देशभर भारीदेखि धेरै भारी वर्षाको सम्भावना, ५६ जिल्लामा ‘रेड अलर्ट’ जारी



मंगलबारदेखि सक्रिय बनेको मनसुनी प्रणालीका कारण बिहीबार दिउँसोबाट देशभर भीषण वर्षा हुने भएको छ । मौसम पूर्वानुमान महाशाखाले बुधबार विशेष बुलेटिन जारी गर्दै आइतबार बिहानसम्मै सातवटै प्रदेशमा भीषण वर्षा हुने र केही ठाउँमा अत्यधिक वर्षाको चेतावनी दिएको छ ।

बाँके ।

मौसम पूर्वानुमान महाशाखाले आइतबार बिहानसम्मै सात वटै प्रदेशमा ठूलो वर्षा हुने र केही ठाउँमा अत्यधिक वर्षा हुने चेतावनी दिएको छ । बुधबार विशेष बुलेटिन जारी गर्दै महाशाखाले यो अवधिमा बाढी पहिरोका घटनासमेत बढ्नसक्ने भएकाले सात प्रदेशका ५६ वटा जिल्लालाई उच्च सावधानी अपनाउनुपर्ने अर्थात् ‘रेड अलर्ट’ मा राखेको हो ।

वर्षा गराउने प्रणाली नेपाल नजिक झन् शक्तिशाली बनेकाले वर्षा हुने क्षेत्र र असर बढी पर्ने देखिएको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् प्रतिभा मानन्धरले बताइन् । उनका अनुसार बिहीबारदेखि आइतबारसम्म देशका अधिकांश स्थानमा पानी पर्ने र कैयौँ स्थानमा छोटो अवधिमा धेरै पानी पर्न सक्नेछ ।

बंगालको खाडीबाट प्रवाह भएको जलवाष्पयुक्त हावासँगै न्यून चापीय प्रणालीका कारण असोज १० देखि असोज १३ गतेसम्म देशभरिको आकाश बादलले भरिने महाशाखाले जारी गरेको विशेष बुलेटिन उल्लेख रहेको छ ।

महाशाखाका मौसमविद् गोविन्द झाले बंगालको खाडीबाट प्रवाह हुने जलवाष्पयुक्त वायु तथा त्यस क्षेत्रमा बनेको न्यूनचापीय प्रणालीको प्रभावका कारण नेपालमा भारीदेखि धेरै भारीसम्म वर्षा हुने प्रक्षेपण गरिएको बताए ।

यो अवधिमा देशका अधिकांश स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको अनुमान छ भने कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा एवं मधेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा अत्यधिक वर्षाको जोखिम रहेको महाशाखाले जनाएको छ । महाशाखाका अनुसार ५६ जिल्लामा अत्यधिक वर्षाको जोखिम छ ।

महाशाखाले गण्डकी र लुम्बिनीका थोरै स्थान एवम् कोशी, बागमती, मधेश, कर्णाली र सुदूरपश्चिमका एक–दुई स्थानमा अत्यधिक वर्षा हुनसक्ने बताएको छ । बिहीबार दिउँसोदेखि नै यस्तो वर्षा हुन सुरु हुने आंकलन गरिएको छ ।

‘रेड अलर्ट’ भएका जिल्लामा झापा, मोरङ, सुनसरी, धनकुटा, तेह्रथुम, खोटाङ, ओखलढुङ्गा, उदयपुर, भोजपुर, इलाम र पाँचथर रहेका छन् । यस्तै, सिरहा, सप्तरी, मकवानपुर, चितवन, धादिङ, नुवाकोट, रसुवा, काठमाडौँ, भक्तपुर, ललितपुर, काभ्रे, सिन्धुपाल्चोक, सिन्धुली र रामेछाप रहेका छन् ।

यसैगरी म्याग्दी, बाग्लुङ, तनहुँ, स्याङ्जा, नवलपरासी पूर्व, कास्की, पर्वत, लमजुङ, गोरखा, मनाङ, रुकुम पूर्व, रोल्पा, गुल्मी, प्युठान, अर्घाखाँची, पाल्पा, दाङ, कपिलवस्तु, रुपन्देही, नवलपरासी पश्चिम, बाँके र बर्दिया, जाजरकोट, रुकुम पश्चिम, दैलेख, सुर्खेत र सल्यान तथा कैलाली, डोटी र अछाम रहेका छन् ।

यो अवधिमा तराईका केही स्थानमा हावाहुरीको समेत सम्भावना औँल्याइएको छ । महाशाखाले उच्च पानीले बाढी पहिरोको जोखिम रहेकाले सतर्कता अपनाउन तथा तयारी गर्न आह्वान गरेको छ ।

महाशाखाले यस प्रणालीको प्रभावले विशेष गरी वर्षाको कारण भूक्षय, बाढी, पहिरो तथा गेग्रान बहाबको जोखिम रहेको र मनसुनमा रातिको समयमा पानी पर्ने सम्भावना बढी हुने गरेकाले सतर्क रहन आग्रह गरेको छ ।

मनसुन सकिने औसत मिति नजिक आइरहँदा पनि यो वर्षको मनसुन सकिने छाँट देखिएको छैन । सामान्यतयाः नेपालमा अक्टोबर २ मा मनसुन सकिने प्रवृत्ति छ । यो वर्ष मनसुन दसैँसम्म लम्बिने अवस्था देखिएको मौसमविद्ले बताउँदै आएका छन् ।

 

प्रकाशित मिति : २०८१ असोज १० गते बिहीबार