पश्चिम नेपालकै सबैभन्दा ठूलो व्यापारिक केन्द्र मानिने नेपालगन्ज पर्वको बेला सुनसान छ । खाद्यान्नदेखि कपडा पसल, सुनचाँदी पसल, बार रेस्टुरेन्ट कुनै व्यापार पनि उत्साहजनक छैन । उता रुपैडियापारि भने हरेक वर्षझैँ यसवर्ष पनि ठेलमठेल भीड छ । नेपालगन्ज भन्सार कार्यालयको स्तरोन्नति भएर एकीकृत जाँच चौकी बनिसकेको छ । तर, सीमा नाकामा रहेको भन्सारको यात्रु शाखा उस्तै प्रभावहीन छ । निर्बाध रूपमा उपभोक्ताले चाडबाडमा भारतीय बजारमा गएर खरिद गर्न पाइरहेका छन् ।
वीरेन्द्र जैसी/समीर अलि बेहना । नेपालगन्ज ।
नेपालगन्जको व्यस्त बजारमध्ये एक एकलैनीको नूर कस्मेटिक पसलका सञ्चालक साहिल अन्सारी यस वर्ष चाडपर्वले व्यापार नबढाएको बताउँछन् । उनी भन्छन्, ‘यो समय व्यापारको समय हो ।
यतिबेला हाम्रो दैनिक कम्तिमा पाँच–सात हजारको कस्मेटिक सामान बिक्री हुनुपथ्र्याे । तर, अहिले मुस्किलले २ हजार २५ सयजति व्यापार हुन्छ । पहिला यो समयमा एक्लैनीमा निकै भीड हुने गथ्र्याे । तर अहिले त्यस्तो अवस्था छैन ।’
पश्चिम नेपालकै सबैभन्दा ठूलो व्यापारिक केन्द्र मानिने नेपालगन्ज पर्वको बेला सुनसान छ । खाद्यान्नदेखि कपडा पसल, सुनचाँदी पसल, बार रेस्टुरेन्ट सबैको व्यापार उत्साहजनक छैन । उता सीमापारि रुपैडियामा भने हरेक वर्षझैँ यसवर्ष पनि ठेलमठेल भीड छ । नेपालगन्ज भन्सार कार्यालयको स्तरोन्नति भएर एकीकृत जाँच चौकी बनिसकेको छ । तर, सीमा नाकामा रहेको भन्सारको यात्रु शाखा उस्तै प्रभावहीन छ ।
निर्बाध रूपमा उपभोक्ताले चाडबाडमा भारतीय बजार गएर खरिद गर्न पाइरहेका छन् । अर्काेतिर उपभोक्ताहरूले सहजै महसुस गर्न सक्नेगरी नेपालगन्ज र रुपैडियामा उपभोग्य वस्तुहरूको मूल्यमा भिन्नता छ । यसैकारण बजार चलायमान हुने चाडपर्वको अवसरमा पनि नेपालगन्जका व्यापारीहरू व्यापारबाट सटरभाडा तिर्ने र मुस्किलले घर चल्ने अवस्था रहेको बताइरहेका छन् ।
एक जना कपडा व्यापारी बाबू शेखले यसवर्ष व्यापार हुने अवस्था नदेखेपछि नयाँ कपडा नै नमगाएको बताए । नेपालगन्ज उद्योग बाणिज्य संघका प्रवक्ता डम्बरबहादुर चन्द अधिकांश उपभोक्ता खाद्यान्न र घरायसी उपभोग्य सामानका लागि सीमापारिको बजार पुग्ने गरेका बताउँछन् । उनले एउटा सामान किन्न जाँदा अरू सामान पनि किनमेल गर्ने प्रवृत्ति रहेको बताए ।
नेपालगन्ज भन्सार कार्यालयका प्रमुख जनार्दन पौडेल अहिले दैनिक १५ हजारदेखि २० हजार मानिसहरू जमुनाहा नाकाबाट ओहोरदोहोर गर्ने गरेको बताउँछन् । यता नेपालगन्ज उद्योग बाणिज्य संघका महासचिव भीम रानाभाट संघले गरेको सर्वेक्षणबाट एक दिनमा २५ हजारभन्दा बढी मानिस सीमाबाट आवतजावजत गर्ने गरेको पाइएको बताउँछन् ।
त्यसमध्ये ९० प्रतिशत मानिस किनमेलकै लागि सीमापारिको बजार जाने गरेको रानाभाटको दाबी छ । यसरी हेर्दा दैनिक करोडौँको किनमेल नेपाली उपभोक्ताहरूले सीमापारिको बजारमा गएर गर्ने गरेको अनुमान गर्न सकिन्छ ।
तर, यसबारेमा यकिन तथ्यांक कुनै निकायसँग पनि छैन । यद्यपि उपभोक्ताहरू सीमापारि गएर किनमेल गर्ने प्रवृत्तिले भारतसँग सीमाना जोडिएका नेपालगन्जसँगै तराईका सबैजसो बजारहरू प्रभावित छन् । कन्चनपुर उद्योग वाणिज्य संघका अध्यक्ष पिताम्बर जोशी भन्छन्, ‘नाकामा घुँइचो छ । यता बजार सुनसान छ । होटल रेस्टुरेन्टहरू खाली छन् । घरभाडा र बैंकको किस्ता नै बुझाउन हम्मेहम्मे हुने स्थिति छ ।’
यस क्षेत्रका उद्योग बाणिज्य संघका नेतृत्वकर्ताहरू उपभोक्ताहरूको पलायनलाई रोक्नका लागि भन्सार प्रशासन सुधार, भन्सारको दर समायोजन र उपभोक्ता सचेतनाका कामहरू गर्नुपर्ने बताउँछन् ।
भन्सार प्रशासनमा कडाइ गर्ने सन्दर्भमा नेपालगन्ज भन्सार प्रमुख पौडेल भन्छन्, ‘एउटै नाकाबाट भारतमा काम गर्न गएका, उपचार गर्न गएका, पारिवारिक नाता सम्बन्ध भएर भेटघाटमा गएकाहरू आइरहेका हुन्छन् । त्यसमा प्रविधिको व्यवस्था नगरी अहिलेकै मानव जनशक्तिबाट कडाइ गर्नेतिर लाग्ने हो भने सम्भव नै हुँदैन । अर्काेतिर, नागरिकहरूमा राज्यप्रतिको दृष्टिकोण पनि नकारात्मक बन्छ ।’
नेपालगन्ज उद्योग बाणिज्य संघका प्रवक्ता चन्द भारतीय बजारको मूल्य र नेपाली बजारको मूल्यमा एकरूपता नल्याइकन समस्या समाधान हुने स्थिति नरहेको बताउँछन् । यसका लागि भन्सारको दरमा सुधार गर्नैपर्ने उनको भनाइ छ । ‘उपभोक्तालाई सस्तोसँग सरोकार हुन्छ । उसले यहाँ कर थपिएर महँगो भएको हो भन्ने कुरा बुझ्दैन । व्यापारीले राज्यले बनाएका अनेक नियमको परिधिमा रहेर व्यापार गरिरहेको बुझ्दैन । अनि सीमापारि जान उपभोक्तालाई कुनै व्यवधान पनि छैन,’ चन्दले भने ।
कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्करराज कुँवर नीति निर्माताहरूमा यस विषयमा गम्भीरता नै नभएको कारण वर्षाैंदेखिको समस्या समाधान नभएको बताउँछन् । उनले भने, ‘माननीयहरूकै गाडी सीमापारि पुगेर किनमेल गरिहेको हेरिरहेका छौँ । उहाँहरूमा यस समस्याप्रतिको गम्भीरता महसुस नै छैन ।’
यसका साथै जनस्तरमा उक्त समस्या व्यापारीको हो, हाम्रो किनमेल अधिकार हो भन्ने बुझाइ रहेको र अव्यावहारिक भन्सार नीतिका कारण समस्या समाधान हुन नसकेको व्यवसायीहरू बताउँछन् ।
सीमाक्षेत्रका व्यवसायीहरू सीमापार किनमेलका कारण यहाँका व्यापारी उठ्नै नसक्ने स्थितिमा पुगेको भन्दै कन्चनपुर उद्योग बाणिज्य संघका अध्यक्ष जोशी भन्छन्– ‘एकातिर देशमा खर्च गर्नसक्ने उमेरको जनशक्ति छैन । अर्काेतिर भएका उपभोक्ताहरू सीमापारितिर गइरहेका छन् । अनि ठूलो जनसङ्ख्या भएको भारतका नागरिकहरू नेपाल आउन सक्ने वातावरण बनाउनतिर राज्यको ध्यान छैन । यो राज्य नै आर्थिक रूपमा फेल हुन लागेको संकेत हो ।’
भन्सार नहँुदा समस्या भयो
देवेन्द्र पाण्डे (मंगल)
अध्यक्ष, गुलरिया उद्योग बाणिज्य संघ
बर्दियामा ५ वटा छोटी भन्सार छन् । तीमध्ये एउटा मात्र सञ्चालनमा छ । त्यो पनि प्रभावकारी तवरले काम गर्न सक्ने अवस्थामा छैन । जनशक्ति र भन्सार रहेको स्थान नै पर्याप्त र पायक छैन । यस्तो अवस्थामा उपभोक्ताहरूलाई सीमापारि पुग्न कुनै रोकतोक छैन । यताको बजार सुनसान छ । हामीले यस विषयमा पटक–पटक नीति निर्माताहरूदेखि राज्यका निकायहरूलाई झकझक्याएका छौँ, ज्ञापनपत्र बुझाएका छौँ ।
केही दिनअघि मात्रै पनि हामीले यही विषयमा अर्थ मन्त्रालय, प्रदेश सरकार र भन्सार विभागलगायतका निकायहरूमा ज्ञापनपत्र बुझाएर समस्याको समाधानका लागि झकझक्याएका छौँ । म संघमा निर्वाचित भएको दोस्रो कार्यकाल भयो । यस कार्यकालमा पनि मेरो एउटै मुद्दाको वरिपरि नै समय बितिरहेको छ । सीमपारि जाने अवस्था रोक्नुप¥यो । अब त हामी आजित भएर आन्दोलनमै जानुपर्छ कि भन्ने मनस्थितिमा पुगेका छौँ ।
सरकारी गाडी नै किनमेलका लागि पारि पुग्छन्
पुष्पराज कुँवर
अध्यक्ष, कैलाली उद्योग बाणिज्य संघ
धनगढीबाट पनि दैनिक हजारौँ उपभोक्ताहरू भारतीय सीमावर्ती बजार वनगाउँमा जाने गरेका छन् । नाकामा भन्सार छ, दुई किसिमका प्रहरी छन् । अनुसन्धान छ । तर सरकारी नम्बर प्लेटकै गाडीमा सीमापारि पुगेर किनमेल गरेर फर्किएको देखिरहेका हुन्छौँ । माननीयहरूकै गाडी सीमापारि पुगेर किनमेल गरिहेको हेरिरहेका छौँ ।
उहाँहरूमा यस समस्याप्रतिको गम्भीरता महसुस नै छैन । हामीले अनेक तरिकाले यो समस्या समाधानका लागि दबाब दियौँ । नेताहरूदेखि लिएर मन्त्रालयसम्म धायौँ । तर समस्या समाधान भएन । मुख्य कुरा नीति निर्माता र राज्यका निकायमा बसेकाहरूमा यस समस्याप्रति गम्भीरता नै छैन । उहाँहरू आफैँ अन्योलमा हुनुहुन्छ ।
व्यवसायीले कति नै मुनाफा खाएर यहाँको मूल्य बढी भएको हो र ? करका कारण पो मूल्य बढी भएको हो । राज्यले कर घटायो भने भारतमा पर्ने मूल्य र यहाँको मूल्यमा फरक कम हुन्छ । यस विषयमा जति सल्लाह सुझाव दिए पनि उहाँहरूले सुन्नुभएको छैन ।
खर्च गर्नसक्ने जनशक्ति छैन
पिताम्बर जोशी
अध्यक्ष, कन्चनपुर उद्योग वाणिज्य संघ
नाकामा घुँइचो छ । यता बजार सुनसान छ । होटल रेस्टुरेन्टहरू खाली छन् । घरभाडा र बैंकको किस्ता नै बुझाउन हम्मेहम्मे हुने स्थिति छ । साना व्यवसायीले र सीमानजिक भएका व्यवसायीले कानुनी बाटोबाट आयात निर्यात नै गर्न नसक्ने स्थिति बनाइएको छ । लाइसेन्स भएको व्यवसायी चाहिने नियम बनाइएको छ ।
यहाँ त झोलामा ल्याएर भन्सार तिरेर व्यापार गर्छु भन्ने व्यापारी पनि त छन् नि । नियम कानुन काठमाडौँका ठूला व्यापारीलाई मात्रै हेरेर बनाइयो । भन्सार त्यस्तै बढी छ । अहिले सुन १० हजार रुपैयाँ उता सस्तो छ । करले नै तीन गुणा बढी मूल्य पुग्ने स्थिति छ । त्यसको भार त उपभोक्तामै जाने हो । अनि उपभोक्ता सस्तोको खोजीमा लाग्छ । काठमाडौँमा बसेर नीति बनाउनु भएन । फिल्डमा आएर हेर्नुप¥यो ।
एकातिर देशमा खर्च गर्नसक्ने उमेरको जनशक्ति छैन । अर्काेतिर भएका उपभोक्ताहरू सीमापारीतिर गइरहेका छन् । अनि ठूलो जनसङ्ख्या भएको भारतका नागरिकहरू नेपाल आउन सक्ने वातावरण बनाउनतिर राज्यको ध्यान छैन । यो राज्य नै आर्थिक रूपमा फेल हुन लागेको संकेत हो । यो स्थिति हेर्दा देशको आर्थिक क्षेत्र कसको ग्रान्ड डिजाइनमा चलेको छ भन्ने नै शंका उत्पन्न भइसकेको छ ।
जिम्मेवार निकाय नै गैरजिम्मेवार छ
डम्बरबहादुर चन्द
प्रवक्ता, नेपालगन्ज उद्योग बाणिज्य संघ
नेपालगन्जको यो पुरानो समस्या हो । हामीले कयौँपटक ज्ञापनपत्र दियाँै, धर्ना दियौँ, सिमानामा गएर बस्यौँ । यो समस्या लिएर हामी प्रधानमन्त्रीदेखि सम्बद्ध सबै निकायसम्म पुग्यौँ । हामीले आफूसँग भएको तथ्यांकसहित सीमामा यस्तो अवस्था छ है भनेर भनेका छौँ । तर, सुन्नुपर्ने जिम्मेवार व्यक्ति र निकायले यसलाई गम्भीरतापूर्वक लिएका छैनन् । उपभोक्ताहरू एक बोरा चामल किन्न जाँदा सबै घरायसी सामानहरू किनेर ल्याउँछन् । उपभोक्तालाई सस्तोसँग सरोकार हुन्छ ।
उसले यहाँ कर थपिएर महँगो भएको हो भन्ने कुरा बुझ्दैन । व्यापारीले राज्यले बनाएका अनेक नियमको परिधिमा रहेर व्यापार गरिरहेको बुझ्दैन । अनि सीमापारि जान उपभोक्तालाई कुनै व्यवधान पनि छैन ।
व्यवसायीले यसमा धेरै दबाब सिर्जना गर्दा आफ्नो फाइदाका लागि गरेको भन्ने आरोप लाग्छ । यस विषयमा नीति निर्माताहरू नै जिम्मेवार हुनुपर्छ । मुख्य कुरा भारतीय बजारको मूल्य र नेपाली बजारको मूल्यमा एकरूपता नल्याइकन समस्या समाधान हुँदैन । त्यसका लागि भन्सार दर घटाउनुपर्छ । भन्सार प्रशासन पनि चुस्त हुनुप¥यो ।
प्रतिक्रिया दिनुहोस्