26 April 2024  |   शुक्रबार, बैशाख १४, २०८१

कर्णालीमा नियन्त्रण बाहिर जाँदै कोरोना, ५ सय ८७ जना संक्रमित, ३ जनाको मृत्यु

मिसनटुडे संवाददाता
प्रकाशित मितिः आइतवार, जेष्ठ २५, २०७७  

सुर्खेत ।

सबैभन्दा पछि कोरोना संक्रमण भेटिएको कर्णाली प्रदेशमा संक्रमितको संख्या ह्वात्तै बढ्न थालेको छ । केही दिनयता कर्णालीमा संक्रमितको संख्या दैनिकजसो उकालो लागिरहेको हो । केही दिनअघिसम्म अन्य प्रदेशहरुमा कोरोना संक्रमितहरु उल्लेख्य बढिरहँदा यहाँ भने सीमित संख्यामा मात्र संक्रमित भेटिने गरेका थिए । कर्णालीमा पहिले दैलेख र सल्यानमा फाट्टफुट्ट भेटिएका कोरोना संक्रमित अहिले विस्तारै प्रदेशका सबै जिल्लामा पुग्दैछन् । पछिल्लो तथ्यांक अनुसार शनिबार मात्रै प्रदेशमा कोरोनाका ९८ जना नयाँ बिरामी थपिएका छन् । योसँगै प्रदेशभर संक्रमितको संख्या ५ सय ८९ पुगेको छ । शनिबार थपिएकामध्ये दैलेख जिल्लाका धेरै छन् ।

दैलेखमा शनिबार मात्रै ४६ जनामा कोरोना पोजेटिभ भेटिएको
थियो । उनीहरु महाबु गाउँपालिकाका र दुल्लुका रहेका छन् । त्यस्तै सल्यानमा पनी ३८ जना थप संक्रमित शनिबार भेटिएका
छन् । उनीहरु वनगाड कुपिण्डे नगरपालिकाका हुन् । त्यसैगरी सुर्खेतका ९ जनामा पनि कोरोना संक्रमण भेटिएको छ । उनीहरु वीरेन्द्रनगर, भेरीगंगा, गुर्भाकोट र पञ्चपुरीका छन् । त्यस्तै जाजरकोटका ४ डोल्पाका एक जनामा पनि कोरोना संक्रमण देखिएको छ । उनीहरु सबैको प्रदेश अस्पताल सुर्खेत पशुपक्षी रोग अन्वेषण प्रयोगशाला र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा पीसीआर परीक्षण गरिएको थियो ।

प्रदेशका १० जिल्लामध्ये दैलेखमा सबैभन्दा कोरोनाका बिरामी फेला परेका छन् । जिल्ला स्वास्थ्य कार्यालय दैलेखका दिएको जानकारी अनुसार महाबु गाउँपालिका दुल्लु नगरपालिकामा शनिबार थपिएका ४६ संक्रमितसहित जिल्लामा कोरोनाका ३ सय ५२ जना बिरामी पुगेका छन् । दैलेख नारायण नगरपालिकामा ६ जना महिला १ सय ८८ पुरुषसहित १ सय ९४ कोरोनाका बिरामी भेटिइसकेका छन् । दुल्लुमा २ महिला ३४ पुरुषसहित ३६ जना संक्रमित पुगेका छन् । चामुण्डा बिन्द्रासैनि नगरपालिकामा १ पुरुष छन् । आठबिस नगरपालिकानमा १ जना पुरुष महाबु गाउँपालिकामा १२ जना महिला ९६ पुरुष सहित १ सय ८ जना संक्रमित रहेका छन् ।

नौमुले गाउँपालिकामा ७ जना पुरुष डुंगेश्वर गाउँपालिकामा १ जना महिला २ जना पुरुष र गुराँस गाउँपालिकामा २ जना पुरुष गरी दैलेखमा कोरोना संक्रमितको संख्या ३ सय ५२ पुगेको छ । ११ वटा स्थानीय तह रहेको दैलेखमा आठ ओटा स्थानीय तहमा कोरोना फैलिएको छ । यस्तै सुर्खेतमा ७१, सल्यानमा ९१, कालीकोटमा २५, जुम्लामा २२ जनामा संक्रमण देखिएको बताइएको छ । त्यस्तै, जाजरकोटमा पाँच, मुगुमा दुई, हुम्ला र डोल्पामा एक–एक जनामा कोरोना संक्रमण देखिएको हो । रुकुम–पश्चिममा भने हालसम्म संक्रमण देखिएको छैन ।

तीन जनाको मृत्यु

कर्णाली प्रदेशमा हालसम्म कोरोना भाइरसको सङ्क्रमणबाट तीन जनाको मृत्यु भएको छ । मृतकहरुमा दैलेख, सुर्खेत र डोल्पाका एक÷एक जना ३५ र २० वर्षीय दुई युवा रहेका छन् भने एकजना ५८ वर्षीय पुरुष रहेका छन् । कर्णालीमा कोरोना सङ्क्रमणबाट मृत्यु हुने पहिलो व्यक्ति दुल्लु नगरपालिका–११ खागितडा दैलेख निवासी ३५ वर्षीय युवक
थिए । उनको यही जेठ १७ गते क्वारेन्टिनमै मृत्यु भएको थियो । त्यस्तै, दोस्रो व्यक्ति पञ्चपुरी नगरपालिका–१ हाँसे सुर्खेतका २० वर्षीय युवकको जेठ २२ गते कोरोना सङ्क्रमणबाट मृत्यु भएको थियो । उनलाई कोरोना सङ्क्रमण नभएको भनेर घर पठाएपछि घरमै मृत्यु भएको थियो ।

कोरोनाको सङ्क्रमणकै कारण जगदुल्ला गाउँपालिका–३ डोल्पाका ५८ वर्षीय पुरुषको मृत्यु भएको पुष्टि गरिएको हो । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका अस्पताल निर्देशक डा. मङ्गल रावलले कोरोनाकै कारण उनको मृत्यु भएको जानकारी दिए । भौगोलिक विकटताका कारण मृत्युपछि २२ गते स्वाब सङ्कलन गरी जुम्ला प्रतिष्ठानमा पीसीआर गर्दा कोरोना पुष्टि भएको निर्देशक डा. रावलले बताए । सुर्खेतबाट यही जेठ १६ गते डोल्पा पुगेका उनलाई शुरुमा क्वारेन्टिनमा राखिएको थियो । लामो समयदेखि दमको रोगले पीडित उनलाई पछि होम क्वारेन्टिनमा राखिएको अवस्थामा जेठ २० गते मृत्यु भएको थियो । कर्णालीमा मृत्यु हुने तीनैजनाको मृत्युपछि मात्र कोरोना पुष्टि भएको हो ।

प्रकाशित मितिः आइतवार, जेष्ठ २५, २०७७     7:40:21 AM  |