दसैँको सुरुवात भएसँगै घरघर, टोलटोलमा चङ्गा उडाउने र पिङ खेल्ने प्रतियोगिता नै हुने गरेको पाइन्थ्यो । तर पछिल्लो समय यसको रौनक घट्दै गएको पाइन्छ । दसैँका बेला यदाकदा पिङ लगाएको देखे पनि पहिलाको जस्तो पिङ खेल्नलाई न पालो कुर्नुपर्छ न पिङ खेल्ने ठाउँमा पिङ खेल्नका लागि मान्छेको भीड नै लाग्छ ।
शिवु खनाल । दाङ ।
पहिले–पहिले गाउँघर होस् या सहरबजार दसैँका बेला युवाहरू बाबियो कहिले काट्ने, पिङ कहिले हाल्ने भनेर सल्लाह गर्दथे ।
एक हुल केटा क्लबमा होस् या चौरमा बसेर को–को बाबियो काट्न जाने, क–कसले पिङ बाट्नमा सहयोग गर्ने भन्ने सल्लाह हुन्थ्यो । त्यति मात्र होइन, दसैँको सुरुवात भएसँगै घरघर, टोलटोलमा चङ्गा उडाउने र पिङ खेल्ने प्रतियोगिता नै हुने गरेको पाइन्थ्यो ।
तर पछिल्लो समय यसको रौनक घट्दै गएको पाइन्छ । दसैँका बेला यदाकदा पिङ लगाएको देखे पनि पहिलाको जस्तो पिङ खेल्नलाई न पालो कुर्नुपर्छ न पिङ खेल्ने ठाउँमा पिङ खेल्नका लागि मान्छेको भीड नै लाग्छ ।
कुनै समयमा पिङ बनाउनका लागि खुला ठाउँ, चौर, चोकमा युवाहरू जम्मा हुन्थे । बुढापाकाले बाबियाको डोरी बाटेर पिङका लागि तयारी गरिदिन्थे र युवाहरूले लिङ्गे पिङ लगाउन बाँसहरू भेला बनाएर बिहानदेखि लागिपर्थे तर अहिले गाउँघरमा युवा भेट्नै मुस्किल छ । न गाउँमा पहिलेजस्ता युवा छन् न टोलैपिच्छे बनाइने गरेका पिङ नै ।
गाउँमा दसैँको रौनक हराउँदै गएको लमही नगरपालिका–५ गोरक्षटोल निवासी सुस्मा नेपालीले बताइन् । साथीहरू कोही विदेश, कोही अन्यत्रै गएका कारण गाउँघरमा आफूसरहका साथीभाइ नभएकोमा उनले दुःखेसो पोखिन् ।
‘पहिला दसैँ कहिले आउँछ र घर कतिखेर जाउँ जस्तो हुन्थ्यो । गाउँमा गएर साथीहरू भेला भएर लिङ्गे पिङ हालिन्थ्यो,’ उनले भनिन्, ‘तर अहिले गाउँमा साथीहरू कोही छैनन् । युवाहरू जति सबै विदेश पलायन भएका छन् । भएका पनि इन्टरनेटमा झुम्मिने मात्र गर्न थालेका छन् ।’
दसैँ खल्लो हुनुमा विविध कारण छन् । अहिले पूर्व होस् वा पश्चिम, हिमाल होस् वा तराई सबैतिर दसैँको रौनक घट्दै गएको छ । ‘दसैँका बेला गाउँघरमै लिङ्गे पिङ हाल्ने र त्यो पिङ तिहारसम्म खेल्ने चलन थियो,’ उनले भनिन्, ‘तर अहिले भने कताकति मात्र यस्ता पिङ देख्न पाइन्छ ।’
दसैँमा टीकाको दिन भुइँ छोड्नुपर्छ भन्ने नेपाली मान्यता र परम्परा रहिआएको छ ।
त्यसैले पनि ठाउँठाउँमा पिङ हाल्ने गरिएको छ । दसैँको अवसरमा पिङ खेल्ने संस्कृति नेपालमा मात्र पाइन्छ । शास्त्रमा दसैँमा पिङ खेल्नैपर्छ भन्ने कतै उल्लेख नभए पनि मनोरञ्जनका लागि भए पनि पिङ हाल्ने र खेल्ने गरिँदै आएकोे छ ।
हाम्रो समाजबाट परम्परागत लिङ्गे र रोटेपिङहरू हराउँदै गए पनि अझै कतैकतै यसलाई निरन्तरता दिइँदै आएको छ । यस्तै, लमही नगरपालिका–५ स्थित अजम्मरी सामुदायिक वन उपभोक्ता समूहद्वारा सञ्चालित जैविक विविधता ग्रिनपार्कमा केही वर्षयता प्रत्येक वर्ष लिङ्गे पिङ हाल्ने गरिएको छ ।
सशस्त्र प्रहरी बल नेपाल नम्बर ४१ रिजर्भ गण अर्जुनखोलाबाट सशस्त्र प्रहरी निरीक्षक ईश्वरी पुनमगरको कमान्डमा खटिएको २० जनाको टोलीले वन भित्र लिङ्गे पिङ लगाएको छ । पहिला–पहिला यो ठाउँमा पिङ खेल्नका लागि मान्छेहरू लाइन लागेर भेला हुने गर्थे । पछिल्लो समयमा फाट्टफुट्ट मात्र पिङ खेल्नका लागि भेला हुने गरेका छन् ।
‘टीकाको दिन केही मान्छे भुइँ छोड्नुपर्छ भन्ने मान्यताले गर्दा पिङ खेल्न आउँछन्,’ स्थानीय सुस्मा नेपाली भन्छिन्, ‘अरू बेला त मान्छे खासै हुँदैनन् । हिजो आज त पिङ बनाउन पनि अल्छी गर्न थालेका छन् । के गर्ने खेल्ने मान्छे भए पो सबैलाई जाँगर चल्छ ।’
पहिले–पहिले काठका रोटेपिङ हुन्थे भने अहिले आधुनिक र ठूलो रोटे पिङ बनाएर मेला पर्वमा शुल्क लिएर खेल्ने गरेका छन् । जुन पिङ सहरबजारमा राखिन्छ । त्यो रोटेपिङ खेल्नका लागि भने मानिसको भीड नै लाग्ने गर्छ । तर काठबाट बनाइएको रोटेपिङ भने लोप हुने अवस्थामा पुगेको देखिन्छ । पिङलाई नेपालमा भन्दा भारतमा केही फरक तरिकाले हेरिने गरिएको छ ।
पौराणिक काल खण्डमा कृष्ण रोएको अवस्थामा उनलाई भुलाउनका लागि पिङ जस्तो बनाएर हल्लाइएको थियो । यसरी हल्लाएपछि उनी चुपचाप लागे र यसैको विकसित रूप नै पिङ हो भन्ने बुझाइ छ ।
यो परिमार्जन हुँदै लिङ्गे पिङ, रोटे पिङको अवस्थामा आइपुगेको हो । दसैँमा पिङ मात्र होइन, पिङसँगसँगै चङ्गा उडाउने पनि परम्परा रहेको छ । संस्कृतिकै रूपमा विकसित भइसकेको चङ्गा उडाउने चलन पनि बिस्तारै–बिस्तारै ओझेलमा पर्दै गएको छ ।
प्रतिक्रिया दिनुहोस्