कोहलपुरमा सवारी बन्द गरेर महोत्सवलाई सडक ठेक्कामा, पार्किङ शुल्कको नाममा ब्रम्हलुट



बिहीबार महोत्सव अवलोकनका लागि आएका एक स्थानीयले पार्किङ शुल्कप्रति आश्चर्य प्रकट गरे । नाम नखुलाउने सर्तमा उनले भने, ‘पहिलो दिन महोत्सव हेर्न आएको हुँ । पार्किङ शुल्क उठाउँदो रहेछ । मोटरसाइकलकै ५० रुपैयाँ तिरेँ । मैले पनि चिट काटेँ । के–के हो बुझ्नै नसकिने ।’शुभाकर विश्वकर्मा । कोहलपुर (बाँके) ।

कोहलपुरमा सञ्चालित महोत्सवमा सडक कब्जा गरेर पार्किङ शुल्क असुलेको पाइएको छ । यही पुस ९ गतेदेखि सञ्चालित महोत्सवमा चर्को मूल्यमा शुल्क असुलेको पाइएको हो । महोसत्वको आयोजक नेपाल आदिवासी जनजाति महासंघ नगर समन्वय परिषद् कोहलपुर बाँकेको प्रत्यक्ष संलग्नतामा शुल्कको नाममा ब्रम्हलुट भइरहेको हो ।

आयोजकले कोहलपुरस्थित केही राजनीतिक दलसम्बद्ध युवालाई पार्किङ व्यवस्थापनको जिम्मा दिएको छ । उक्त समूहले नै चारपांग्रे र दुईपांग्रे सवारी साधन पार्किङबापत मनोमानी रूपमा चर्को शुल्क असुलिरहेको पाइएको छ । पार्किङका लागि आयोजक र व्यवस्थापन पक्षबीच सवारी शुल्कका विषयमा भएको समझदारीविपरित उक्त समूहले दोब्बर मूल्यमा शुल्क असुलेको भेटिएको छ ।

महोत्सव सुरु हुनुपूर्व आयोजक नेपाल आदिवासी जनजाति महासंघ नगर समन्वय परिषद् कोहलपुर बाँकेले सबै सवारी साधनको मूल्य नै तोकेको थियो । महोत्सवका आयोजक तथा सल्लाहकार संयोजक भूपेन्द्र पुन पुस ५ गते नै पार्किङको शुल्क तोक्ने निर्णय भएको बताउँछन् । ‘विगतका महोत्सवमा पनि पार्किङ शुल्क लिने गरिएको थियो । यसपटक हामीले विगतको भन्दा कम गरौँ भनेर निर्णय गरेको हो । व्यवस्थापन पक्षसँग हाम्रो निर्णयबमोजिम नै शुल्क उठाउने सहमति छ,’ उनले भने ।

उनका अनुसार महासंघले चारपांग्रे सवारी (कार)को ४० रुपैयाँ, दुईपांग्रे सवारी (मोटरसाइकल र स्कुटर)को २० रुपैयाँ शुल्क लिने निर्णय भएको थियो । तर, उक्त समूहले खुलेयाम चारपांग्रे सवारी, दुईपांग्रे सवारीको दोब्बर पार्किङ शुल्क असुलिरहेको छ । चारपांग्रे सवारी (कार)को एक सय रुपैयाँ, दुईपांग्रे सवारी (मोटरसाइकल र स्कुटर)को ५० रुपैयाँ र साइकलको २५ रुपैयाँ असुलिरहेको छ ।

राजनीतिक दलको आडमा मनोमानी रूपमा शुल्क असुलिरहेको भए पनि आयोजक र नगरपालिका मूकदर्शक भएको स्थानीय बताउँछन् । स्थानीय भुम भण्डारी मेलाका नाममा सर्वसाधारणबाट सडक कब्जा गरी शुल्क असुल्दा पनि स्थानीय सरकार चुप बस्नु गैरजिम्मेवारीपन देखिएको बताउँछन् । ‘यो त एउटा उदाहरण मात्रै हो । महोत्सवमा यस्ता धेर गैरकानुनी काम भइरहेका छन् । यसमा स्थानीय सरकार मौन बस्नु आश्चर्यजनक छ,’ उनले मिसन टुडेलाई भने ।

बिहीबार महोत्सव अवलोकनका लागि आएका एक स्थानीयले पार्किङ शुल्कप्रति आश्चर्य प्रकट गरे । नाम नखुलाउने सर्तमा उनले भने, ‘पहिलो दिन महोत्सव हेर्न आएको हुँ । पार्किङ शुल्क उठाउँदो रहेछ । मोटरसाइकलकै ५० रुपैयाँ तिरेँ । मैले पनि चिट काटेँ । के–के हो बुझ्नै नसकिने ।’ यतिमात्रै होइन सामाजिक सञ्जालमा समेत यस विषयमा टीकाटिप्पणी भइरहेको छ ।

May be an image of text

यता, महोत्सवका पार्किङ तथा प्रचारप्रसार संयोजक कुलप्रसाद थारूले त आयोजकले तोकेको पार्किङ शुल्क लिने गरेर दुई पक्षबीच सहमति नै भएको बताए । दुवै पक्षले निर्धारित मूल्यमै सहमति र हस्ताक्षर गरेर पार्किङ शुल्क उठाउने भनिएको उनको भनाइ छ । थारूले भने, ‘अन्य सबै कुरा गोपाल पुनले नै गर्नुभएको हो । तर, युवाहरूले अर्को मूल्यमा शुल्क असुलेको गुनासो आएको थियो । हामीले अनुगमन गरेका छौँ सहमतिबमोजिम नै शुल्क उठाउन भनेका छौँ ।’

आयोजक तथा व्यवस्थापक कृष्ण पुनले पार्किङ शुल्कको विषयमा विरोध भएपछि रोकेको दाबी गरे । गुनासो आएपछि आफूहरूले अनुगमन गरेर रोक्न लगाएको उनको भनाइ छ । तर, बिहीबार दिउँसो मिसन टुडेका प्रतिनिधि उक्त स्थानमा पुग्दा दोब्बर शुल्क नै असुलिरहेको पाइएको छ ।

कोहलपुर नगर प्रहरी प्रमुख वीरबहादुर थापा महोत्सव अवलोकन गर्न आएका दर्शकहरूको सवारीको सुरक्षा ट्राफिक प्रहरीसँगको समन्वयमा भइरहेको बताउँछन् । उनका अनुसार सडकको एकतर्फी सवारी राखेर अर्कोतर्फबाट हिँड्न सहज हुनेगरी पार्किङ भइरहेको छ ।

‘हामीले सीसीटीभीबाट निरन्तर निगरानी गरिरहेका छौँ । व्यवस्थापनका लागि ट्राफिक प्रहरीको टोली नै खटिरहेको छ । नागरिकलाई सास्ती हुन नदिन हामी लागिपरेका छौँ,’ थापाले भने । नगरपालिकाले पुरानो बसपार्कमा पार्किङ गर्ने व्यवस्था मिलाउँदा आयोजकले अटेरी गरेको विषयमा प्रश्न गर्दा उनले दर्शकहरूले नै नमानेको प्रतिक्रिया दिए । चर्को शुल्क असुलेको विषयमा गुनासो आएको भन्दै उनले आयोजकलाई भेटेरै नउठाउन भनेको नगर प्रहरी प्रमुख थापाको भनाइ छ ।

महोत्सव अवलोकनका लागि आएका सर्वसाधारणबाट चर्को शुल्क असुलेको भन्दै व्यापक विरोधसमेत भइरहेको छ । पार्किङ शुल्कका विषयमा कुराकानी गर्न सम्पर्क गर्दा महोत्सवका व्यवस्थापक गोपाल पुनसँग सम्पर्क हुन सकेन ।

‘चर्को शुल्क असुलेको पाइएमा कारबाही हुन्छ’

पूर्णप्रसाद आचार्य
नगर प्रमुख
कोहलपुर नगरपालिका

कोहलपुर मेला महोत्सव व्यवस्थापनसम्बन्धी कार्यविधि २०७९ जारी गरेको छ । यसमा सम्पूर्ण व्यवस्था गरिएको छ । नगर क्षेत्रमा अनुमति लिएर मात्रै महोत्सव सञ्चालन गर्न पाइन्छ । कोहलपुरमा महोत्सव सञ्चालन भइरहेको छ । नगरले स्वीकृति दिएरै सञ्चालन भएको हो । तर, मेलामा पार्किङ शुल्क बढी लिएको भन्ने गुनासो आएको छ ।

सामाजिक सञ्जालमा समेत त्यस्तो गुनासो आएको छ । यस्तो विषय आएपछि मैले नगर प्रहरी प्रमुखलाई सबै कुरा बुझ्न जिम्मा दिएको छु । उहाँले मेला आयोजक समितिसँग समन्वय गर्नुहुन्छ । उजुरी प्राप्त भयो वा कार्यविधिविपरीत कार्य गरेको पाइयो भने आवश्यक कारबाही हुन्छ । नियमविपरीत जाने छुट कसैलाई छैन ।

‘हामीले न्युनतम् पार्किङ तोकेका छौँ’

भूपेन्द्र पुन
सल्लाहकार संयोजक
महोत्सव आयोजक

महोत्सव सौहार्द्रपूर्ण वातावरणमा सञ्चालन भइरहेको छ । नगरपालिकासँग स्वीकृति लिएर महोत्सव सञ्चालन गरिएको हो । अहिले पार्किङ शुल्कका विषयमा हामीलाई पनि गुनासो आइरहेको छ । यस विषयमा हामीले सम्बन्धित पक्षसँग बुझ्दै छौँ ।

तर, जुन पक्षलाई पार्किङ व्यवस्थापनको जिम्मा दिएका छौँ । शुल्क पनि तोकिएको छ । त्योभन्दा बढी लिएको पाइएमा सचेत गराउँछौँ । विगतका महोत्सवमा पनि पार्किङ शुल्क लिने गरिएको थियो । यसपटक हामीले विगतको भन्दा कम गरौँ भनेर निर्णय गरेका छौँ । व्यवस्थापन पक्षसँग हाम्रो निर्णयबमोजिम नै शुल्क उठाउने सहमति छ । बढी उठाउन पाइँदैन ।

  • No tags available
प्रकाशित मिति : २०८१ पुस १२ गते शुक्रबार