21 May 2024  |   मङ्लबार, जेष्ठ ८, २०८१

चटनीभित्रको स्वादमा रुमल्लिदा

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शनिबार, अशोज १७, २०७७  

–छविलाल खड्का

क) आरम्भ 

महानन्द ढकाल सर मार्फत हरि प्रसाद त्रिपाठीको हाइकु सङ्ग्रह “चटनी” प्राप्त गरें । सो सङ्ग्रहमा सङ्ग्िरतह हाइकुहरु पढ्ने अवसर मिल्यो । हाइकुहरु पढे पश्चात् केही लेख्ने भावना मनमा पलायो र सानो आलेख तयार गर्ने मनशायमा पुगें । हाइकु पनि कविता विधाको उपविधा हुनुको नाताले यसको अध्ययन गर्दा कविताका मुलभूत तत्वहरु जोडिने नै भए । कविताको सैद्धान्तिक पाटो, हाइकु लेखनको सैद्धान्तिक र शास्त्रीय संरचना विधान र चटनी हाइकु सङ्ग्रहलाई मुख्य स्रोत सामग्री मानी यो आलेख तयार गरिएको छ । हाइकुलाई जापानी साहित्य आकाशमा मौलाएको उपविधाका रुपमा चिनिन्छ । यसको नालीबेली खोज्दै जादा जापान नपुगी धरै छैन । यसरी जापानबाट आयतित उपविधाको रुपमा व्यवहार गर्ने गरिएको हाइकुले नेपाली माटोमा मौलाउँदै मन–मुटुमा अमिट छाप बसाल्न सफल भएको परिप्रेक्ष्यमा नेपाली मौलिक उपविधाकै रुपमा स्थापित भैसकेको तथ्यलाई नकार्न सकिँदैन ।

ख) हाइकुको सामान्य परिचय 

हाइकु भन्ने बित्तिकै जापानी भाषा साहित्यको चित्र देखापर्छ । जापानी साहित्यका अनेकौ विधा र उपविधा मध्ये हाइकु एक सशक्त उपविधा मानिन्छ । सशक्त हाइकु सिर्जना गर्न सक्ने सर्जक नै जापानमा सम्मानित व्यक्तिमा गनिन्छ । त्यहाँका विश्व विद्यालयहरुमा हाइकुको अध्ययन अध्यापन हुन्छ । यसरी साहित्यको महत्वपूर्ण हिस्सा ओगटेको हाइकु ताङ्का, हाइकाई, होक्कु हुँदै वर्तमान रुपमा आएको सत्यलाई नकार्न सकिँदैन । जापानी हाइजिन बासोले सिर्जना गरेको हाइकु–

फुरुइके या

कावाजु तोबिकोमु

मिजुनो ओतो ।

नेपाली भाषामा अनुवाद 

पुरानो कुवा

भ्यागुतो हामफाल्छ

जल आवाज ।

अहिले विश्व साहित्यमा कविता विधाको उपविधाका रुपमा साम्रराज्य जमाइरहेको लोकप्रिय उपविधाका रुपमा हाइकुलाई लिएको पाइन्छ । यसरी विश्व साहित्यमा प्रभाव जमाउन सफल हाइकुबाट नेपाल पनि अछुतो रहन सक्ने कुरै भएन । यसको प्रभाव स्वरुप नेपालमा मिति २०१९ साल भदौ अङ्कको रुपरेखा पत्रिकामा शंकर लामिछानेले “सूर्याेदय” शीर्षकमा यस्तो हाइकु लेखे–

माकुरा जाल

झोलिएको ओसले

तन्किदै गयो ।

शंकर लामिछानेले नेपाली भाषामा पहिलो हाइकु लेखी नेपाली भाषा साहित्यमा हाइकुको दैलो उघारेका थिए । वि.सं. २०२२ सालमा मदन पुरुस्कार प्राप्त पारिजातको “शिरीषको फूल” उपन्यासको अग्र भागमा एउटा हाइकु राखियो जुन यस्तो थियो ः

शिरीष फूल

भ्रमर चुम्बनमै

ओइली झर्छ ।

उक्त उपन्यासको भूमिका शंकर लामिछानेले लेखेको हुँदा यो हाइकु पनि उनैले लेखेको भन्दा अतियुक्ती नहोला । यसरी नेपालमा भित्रीएको हाइकु उपविधामा केही समय खडेरी प¥यो । यसलाई आयतित उपविधाका रुपमा हेरियो । धेरै जसोले खिसीटिउरी गरे । मजाकको विषय बनाए । तत्पश्चात केही हाइजिनहरुको धैर्यता र लगनशीलताले ५० को दशकपछि व्यापक रुपमा फस्टाएको सत्यलाई सबैले आत्मसाथ गरेको पाइन्छ । ५–७–५ को तीन हरफीय १७ अक्षरको किगोयुक्त रचना नै हाइकु हो । नेपालमा हाइकुका बारेमा दुई धार रहेको पाइन्छ : पहिलो धार – ऋतुबोधक किगो अनिवार्य हुनुपर्छ । दोस्रो धार – ऋतुबोधक किगो भए राम्रो नभए पनि हाइकु मान्न सकिने विचारले जित्दै गएको पाइन्छ ।

ग) हाइजिन हरिप्रसाद त्रिपाठी :

पिता स्व. नारायणदत्त त्रिपाठी र माता स्व. खिनी देवी त्रिपाठीको कोखबाट मिति २०१७/०९/०३ गतेका दिन कास्की जिल्लाको हेमजा गाउँमा जन्मिएका हरिप्रसाद त्रिपाठीको कर्मक्षेत्र भने बर्दिया जिल्लाको बाँसगढी नगरपालिका हुन पुग्यो । उत्तरमध्यमासम्म अध्ययन गरी शैक्षिक पेसामा अनुबन्धित भएका एक कर्मठ योद्वाको रुपमा करीब तीन दशकदेखि अटुट रुपले कार्यक्षेत्रमा लागिरहेका छन् । चक र डस्टर घोट्दै आफूमा भएको ज्ञान बाँड्दा बाँड्दै जागिरको उत्तरार्धतिर आइपुग्दा जागिरे जीवनमा लिएका अनुभव र उनीभित्र रहेको साहित्यिक बिज २०७६ सालमा अङ्कुरित भै “चटनी” नामक मुना पलायो । उनका अनुसार जीवनकालमा भएका कविता लेख्ने र वाचन गर्ने कार्यले संगठित रुप लिन नसक्दा धेरै सिर्जनाहरु हराएर नष्ट भए भने केही सिर्जनाहरु अझै सुरक्षित रहेको कुरा उनको भनाइबाट थाह हुन्छ । आफूले उपयुक्त वातावरण नपाएको तर हाल आएर केही साहित्यिक नक्षेत्रहरुको सहयोग र आफ्नो लगनशीलताबाट यो कार्य सफल भएको र आफू निरन्तर यो क्षेत्रमा लागिरहेने प्रतिवद्वता जाहेर गर्दछन् । उनीमा रहेको जोश र जाँगर हेर्दा लाग्छ, भर्खर जवानी चढेकोछ ।

घ) हाइकु सङ्ग्रह चटनी :

हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठान,कोहलपुर, बाँकेबाट मिति २०७६ साल फाल्गुणमा प्रकाशित हाइजिन हरिप्रसाद त्रिपाठीको हाइकु सङ्ग्रह “चटनी” मा प्रतिष्ठानका उपाध्यक्ष सन्तोषी बिष्टको प्रकाशकीय र नेपाल हाइकु केन्द्र, बाँकेका अध्यक्ष बद्री ढकाल “हिरामणी”को भूमिका लेखनले सज्जिएको सो सङ्ग्रहमा २११ वटा हाइकुहरु सङ्ग्र्रहित छन् । जम्मा ७० (कभर सहित) पृष्ठ रहेको चटनीको साजसज्जा सुन्दर
छ ।

चटनीभित्र समेटिएका हाइकुहरुले सामाजिक, राजनैतिक, आर्थिक, शैक्षिक , सांस्कृतिक, धार्मिक, प्राकृितक, प्रेम, ऐतिहासिक, प्रशासनिक, सुरक्षा, युद्ध , भ्रष्टाचार, बेरोजगार, बिकृति आदि विषय बस्तुका उठान गरेका छन् । माथि उल्लेख गरे झै प्राकृतिक विषय (किगो) समेटेका हाइकुहरुलाई मात्र हाइकु भन्ने हो भने बाहेक नत्र अन्य विषयहरु सामाजिक, राजनैतिक, आर्थिक र सांस्कृतिक क्षेत्रमा भए गरेका विसंगति, विकृति र भ्रष्टाचारजन्य कुराहरुलाई विभिन्न प्रकारका बिम्ब, प्रतीक, अलंकार, उपमा, व्यङ्ग्यका सहायताले चिरफार गरी लेखिएका हाइकुहरु प्रशस्त रुपले पढ्न पाइन्छ । हाम्रो जनजिवनमा भए गरेका हरेक विषयलाई टप्प टिपेर हाइकुमा उतार्ने गरेको पाइन्छ । किगोयुक्त हाइकुहरु पनि प्रशस्तै भेटिन्छन् । उनका हाइकु संरचना (५,७,५), बिम्ब प्रयोग, अलंकार, उपमा, व्यञ्जना, लक्षणा आदि हरेक दृष्टिबाट सफल नै देखिन्छन् । यहाँ चटनी हाइकु सङ्ग्रहमा समेटिएका हाइकुहरुलाई निम्नानुसार विषयमा अध्ययन गर्ने जमर्काे गरिएको छ :-

१) संरचनाका दृष्टि :

हाइकु कविताको उप विधाका रुपमा स्वीकार गरिसकिएको विषय हो । कविताकै लघुतम रुप भएकोले यो स्वतन्त्र लयमा रचिन्छ । सिद्धान्ततः हाइकुमा प्रकृति बोल्छ, व्यवहारमा मौसम खोतल्छ, कला–कौशलमा काल चिन्तन, जीवन दर्शन, जैविक विश्लेषणकासाथ बिम्बको सहारामा ऋतुजन्य धराको उपहार ओकल्छ । (बी.के. पाल्पाली ः पूर्णिमा हाइकु विशेषाङ्क (२०७६) प्रकृति र मानवबिच अन्योन्याश्रित सम्बन्ध रहन्छ । यही सम्बन्धबाट निस्किएका निश्चित नियमबद्व अभिव्यक्ति नै हाइकु हुन् यही कारणले मानवीय जीवनमा आइपरेका यावत समस्यामा उब्जिएका अभिव्यक्ति पनि हाइकुमा बिस्तारै स्वीकार गर्दै गएको पाइन्छ । हाइकुको शास्त्रीय संरचना विधान अनुसार जम्मा १७ अक्षर, तीन हरफ र पहिलो हरफमा पाँच अक्षर, दोस्रो हरफमा सात अक्षर तथा तेस्रो हरफमा पाँच अक्षर रहेको हुन्छ । (५–७–५) को संरचनामा हाइकु लेखिने भएकोले हाइजिन हरिप्रसाद त्रिपाठीको हाइकु सङ्ग्रह चटनी र यसमा समावेश रहेका हाइकुहरुलाई संरचनाको कसीमा हेर्ने प्रयास गरिएको छ ।

आयुष्मा ढकालको आवरण कलामा सजिएको चटनी हाइकु सङ्ग्रह आकर्षक नै देखिन्छ । मध्यम आकारमा रहेको सङ्ग्रह ६६ पृष्ठमा (कभर बाहेक) प्रतिष्ठानका उपाध्यक्ष सन्तोषी बिष्टको प्रकाशकीय, चटनी चाट्दै “चटनी” का कुरा शीर्षकमा नेपाल हाइकु केन्द्र, बाँकेका अध्यक्ष बद्री ढकाल “हिरामणी” को भूमिका र मेरो भनाइका साथ २११ वटा हाइकुहरु रहेका छन् । एकाध् बाहेक सबै हाइकुहरु शास्त्रीय संरचनाभित्रै रही शसक्त रुपले उभिएका छन् । जस्तै :-

एक्लो जीवन

सामाजिक सञ्जाल

बढ्दो विकृति ।        (पृष्ठ : ११)

 

सुनामी वर्षा

तरङ्ग तरङ्गित

नर विनाश ।                (पृष्ठः  ८)

 

जाडो मौसम

प्रदेशमा छ लोग्ने

कठै !विचरा । (पृष्ठ : १९)

 

हिम शैल यो

चाँदी जस्तै चम्किलो

नदी मुहान । (पृष्ठ : ३७)

 

यसरी संरचनामा शसक्त हुँदाहुँदै पनि केही हाइकुहरु शुद्धा शुद्वीले रुप बिगारेको पाइयो । जस्तै :-

 

रविको आस

बनी विश्व प्रकाश

अध्यारो नाश । (पृष्ठ : २)

 

पिएर झम

यो एम. सि. सि. रम

षड्कला बम । (पृष्ठ : ४) आदि ।

 

संरचनाको नियम तोडिएको पनि भेटियो । जस्तै :

 

हो आज माग

जनताको राज

रही संहाल । (पृष्ठ : ४७)

 

अक्षर गणनालाई मध्ये नजर गर्दा हलन्त र अजन्तको नियम मिचिएको पाइयो । जस्तै :

 

आगाको ज्वालो

भकभकी पाक्यो मन्

पग्लियो तन ।

२) विषय वस्तुका दृष्टि :

चटनीभित्र समेटिएका हाइकुका विषय वस्तु यस्ता छन् : सामाजिक, राजनैतिक, आर्थिक, शैक्षिक , सांस्कृतिक, धार्मिक, प्राकृितक, प्रेम, ऐतिहासिक, प्रशासनिक, सुरक्षा, युद्ध , भ्रष्टाचार, बेरोजगार, बिकृति आदि । यसमा समेटिएका विषय वस्तुले नेपाली परिवेशभित्रको प्राकृतिक (किगो) मात्र नभएर समग्र जीवन र जगतका बारेमा उनका हाइकु बोलेका छन् । जस्तै :

 

धाराको पानी

नमेटिएको तिर्खा

भोको पिरती । (पृष्ठ : १२ )

 

नेपाली झण्डा

चन्द्र सूर्य अङ्कित

प्रतीक हाम्रो । ( पृष्ठ : १७)

 

खुला आकाश

चिरबिर चखेवा

प्रेमिल जोडी । ( पृष्ठ : ४१)

३) भाषा शैलीको दृष्टि :

मानक भाषा नेपाली भाषाको माऊ भाषा संस्कृत भाषा हो । संस्कृत भाषा शब्द भण्डारको खानी हो । शब्द भण्डारको खानीबाट नै सुन्दर र उत्कृष्ट सिर्जना जन्मन सक्छन् । हाइजिन हरिप्रसाद त्रिपाठी उत्तरमध्यमाको अध्ययन गरेको हुँदा उनका हाइकुमा संस्कृतको समेत प्रभााव देखिन्छ । उनका हाइकुमा उखान, टुक्का, उक्ति आदिको प्रयोगले मिठास भरिएका छन् । भाषा सरल छ भने शैली शिष्ट नै छ । जस्तै :

 

विधिको सार

प्रकृति छ अपार

आयो वहार । (पृष्ठ : ३४)

 

भानु प्रकाश

नभए अन्धकार

नेत्र बेकार । ( पृष्ठ : १)

 

नर्तकी आई

ढोल डम्फू बजाई

नाँची र गाई । ( पृष्ठ : ६)

४) रस–अलङ्कारको प्रयोगको दृष्टि :

चटनी हाइकु सङ्ग्रहमा संग्रहित हाइकुहरु साहित्यका नवै रस र सौन्दर्य र सौन्दर्यसाधक मानिने अलङ्कारको प्रयोग भएको पाइन्छ । शब्दालङ्कार र अर्थालङ्कारका हिसाबले बक्रोक्ति, उपमा, उत्प्रेक्षा, दृष्टान्त, रुपक, सन्देह आदि अलङ्कारहरुको भरपुर प्रयोग भएको
पाइन्छ ।

 

चम्कने रोटी

आकाशमा दुईटा

शक्तिको श्रोत । ( पृष्ठ : ११)

 

महल राम्रो

बस्न सकिन्न यहाँ

भूत बङ्गला । (पृष्ठ : १७)

 

बाख्री करायो

चोर आयो कि कसो ?

बोका हरायो । ( पृष्ठ :२५)

 

५) बिम्ब–प्रतीकको प्रयोगका दृष्टि :

हाइकुले अभिव्यक्त गर्ने भावलाई सटिक र पेचिलो बनाउने उत्तम उपाय भनेकै बिम्ब र प्रतीकको प्रयोग हो । बिम्ब र प्रतीक सिर्जनाका प्राण हुन् । यी बेगरका रचना विशिष्ट खालका मानिदैनन् । बिम्ब र प्रतीकको सहाराले पाठकको मन मुटु वा दिमागमा झिल्को पार्न सके मात्र सिर्जनाको उपलब्धी ठानिन्छ । चटनी हाइकु सङ्ग्रहभित्रका हाइकुहरु पनि विभिन्न बिम्ब र प्रतीकले सजिएका छन् । घाम, जून, परी, गोठ, मुश्लो, साँढे, नौनी, पोथी, आरुबखडा, सिस्नो, गुलाब, स्वर्ग, चाँदनी, औंसी आदि बिम्ब र प्रतीकहरुले हाइकुलाई ओजिला र गर्विला बनाएका छन् ।

 

अमेरिका त्यो

एम. सि. सि. नामको

बल्छी लगायो । ( पृष्ठ : ३९)

 

सूर्य र चन्द्र

दाजु भाइको भेट

चन्द्र ग्रहण । (पृष्ठ : ३५)

अन्यमा,

हाइजिन हरिप्रसाद त्रिपाठीका २११ वटै हाइकुहरु चटनी जस्तै नुनिला, पिरा, अमिला ट्वाक्क जिब्रोमा लाग्ने खालका छन् । जिब्रो पड्काउँदै रस्वादन गर्न सकिन्छ । धेरै हाइकुहरु अनुप्रासयुक्त रहेकाले झनै रसिला भएका छन् । जीवन र जगतमा देखिएका बिसङ्गती र विकृतिलाई हाइकुले समाएका छन् । चटनी नाम आफैमा युनिक छ । चटनी भन्ने बित्तिकै सबैको मुख रसाउँछ त्यस्तै चटनीभित्रका हाइकुले पनि पाठकको मुख रसाउन सकोस् भन्ने शुभकामना व्यक्त गर्दछु । करिब तीन बीस पुग्दै गरेका जोशिला सर्जकबाट अझै यस्तै र योभन्दा झन् गहन हाइकुहरुको अपेक्षा सहित कृतिगत सफलताको शुभकामना ।

 

प्रकाशित मितिः शनिबार, अशोज १७, २०७७     6:36:35 PM  |