नेपालगन्जको विद्युत समस्या हल गर्न ४० अर्ब लगानी गर्दै प्राधिकरण



नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ नेपालगन्जमा भोल्टेजको समस्या देखिनुमा विद्युत् निर्यातसँग सम्बन्ध नभई नेपालगन्जको अवस्थिति, प्रसारण प्रणाली र वितरण प्रणाली मुख्य कारक रहेको बताउँछन् । ती समस्याको समाधानका लागि प्राधिकरणले नेपालगन्जलाई नै केन्द्रित गरेर करिब ३० देखि ४० अर्ब रूपैयाँ लगानी गरिरहेको उनी दाबी गर्छन् ।

नेपालगन्ज कन्क्लेभमा सहभागी प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ्ग, केएल दुगड ग्रुपका सिइओ प्रदीप छाजेड लगायतवीरेन्द्र जैसी । नेपालगन्ज ।

नेपालगन्जमा विद्युत् संकटले निम्त्याउने समस्यामा विषयमा केएल दुगड ग्रुपका सीईओ प्रदीप छाजेड भन्छन्, ‘हामीलाई (उद्योग चलाउन) ११ हजार भोल्ट चाहिनेमा ८ हजार मात्रै आउँछ । विद्युत्को गुणस्तर राम्रो नहुँदा वस्तुको गुणस्तरमा पनि प्रभाव पर्छ ।’ बिहीबार नेपालगन्ज कन्क्लेभमा ‘देशले गर्छ विद्युत् निर्यात, नेपालगन्जले भोग्छ ऊर्जा संकट’ विषयक सत्रमा बोल्दै उद्योगी छाजेडले भने, ‘उदाहरणका लागि मेसिनले प्याकिङ गर्दा वस्तुको तौलमा तलमाथि पर्न सक्छ । त्यसको मुद्दा उद्योगले खेप्नुपर्छ ।’

यो समस्या नेपालगन्जका उद्योगीहरूले लामो समयदेखि भोग्दै आएको समस्या हो । प्रायः गर्मी मौसममा नागरिकहरू त विद्युत् कटौतीबाट मारमा पर्छन् नै उद्योगहरूले तुलनात्मक रूपमा बढी आर्थिक क्षति खेप्नुपर्छ । तर, नेपाल विद्युत् प्राधिकरणले भारतीय ग्रिड प्रयोग गरी ४० मेगावाट विद्युत् नेपालबाट बंगलादेशसम्म निर्यात गर्ने सम्झौता गरिसकेको छ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले नेपालगन्ज कन्क्लेभमै भने, ‘वर्षातिर चमेलियाबाट दुई सयभन्दा बढी मेगावाट विद्युत् आउँछ । त्यो भारततिर बेच्नैपर्ने हुन्छ नभए खेर जान्छ ।’

कार्यकारी अधिकृत घिसिङले नेपालगन्जमा भोल्टेजको समस्या देखिनुमा विद्युत् निर्यातसँग सम्बन्ध नभई नेपालगन्जको अवस्थिति, प्रसारण प्रणाली र वितरण प्रणाली मुख्य कारण रहेको बताए । उनले उक्त समस्याको समाधानका लागि प्राधिकरणले नेपालगन्जलाई नै केन्द्रित गरेर करिब ३० देखि ४० अर्ब रूपैयाँ लगानी गरिरहेको जानकारी दिए । घिसिङले नेपालगन्जको विद्युत् संकट समाधानका लागि सञ्चालन गरिएका भनेर उल्लेख गरेका परियोजनाहरू यस्ता छन् ।

१. जानकी गाउँपालिकास्थित अम्बे सिमेन्टको नजिकै एउटा सबस्टेसन बनिरहेको छ । त्यहाँबाट इन्डियाको नानपारासम्म ट्रान्समिसन लाइन जोड्न लागिएको छ । इन्डियन साइडको निर्माण सकिसक्यो । नेपालतर्फ निर्माणाधीन छ । जब भारतको उत्तरप्रदेशको प्रणालीसँग जोडिन्छ, त्यसपछि भोल्टेजमा धेरै सुधार हुन्छ । सप्लाइ सिस्टममा पनि एकदमै ठूलो सुधार हुन्छ । अब बढीमा एक वर्ष लाग्छ । जमिन अधिग्रहणको काम हुँदै छ । त्यो सकिएपछि निर्माणमा त्यति समय नलाग्ला ।

२. विद्युत् उत्पादन केन्द्रको हिसाबले खजुरामा उत्पादित २० मेगावाटको सोलार प्रसारण लाइनमा जोडिसकेको छ । अर्काे ५६ मेगावाटको सोलारका लागि बिडिङ गरेर एलओवाई दिइसकेको अवस्था छ । एक डेढ वर्षमा त्यो सोलार पनि आउँछ । त्यसले भोल्टेजमा केही बुस्ट गर्छ ।

३. भेरी बबई डाइभर्सनको ४८ मेगावाट छ । त्यो पनि करिब दुई वर्षभित्र सम्पन्न भइसक्छ । त्यसको पावरले पनि भोल्टेजलाई बुस्ट पनि गर्छ, सप्लाइ पनि गर्छ ।

४. गण्डक नेपालगन्ज २२० केभीए लाइन बोर्डर साइडबाट सबै सबस्टेसन जोड्दै नेपालगन्जसम्म ल्याइँदै छ । त्यसले नेपालगन्जलाई रिङ बनाउँछ । जसले पूरै सप्लाइ सिस्टमलाई बुस्ट गर्छ । यसको डिजाईन सकिसकेको छ । यसका लागि एक्जिम बैंक इन्डियाले लोन फाइनान्स गर्दैछ ।

५. बुटवलदेखि ४०० केभीए लाइन अत्तरियासम्म बनाइँदै छ । ४०० केभीए लाइन लमही आउँछ त्यहाँबाट छिन्चु हुँदै दोधारा हुँदै अत्तरिया पुग्छ । त्यसको पहिलो चरणका लागि बुटवलदेखि लमहीसम्म टेन्डर हुँदै छ । एडीबीसँग सफ्ट लोनका लागि सम्झौता भइसकेको छ ।

लमहीबाट सबस्टेसन बनाएर घोराहीतिरको सिमेन्ट उद्योगको ठूलो लोड छ त्यसलाई दिनासाथ नेपालगन्जलाई सहज हुन्छ । पछि अत्तिरियासम्म ४०० केभीए बनिसकेपछि र २०० केभीए बनिसकेपछि गुणस्तर र भोल्टेजको समस्या आउँदैन । नानपारा नेपालगन्जको लाइनमा १३२ केभीएको सप्लाइ हुन्छ ।

६. अर्काेतिर वितरण प्रणालीमा पनि सुधार गर्नुपर्ने छ । वितरण प्रणालीमा सुधारका लागि अहिले करिब ४ अर्ब जतिको सफ्ट लोनमा फेब्रुअरीसम्म सम्झौता हुन्छ । त्यसपछि ठेक्कामा जान्छौँ । यहाँको मिटरदेखि लिएर मिटरिङ प्रणालीलाई स्मार्ट गर्ने भनेर प्राधिकरण काम गरिरहेको छ ।

७. नेपालगन्ज पश्चिमको ठूलो लोड सेन्टर हो । यहाँबाटै पुरै कर्णाली करिडोरमा सप्लाइ हुन्छ । त्यसो भएको हुनाले जुम्लातिर १३२ केभीए लाइन विस्तार गरिँदै छ । त्यसो भयो भने जुम्लातिर बनिरहेका परियोजनाहरूबाट १३२ मै विद्युत् आपूर्ति पनि सहज हुन्छ ।

किन हुन्छ नेपालगन्जमा विद्युत समस्या ?

कुलमान घिसिङ
कार्यकारी निर्देशक
नेपाल विद्युत् प्राधिकरण

नेपालगन्ज कन्क्लेभमा बिहीबार कुलमानले नेपालगन्जको विद्युत् समस्याको कारणबारे राखेको कुरा जस्ताको तस्तै ।

यसका लागि हाम्रो वितरण प्रणाली र सप्लाई प्रणाली कस्तो छ भन्ने बुझ्नुपर्छ । पूर्वको अनारमणिदेखि लालगढ कन्चनपुरसम्म १३२ केभीएको वारपार सिस्टम छ । इनरुवादेखि हेटौँडासम्म ४०० केभीए लाइन बन्दै छ । २२० केभिएको लाइन हेटौँडादेखि बुटवलसम्म बनिसकेको अवस्था छ । अर्काेतिर उत्पादनको घनत्व र लोड कता छ भन्ने कुराले पनि अर्थ राख्छ ।

उत्पादनको घनत्व जम्मै पूर्वतिर छ । बुटवल पश्चिममा विद्युत् उत्पादन परियोजनाहरू निर्माणाधीन छन् । सबै बनिसकेका छैनन् । चमेलियाबाट २०० मेगावाट आउँछ । नेपालगन्जमा बुटवलबाट पवर ल्याउँदा पनि टाढा पर्ने, अत्तरियाबाट ल्याउँदा पनि टाढा पर्ने हुन्छ । लामो लाइनमा भोल्टेज घट्दै गएर कम हुन आउँछ । नेपालगन्ज भौगोलिक हिसाबले पनि त्यस्तै ठाउँमा परेकाले विद्युत्को क्वालिटी र सप्लाइमा समस्या छ । गर्मी याममा बढी समस्या हुन्छ । जाडोभन्दा गर्मीमा लोड ठ्याक्कै दोब्बर हुन्छ ।

डिमान्ड बढेपछि भोल्टेज घट्छ । भोल्टेज लिमिटभन्दा तल गएपछि ट्रिप हुन्छ, लाइन आफैँ कट्छ । समाधान के गर्ने त भनेर हामी लागेका छौँ । हामी तत्कालको समस्या समाधानका लागि पनि लागेका छौँ र दीर्घकालीन समाधानमा पनि लागेका छौँ ।

समग्रमा हेर्दा नेपालगन्जलाई केन्द्रित गरेर हामीले धेरै परियोजनाहरू सञ्चालन गरिरहेका छौँ । करिब ३० देखि ४० अर्बको परियोजना नेपालगन्ज केन्द्रित गरेर गरिरहेका छौँ ।

भरपर्र्दाे र गुणस्तरीय विद्युतका लागि सबस्टेसन ठाउँ–ठाउँमा बनाउनुपर्छ । त्यसो भएकाले तत्कालका लागि १३२ केभी लाइनलाई छिटोभन्दा छिटो बनाएर समाधान गर्छाैँ । त्यसपछिको तीन चार वर्षको अवधिमा ४०० केभी लाइन सबै बनाएर नेपालगन्जको पूरै प्रणालीलाई भरपर्दाे बनाउँछौँ ।

यो मात्रै होइन अहिले हामीले देशैभरिको ११ वटा क्लस्टर बनाएर नेपालको सबै प्रणालीलाई शतप्रतिशत रिलायबल बनाउने भनेर केन्द्रित भएका छौँ । यसमा लगानी धेरै चाहिन्छ । करिब ९९ प्रतिशत त विद्युतीकरण भएको छ ।

तर त्यसलाई गुणस्तरीय त बनाउँदै जानुप¥यो । त्यसकारण विद्युतीकरणमा पनि लगानी छ र गुणस्तरीय प्रणाली बनाउन पनि लगानी आवश्यक हुन्छ । ४०० केभीको एक किलोमिटर लाइन बनाउन १० किलोमिटर बजेट लाग्छ । अझै बुटवलबाट पश्चिम पाँच सयभन्दा बढी किलोमिटर लाइन बनाउनुपर्नेछ ।

पश्चिमतिर पनि धेरै परियोजनाहरू आइरहेका छन् । विगत पाँच ६ वर्षमा जति प्रशारण लाइन बनेको छ । त्यो विगत सय वर्षमा पनि बनेको थिएन । त्यसअघि २ हजार किलोमिटर पनि लाइन थिएन । अहिले ८ हजार किलोमिटर लाइन बनेको छ । प्रशारण लाइनमै करिब डेढ खरब बढीको लगानी गरेका छौँ । त्यतिबेला सबस्टेसनको करिब २५ सय एमभिए क्षमता थियो देशभरि । अहिले १४ हजार एमभीए क्षमता पुगेको छ । त्यो नभएको भए के हालत हुन्थ्यो ? यो एकदमै द्रुत गतिमा गरेका छौँ ।

अर्काेतिर नागरिकस्तरबाट पनि सहयोग आवश्यक छ । ३३ केभीए जोड्नका लागि पनि घरअगाडि लाइन जोड्न दिँदैनन् । यहाँ विरोध गर्दा अर्काे ठाउँ लाइन पुग्दैन भन्ने बुझिदिनुप¥यो ।

  • No tags available
प्रकाशित मिति : २०८१ मंसिर २१ गते शुक्रबार