पक्राउ परे रवि लामिछाने



बाँके ।

सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई प्रहरीले पक्राउ गरेको छ । रास्वपाका सभापति एवं पूर्वउपप्रधान तथा गृहमन्त्री लामिछानेलाई प्रहरीले शुक्रबार साँझ रास्वपाको पार्टी कार्यालय बनस्थलीबाट पक्राउ गरेको हो ।

लामिछानेलाई पक्राउ गर्ने क्रममा रास्वपाका कार्यकर्ताले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध नाराबाजी गरेका थिए । उनीलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का एसपी होबिन्द्र बोगटी नेतृत्वको टोलीले पक्राउ गरेको थियो । लामिछानेले शुक्रबार साँझ ६.४५ बजे प्रहरीले दिएको पक्राउ पुर्जी बुझेर कागजमा हस्ताक्षर गरेका थिए ।

उनलाई पक्राउ गर्न शुक्रबार साँझमात्रै जिल्ला अदालत कास्कीले प्रहरीलाई अनुमति दिएको थियो । अदालतबाट पक्राउको अनुमति पाएपछि कास्की प्रहरीले केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी), काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी कार्यालय काठमाडौँलाई पक्राउ गरी पठाइदिन पत्राचार गरेको थियो । कास्की प्रहरीको पत्र आएपछि उनलाई प्रहरीले पक्राउ गरेर सडकमार्गबाट पोखरा पठाएको हो ।

पक्राउ पर्नुअघि लामिछानेले कार्यकर्तालाई संक्षिप्त सम्बोधन गर्दैै राज्यले आफूमाथि पूर्वाग्रह राखेको आरोप लगाएका थिए । सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिने क्रममा लामिछानेले आफूले कुनै अपराध नगरेको दाबी गरे ।

तर यो सरकार बनाउने निर्णय भएको थियो, त्यो दिनमा आफूलाई जसरी पनि पक्राउ गर्ने तय भएको भन्दै उनले भने, ‘अदालत प्रक्रियामा सम्मान गर्न चाहन्छु । तर राजनीतिक पूर्वाग्रहमा खुलेर लड्न आग्रह गर्छु ।’ उनले राज्यको दादागिरी डटेर सामाना गर्ने साहस मिलोस् भन्ने कामना समेत गरे ।

पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेलाई प्रहरीले सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि पक्राउ गरेको हो । सहकारी ठगीसम्बन्धी संसदीय छानबिन समितिले लामिछानेलाई सहकारीको रकम अपचलनमा दोषी ठहर गर्दै कारबाहीका लागि सिफारिस गरेको थियो ।

उनीमाथि गोर्खा मिडिया नेटवर्कको प्रबन्ध निर्देशक हुँदा सहकारीको रकम अपचलन गरेको आरोप छ । गोर्खा मिडियाका अध्यक्ष रहेका जीबी राई भने फरार छन् । राई र लामिछानेसँगै साझेदार रहेका पूर्वडीआईजी छविलाल जोशी गत असोज ६ गते पक्राउ परेका थिए ।

यस्तो हुनेछ अबको प्रक्रिया ? 

पक्राउ परेका रविलाई आइतबारमात्र कास्की जिल्ला अदालतमा प्रहरीले पेस गर्नेछ । आज शनिबार बिदा भएकाले कास्की प्रहरीले आइतबारमात्र उनलाई कास्की जिल्ला अदालतमा पेस गर्नेछ । अदालतमा रविमाथि अनुसन्धानका लागि प्रहरीले समय माग गर्नेछ ।

जिल्ला सरकारी वकिल कार्यालय कास्कीसहितको टोलीले उनीमाथि अनुसन्धान सुरु गर्नेछ । प्रहरीले रविमाथि तीन अभियोगमा अनुसन्धान गर्ने देखिन्छ । यसअघि पक्राउ परेका छविलाल जोशीलाई दाबी गरेका सबै अभियोग रविमाथि पनि अनुसन्धान हुनेछ ।

रविलाई सहकारीको रकम संगठित रूपमा ठगी गरेको भन्दै सहकारी ऐन, २०७४ र संगठित अपराध निवारण ऐन, २०६४ ले वर्जित गरेको कसुर र सम्पत्ति शुद्धीकरणमा अनुसन्धानका लागि प्रहरीले म्याद माग गर्नेछ ।

सूर्यदर्शन सरकारीमा संगठित रूपमा ठगी गरेकाले ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणमा अनुसन्धान हुनेछ । आइतबार रविलाई अदालतमा पेस गरिएपछि सरकारी वकिलहरूले बहस गर्नेछन् ।

दुवै पक्षको बहसपछि अदालतले अनुसन्धानका लागि प्रहरीलाई उचित समय उपलब्ध गराउनेछ । हालसम्मको अभ्यास हेर्दा सुरुमा पाँचदेखि सात दिन म्याद थप हुने देखिन्छ । उक्त म्याद सकिएपछि फेरि म्याद थपका लागि अदालतमा पेस गरिन्छ ।

प्रहरीले बयान र अभियोगपत्र जिल्ला सरकारी वकिल कार्यालयलाई नबुझाएसम्म म्याद थपको प्रक्रिया चलिरहन्छ । सहकारी ठगी र संगठित अपराध गरी ६० दिनसम्म उनलाई यसरी थुनामा राखेर प्रहरीले अनुसन्धान गर्न सक्नेछ ।

६० दिन पूरा हुनुअगावै प्रहरीले अनुसन्धान प्रतिवेदनसहित जिल्ला सरकारी वकिलको कार्यालय कास्कीमा बुझाउनेछ । सम्पत्ति शुद्धीकरणमा थप अनुसन्धान गर्न चाहेमा ९० दिनसम्म म्याद थपको माग प्रहरीले गर्न पाउनेछ ।

त्यसपछि अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालय पुग्नेछ । जिल्ला सरकारी वकिल कार्यालयले अनुसन्धान प्रतिवेदनमा अध्ययन गरेर अभियोग दाबीसहित जिल्ला अदालत कास्कीमा पेस गर्नेछ । जिल्ला अदालतमा अभियोगपत्र पेस भएपछि लामिछानेको थुनछेक बयान अनि बहस सुरु हुनेछ ।

अदालतले सुरुमा बयान गराउनेछ भने दुवै पक्षको दोहोरो बहस हुनेछ । दुवै पक्षको बहसपछि जिल्ला अदालतले थुनामा पठाउने कि धरौटी माग गर्ने भन्ने निर्णय सुनाउनेछ । जिल्ला अदालतले धरौटी माग गरे रवि रिहा हुने छन् भने थुनामा पठाएमा उनी जेलमा जाने छन् ।

जिल्लाको आदेशपछि रविलाई त्योभन्दा माथिल्लो तह उच्च र सर्वोच्च जाने बाटो भने खुला हुनेछ । जिल्लाको आदेशविरुद्ध उच्च अदालत पोखरा र उच्च अदालतको आदेश पनि चित्त नबुझे सर्वोच्चसम्म आउने विकल्प रविसँग रहनेछ ।

प्रकाशित मिति : २०८१ कात्तिक ३ गते शनिबार