भारतबाटै ल्याइन्छ धेरै दुर्गा मूर्ति



दसैँमा दुर्गापूजा गर्नका लागि विभिन्न स्थानमा सामूहिकरूपमा दुर्गा मूर्तिहरू स्थापना गर्ने गरिन्छ । त्यसका लागि आवश्यक मूर्तिहरू धेरैजसो भारतबाट ल्याउने गरिएकोले नेपाली कालीगढहरू मर्कामा परेका छन् । यसले नेपाली मुद्रा बाहिरिएको छ नै नेपाली कालीगढलाई आर्थिक रूपमा घाटा भइरहेको छ । भारतबाट नै ल्याइने भएकोले वर्षेनी नेपाली मूर्तिको माग घट्दैछ ।

समीर अली बेहना । नेपालगन्ज ।

नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ६ मा रहेको विनायक मूर्ति आर्टका प्रमुख कालीगढ मुकेश गुप्ताले गतवर्ष ३० वटा ठूला र एक सय २० वटा साना गरेर एक सय ५० वटा मूर्ति बताए । अर्डरअनुसार मूर्ति बनाउने मुकेशले यस वर्ष भने जम्मा ८७ वटा मात्रै मूर्तिको अर्डर पाएका छन् । आफ्नो आर्ट क्लबमा मूर्ति बनाइरहेको अवस्थामा भेटिएका मुकेशले यस वर्ष कम अर्डर आउनुको कारण अर्डरहरू सीमावर्ती भारतीय क्षेत्रका कालीगढकहाँ जानु रहेको बताए ।

उनले भने, ‘रुपैडिहाबाट मान्छेहरू मूर्ति ल्याउँदैछन् । हामीले यहाँ दुःख गरेर अढाई तीन महिनादेखि मूर्ति बनाइरहेका छौँ । रुपैडिहामा अलि सस्तो पाइन्छ भनेर हामीसँग अलि गाह्रो भइरहेको छ ।’ बाँकेसहितका जिल्लामा दसैँमा दुर्गापूजा गर्नका लागि विभिन्न स्थानमा सामूहिकरूपमा दुर्गा मूर्तिहरू स्थापना गर्ने गरिन्छ । सँगै दुर्गाकथासँग जोडिने पौराणिक पात्रका मूर्तिहरू पनि स्थापना गरिन्छन् ।

जसमा लाखौँ रुपैयाँको कारोबार हुन्छ । मूर्ति कालीगढहरूका लागि अर्थाेपार्जनको एक अवसर हो दसैँ । तर, त्यस्ता मूर्तिहरू पनि भारतबाट आयात भइदिँदा नेपालगन्जका मूर्ति कालीगढहरू मर्कामा परेको बताउँछन् । भारतको नानपारा, बाबागञ्ज, अगैया, बहराइच, रुपैडियाबाट सस्तो दरमा नेपाली बजारमा मूर्तिहरू ल्याइने गरेको छ ।

मुकेशजस्तै महेन्द्र पार्कस्थित विनय मूर्ति क्लबका मूर्तिकार दिपेश कुमारले पनि आफ्नो दुखेसो पोख्दै भने, ‘अघिल्लो वर्ष २० ठूला र ३५ साना मूर्तिको अर्डर आएको थियो । तर यसपटक जम्मा १७ वटा ठूलो र ३० वटा साना मूर्ति बनाइएको छ ।’ नेपाली कालीगढका अनुसार नेपालको बजारमा मूर्तिको सजावटका लागि चाहिने वस्तुहरू महंगो पर्ने गरेकोले रुपैडिहाको भन्दा बढी मूल्य पर्ने गरेको छ । उनीहरूका अनुसार भारतीय कालीगढले बनाएका मूर्ति र नेपाली कलकारले बनाएको मूर्तिको मुल्यमा लगभग ५ देखि १० हजारको अन्तर हुन्छ ।

नेपालमा ठूला मूर्ति २५ देखि ४५ हजार र साना मूर्ति १० देखि २० हजार रुपैयाँ पर्छ । मूर्तिको मूल्य साइज र आकर्षणको आधारमा निर्धारित हुन्छ । भारतमा मूर्ति सस्तो पर्नुको कारण साजसज्जाका सामाग्री तथा अन्य सामानहरू सस्तो पाइनु रहेको कालीगढहरूको भनाइ छ । कालीगढहरूका अनुसार एउटा मूर्ति बनाउन १०–१५ हजारको सामाग्री लाग्ने गर्छ ।

नेपाली कालीगढहरू कलाका हिसाबले भारतीय कालीगढहरूसँग प्रतिस्पर्धा गर्न सकेपनि बजार मूल्यमा प्रतिस्पर्धा गर्न नसकिरहेको बताउँछन् । ‘मानिसहरूको इच्छाको कुरा हो, कहाँबाट किन्ने भन्ने कुरा । रोक्न पनि नसकिने,’ मुकेशले भने । मूर्तिका लागि चाहिने सजावटका सामानहरूमा भन्सार छुट दिने हो भने मूल्य सस्तो पर्न जाने कालीगढहरूको भनाइ छ ।

मुकेशले विगत ८ वर्षदेखि मूर्ति बनाउँदै आएका छन् । उनका अनुसार नेपालगन्जमा दुई दशक अगाडिसम्म भारतबाटै मूर्तिहरू ल्याउने गरिन्थ्यो । तर दुई दशकयता नेपाली कालीगढहरूले पनि सीप सिकेपछि मूर्तिको व्यापारमा भारतीय कालीगढको एकाधिकारलाई तोड्न सफल भएका थिए ।

कलाका हिसाबले पनि नेपाली कालीगढले बनाएका मूर्तिहरू कम नभएपछि बिस्तारै नेपाली कालीगढहरूले मानिसहरूको मन जितेका थिए । मूल्य महंगो नै पर्ने गरेपनि मूर्तिको अर्डर आफ्नै कालीगढलाई दिनुपर्छ भन्ने सोच पलाएको पनि मुकेश बताउँछन् । तर, पछिल्लो समय फेरि मानिसहरू मूर्तिका लागि सीमापारी नै पुग्न थालेका उनले बताए ।

यसवर्ष नेपालगन्जका दुईवटा मूर्ति उत्पादन गर्ने आर्ट क्लब बन्द भएका छन् । पहिले नारायण स्कुलनजिक सञ्चालन हुने सौञ्जनीय मुर्ती क्लब, महेन्द्र पार्क नजिकै सञ्चालन हुने दुर्गा मूर्ति आर्ट क्लब यसवर्ष सञ्चालनमा छैनन् । यद्धपि दुई ठाउँमा मूर्ति बनाउने नयाँ आर्ट क्लबहरू खुलेका छन् ।

प्रकाशित मिति : २०८१ असोज १४ गते सोमबार