कोहलपुर ।
तराईका जिल्लाहरूमा मसुरो खेती कम हुँदै गएपछि यसको प्रवद्र्धनका लागि सरोकारवालाहरू जुर्मुराएका छन् ।
पश्चिम तराईका बाँके, बर्दिया, दाङलगायतका जिल्लामा विभिन्न सञ्जाल खडा गरेर कृषकलाई यो खेतीप्रति आकर्षित गर्न थालिएको छ । लुम्बिनी प्रदेश कृषि मन्त्रालयअन्तर्गत यूएसआईडीको पहल कार्यक्रममार्फत जिल्ला तथा पालिका स्तरमा मसुरो बाली बहुसरोकार मञ्च गठन गर्दै मसुरो बालीको व्यावसायिक खेतीप्रति किसानलाई उत्प्रेरित गर्न थालिएको हो ।
गत साता बर्दियाको गुलरियामा जिल्लास्तरीय मसुरो बाली बहुसरोकार मञ्च गठन गरिएको थियो । यसबाट मसुरो खेतीबारे कृषकलाई विभिन्न जानकारी दिनुका साथै खेतीका लागि किसानलाई सहजीकरण गर्ने उद्देश्य राखिएको एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यालय बर्दियाका प्रमुख सागर ढकालले बताए ।
बर्दियाका मधुवन नगरपालिका र ठाकुरबाबा नगरपालिकामा पालिकास्तरीय मसुरो बाली बहुसरोकार मञ्च गठन भइसकेका छन् । मञ्च गठन गरेर किसानलाई मसुरो बालीप्रति आकर्षित गर्ने लक्ष्य लिइएको छ । मञ्चमा कृषक, कृषि व्यवसायी, सहकारी, कृषि विकास कार्यालयका कर्मचारीलगायत सरोकारवालाहरूको प्रतिनिधित्व रहने गरेको छ ।
पछिल्लो समय नेपालमा मसुरो खेती कम हुँदै गएको छ । मसुरो खेतीप्रति किसानको आकर्षण घटिरहेको छ । यसको विकल्पका रूपमा किसानले तोरी र मकै लगाउने गरेको पाइएको छ । मसुरो मात्र होइन, चना, केराउ जस्ता अन्य कोसेबालीको खेती पनि कम हुँदै गएको कार्यालय प्रमुख ढकालले बताए । किसानलाई मसुरो खेतीप्रति आकर्षित गरेर यसको उत्पादन बढाउनका लागि यो कार्यक्रम निकै प्रभावकारी हुने ढकालले बताए ।
अन्य बालीभन्दा सहज तरिकाले खेती गर्न सकिने भए पनि पछिल्लो समयमा यसप्रति किसानको आकर्षण घट्दा उत्पादन पनि घटेको छ । बिना मल, जल र मेहनतले कृषकले मसुरोको खेती गर्दा यो बाली टुहुरो बाली बन्न पुगेको ढकालको भनाइ छ । ‘मसुरो मात्र नभएर सहायक बालीका रूपमा गरिँदै आएका चना, केराउलगायतका कोसे बालीको उत्पादन पछिल्ला दिनमा घट्दै गएको छ,’ ढकाल भन्छन्, ‘त्यसैले यी बालीको पुनः प्रवद्र्धन गर्नु आवश्यक देखिएको हो ।’
विगतमा नेपालमा उत्पादन भएको मसुरो विदेशसमेत निर्यात हुने गरेको थियो । तर अहिले वार्षिक रूपमा करोडौँको मसुरो र मसुरोको दाल विदेशबाट आयात भइरहेको छ । नेपालमा उत्पादित मसुरोको गुणस्तर पनि विश्वमै राम्रो मानिन्थ्यो । ‘नेपालको मसुरो गुणस्तर र मूल्यका हिसाबले विश्वमा तेस्रो–चौथो स्थानमा थियो,’ यूएसआईडीका प्रतिनिधि सुरज खनालले भने, ‘तर पछिल्लो समय यसको खेती नै कम हुन थाल्यो । निर्यात त के आफैँ आयात गर्नुपर्ने स्थिति आयो ।’
एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यालय बर्दियाको तथ्यांकअनुसार बर्दिया जिल्लामा गत वर्ष ५ हजार ७५ हेक्टर क्षेत्रफलमा गरिएको मसुरो खेतीमा ५ हजार ५ सय ८३ मेट्रिक टनमा मसुरो उत्पादन भएको छ । गत आवमा जिल्लाको मधुवन नगरपालिकामा सबैभन्दा बढी २ हजार ४ सय मेट्रिक टन मसुरो उत्पादन भएको छ भने सबैभन्दा कम बारबर्दिया नगरपालिकामा ४८ मेट्रिक टन मात्र मसुरो उत्पादन भएको छ ।
सहायक बालीको रूपमा मसुरो खेती गरिँदै आएको छ । विसं २०५२ सालसम्म सहायक बाली विकास आयोजनाले यस्ता सहायक बालीको प्रवद्र्धन गर्दै आएको भए पनि त्यसयता सरकारी तवरबाट यस्ता कार्यक्रम नआएकाले पनि उत्पादनमा प्रभाव परेको ढकालको भनाइ छ ।
आखिर मसुरो खेतीमा किसानहरूको आकर्षण किन घटिरहेको छ त ?
सजिलो रूपमा खेती गर्न सकिने भए पनि यसमा हुने मौसमी जोखिमका कारण किसानहरूको आकर्षण कम भएको देखिन्छ । जानकारहरूका अनुसार हिउँदे बर्खा अलिकति बढी हुनेबित्तिकै मसुरो उत्पादन स्वाट्टै घट्ने गरेको छ । त्यस्तै अत्यधिक गर्मीका कारण पनि मसुरो उत्पादनमा घटबढ हुने गरेको छ । किसानलाई यो खेतीका बारेमा प्राविधिक ज्ञान नहुनु, जग्गाको उपयुक्त छनोट गर्न नसक्नु र समयमा गुणस्तरीय बिउ उपलब्ध नहुन जस्ता कारणले पनि यस खेतीप्रति किसान आकर्षित हुन नसकिरहेको देखिन्छ ।
समयमा मल, बिउ उपलब्ध नहुँदा पनि किसानले मसुरो भन्दा अन्य बालीतिर जोड दिने गरेका छन् । किसानलाई समयमा मल बिउ उपलब्ध गराएर प्राविधिक ज्ञान समेत दिनुपर्ने ठाकुरबाबा बहुसरोकार मञ्चकी अध्यक्ष गीता चौधरीको भनाइ छ । ‘समयमा किसानले मल, बिउ पनि पाउँदैनन्,’ उनी भन्छिन्, ‘मसुरो खेतीबारे उनीहरूलाई आवश्यक प्राविधिक ज्ञान पनि दिन सकिएको छैन ।’
कतिपय किसानले धान काट्नुअघि बाँझो जमिनमा समेत मसुरो छर्ने गरेका छन् । मौसम अनुकूल हुँदा त्यही मसुरो राम्रो उत्पादन हुने गरेको पाइन्छ । तर मौसम प्रतिकूल हुँदा मसुरोको उत्पादन स्वाट्टै घट्ने गरेको छ ।
बर्दियामा मसुरो खेतीको प्रशस्त सम्भावना रहेकाले खेती गरेर उत्पादन बढाउन सकिने ढकालको भनाइ छ । गत वर्ष बिउ उत्पादनका लागि गरिएको मसुरो खेतीमा राम्रै उत्पादन भएको उनले बताए । ‘एक कठ्ठामा दुई क्विन्टरसम्म मसुरो फलाएका थियौँ, यो भनेको राम्रो उत्पादन हो,’ ढकालले भने, ‘त्यसैले बर्दियामा मसुरो खेतीको राम्रो सम्भावना देखिन्छ ।’ विगतमा परम्परागत रूपमा मसुरोको खेती गरिँदै आएकोमा अब व्यावसायिक रूपमै यसको खेती गर्न सकिने ढकालले दाबी गरे ।
एकीकृत कृषि कार्यालयले बर्दियामा मसुरोको सघन व्यावसायिक उत्पादन क्षेत्र विकास कार्यक्रमसमेत सञ्चालन गर्दै आएको उनले जानकारी दिए । यसबाट गत वर्ष ९ सय १५ जना किसान लाभान्वित भएका छन् । बर्दियाका मसुरो बालीको क्षेत्र विस्तारको सम्भावना पनि प्रशस्त रहेको उनले बताए । बर्दियामा मसुरोका लागि अझै करिब २ हजार ५ सय हेक्टर क्षेत्रफल बढाउन सकिने कार्यालयको आँकलन छ ।
मसुरो खेतीका लागि रोडाभेटरको जोताइभन्दा परम्परागत हलोको जोताइ उपयुक्त मानिन्छ । हलोले गहिरो गरी जमिन जोत्ने हुँदा मसुरोको उमार शक्ति बढी हुने जानकारहरू बताउँछन् । ‘कम्तीमा तीन फिट गहिरो जोत्नुपर्छ,’ ढकाल भन्छन्, ‘यदि जमिनमा चिस्यान कम छ भने मसुरोको बिउ भिजाएर पनि छर्न सकिन्छ ।’
मसुरो खेतीका लागि उपयुक्त जातको बिउ छनोट गर्ने, समयमा बिउ छर्ने, बिउ उपचार गरी छर्नेलगायतका सावधानी अपनाउनुपर्ने ढकालको भनाइ छ । खजुरा–१, खजुरा–२, खजुरा–४ र श्रद्धा कालो मसुरोको बिउ उपलब्ध भएको ढकालले जानकारी दिए । परिवर्तित जलवायु अनुकूल मसुरोका उन्नत जातका बिउ विकास गर्नसके मसुरोको व्यावसायिक खेती गरेर उत्पादन बढाउन सकिने देखिन्छ ।
प्रतिक्रिया दिनुहोस्