9 August 2020  |   आइतवार, साउन २५, २०७७

समिक्षा : मन्दाकिनीसँग दुई दिन दुई रात

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शनिबार, साउन १७, २०७७  

– महानन्द ढकाल

मन्दाकिनी पाँच फिट पाँच इन्चकी छिन् । इमान्दार, मिलनसार र बत्तिस लक्षणले युक्त मन्दाकिनीको प्रशंसा धेरैले गरेका छन् । दैनकि जसो उनको चर्चा प्रशासन कार्यालयमा पनि हुने गर्छ । मन्दाकिनी साँच्चिकै मोहिनी रहिछिन् । भेट भएपछि न त उनी छुट्टिन मानिन् न त मलाई नै छुट्टिन मन लाग्यो । हाम्रो सँगत तीन दिन तीन रात रह्यो । यो समयमा मन्दाकिनीका रुप र गुणले मलाई लठ्ठाइरह्यो । मन्दाकिनीसँग दुई दिन दुई रात मज्जाले बिताएँ । मन्दाकिनीसँग रहँदासम्म भोक र निद्राले पनि प्राथमिकता पाएनन् ।

उनी सँच्चिकै राम्री छिन् बाहिरी रुपले भन्दा भित्री गुणले । उनलाई शशिराम कार्कीले जन्माएका हुन् । उनी जन्मिन कति समय लाग्यो मलाई थाहा छैन् तर मन्दाकिनीलाई जन्माउन शशिराम कार्कीलाई लामै समय लगाएको हुनुपर्छ । कलाकारले पनि त लामो समयको परिश्रमबिना सुन्दर मूर्ति बनाउन कहाँ सक्छ र ?
मान्छेहरु गुणको भन्दा रुपको पछि लाग्ने गर्छन् । रुपको पछि लाग्नेहरुले मन्दाकिनीलाई कदापि चिन्ने छैनन् । कदापि बुझ्ने छैनन् । मन्दाकिनी एउटा सुन्दर कथाकी सुन्दर पात्र हुन् । गुणलाई भन्दा रुपलाई महत्व दिने मानवीय प्रवृत्तिलाई गलत सावित गर्न जन्मिएकी आधुनिक किन्नरी हुन् । यिनैको नामबाट पुस्तकको नामाकरण गरिएको छ ।

छोरालाई महत्व दिने र छोरा जन्माउनकै लागि परित्याग गर्न खोज्दा दन्त्य कथाकी बाँदरर्नी मैयाँ जस्ती कुरुप हुन पुगेकी मन्दाकिनीलाई सुन्दर, शिक्षित र प्रेमिल जीवनसाथी राजनले साथदिएपछि घर स्वर्ग बन्न पुगेको छ । आँखाले होइन मनले प्रेम गर्नुपर्छ । मानिस परिश्रमी, लगनशिल भयो र पारिवारिक मेल भयो भने जस्तो सुकै परिस्थितिको पनि सामना गर्न सक्छ भन्ने सन्देश मन्दाकिनीले दिएकी छिन् । मन्दाकिनी पछिल्लो समय नेपालगन्जमा विमोचन भएको कथा संग्रह हो । सपनाको देश कथा संग्रह २०७२ पछाडि दोस्रो कथा संग्रहका रुपमा मन्दाकिनी कथा संग्रह लिएर शशिराम कार्की अगाडि आएका छन् । मुलतः शिक्षण सेवा निवृत्त भैसकेपछि साहित्य लेखनमा सक्रियता देखाउँदै आएका शशिराम कार्की मन्दाकिनीसम्म आइपुग्दा खारिएका कथाकारका रुपमा देखा परेका छन् ।

मन्दाकिनी ( १३४ र १४ ) १४८ पृष्ठमा समेटिएको कथा सङ्ग्रह हो । गरिवको क्रुरता, नयाँ मेशिन, अपरिचित, भूत भएको बाकस, कैदी नं ३२०, वर्तमान समयको मृत्यु, लिटिल परी, घाँसी कुवाकी सुन्दरी, संयोग, अशोक वृक्ष, मिलन, निर्दयी, मास्टर साहेब, मन्दाकिनी, चन्दा, हराएको छोरो र हलिया मुक्तिजस्ता सत्र वटा कथाहरु मन्दाकिनी कथा संग्रहमा समेटिएका कथाहरु हुन् ।  शशिराम कार्कीका कथाहरुलाई भूँइमान्छेका कथाहरु मान्न सकिन्छ । नेपाली समाजमा रहेका तल्लो तहका मानिसहरुका पीडा तथा वेदनाहरुलाई कथाकारले अनुभव र अनुभूतिका आधारमा कथानकमा उनेर राम्रो सन्देश दिन सकेका छन् । समाजमा हुने गरेका विकृति र विसंगतिको विरुद्धमा आवाज उठाएका छन् । उनका कथाहरु पढ्दा लाग्छ शशिराम कार्की गरिवका कथाहरु लेख्नकै लागि कथाकार बनेका हुन् । समाजका तल्लो वर्गका मानिसहरुको दिनचर्या उजागर गर्नकै लागि लेखक बनेका हुन् ।

‘गरीवको क्रुरता’ शशिराम कार्कीको मन्दाकिनी कथा सङ्ग्रहमा समावेश गरिएको पहिलो कथा हो । जब मानिसमा कुनै उपाय नै हुँदैन, उसले आफ्नो गरीविलाई ढाकछोप गर्न सक्दैन तब उसको अन्तिम विकल्प भनेको मृत्यु मात्र रहने गर्छ भन्ने कुरा कथाले देखाउन खोजेको छ । अत्यन्तै गरीव देउसर श्रीमतीको कमाइमा मुस्किलले बाँचेको हुन्छ । छोराछोरीको लालन पालन र आफ्नो उपचारमा श्रीमतीको कमाइ अपूग रहेकोमा पीडा बोध भैरहेको बेला घरमा पाहुना बनेर जेठान जैलाल आइपुग्छन् । जेठानको उपस्थितले देउसरको मनस्थिति खल्बलिएको देखिन्छ । साँझको जोहो टार्न मजुरी गर्न गएकी श्रीमती बेलमतीलाई बोलाउन जाने निहुँमा घरबाट निस्किएका उनी कहिल्यै नफर्कने गलत बाटो रोज्न पुग्छन् ।

‘नयाँ मेशिन’ शशिराम कार्कीको विज्ञान कथा हो । यो कथामा बालबालिकाहरुमा विलक्षण प्रतिभा हुन सक्छ । ती प्रतिभाहरुलाई अभिभावकले पहिचान गर्न नसक्दा समस्या हुने कुरा देखाइएको छ । उपेन्द्र बादशाह यो कथाको मुख्य पात्र हो । उसको क्षमतालाई न त विद्यालयले खुराक पुग्ने गरी पढाउन सक्छ । न त बाबुआमाले नै बैकल्पिक उपाय सोंच्न सक्छन् । परिणाम स्वरुप विद्यालय छोडेर बिग्रेका घडी, रेडियो, टिभी, जेनेरेटरजस्ता थुप्रै मेशिनरी सामग्रीसँग दिनभरि रमाउँछ । उसका बाबुआमा दुखित हुन्छन् । अन्त्यमा ऊ घरबाट निस्कन्छ र एउटा वैज्ञानिक बनेर देखाउँछ । पृथ्वीमात्र नभएर संसार अवलोकन गर्नसक्ने मेशिन निर्माण गरेर परिवार लगायत दुनियालाई चकित पार्छ ।

‘अपरिचित’ कथाले शशिराम कार्की एक प्रगतिशिल कथाकार हुन् भन्ने कुरा देखाएको छ । एउटा गरीब कामदारको अन्य गरिबहरुको मुक्तिका लागि काम गर्ने व्यक्ति तथा संस्थाहरुप्रतिको मोह के कस्तो हुन्छ भन्ने कुरा प्रष्ट देखाएको छ । यो कथाले वर्तमान राजनेताहरुलाई पनि व्यंग्य गरेको पाइन्छ । यो कथाले अपरिचित पात्र लेलिनका माध्यमबाट सकारात्मक सन्देश प्रवाह गर्दै नेपालका नेताहरुले जनताको बुई चढेर सत्ताम पुगे पनि जनताहरुलाई नै वास्ता गर्न छोडेको तितो यथार्थलाई मार्मिक तरिकाले उठाएको छ ।

‘भूत भएको बाकस’ शशिराम कार्कीको वैज्ञानिक कथा हो । यो कथामा मनोविज्ञानलाई राम्रोसँग उठाएको छ । ‘कैदी नं ३२०’ यो कथा संग्रहको सबैभन्दा उत्कृष्ठ कथा हो । सिङ्गो कथा सङ्ग्रहको वजन यही कथाले धानेको छ । प्रताप उर्पm रावण दादा प्रेमबाट विक्षिप्त भएको कैदी नं ३२० अपराधिक क्रियाकलापमा संलग्न हुन्छ । आफ्नो पैसाले डाक्टर पढेकी जानकीले धोका दिएपछि रावण दादाको कठोर र हिंसात्मक जीवन शुरु भएको देखिन्छ । जानकीको व्यवाहरले पागल भएर अपराधिक क्रियाकलाप गर्दै हिडेको रावण दादा र प्रेमिल मनकी रुपाको अनौठो प्रेम प्रसंग कथामा देखाइएको छ । साहसी र निडर सहयोगीको रुपमा देखिएकी रुपाले अन्ततः रावण दादासँगै बिहे गरेको देखाएर कथामा शसक्त बनाइएको छ । मान्छेले चाहे पछि के नै गर्दैन र ? भन्ने भाव यो कथामा छ ।

‘वर्तमान समयको मृत्यु’ कथामा छोराछोरीको आमाबाबु प्रतिको गैरजिम्मेवारपन देखाइएको छ । छोराछोरीको प्रगतिमा रमाउने अभिभावकका लागि यो कथाले ठूलो सन्देश दिएको छ । बिदेशिएका छोराछोरीमा पश्चिमी संस्कृतिको प्रभाव परेपछि टाढिएको देखिन्छ । आमालाई लैजानका लागि अनकन गरेका छोराछोरीले ‘माथिल्लो गहको पानी तल झर्छ तर तल्लो गहको पानी माथिल्लोमा चढ्दैन भनेजस्तै बाबुआमाले सन्तानप्रति निस्वार्थ प्रेम गर्छन् । तर छोराछोरीको माया भने स्वार्थी हुन्छ भन्ने कुरा देखाउन खोजेका छन् कथाकार कार्कीले ।

‘लिटिल परी’ कथामा गाउँले जीवन राम्रोसँग देखाइएको छ । शुरुमा बाल सुलभताभित्रको अमूक प्रेम देखाइएको छ भने पछि बालविवाहले निम्त्याएको परिणामले गर्दा लिटिल परीको रुप सौन्दर्य सबै उमेरभन्दा बुढ्यौली र कुरुपपनले छोपेको देखाइएको छ । अन्त्यमा दुबै घरबार बिग्रिएका पात्रहरु बिच विवाह गराइदिएर लेखक उम्किएका छन् । आपूmभन्दा १४ वर्ष कान्छी गौरीलाई दिदी भनेर सम्बोधन गराइदिएर दुःख पाएपछि मान्छेको मन मात्र दुखी हुने होइन तनपनि कुरुप हुन्छ भन्ने देखाइएको छ ।

‘घाँसी कुवाकी सुन्दरी’ कथा पढ्दा फिल्म हेरेजस्तै भान हुन्छ । भ्रमणको क्रममा घाँसी कुवामा भेटिएकी सुन्दरीलाई भुल्न नसकेका भुषण सरले अन्त्यमा उसैसँग भेट गर्ने र विवाह गर्ने मनसायले काठमाडौं जाने निहुँमा तनहुँ पुग्छन् तर परिस्थितिले अर्कै मोड लिन्छ । सुन्दरीको घरमा पुगेपछि बच्चामा आपूmलाई छोडेर बहिनी लिएर गएकी आमासँग भेट हुन्छ । आमा र बहिनीलाई लिएर घर फर्किन्छन् । आमाले छोडे पनि पुनः विवाह नगरी बसेका बाबु र आमाको बीचमा मिलन गराउन कथाकार सफल भएका छन् ।

‘संयोग’ कथा तेस्रोलिङ्गीको कथा हो । तेस्रोलिङ्गी रहेको जनक घर परिवार र समाजबाट अपहेलित भएपछि घर छोडेर म पात्रको घरमा बसेको हुन्छ । केटाको जस्तो शरीर भएपनि केटीको स्वभाव र बोली देखिने जनकको म पात्रसँग अमुक प्रेम हुन्छ । स्तन बाहेक सबै गुण केटीको रहेको जनकलाई अभिभावकले बोझको रुपमा लिएको र म पात्रले समेत बिहे गर्ने चर्चा चलेपछि विक्षिप्त बन्छ । अन्त्यमा उक्त घर छोडेर निस्कने निर्णय सङ्गै उसको सबैकुरा पर्दाफास हुन्छ । म पात्रको सहयोगमा स्तन उमार्ने हर्मोनको औषधि गरी पूर्ण केटी बन्ने सौभाग्य पाउँछ । पछि म पात्रसँग बिहे भएको र गर्भवती समेत भएको देखाएर कथाको अन्त्य भएको छ ।

‘अशोक वृक्ष’ कथा तराइको वियोगान्त कथा हो । यो कथामा मुस्लिम केटी नसरिन र हिन्दु केटा शरद विचको प्रेम देखाइएको छ । कट्टर मुस्लिम समुदायको कारण नसरिन र शरदबिच प्रेम असफल भएको छ । नसरिनले आफ्नो शरीरमा आगो लगाएर देह तयाग गर्छे । प्रेम अमर बनाउन नसरिनले शरदलाई अशोक वृक्ष रोप्न अनुरोध गरेकी हुन्छे । त्यही अशोक वृक्षमा नसरिन लुकिरहेजस्तो महसुस गर्छ शरदले ।

‘मिलन’ कथामा अनौठो मिलन देखाइएको छ । आमाको इच्छा अनुसार बाल विवाह गरेका मिलन आमाको मृत्युपछि घरबाट निस्कन्छन् भने सोनाली सानै भएकोले माइतिमा जान्छे । अठार वर्ष पूर्व नेपालगन्ज आएका मिलन पुनः गाउँ फर्कदैनन् । उमेर चढ्दै गएकी सोनाली मिलन खोज्दै नेपालगन्ज आइपुग्छे । सोनालीले मिलनलाई चिनेकी हुन्छे तर मिलनले नचिनेको कथाकारले कथामा देखाएका छन् । सोनलीकै एकल प्रयाशले मिलनसँग मिलन भएको कथा मार्मिक छ । साथै सोनालीलाई उत्तर आधुनिक पात्रको रुपमा समेत प्रस्तुत गरिएको छ ।

‘निर्दयी’ कथा पहाडी जनजिवनमा आधारित कथा हो । पहाडबाट कमाउन कालापहाड पुगेका थुप्रै साथीहरु मध्ये टोपेकान्छो र भद्रे घर फर्कने क्रममा खानपानका कारण बिरामी हुन्छन् । सँगसँगै फर्किएका साथीहरुले बिच बाटोमा छोडेको र उनीहरुको जंगलमै मृत्यु भएको कारुणिक दृष्य कथामा देखिन्छ । यो कथा पढ्दै गर्दा लक्ष्मी प्रसाद देबकोटाको मुनामदनको पात्र मदनको याद आउँछ । ‘मास्टर साहेब’ कथामा जाँड रक्सीको कुलतमा परेको चन्द्र माडसापलाई जड्याहाहरुले गर्ने अनेक वितण्डा, सिंगो जड्याहा प्रवृत्ति र जड्याहाहरुको परिवारको दुखलाई देखाइएको छ । लोग्ने जागिरे भएर पनि रक्सिको कुलतका कारण श्रीमती र छोरो घरबाट निस्कनु परेको छ । परिवारप्रतिको जिम्मेवारी र कर्तव्य पूरा गर्न नसक्ने जड्याहा पुरुषको श्रीमतीले घर छोडेपछि जड्याहा सुध्रिन चाहेको कुरा कथामा व्यक्त गरिएको छ । लगातार गल्ती गरिरहने र परिणाम आपूm विपक्षी भएपछि मात्र पछुताउने हाम्रो समाजका आम पुरुष प्रवृत्तिलाई कथामा देखाइएको छ ।

‘चन्दा’ कथामा कथाकी मुख्य पात्र चन्दा लगनशील र संर्घष गर्न सक्ने अपाङ्ग महिला भएको देखाइएको छ । कथामा अपाङ्ग बहिनी चन्दा र बुढा भएका बाबुआमासङ्ग छुट्टिएका दाइभाउजूको व्यवहार बिग्रन्छ र ऋण लाग्छ । चन्दाको मिहिनेतले जोडिएको सम्पत्ति देखेर उनीहरु घर फर्किन लोभिएका देखिन्छन् । बाबुले विहेका लागि झण्डै आफ्नै उमेरका पुरुष देखाएपछि चन्दा आक्रोशित हुन्छिन् । आपैmले मिहिनेत गराएर पढाएको पशु डाक्टर हरिशसँग बिहे गर्छिन् । कसैको शरीरलाई हेरेर उसको बौद्धिकताको मूल्याङ्कन र विश्लेषण गर्न नहुने कुरा यस कथाले देखाएको छ ।

‘हराएको छोरो’ कथामा नेपालको द्धन्दकालिन अवस्थालाई देखाइएको छ । छोरो हराएपछि रोगी भएकी आमा सोही कारणबाट मृत्युको मुखसम्म पुग्नु परेको कुरा कथामा छ । द्धन्द्धकालमा धेरै आमाहरुले सन्तान गुमाए । ती समग्र रुपमा गुमाइएका सन्तानका आमाहरुलाई लागेको मनोरोगलाई चरितार्थ पार्न खोजिएको छ ।
‘हलिया मुक्ति’ नामको कथा कथा सङ्ग्रहको अन्तिम कथा हो । कथाको मुख्य पात्र गिठे अर्काको घरमा बसेको हली हुन्छ । डल्लीसँग एकोहोरो प्रेममा परेको गिठेले अन्तिम समयमा बलात्कृत अवस्थामा भेटिएकी डल्लीलाई सहयोग गर्छ र बचाउँछ । यस कथामा बाबुआमा नभएका केटीहरु समाजमा सधै असुरक्षित हुने र पीडित भएर पनि बलत्कार गर्ने पुरुषको नाम खुलेर भन्न हिच्किचाउँछन् भन्ने देखाइएको छ ।

भेरी साहित्य समाज केन्द्रिय समिति बाँकेद्धारा प्रकाशित गरिएको कथा सङ्ग्रह ‘मन्दाकिनी’मा शुभकामना दिदैं प्रज्ञा प्रतिष्ठानका कुलपति गंगा प्रसाद उप्रेतीले शशिरामका कथा नेपाली समाजका सामाजिक, आर्थिक, राजनीतिक तथा अन्य विषयहरुलाई यथार्थपरक रुपमा प्रस्तुत गर्ने लेखकको प्रयास सराहनीय रहेको बताएका छन् । पुस्तकको प्रकाशकीय तथा सम्पादकीयका रुपमा हरिप्रसाद तिमिल्सिनाले शशिराम कार्कीका कथाहरु नेपाली समाजका आफ्नै घटनाहरु हुन् । यी कथाहरुमा कतै सामाजिक यथार्थ, कतै मनोविज्ञान र कतै स्वौरकल्पनाको समेत प्रयोग गरिएको छ भनेका छन् ।

शशिराम कार्कीले तेस्रो कृतिका रुपमा बजारमा आएको मन्दाकिनीबाट आपूmले ठूलो आश गरेको कुरा बताउँदै यस कथा संग्रहमा समेटिएका कथाहरु बिषयवस्तु र स्थानका आधारमा विविध प्रकारका छन् । नयाँ मेशिन र भूत भएको वाकस विज्ञान कथाहरु हुन् भने अपरिचित कथामा सर्वाहारा वर्गका महान नेता लेलिनको परम् इमान्दारिता देखाउन खोजेको छु भनेका छन् । ‘मन्दाकिनी’ कथा सङ्ग्रहका कतिपय कथाहरु पढ्दै गर्दा नियात्रा पढ्दै गरेको जस्तो अनुभूति हुन्छ । स्थान विशेष र पात्र विशेषलाई उचित तरिकाले प्रयोग गरिएको यस ‘मन्दाकिनी’ कथा सङ्ग्रहलाई अभैm मिहिनेत गर्न सकेको भए उत्कृष्ठ कथाहरुको संगालो बन्न सक्ने थियो ।

जसरी कथा सङ्ग्रहभित्रको मन्दाकिनी कथाकी पात्र मन्दाकिनी भित्री गुणले परिपूर्ण भएर पनि बाहिरी रुपका कारण अपहेलित बन्न पुगेकी थिइन् त्यसैगरी यो कृतिको बाहिरी रुप सोचे जस्तो राम्रो देखिदैन तर सङ्ग्रहभित्र समावेश भएका कथाहरु छिटपुट बाहेक धेरै राम्रा र स्तरीय छन् । जसरी मन्दाकिनीको गुणलाई राजनले बुझ्न सक्यो त्यसैगरी कथाको मर्मलाई पाठकहरुले बुझ्न सके भने यो कथा सङ्ग्रह महत्वपूर्ण कथा सङ्ग्रहको रुपमा दर्ज हुनेछ । तथापि सम्पादनमा देखिएको हतपत र लतपत, सेटिङमा देखिएको नादानीपन, मुद्रणमा देखिएको लापर्वाही र बाइन्डिङमा देखिएको कमजोरीले कृतिलाई उत्कृष्ट हुनबाट रोक्ने देखिएकोले दोस्रो संस्करणमा विशेष ध्यान दिनु पर्ने देखिन्छ ।

प्रकाशित मितिः शनिबार, साउन १७, २०७७     7:32:56 PM  |

Leave a Reply

Your email address will not be published. Required fields are marked *