26 April 2024  |   शुक्रबार, बैशाख १४, २०८१

साइकल र जीवन

मिसनटुडे संवाददाता
प्रकाशित मितिः मङ्लबार, कार्तिक २७, २०७५  

सागर गैरे/    साइकल भनेर यात्राका लागि चढेर हिड्ने सवारी साधनलाई चिन्नु होला, यो पनि हो तर मैले साइकल भनेर जीवनचक्रलाई सामान्य रुपमा चर्चा गर्न खोजेको हो । पहाडबाट तराई झर्दा मात्र ५÷६ वर्षको बालक थिए म । पहिलो पटक साइकल देखेको मैले तराई झरेपछि नै हो । त्यतिबेला दुई पांग्राको यो साधन कसरी अडिएर हिड्छ होला भन्ने लागेको थियो । साइकलको पछाडी मान्छे बस्ने अथवा सामान राख्ने कैरीयर अनि अझ रोचकत साइकल अड्याउने स्ट्याण्ड लाग्दथ्यो । टायर भित्र लुकेर बस्ने ट्यूबहरु हावाले भरिएपछि गुड्ने साइकल मलाई बाल्यकालदेखि नै मन परेको प्रिय साधन हो । साइकलका घण्टी, मान्छे बस्ने गद्धि, साइकलको चेन, पाइदलहरु यसो भनाँै साइकलका हरेक अङ्ग अङ्गहरुका बारेमा मेरो बाल्यकालीन धारणाहरु आफ्नै खालका थिए । चालिसको दशकतिर अहिले जस्तो छ्यापछ्यात्ति साइकलहरु नै कहाँ थिए र ? गाउँका अलिक सम्पन्न र बाहिर तिरबाट आउने कोही कोही मान्छेले साइकल चलाएर आउँदा हामी त्यसैको पछि पछि दगुरेको सम्झींदा अहिले हाँसो उठ्छ र लज्जावोध पनि हुन्छ ।

ककौरा आएपछि सम्बन्ध जोडिएका कतिपय समकालीन साथीहरुले मैले भन्दा पहिल्यै साइकल चलाउन सिकिसकेका थिए त कोही सिक्दै पनि थिए । साइकल भन्दा हामीहरुको कद होचो कुनाले सिटमा बसेर साइकल चलाउन सम्भव थिएन । त्यसैले एउटा हातले हैण्डील, अर्को हातले डण्डी समाएर पाइडल पुरा नघुमाई आधा घुमाउँदै खच्याङ्ग–खच्याङ्ग गर्दै साइकल गुडाउथे साथीहरु, यसलाई ‘कैची’ स्टाइल भनिन्थ्यो । साइकल चलाउने मेरा पनि आफ्नैखाले रहरहरु थिए तर कसको साइकल चलाउने ? मेरो घरमा साइकल थिएन । मेरो बुवाले जिन्दगीमै कहिल्यै साइकल चलाउनु भएन । पाल्पाबाट नौ डाँडा कटेर तराई झरेको हाम्रो घरमा उतिसारो पाहुनाहरु पो कहाँ आउन हुन्थ्यो र ? कता कति आउने पाहुनाहरु पनि पैदल नै आउने ।

कहिले कँंही कोही मान्छे साइकल लिएरै आए पनि साइकल मागी हाल्ने आँट थिएन म सँग । त्यसैले पनि गाउँका अरु साथीहरु भन्दा अलिक ढिलो गरी साइकल चलाउन सिकें मैले । साइकल चलाउने सिक्ने रहरले बस्न खान कहाँ दिन्थ्यो र ? स्कुल नजिकै घर भएकाले ज्योतिषी बुवा कहाँ हरेक दिन नयाँ नयाँ मान्छेहरु आइरहनु हुन्थ्यो । ज्योतिषी बुवाका छोराहरु मध्ये मुक्ति मेरो क्लासमेट भएपनि रामचन्द्र म भन्दा जुनियर थियो पढाईका हिसावले । मैले उनीहरुको प्रसँग किन झिकेको हुँ भने उनीहरुको घरमा कोही पाहुना आएर साइकल राख्ने बित्तिकै उनीहरु साइकल हुइकाई हाल्थे । उनीहरुसँग हिडेपछि मैले पनि चलाउन पाउने भएँ नै ।

मलाई साइकल चलाउन सिकाइदिने गुरुहरु उनै मुक्ति र रामचन्द्र भए । जसै रामचन्द्रले कैची चलाउँदै साइकल दौडाउथ्यो हामी साइकलको पछि पछि बेतोडले कुदथ्यौं । खाली खुट्टाहरु, कलेटी परेका ओठ, धपेडीले तालु र मुख सुकाउँदै निधारबाट पसिना चुहाउँदै साइकल गुडाउँदा धरतीकै सबैभन्दा भाग्यमानी मान्छे ठान्दथ्यौँ हामी आफूलाई । साइकल सिक्दा कतिपटक साइकलैसँग लडियो कतिपटक हात खुट्टामा चोटपटक लाग्यो, कति ठाउँमा दरफरयायो, केही लेखाजोखा रहेन । तर साइकल चलाउन भने सिकियो उमेर बढ्दै गएपछि डण्डीबाट पनि चलाउन सिकीयो र पछिपछि त गद्धिमा बसेर पनि चलाउन थालियो । हात छोडेर कपाल फरफराउँदै साइकल चलाएका किशोरकालीन ति पलहरु सम्झींदा जिन्दगीलाई फेरी त्यहि चक्रमा घुमाउन पाए कस्तो हुन्थ्यो होला जस्तो लाग्दछ । मलाई थाहा छ जिन्दगीको चक्र उल्टो गतीमा घुम्दैन ।

एस.एल.सी. दिँदासम्म पनि हाम्रो घरमा साइकल थिएन । बुवालाई साइकल किनी दिनुस भन्ने हुती पनि आएन । घरको जेठो बाठो छोरो भएकैले पनि बुवाले कसरी घरव्यवहार धान्नु भएको छ भन्ने मोटामोटी ज्ञान म मा थियो । हरेक वर्ष ऋणात्मक बजेटमा गृहस्थी चलाउँदै गर्नु भएका बुवालाई मैले साइकल किनी दिनुस् भन्ने माग गर्नु उचित नहुन पनि सक्थ्यो । फेरी पनि साइकल चलाउन नपाएर हिनतावोध गर्नु परेन । साथी भाइहरुका साइकल चलाएरै किशोरकाल व्यतित भयो भन्दा हुन्छ ।

कक्षा ५ बाट ६ कक्षामा गएपछि नयाँ किताब किन्नको लागि केदार नाथ पौडेल दाज्यूको साइकलमा बसेर नेपालगन्ज सम्म आएको पल मेरो जिन्दगीकै सबै भन्दा लामो पहिलो साइकल यात्रा थियो । २०४८ सालको चुनाबताका भने साइकल ¥यालीमा गाऊँ गाऊँ चाहारेका पलहरु पनि अविस्मरणीय छन् मेरा लागि । अनि एकै पटक एस.एल.सी. दिएपछि २०४८ सालमा म कोहलपुर झरे । कोहलपुर आएपछि भने साइकल र मेरो जिन्दगी एक अर्काका प्रयाय जस्तै बने । कोहलपुर झर्दा मेरो उमेर १५÷१६ वर्षको थियो, त्यसैले पनि साइकलले मान्छेको दैनिकीलाई कसरी सरल र सहज बनाइदिएको छ भन्ने कुरा म मज्जाले बुझ्न सक्थें । बिहान पसल आउँने, साँंझ घर फर्किने, कलेज आउने र जाने अनि कतिपय पसलकै कामले पनि धेरै जसो म साइकल मै हुईकिई रहेको हुन्थे । हुन पनि साइकल चलाउने कामलाई कहिल्यै बोरिङ्ग कार्य, सोचेन यो मनले ।

कोहलपुर आइसकेपछि साइकलका मोडेल, कम्पनी, मूल्य लगायतका धेरै कुराहरुको जानकारी हुन थाल्यो । साइकल बिग्रिदा मर्मत केन्द्रहरुमा पर्खिएका पलहरु, साइकलको चेन फुत्किएपछि बनाउँदा ग्रीज मोबिलले हातै काला भएका पल, गर्मीयाममा साइकल पञ्चड भएर चर्को घाममा साइकल डो¥याएर हिडेका क्षणहरु अहिले पनि मन मस्तिष्कमा सल्बलाउन छाड्दैनन् ।

निकै मोडेलका निकै साइकलहरु चलाइयो । कुन मोडेलका कति साइकल चलाइयो भन्ने कुराको कुनै हेक्का छैन । तर बिरगन्जको आर्दशनगरमा किनेको चाइनीज फोनेक्स साइकल निकै कुदाएको अझै पनि याद छ मलाई । बिरगन्जबाट फर्किदा उक्त साइकललाई मैले सत्कार ट्राभल्स बसको हुडमा राखेर ल्याएको थिएँ । गाढा आर्मी कलरको फोनेक्स साइकलको चेन कभरले छोपिएको हुने हुनाले पनि होला चेन फुत्किने चान्स कम हुन्थ्यो अरु साइकलको भन्दा । चौबीस इन्चको हरियो फोनेक्स ब्राण्डको नयाँ साइकल घण्टी बजाउँदै कोहलपुर र चपरगौडी अनि चपरगौडी र कोहलपुरलाई अनगिन्ती पटक ओहोर दोहोर गरियो ।

कोहलपुरबाट चपरगौडी झर्दा ओरालो भएकै कारण पाइडिल नचलाई घुँइकिने साइकल कोहलपुर आउँदा भने स्याँ–स्याँं र फ्याँ–फ्याँ गर्दै उकालो चढाउनु पर्दथ्यो । कैयौं पटक खुल्ला सडकमा हात छोड्दै, गीत गाउँदै साइकल बेतोडले गुडाएका ती अनमोल क्षणहरु आज पनि स्मृतीमा सुरक्षित छन् । यस्तो लाग्छ कि साइकल र मेरो जिन्दगी बिच उ बेला पनि अन्योन्याश्रीत सम्बन्ध थियो र आज पनि छ ।
जसै म ब्याचलर लेबल पढ्नका लागि नेपालगन्ज महेन्द्र क्याम्पसमा जानु पर्ने भयो त्यसपछि साइकलसँग झन् गाढा साइनो जोडिन पुग्यो मेरो । सींगो चपरगौडी निद्राबाट नबिउँझिदै साइकलमा म निक्ली सकेको हुन्थें । रबिन्द्र रेग्मी, भरत चौधरी, हेमनाथ गौडेल, मोति प्रसाल भूषाल, गुणराज पाठकहरु पनि सहयात्री हुनुहुन्थ्यो त्यो बेलामा अरु कैयौं साथीहरुको नाम याद भएन यति बेला । उच्च शिक्षा अध्ययनसँग जोडिएको साइकल यात्रा मेरो जिन्दगीसँग सधै टाँसिरह्यो ।

साइकलका पाइडलहरु कति पटक घुमाइयो के थाहा ? अझै पनि घुमाइँदैछ । तराइका समथर फांटहरु, अनि जताततैका सडकहरु एक अर्कासँग जोडिएका छन् । साइकललाई जता मन लाग्यो उतै गुडाई दिए भयो । न इन्धन चाहिने नत धेरै नै शारिरीक बल चाहिने । कागज पत्र पनि नचाहिने, सवारी अनुमती पत्र पनि लिनुनपर्ने । सस्तो मूल्य, सस्तो मर्मत शुल्क, जहाँ जता पनि सहजै गुडाउन सकिने, शारिरीक ब्यायाम समेत हुने साइकल कालान्तरमा बिग्रिएर कामै नलाग्ने भएपछि त्यसै थन्क्याइएका या फालिएका पनि छन् ।

समय कति गतिवान छ । हिजो म कहाँ थिएँ, आज म कहाँ छु । हिजों म बालक भएर बुवा आमाको काखमा थिएँ अहिले मेरो काखमा मेरो छोरा छोरीहरु बालक भएर खेल्दै छन् । मेरा हजुरबुवाका काखमा पनि मेरो बुवा त्यसैगरि, खेल्नुहुन्थ्यो । होला तर अहिले मेरो हजुरबुवा हुनुहुन्न । यो कस्तो साइकल हो सामान थोत्रिएपछि कामै नलाग्ने । कहिलेकाहीँ बिग्रिएपछि सानोतिनो मर्मतले चल्ने तर त्यसको मिति पुग्यो भने त्यसलाई मर्मतले काम नगर्ने ।

जसरी मैले साइकल सिकें त्यसभन्दा भिन्न तरिकाले मेरा छोाछोरीले साइकल सिके । उनीहरुले एउटा हातले समाउँदै साइकल गुडाउन पाइडलको कैँची चलाउनु परेन । उनीहरुले आफ्नो उमरे उचाई अनुसारका साइकल पाए । कच्ची सडकहरुमा गुडाउनु परेन, उनीहरुले पिच सडकमा गुडाउन पाए । बा आमाको मन कोमल हुने, जिद्धी गरी दिएपछि नकिनी दिई धेरै नपाइने । मेरो हजुर बुवाले साइकल चलाउनु भएन, बुवाले साइकल चलाउनु भएन तर मैले सिके र मेरो छोरोले अझ सहज तरिकाले साइकल चलाउन सिक्यो र जिन्दगीको साइकललाई पनि अझ सहक ढङ्गबाट चलाउने कुरामा शंका छैन ।

कहिले काँही सोच्छु मान्छे साइकल हो र जिन्दगी भनेको साइकल कुद्ने गोरेटो जस्तै हो । मेरो जिन्दगीमा अध्ययन र ब्यापारपछि अर्को आयाम पनि जोडियो त्यो आयाम साहित्य थियो । साहित्यिक रुचीले ‘पूर्णिमा’ जन्मायो । पत्रिकालाई सकार रुप दिनका लागि हरेक मोडमा साइकल सहयात्री बनिरहे । पत्रिका चल्दै गएपछि हामीले विज्ञापनको पैसा बचाएर एभन कम्पनीको २ वटा एस.एल.आर. साइकल किनेका थियौं । बैजनी रंगका ति दुई साइकल मध्ये पत्रिकाको सम्पादकका नाताले एउटा मैले चलाउथें र अर्को टंक सर, धर्म केशी, प्रितम जी वा सरोज जीले । महेन्द्र क्याम्पस पढ्दा पछिसम्मै ति साइकलहरु चलाएका थियौं ।

साठ्ठीको दशकमा कोहलपुरमा आफ्नै पसल खोलेपछि पनि साइकल र हाम्रो सहकार्य जारी नै रह्यो । हाम्रा प्रगतीका हरेक मोडमा साइकलहरु निर्णायक शक्तिका रुपमा रहिरहे । कारोबारले दायरा फराकिलो बनाउँदै गएपपछि हामीले स्कुटी र मोटरसाइकल किन्यौं । समयको रफ्तारसँग तालमेल मिलाउन चारपांग्रे पनि किनीयो । जिन्दगीलाई जति व्यवस्थित गर्छु भन्यो उति अव्यवस्थित हुँदै जाने, बिहान उठेदखि साँझ बिस्तारामा नपुग्दा सम्मको धपेडी, तनाब, कहिल्यै प्यास नमेटिन अतृप्त्ती, पुरा नहुने टारगेटहरु, ब्यस्तता । आफैलाई आफ्नै जिन्दगीले नचिन्ने हो कि भन्ने त्रास ।

विहानदेखि बेलुकीसम्मको जीवनशैली र दिनको अन्त्य फेरि अर्को दिनेको शुरुवात यसै गरी दशक बिते । यी समयहरुमा मैले आफ्नो घर परिवारलाई सेटल गरें । निसन्देह मैले जीन्दगीमा जेठो छोराका नाताले पुरागर्नुपर्ने थोरै कर्तव्य पुरा गर्न सकेपनि धेरै कुराहरु त्यत्तीकै थाँती पनि रहे होलान् । मान्छेहरुले व्यस्ततामा आफ्नो शरीरको मर्मत सम्भार गर्ने समय बिरलै निकाल्न सकेको हुन्छ । कतिले त यतातिर ध्यान समेत दिन भ्याएको हुँदैन । जिन्दगीका आवश्यकताहरु परिपुर्ती गर्न र जिन्दगीलाई आरामदायी बनाउन र जिन्दगीका सुख सुविधा हासिल गर्नका लागि नै मान्छेले काम गर्छ, परिश्रम गर्दछ ।

मेरो आफ्नै सवालमा भन्नुपर्दा आफैले बनाएको सिस्टमको दासको रुपमा घोटिइरहनु पर्ने, आफ्नै लागि पाँच मिनेट पनि समय निकाल्न नसक्दा उदेक लाग्दथ्यो । कहाँ गाउँ गाउँमा साइकलमा कुदिरहने त्यो किशोर अहिले विहानदेखि साँझसम्म एउटै कोठामा बस्न सकेको होला ? अनेक प्रश्नहरु मनमै उब्जन्थे र पलभरमै हराउँथे ।

जिन्दगी पनि साइकल जस्तै गतिशील बन्नु पर्दछ भन्ने कुराले बारम्बार मेरो मन मस्तिष्क चिमोटी रहन्थ्यो । कहिले त भन्ने विषय सोच्दा सोच्दै डा. तारानाथ शर्माको घनघस्याको उकालो काटदा निवन्धको याद आएको र जीवन त कहिल्यै नटुङ्गिने यात्रा रहेछ भन्ने कुरालाई मनन गरेर साइकललाई नै आफ्नो स्वास्थ्य जीवनको आधार बनाउन थालेको ।

तीन महिना जति पुगिसक्यो विहान साइकल चलाउन थालेको । मैले चलाउने साइकल ताइवानमा बनेको हो र यसको जम्मा तौल १३ के.जी. मात्र छ । मोटर साइकलमा जस्तै यसमा पनि गेयर छन् । उकालो, ओरालो, पिच, ग्राबेल सबै तिर सहज तरिकाले गुड्न सक्छ । मेरा आफ्नै तीन भाइले पनि गियरवाला साइकल किनेका छन् । पुरुषोत्तम भट्टराई र शरद लामिछाने सहितको हाम्रो टोलीले एकाविहानै छिचोलेका सडक र दुरी सम्झींदा पनि रोमान्चपूर्ण लाग्दछ ।

निधारमा पसिना चुहाउँदै, श्वास प्रश्वासको गति बढाउदै, मुटुको बढेको ढुकढुकी अनि फतक्क गलेका तिघ्राहरुलाई बेवास्ता गर्दै हामीले भेटाएका गन्तब्यहरु क्ति हो कति महत्वपूर्ण रहे हाम्रो साइकल यात्रामा । हामीले आफू बसेको भूगोल भित्रका हरेक गल्ली र गारेटो हरुलाई साइकल चढेरै छिचोल्यौँ यसो भनौं हामीले नटेकेका कुने बस्तीहरु बाँकी रहेनन् होला । हामीले धानका हरिया फाँटहरु देख्न पायौं तोरीका पहेंलपुर फाँटहरु देख्न पायौं । गाउँघरका धुलाम्मे गोरेटाहरु, बारहरुमा फुलेका अनेक थरीका रङ्गि विरङ्गि फूलहरु, फलफूलका बोटहरु, गाइबस्तुहरु, चौतारी, वन, जंगल, स्कूल, मन्दिरहरु हर–एक चिजहरुलाई सुक्ष्मतापूर्वक अवलोकन गर्न सक्यौं । यो सबको श्रेय त्यही विहानको साइकल यात्रालाई जान्छ ।

विहानको साइकल यात्रा क्रममा हामीले प्राय सबै गाउँमा बनेका चियाको स्वाद लिन पायौं । हेल्मेट लगाएर विदेशीले जस्तै साइकल चलाएको देख्दा हामीलाई फर्किइ फर्किइ हेर्ने बालक किशोर युवा र प्रौढ हाम्रा लागि सधै प्रेरणाका स्रोत बनिरहे । साइकल यात्राका फाइदा र उपलब्धीको व्याख्या दिनु यो लेखको उद्देश्य हुँदै होइन । यत्ति भन्छु मैले आफ्नो बाल्यकालदेखि नै साइकल चलाउदैं आइरहेको छु । साइकल मेरो सबैभन्दा प्रिय साधन पनि हो । मैले बाइक र स्कूटी दुबै चलाउछु फेरी पनि मलाई सबैभन्दा बढि सहज लाग्ने साधन साइकल नै हो । साइकल यात्री बनेर मलाई नाम कमाउनु पनि छैन, कुनै प्रतिस्पर्धामा भाग लिनु पनि छैन ।

हरेक दिन फरक ठाउँ घुम्नको लागि साइकल जस्तो उपयुक्त साधन अरु हुनै सक्दैन । हरेक दिन विहानको साइकलिङ्ग मेरो आफ्नै स्वास्थ्य र मेरो वरपरको पर्यावरणका लागि पनि उपयुक्त छ भन्ने मेरो ठहर हो । म जसै साइकलको सीटमा बस्दछु, हैण्डिललाई दुई हातले समाउँछु र पाइडलहरुलाई बिस्तारै घुमाउन थाल्दछु अनि महशुश हुन्छ मेरा आफ्नै जीवन्त रहरहरु । साइकल चलाउँदा आफूलाई सदैब युवा महशुस हुन्छ । साइकल चलाउनेका लागि गर्मी र जाडो भनेका तपशिलका कुरा हुन् । भनिन्छ जहाँ चाहना हुँदैन त्यहा बहाना हन्छ । स्वस्थ जीवनशैली, स्वस्थ मुटु र गहिरो निद्राका लागि साइकलिङ्गको जस्तो पर्फेक्ट ब्यायाम अरु हुनै सक्दैन जस्तो लाग्दछ ।

यातायातको एउटा सामान्य साधन साइकल मानव इतिहासकै नविनतम आविष्कार हो । साइकल गुडाउन बल चाहिन्छ, मानसिक एकाग्रता चाहिन्छ र तिखो दृष्टि चाहिन्छ । जिन्दगी जिउँनु पनि साइकलको सन्तुलन बनाएर चलाए जस्तै हो । स्वास्थ्य नै जीवन हो, यसमा कसैको दुइमत नहोला । यसका लागि आहार विहारमा ध्यान दिनु पर्दछ र शारिरीक व्यायाम उत्तिकै जरुरत हुन्छ । सामान्य तरिकाले साइकल चलाउँदा मात्रै पनि शरीरलाई चाहिने सबै खाले ब्यायामहरु पगिरहेको हुन्छ जस्तो लाग्दछ ।

मेरो व्यक्तिगत अनुभुतीहरुकै कुरा गर्नेहो भने पनि साइकल र मेरो जिन्दगी बिचको सम्बन्ध गाढा र गहिरो रहेको धेरैले महशुस गर्नु भएको कुरा हो । पछिल्ला समयहरुमा म साइकलसँग झनै नीकट भएको छु । मैल साइकललाई नै आफ्नो लाइफ लाइन मानेको छु । विहानीको साइकल यात्राले मेरो दिनचर्यामै यू टर्न ल्याइदिएको छ । म हरेक दिन विहानको समयमा नियमीत साइकल चढ्दै आइरहेको छु ।
डरलाग्दा भिरालाहरुमा ज्यानै हुत्तिने पो हो कि भनेर झस्किदा, मुटु सिरीङ्ग गरेका पल अनि उकालोमा गीयर चेन्ज गरेर विस्तारै बाटो पार गरेका घटनाहरुले देखाएका आत्मविश्वासहरु अरु कुनै पनि कुराहरुसँग तुलना हुनै सक्दैनन् । कतिपय ओराला बाटाहरुमा पाइडल नघुमाई चिसो हावा खादै हुइकिदा जिन्दगीको असली मज्जा यहि हो जस्तो लाग्दथ्यो । विहानको अमृत समयमा साइकल चलाउँदा गज्जबको फुर्ति महशुस हुँदोरहेछ ।

साइकल चलाउन थालेपपछि महशुस भयो हाम्रा सडकहरु पटक्कै साइकलमैत्री रहेनछन् । साइकल यात्रीहरुका लागि सडकमा अलग्गै लेन हुनुपर्दछ भन्ने कुरा हाम्रा योजना विभागमा बस्नेहरुका मस्तिष्कमा सायद नभएकै हो कि ? जेब्रा क्रसमै साइकल यात्रीहरु किचिएको खबर सुन्नु पर्दा मन सिरीङ्ग हुन्छ । नेपाल जस्तो विविधता भएको देशमा ठाउँ ठाउँमा साइकल लेनहरु बनाएर पर्यटकहरुलाई आकर्षित गर्नु पर्ने हो । साइकल चलाउन थालेदेखि साइकल र साइक्लीङ्ग प्रति चासो बढ्नु स्वभाविकै पनि हो ।

नेदरल्याण्ड, फ्रान्स जस्ता विकशित देशहरुका प्रधानमन्त्री राष्ट्रपतिसम्मले साइकल प्रयोग गर्दछन् भने हामीले किन प्रयोगमा नल्याउने ? साइक्लीङ्गप्रति विश्वव्यापी एउटा भनाइ छ, मानिसहरु साइक्लीङ्गलाई त मन पराउँछन् तर साइक्लीष्टलाई मन पराउँदैनन् । धेरै चुरीफूरी गरेको राम्रो पनि हुँदैन के चाहीँ सत्य हो भने साइकलले धेरै मान्छेको जीवनमा परिवर्तन ल्याइ दिएको छ । आम मान्छेका दैनिकीलाई सरल र सहज बनाइदिएको छ । हिजोसम्म साइकल ‘पार्ट अफ लाइफ’ थियो भने आजकल यसलाई सौखको रुपमा पनि हेर्न थालिएको छ । साइकलको मूल्य पनि कल्पना गरिएभन्दा बढिका हुँदा रहेछन् ।

लगभग मोटरसाइकलकै मूल्य हाराहारीका । विदेशमा जस्तै नेपालका धेरै सहरहरुमा संगठित भएर नियमीत रुपमा साइकल चलाउनेहरुले साइक्लीङ्ग क्लब गठन गरेर साइकल चलाउँदै आइरहेका छन् । साइकल नियमीत चलाउँदा तौल नियन्त्रणमा आउने, शारिरीक रुपमा डिप्रेशन, चिन्ता पनि कम गराउन सक्ने, मनले चाहेको ठाउँमा जान सकिने भएकोले यसको प्रयोग आउँदा दिनहरुमा झन् झन् जरुरत हुने निश्चित छ ।

उमेरले साढे चार दशक टेक्दै छु । यो भनेको आधा उमेर भन्दा पनि बढि हो । ब्यस्त दैनिकी, जटिल व्यवहारहरु, अशुद्ध खानपिन, ध्वनी प्रदुषण अनि प्रविधीको तिव्र प्रतिस्पर्धा अनि प्रविधिको बढ्दो प्रयोगले गर्दा मानिसले आफ्नो स्वास्थ्यका बारेमा सोच्नै भ्याएका हुँदैनन् । एकैपटक ठूला रोगहरुले च्यापेपछि हस्पिटल दगुर्नु पर्दछ । त्यतिन्जेलमा धन र स्वास्थ्यको ठूलो क्षति भइसकेको हुन्छ । जसरी साइकल चलाएर यताउता हिडिन्छ त्यसैगरी जिन्दगीको मुभमेन्ट जरुरी छ । जिन्दगी पनि एउटा चक्र हो । जिन्दगीका खुशीहरु, उमङ्गहरु भेट्न आज रहरका रुपमा मैले साइकल चलाउन थालेको छु । जिन्दगीमा खुशी हुने सबैभन्दा ठूलो र महत्वपूर्ण शुत्र भनेकै चलायमान भइरहनु रहेछ, जसरी साइकल गुडिरहन्छ ।

प्रकाशित मितिः मङ्लबार, कार्तिक २७, २०७५     8:14:44 AM  |