द्वन्द्वपीडित तथा प्रभावित महिला तथा बालिकाको समष्टिगत आवश्यक पहिचान गरी सम्बोधनका लागि कार्यपालिकाबाट नीतिगत निर्णय गरी अघि बढ्ने नगर प्रमुख खड्कबहादुर खड्काले बताए ।
बाँसगढी ।
बाँसगढी नगरपालिकाका द्वन्द्वपीडित तथा प्रभावित महिला तथा बालिकाको समष्टिगत आवश्यक पहिचान गरी सम्बोधनका लागि कार्यपालिकाबाट नीतिगत निर्णय गरी अघि बढ्ने बाँसगढी नगरपालिकाका प्रमुख खडकबहादुर खड्काले बताएका छन् ।
नगर प्रमुख खड्काले द्वन्द्वपीडित तथा प्रभावित महिला तथा बालिकाको समष्टिगत आवश्यक पहिचान उपसमिति गोपनीयता तथा संवेदनशिलतासम्बन्धी शपथ ग्रहण कार्यक्रममा यस्तो बताएका हुन् ।
समष्टिगत आवश्यक पहिचान उपसमिति गोपनीयता तथा संवेदनशिलतासम्बन्धी शपथ ग्रहण गरेसँगै बाँसगढी नगरपालिकामा द्वन्द्वपीडित महिला तथा बालिकाको समष्टिगत आवश्यक पहिचान सुरु गरिएको छ । महिला, शान्ति र सुरक्षा सम्बन्धी संयुक्त राष्ट्र संघको प्रस्ताव नं. १३२५ र १८२० लाई लागू गर्न नेपाल सरकारले ल्याएको दोस्रो राष्ट्रिय कार्ययोजनामा स्थानीय तहलाई दिएको जिम्मेवारी अनुसार द्वन्द्वपीडित महिला तथा बालिकाको समष्टिगत आवश्यक पहिचान सुरु गरिएको हो ।
दोस्रो राष्ट्रिय कार्ययोजनामा स्थानीय तहका प्रमुखको संयोजकत्वमा कार्ययोजना कार्यान्वयन स्थानीय समिति र पीडित तथा प्रभावित महिला तथा बालिकाको समष्टिगत आवश्यकता पहिचान उपसमिति व्यवस्था भएअनुसार दुबै समिति गठन भइसकेको छ ।
राष्ट्रिय कार्ययोजनामा दिएको जिम्मेवारी अनुसार बाँसगढी नगरपालिकाले आवश्यकता पहिचान गर्न सुरु गर्नुअघि, पहिचान गर्ने क्रममा र पछिको गोपनीयता, सुरक्षा संवेदनशिलतालाई सुनिश्चित गर्न आचारसंहिता र आवश्यकता पहिचान गर्न फाराम पनि बनाएर कार्ययोजना स्थानीय समितिको असोज ९ गते बसेको बैठकले पास गरेको छ ।
बाँसगढी नगरपालिकाकी उपप्रमुख तथा द्वन्द्वपीडित तथा प्रभावित महिला तथा बालिकाको समष्टिगत आवश्यकता पहिचान उपसमितिकी संयोजक इन्दिरा चौधरीले द्वन्द्वपीडित महिला तथा बालिकाको आवश्यकता पहिचान गरी कार्ययोजना कार्यान्वयन समितिलाई हस्तान्तरण गरिने बताइन् ।
पहिचान गरिएका आवश्यकतालाई प्राथमिकिकरण गरी पालिका आफैँ, प्रदेश र संघीय सरकारलाई योजना बनाउन सिफारिस गर्ने उनले बताइन् । उपप्रमुखको संयोजकत्वमा पाँच सदस्यीय उपसमितिले द्वन्द्वपीडित महिला तथा बालिकाको आवश्यकता पहिचान गर्न सुरु गरेको हो ।
बढैयाताल गाउँपालिकामा असोज ७ गते र ठाकुरबाबा नगरपालिकाले जेठ १३ गते नै उपसमितिलाई गोपनीयता तथा संवेदनशिलतासम्बन्धी शपथ ग्रहण गराई पीडितको आवश्यकता पहिचान सुरु गरिसकेका छन् ।
बर्दियामा अन्य पालिकाले पनि महिला, शान्ति र सुरक्षासम्बन्धी संयुक्त राष्ट्र संघको प्रस्ताव नं. १३२५ र १८२० लाई लागू गर्न नेपाल सरकारले ल्याएको दोस्रो राष्ट्रिय कार्ययोजना कार्यान्वयन गर्न नीतिगत निर्णय गरी काम सुरु गर्ने तयारी गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्