नेपालगन्ज कन्क्लेभमा इतिहासदेखि सिनेमासम्मको बहस



धारा नेपालगन्ज म्याराथनको दशौँ संस्करणको पूर्व सन्ध्यामा बिहीबार र शुक्रबार नेपालगन्जमा आयोजित कन्क्लेभमा इतिहास, शिक्षाको महत्वदेखि सिनेमा र साहित्यले दर्शाएको समाज परिवर्तनको चित्रबारे बहस भएको थियो । गतवर्ष एकदिन भएको नेपालगन्ज कन्क्लेभ यस वर्ष दुई दिनसम्म समाजका विभिन्न मुद्दाहरूमा बहस चलेको हो ।

वीरेन्द्र जैसी । नेपालगन्ज ।

नेपालगन्ज कन्क्लेभको अन्तिम दिन इतिहास, शिक्षा, सिनेमा र साहित्यका विषयमा बहस भएको छ । धारा नेपालगन्ज म्याराथनको दशौँ संस्करणको पूर्व सन्ध्यामा आयोजित कन्क्लेभमा इतिहास, शिक्षाको महत्वदेखि सिनेमा र साहित्यले दर्शाएको समाज परिवर्तनको चित्रबारे बहस भएको हो । ‘ऐच्छिक होइन, अनिवार्य इतिहास शिक्षा’ विषयक आफ्नो विद्धत प्रवचनमा पत्रकार तथा इतिहास लेखक मोहन मैनालीले इतिहासको सही अध्यापन विद्यालयस्तरमा नहुँदा त्यसले सृजना गरेका भ्रमहरूमाथि व्याख्यान दिए ।

उनले प्रस्तुतिका क्रममा भने, ‘इतिहास भुतकाल त हुँदै हो, पूर्ण वर्तमान र भविष्यतकाल पनि हो । यसले वर्तमान र भविष्यलाई पनि प्रभावित गरिररहेको हुन्छ । त्यसैले यसलाई ऐच्छिक नभएर अनिवार्य विषय बनाउनुपर्छ । जुन विषय पढेपनि इतिहास अनिवार्य पढाउनुपर्छ ।’
मैनालीले नेपालमा इतिहास पढाउँदा हुँदै नभएको कुरालाई लहड र हल्लाका भरमा पढाइने गरेका दृष्टान्तहरू प्रस्तुत गरे । उनले इतिहास बिर्सनु डिमेन्सिय रोगसँग तुलना गर्दै त्यसले देशलाई पारेको गुमराहका प्रभावहरूतिर प्रकाश पारे ।

उनले नेपालमा इतिहास पढाउँदा गरिएका गल्तीहरूका उदाहरण प्रस्तुत गर्दै भने, ‘हामीलाई अपूरो इतिहास पढाइएको छ । हल्लैहल्लाको इतिहास पढाइएको छ । पुर्खाको मानमर्दन गरिएको छ । शिक्षा मन्त्रालय अशिक्षा फैलाइरहेको छ ।’

कन्क्लेभको दोस्रो सत्रको विषय थियो, ‘जलवायु परिवर्तन ः पग्लिँदै हिमाल, तात्दै गएको तरार्ई’ । उक्त सत्रका वक्ताहरूले जलवायु परिवर्तनले पारेका प्रभाव र त्यससँग लड्नका लागि भइरहेका प्रयास र उपायहरू बारे छलफल गरे ।

उक्त सत्रमा बोल्दै जलवायु परिवर्तन विज्ञ डा.विमल रेग्मीले भने, ‘अन्तर्राष्ट्रिय स्तरमा राजनीतिक हिसाबले कसरी जलवायु परिवर्तनको विषयलाई उठाइएको छ, भन्ने कुरा पनि महत्वपूर्ण हो । यो राजनीतिक प्राथमिकतामा परेको छैन । यसको पीडा भोगेकाहरूका कुराहरू र यो मुद्दाको स्थानीयकरण हुन सकेको छैन ।’

यसैगरी वरिष्ठ आर्किटेक्ट दिव्या आचार्यले एक प्रतिशतले तापक्रम बढ्दा दुई प्रतिशतभन्दा बढीले बालमृत्युदर बढ्ने अनुमान गरिएको बताइन् । यसले समग्र उत्पादकत्वमा पनि असर गर्ने उनले बताइन् । संरक्षणकर्मी आशिष चौधरीले टिप्पणी प्रस्तुत गर्दै चुरे क्षेत्रको दोहनको विषय अहिले तराईका लागि ठूलो समस्याको रूपमा देखिएको बताए ।

कन्क्लेभको तेस्रो सत्रमा ‘किन दौडिन्छ मान्छे ?’ शिर्षकमा ओलम्पियन धावक सन्तोषी श्रेष्ठ, वरिष्ठ पाइलट विजय लामा, मिस नेपाल आश्मा केसी र फिल्म निर्देशक मनोज पण्डितले बहस गरे । धावक श्रेष्ठले मानिसको डिएनएमा नै दौड रहेको बताइन् । पाइलट लामाले शरीर र मनलाई एकाकार गर्न मान्छे दौडिनु आवश्यक रहेको बताए ।

निर्देशक पण्डितले भने अहिलेको समयमा मानिसको यात्रा बाहिरी दुनियाँमा नभै आन्तरिक संसारमा हुनुपर्ने बताएका थिए । पूर्व मिस नेपाल केसीले मानिसको जीवनको दौड र खेलको दौडबीच अन्तर सम्बन्ध रहेको बताइन् । प्राध्यापक केशव सिग्देलले मानिसमा आशा बाँकी रहिराख्नका लागि दौडमा सामेल भइरहनु जरुरी रहेको बताएका हुन् ।

कन्क्लेभको अर्काे सत्र ‘शिक्षामा सरकारै सरकारका खाडल ः प्रणाली सुध्रिने कहिले ?’ भन्ने शिर्षकमा थियो । उक्त सत्रमा बोल्दै शिक्षाविद् विद्यानाथ कोइरालाले नेपालको शिक्षा प्रणाली बदल्न नसकिने बताए । तर, यसको सुधारका लागि शिक्षकका पढाउने शैली र चिन्तनको विकास गराउनुपर्ने बताए । ‘शिक्षाले बेरोजगार बनायो भन्दापनि कसरी रोजगारमा जोड्ने भन्ने चिन्तन हुनुपर्छ । हामी बहुुलता भएको देशमा छौँ । यसलाई सिंगार्नुपर्छ । त्यो सिकाउनुपर्छ ।,’ उनले भने ।

कार्यक्रममा बोल्दै कोहलपुर नगरपालिकाकी कार्यबाहक नगर प्रमुख संगीता सुवेदी र लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सेनाले शिक्षाको नीतिमा एकरुपता हुनुपर्ने र सामुदायिक विद्यालयको भौतिकदेखि शैक्षिक जनशक्ति सुधार गर्नुपर्नेमा जोड दिए ।
कन्क्लेभको अन्तिम सत्रमा ‘साहित्य र समाजको ऐनामा समाज परिवर्तनको चित्र’ विषयक छलफल भयो ।

उक्त सत्रमा साहित्यकारहरू नयनराज पाण्डे, रमेश क्षितिज र रेशम विरही तथा चलचित्र अभिनेत्री केकी अधिकारीले बहस गरे । उनीहरूले साहित्यले समाजमा तुरुन्तका तुरुन्तै परिवर्तन ल्याउने नभै यसले समाजको मनोविज्ञान र चेतनामा प्रभाव पार्नेमा जोड दिएका थिए । त्यस्तो प्रभावले समाजमा परिवर्तन ल्याउन भूमिका खेल्ने उनीहरूको मत थियो ।

आयोजक क्रियटिभ ह्याड्सले समाजका विभिन्न मुद्दाहरूमा बहस गराउँदै आएको छ । गतवर्ष एकदिन भएको नेपालगन्ज कन्क्लेभ यसवर्ष दुई दिनसम्म चलेको हो । कन्क्लेभको पहिलो दिन बिहीबार वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठसँग संवाद, देशले गर्छ विद्युत निर्यात ः नेपालगन्जले भोग्छ उर्जा संकट, व्यापार घाटाको दीगो व्यवस्थापन ः निर्यात वस्तुमा वृद्धि, पर्यटनको नक्सामा पश्चिम नेपालको नयाँ सर्किट, नेतृत्वको खडेरी दलमा, देशमा शिर्षकमा बहस गरिएको थियो ।

प्रकाशित मिति : २०८१ मंसिर २२ गते शनिबार