26 April 2024  |   शनिबार, बैशाख १५, २०८१

निजी एग्रोभेटमा प्रहरी इन्चार्जको ड्युटीः पोशाकमै पसलेको सहयोगीको भूमिकामा असई खत्री

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बिहिबार, जेष्ठ २२, २०७७  

यानबी साहु/शुभाकर विश्वकर्मा

बाँकेको बैजनाथ गाउँपालिका–६ सम्झना चोक आसपासका क्षेत्रमा रहेका एग्रोभेटहरुमा दैनिक सयौं मानिसको भीडभाड हुन्छ । धानको ब्याड राख्ने सिजन सुरु भएसँगै अहिले एग्रोभेट पसलहरुमा किसानहरुको बाक्लो भीड लाग्ने गरेको छ ।

बैजनाथको मुख्य बजार क्षेत्र रहेको सम्झना चोक क्षेत्रमा लकडाउन बिर्साउने खालको भीडले जोखिमको सम्भावना रहेपनि सुरक्षा निकाय र स्थानीय तहले भने मानिसहरुको भीड व्यवस्थापनमा ध्यान दिन सकेका छैनन् । अहिलेसम्म बैजनाथ गाउँपालिकामा ८ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको अवस्था छ ।

स्थानीय स्तरमा खटिएका सुरक्षाकर्मीहरुले भीडभाडलाई नियन्त्रण गर्नुको साटो उल्टै पसलको सहयोगीको भूमिका निर्भाह गरिरहेको मिसन टुडेले फेला पारेको छ । सम्झना चोकमा रहेको सिद्धबाबा एग्रो पसलमा दैनिकजसो किसानहरुको भिड लाग्ने गर्छ । न त्यहाँ कुनै सामाजिक दुरीको कायम गरिएको हुन्छ । न त सबै मानिसहरुले मास्क नै लगाएका हुन्छन् ।

प्रहरी चौकीसम्झनादेखि उक्त पसल ५० मिटर टाढा पनि छैन । उक्त भिड नियन्त्रण र दुरी कायम गरेर बस्न आग्रह गर्नुपर्ने भन्दा पनि प्रहरी नै पसलमा सहयोगीको रुपमा काम गरिरहेको बुधबार पाइयो ।

प्रहरी चौकी सम्झनाका इन्चार्ज असई अमर बहादुर खत्रीले सिद्धबाबा एग्रोमा अधिकांश समय प्रहरी पोशाकमा नै ड्युटी गरिरहेको देखिन्छ । मिसन टुडेलाई प्राप्त भिडियोमा गत सोमबार समेत उनले पसलमा ३ घण्टा पोशाकमै काम गरेको देखिएको छ ।

पसलमा खासगरी धानको बिउ लिन आएका किसानहरुको बाक्लो उपस्थिती देखिन्छ । नेपालका प्रहरी असई खत्री समेत त्यहाँ देखिन्छन् । सिद्धबाबा एग्रोमा दुरी कायम गरिनु पर्नेमा उल्टै प्रहरीको अगाडि नै लकडाउन उल्लंघन भइरहेको भिडियोमा देखिन्छ । सरकारले यस्ता पसलहरु खोल्दा दुरी कायम गर्नुपर्ने, मास्क अनिवार्य गर्नुपर्ने लगायतका निर्णय गरेको छ ।

तर भिडियोमा भने कानुन कार्यान्वयन गर्ने जिम्मेवारी बोकेका प्रहरी कार्यालयका इन्चार्ज नै व्यापारी जस्तो पसलमा खटिरहेका छन् । भिडियोमा इन्चार्ज सयौंको हुलको बीचमा बसेर पसलेलाई सघाइरहेका देखिन्छन् ।

‘भीडमै घरी यता गर्छन्, घरी उता । यति सम्मकी उनी उपभोक्तालाई खरिद् गरेको सामान दिने, उनीहरुबाट रुपैयाँ लिएर एग्रोभेटका मालिकलाई दिने गर्छन् ।’ एक स्थानीयका अनुसार सोमबार उनको त्यो कार्य तीन घण्टासम्म चलेको थियो ।

त्यस दिन उनी कम प्रहरी र बढी पसलेको सहयोगीको रुपमा देखिएका थिए । नेपाल प्रहरीको पोसाक लगाएका, मुखमा मास्क र एक हातमा लाठी बोकेका असईको त्यो क्रम करिब दिउँसो १२ बजेदेखि दिउँसो ३ बजेसम्म चलेको थियो । ३ बजेपछि भीड कम भएसँगै उनी एग्रो पसलबाट सेतो प्लाष्टिकको झोलामा सामान बोकेर निस्किएको देखिन्छ ।

भीडभाड कम तथा दुरी कायम गर्न अग्रसर हुनुपर्ने असई खत्री आफै पसलेको सहयोगीको भूमिकामा देखिएर प्रहरी संगठनको खिल्ली उडाएका छन् । उनले व्यवहारलाई त्यहाँका स्थानीयहरुले समेत आश्चर्यका रुपमा लिएका छन् ।

सुरक्षाकर्मीले कोरोना कहरको बीचमा लकडाउन प्रभावकारी बनाउने, दुरी कायम गराउनुको साटो निजी एग्रोभेटमा ड्युटी कुन प्रयोजनले गरे भन्ने बारेमा स्थानीय प्रश्न उठाइराखेका छन् । सोमबारको गतिविधि प्रत्यक्ष रुपमा देखेका एक स्थानीयले नाम उल्लेख नगर्ने सर्तमा भने, ‘यहाँ दैनिक जसो सामाजिक दुरी कायम गर्ने र लकडाउनको पूर्ण पालना हुन सकेको छैन ।

दैनिक ठूलो संख्यामा मानिसहरुको भीडभाड हुने गरेको छ । कोरोना संक्रमण देखिएको यो क्षेत्रमा एक निजी एग्रोभेटमा प्रहरी इन्चार्जले नै ड्युटी गरेको देख्दा अचम्म लागेको छ ।’

यसमा विषयमा जिज्ञासा राख्दा उक्त वडाका जनप्रतिनिधि एग्रो पसलहरुमा मानिसहरुको बढि भीडभाड देखिने गरेको बताउँछन् । ‘पसलहरुमा प्रहरीकै संरक्षणका मानिसहरुको भीडभाड हुन्छ’ ती जनप्रतिनिधीले भने, ‘स्थानीय प्रहरीलाइई भीड व्यवस्थितको लागि सहयोग माग्दा सहयोग पाइएको छैन ।’

यहाँको प्रहरीले भीडलाई नियन्त्रणमा लिन चासो नदेखाएपछि आफूले इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक कुलदिप चन्दलाई आफुले फोन गरेको ती जनप्रतिनिधीले बताए । ‘हामीले बारम्बार सम्झाउँदा समेत भएन, एग्रोभेटमा धेरै भीडभाड भयो ।

मान्छेले ज्यान भन्दा पैसा ठूलो माने । मैले लकडाउन प्रभावकारी बनाउन, सामाजिक दुरी काम गर्नको लागि सुरक्षाकर्मी आवश्यक रहेको भनेर प्रशासनलाई समेत जानकारी गराएको थिए । अर्का जनप्रतिनिधीले नाम उल्लेख नगर्ने सर्तमा भने । सिद्धबाबा एग्रोभेटका सञ्चालकलाई समेत सामाजिक दुरी कायम गर्न, भीडभाड नगरिदिन आग्रह गरेको गर्दा पनि मानेनन् ।

‘ती सञ्चाकले मैले पचास लाख रुपैयाँ ऋण गरेर बिउ ल्याएको छु, मैले बेच्न पाइन भने बाँचेको के अर्थ भनेर आफूलाई जवाफ फर्काए’ उनले भने, ‘असइलाई समेत लकडाउन प्रभावकारी बनाउन भनेर अनुरोध गर्दा उहाँले समेत स्थानीय टेर्दैनन् ।

हामीले लठ्ठी चार्ज गर्न मिल्दैन, हाम्रो जागिर भन्नुहुन्छ ।’ यस्तै निजी एग्रोभेटमा लामो समय नियम विपरित ड्युटी गरेको विषयमा मिसन टुडेसँग कुरा गर्दै प्रहरी चौकी सम्झनाका इन्चार्ज असई खत्रीले सम्झना क्षेत्र तथा अन्य क्षेत्रमा आफूहरु निरन्तर खटिरहेको बताए । ‘त्यो लगाइएको आरोप होला सर, हामी तीन घण्टा खटिदा पनि खटिदैंनौ, त्यो सिद्धबाबा मात्रै छैन ।

त्यहाँ बढी भीड हुन्छ त्यसैले गएको हो । जेष्ठ १९ गते म एक घण्टा जति गएको हो ।’ सिद्धबाबा एग्रोभेट प्रा.ली.मा तीन घण्टा ड्युटि गर्नु भएको हो भन्ने प्रश्नमा उनले भने ।

यता इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी नायब उपरीक्षक कुलदिप चन्दले सुरक्षाकर्मी जनताको सुरक्षाको लागि खटिने भन्दै कुनै एग्रोभेट वा व्यवसायीलाई सहयोग हुने गरेर नखटिने दाबी गरे ।  कतिपय अवस्थामा ठूला भीडभाड हुने क्षेत्रमा खटिने गरेको भएपनि व्यक्तिलाई सहयोग हुने किसिमले कसैलाई पनि नखाइएको उनले बताए ।

‘अहिले सुरक्षाकर्मी क्वारेन्टिन, आइसोलेसन लगायतमा खटिएका छन् । यदि कोही पुलिसले कसैलाई व्यक्तिगत रुपमा फाइदा हुने गरेको काम गरेको रहेछ भने म सोधौला । त्यहाँ राखिएको पनि होइन खटाएको पनि होइन’ प्रहरी नायब उपरीक्षक चन्दले भने ।

प्रकाशित मितिः बिहिबार, जेष्ठ २२, २०७७     7:03:51 AM  |