरुद्धमा बोल्ने हाम्रो कर्तव्य हो । हामी हरेक समय यसैमा लागिरहेको अवस्था छ ।

३. बालबालिकाको अधिकारको लागि संघर्षरत हुनुहुन्छ, क्लबमा किशोरीहरुलाई कसरी गोलबन्द गराइरहनु भएको छ ?

यो एउटा अभियान हो । संघर्षको एक पाटो समेत हो । यसलाई हामी संस्थागत गर्नको लागि लागिपरेका छौं । यसमा पछिल्लो समय धेरै किशोरीहरु आवद्ध भइरहेका छन् । यदि कोही किशोरी क्लबमा आवद्ध हुन चाहयो भने सर्वप्रथम हामी उहाँको अभिभावकसँग परार्मश गर्छौ । सम्बन्धित किशोरीको पनि राय बुझ्ने काम हुन्छ । उहाँ अरु आउनु हुन्छ । धेरै जना नयाँ छन् । भर्खरै आउँदैन । हाम्रो यात्रा समाजमा रहेको विसंगती र समस्या हटाउने हो । कुनै पनि किशोरीलाई क्लबमा आवद्ध हुनलाई कुनै पनि प्रकारको नियम छैन । उहाँहरु इच्छुक हुनुभयो भने आउन सक्नुहुन्छ ।

४. यस क्षेत्रमा बालबालिकाहरुका समस्याहरु के–के देख्नुहुन्छ ?

बालबालिकाहरुका बहुआयमिक समस्या छन् । कोरोना कहरका समयमा झन् उनीहरु खाली भएका कारण निकै समस्या परेको देखिन्छ । ६ महिनायता विद्यालयहरु सञ्चालनमा छैनन् । पछिल्लो समय समस्याका रुमा सामाजिक सञ्जाल देखिएको छ । लामो समय बिना काम बस्नुपरेका कारण उनीहरु यसैमा धेरै समय विताउने काम भइरहेको छ । विशेषगरि किशोर किशोरीहरु यसमा धेरै समय बिताउने गरेको देखिन्छ । बाल विवाहको अर्को कारण पनि यो बनेको छ । साना बालबालिका पनि विद्यालय नलाग्ने भएकाले प्रविधिको पहुँचमा भएकाहरु गेम देख्ने, सिरियलहरु हेर्ने र प्रविधिको पहुँचमा नभएकाहरु खेलेरै समय बिताउने गरेका छन् । अर्कातिर खान लाउनकै लागि मजदुरी गर्नुपर्ने समस्या रहेको छ । यस्तो समस्या न्युनिकरण गर्नको लागि सबै भन्दा ठूलो भूमिका अभिभावकहरुको देखिन्छ । यस्तो अवस्थामा पनि छ कतिपय अभिभावक आफ्नो बालबालिका कुलतमा लागेको छ भन्ने थाहा हुँदाहुँदै पनि वास्ता नै गर्नुहुन्न । कतिपयले थाहा नहुदाँ समस्या हुने गरेको देखिएको छ ।

५. बालबालिकाको मुद्धामा यहाँको स्थानीय सरकार कत्तिको जिम्मेवार रुपमा लागेको छ नी ?

स्थानीय सरकारको कुरा गर्ने हो भने बालबालिकाका मुद्धामा केन्द्रीत नै हुनुहुन्छ जस्तो मलाई लाग्छ । बालबालिकाहरुका लागि सरकारी संयन्त्रहरु पनि धेरै छन् । कोहलपुरमा समेत महिला तथा बालबालिका शाखा छन् । यस अन्य थूप्रै संरचनाहरुले काम गरिरहेका छन् । तर अहिले कोरोना महामारीको समयमा चाँही बालबालिका सम्बन्धि हुनुपर्ने क्रियाकलाप ठप्प जस्तो छ । हामीले पनि धेरै काम गर्न पाएका छैनौ । यहाँका जनप्रतिनिधिहरुले हामीलाई अहिलेसम्म सहयोग गर्दै आउनुभएको अवस्था छ । लकडाउन भन्दा अगाडि निकै सक्रियताका साथमा सबै जनाले हामीलाई सहयोग गरिरहनुभएको थियो । त्यसैले हामीले स्थानीय सरकारबाट सहयोग पाइरहेका छौं । हामीले कुनै पनि केस ल्यायौ भने उहाँहरुले सहयोग गर्ने, सम्बन्धित ठाउँमा जानेदेखि लिएर समन्वय गरिदिने काम गर्नुभएको छ । यो त हाम्रो बालबालिका माथि हुने समस्या समाधान गर्ने एक प्रकारको आन्दोलन हो । त्यसैले उहाँको हामीलाई निरन्तर सहयोगको खाँचो छ ।

६. कोरोना कहरका समयमा बालबालिकाहरु निकै जोखिम समूहमा छन्, उनीहरुको सुरक्षाको लागि तपाईहरु जस्तो अभियान्ता, अभिभावक र सरकारले के गर्नुपर्ला ?

हरेक देशका नागरिकको सुरक्षा गर्नु राज्यको दायित्व हो । तर कोरोना कहरका बीचमा सरकारले बालबालिकाका लागि उपयु क्त पहल गरेको मैले देखेको छैन । अझ लामो समय विद्यालय बन्द गरेर कुनै पनि विकल्प नदिदाँ लाखौ बालबालिका बढाईबाट ब िञ्चत हुनुपरेको अवस्था छ । अभिभावकहरुको भूमिका त छँदैछ । उहाँहरुको हरेक बानी, व्यहोराले उनीहरुको समग्रमा विकासमा प्रभाव पार्दछ । यसमा उहाँहरु कत्तिको लाग्नु भएको छ । उहाँहरुले काम गरिरहेको भएको छ होला । मेरो आग्रह छ, अभिभावकहरुलाई, कृपया बालबालिकालाई सधै जोखिम मुक्त गराउनुहोस् । उहाँको सुरक्षाको पहिलो सर्तको रुपमा राख्नुहोस । सधै सिर्जनशिल काममा लगाउनुहोस् । जहाँसम्म तपाईले क्लब र अभियान्ताहरुको कुरा गर्नुभयो, हामी त निरन्तर लागिरहेका छौं । मानिसहरुलाई सचेतना फैलाउने काम निरन्तर गरिरहेका छौं । कोरोना कहरका बीचमा हामीले केही बाल विवाह रोक्न सफल भएका छौं । केही अझै प्रक्रिया मै छन् । कुनै पनि जानकारी हुन वित्तिकै हामी त्यहाँ पुगिहाल्छौ । हामी बालबालिकालाई हरहमेशा जोखिममुक्त गराउनको लागि सक्रिय रुपमा लाग्न तयार छांै । देशमा कानुन धेरै छन् । तर लागु हुन सकेको छैन ।

७. अब तपाईका केही व्यक्तिगत कुरा गरौं, यस क्षेत्रमा क्रियाशिल हुने प्रेरणा कसरी मिल्यो ?

म ६ कक्षा पढ्दा देखि नै यस क्षेत्रमा लागेको हो । विद्यालय स्तरीय विभिन्न क्रियाकलापमा सधै सहभागी भइरहन्थ्थे । स्कूलका अन्य काममा समेत सहभागिता जनाउने । मेरो सहभागितालाई र सक्रियता देखेर सबैले राम्रो गर्नु भयो, कति धेरै राम्रो छ । आगामी दिनमा पनि यसलाई निरन्तरता दिदै जानु भन्नुहुन्थ्यो । शिक्षक र साथीहरुको हौसलाले मलाई सामाजिक क्षेत्रमा लाग्छ प्रेरणा दिएको हो । घरबाट पनि मलाई राम्रो कुराहरुमा कहिल्यै पनि बन्देज भएन । आमा बुवाहरुले पनि मेरो कामलाई सर्पोट गर्नुभयो । यस क्षेत्रमा लाग्ने मेरो प्रेरणा भने कै मेरो साथीहरु, शिक्षक र अभिभावक हुन् ।

८. लामो समयदेखि यस सामाजिक क्षेत्रमा क्रियाशिल हुनुहुन्छ, अध्ययन र सामाजिक कार्य कसरी व्यवस्थापन गर्नुहुन्छ ?

यस पटक मेरो एसइई थियो । कोरोनाका कारण भएन । रिजल्र्ट प्रकाशित भइसकेको छ । अन्य तयारी पनि यस अवधिमा गरे । तर अध्ययन नै प्रभावित हुने गरी मैले सामाजिक कार्यलाई लिएकी छैन । केही गतिविधि गर्नु पर्ने भयो भने, हामी शुक्रबार अथवा शनिबार गर्छौं । अरु बेला पनि त्यस्तो पढाई नै प्रभावित हुने गरेर पनि काम हँुदैन । यसमा सबै भन्दा महत्वपूर्ण मैले समय व्यवस्थापनलाई लिएकी छु । मैले अहिलेसम्म गरिरहेको पनि त्यही हो । खाली समयको सदुपयोगका रुपमा समेत सामाजिक कार्य भइरहेको अवस्था हो । कहिलेकाही तत्काल सम्बन्धित स्थानमा जानुपर्छ । त्यस्तो अवस्थामा खास्सै अध्ययन नै प्रभावित हुँदैन । अध्ययन र समाज सेवा फरक कुरा हुन् । सबै आफैले मिलाउनुपर्छ जस्तो लाग्छ ।

९. अहिलेसम्म बालबालिकाका क्षेत्रमा काम गर्दा केही समस्याहरु परेको छ ?

मैले यस्ता समस्या धेरै भोगेकी छु । जस्तै कसैको बाल विवाह भएको जानकारी प्राप्त भयो, क्लबको अध्यक्ष हुनुको नाताले आफू जानै
प¥यो । त्यहाँ गएर सम्झाउनुपर्छ । बाल विवाह गर्नुहुँदैन । यस्तो कार्य गैरकानुनी हो । कारबाही हुन्छ । भनेर भन्दा धम्की आउँछन् । तिमीहरुलाई के मतलब भयो भन्ने, अभिभावक र समाजले समेत साना मान्छे ठूला कुरा गर्ने भन्दै होच्याउने । तिमीहरुलाई सधैको लागि समाज चाहिन्छ की यही कुरा चाहिन्छ भनेर धम्काइन्छ । मैले यस्ता कुरा धेरै पटक फेस गरेको छु । अनि केटाकेटीहरुले तिमीहरुले छुट्यायौं भने तिमीहरुको नाममा सुसाइट नोट लेख्छौ, मर्छौ भन्छन् ।

१०. यस्तो कुरा सुन्दा कहिले काँही लाग्दैन यो क्षेत्रमा किन लागे होला भनेर ?

एक दम गम्भीर प्रश्न गर्नुभयो, मलाई यस्तो कुरा धेरै पटक अनुभव भएको छ ।हामीले उनीहरु कै बोलिरहेका छौं । उनीहरु पक्ष लिएका हुन्छौं । उनीहरु नै भन्छन्, तिमीहरुको नाम लेखेर मर्छौ । सोच्नु, भो अब यस्तो काम त गर्दिन । अनि लाग्छ, होइन यस्तो गम्भीर विषयमा मैले नबोले अरु कसले बोलिदिने । आज एउटा किशोरीलाई समय भयो, भोली अर्कोलाई होला ? के थाहा मै माथि त्यो कुरा भयो भने मेरो विषयमा कसले बोलिदेला भन्ने लाग्छ । यस्तो अवस्थामा पनि परिवारको साथ र सपोर्ट नभएको भए सायद मलाई, अरु साथीलाई यसमा लागि रहन प्रेरणा हुन्थेन होला । मेरो परिवारको कुरा गर्नुहुन्छ भने मेरो परिवारले नै मेरो काममा साथ दिनुभएको छ । उहाँहरुले नै जनचेतना फैलाउने काम गर्नु भएको छ ।

११. भविश्य के बन्ने सोच छ ?

अहिले पनि पढिरहेकी छु । यसमा पनि छु । मेरो भविश्यको योजना भनेको समाज सेवा गर्ने नै हो । पढाईलाई पनि निरन्तरता दिन्छु ।

१२. अन्त्यमा अभिभावक र पाठकहरुलाई के भन्न चाहनुहुन्छ ?

कोरोना कहरको समयमा बालबालिकामा मानसिक समस्या परिरहेको छ । कोठा भित्रै बस्दा उनीहरुमा एक प्रकारको नजरबन्दको अवस्था छ । एक्लै भएमा नकारात्मक कुरा बढी खेल्ने गर्दछ । अभिभावकहरुलाई निकै जिम्मेवार रुपमा अघि बढ्न आग्रह गर्न चाहान्छु । आफ्ना छोराछोरीलाई निकै समय दिनुहोस् । उनीहरुलाई सिर्जनशिल बनाउनुहोस । पाठकहरुलाई मेरो आग्रह, बालबाललिकाको मुद्धामा हामीसँग हातेमालो गर्नुहोस् भन्न चाहान्छु । समाजमा बालबालिकामा माथि हुने गरेका हिंसाहरु र विभेदबारे हामीलाई जानकारी दिनुहोस । कोरोना कहर छ सबैलाई सुरक्षित रहन आग्रह गर्न चाहान्छु । धन्यावाद, मिसन टुडे दैनिकलाई ।

प्रकाशित मितिः बुधबार, भदौ ३१, २०७७     10:30:10 AM  |