छ्यापछ्याप्ती नक्कली ‘कलश ब्रान्ड’का चामल



तुलनात्मक रूपमा अन्य चामलभन्दा सस्तो पर्ने भएकाले प्रायः आर्थिक रूपले विपन्नहरूको रोजाइमा कलश ब्रान्ड लेखिएको चामल पर्ने गरेको छ । बोरा पनि आकर्षक हुने र ब्रान्ड नै लेखिएको हुनाले उपभोक्ताहरू झुक्किने गरेका छन् । उपभोक्ता झुक्याउनका लागि बोरामा छाप हानेर लेबलजस्तो मिल सञ्चालकहरूले बताउने गरेका छन् । नक्कली ब्रान्ड लेखिएको बोरामा चामल हालेर बेच्नेमा नेपालगन्जका मिल सञ्चालकहरू मात्रै नभएर विभिन्न ठाउँका मिल उद्योग रहेका छन् ।

वीरेन्द्र जैसी । नेपालगन्ज ।

गुलाबी र पहेँलो रङको प्लास्टिकको बोरामा लेखिएको छ, ‘आधुनिक मेसिनद्वारा तयार गरिएको । कलश ब्रान्ड, सोना मनसुली चामल ।’ तर चामलको उत्पादक को हो ? लेखिएको छैन । १२ महिनासम्म प्रयोग गर्नलायक भनेर लेखिएको छ । तर, कहिले उत्पादन गरिएको हो ? मूल्य कति हो ? लेबलमा उल्लेख गरिएको छैन ।

तपाईंले पनि बजारमा ‘कलश ब्रान्ड’ लेखिएका चामलका यस्ता बोरा देख्नुभएको होला । हुनसक्छ उपभोग पनि गर्नुभएको छ । तर, के साँच्चै कलश नामक ब्रान्ड आधिकारिक र वैध ब्रान्ड नै हो त ? यसबारेमा चासो राख्नुभएको छ ?

वास्तवमा बजारमा छ्याछ्याप्ती रहेको र उपभोक्ताहरूले धमाधम उपभोग गरिरहेको चामलका बोरामा लेखिएको ‘कलश ब्रान्ड’ नक्कली ब्रान्ड हो । ब्रान्डको नाम देखाएर उपभोक्तामाथि भइरहेको धोका हो । यो ब्रान्डको चामल अहिले मोटो चामलमा सबैभन्दा बढी बिक्री हुने चामल रहेको व्यापारीहरू नै बताउँछन् । तर, यो नक्कली ब्रान्ड हो भन्नेमा व्यापारीहरू नै जानकार छैनन् । या थाहा पाएर पनि थाहा नपाएझैँ गरिरहेका छन् ।

नेपालगन्जको खजुरारोडका एक पसलेले आफ्नो पसलमा रहेको कलश ब्रान्ड नक्कली नभएको बताए । उनले उपभोक्ताले मोटो चामल रोज्दा कलश ब्रान्ड नै रोज्ने गरेको बताए । सोही ठाउँका अर्का व्यापारीले पनि कलश ब्रान्ड असली नै भएको बताए । तर, अर्का एक चामल मिल सञ्चालक तथा व्यापारीले उक्त ब्रान्ड कुनै आधिकारिक ब्रान्ड नभएको स्वीकार गरे ।

केही समय पहिलेसम्म कलश ब्रान्डकै चामल बिक्री गर्दै आएका ती व्यापारीले भने, ‘यो कलश ब्रान्ड लेखिएका बोराहरू बजारमा पसलमा किन्न पाइन्छ । ती बोरामा ल्याएर चामल हालेर बेच्थ्यौँ । तर, यस्तो गर्न मिल्दैन भन्ने थाहा पाएपछि आफ्नै नामको बोरा छपाएर चामल प्याक गरेर बेच्न थालेका छौँ ।’

सहरी क्षेत्रमा यस नक्कली ब्रान्डका उपभोक्ताहरू कम भए पनि पहाडी र ग्रामीण क्षेत्रमा एकछत्र दबदबा रहेको व्यापारीहरूको भनाइ छ । तुलनात्मक रूपमा अन्य चामलभन्दा सस्तो पर्ने भएकाले प्रायः आर्थिक रूपले विपन्नहरूको रोजाइमा कलश ब्रान्ड लेखिएको चामल पर्ने गरेको पाइएको छ । बोरा पनि आकर्षक हुने र ब्रान्ड नै लेखिएको हुनाले उपभोक्ताहरू झुक्किने गरेका छन् ।

पछिल्लो समय उपभोक्ता झुक्याउनका लागि बोरामा छाप हानेर लेबल जस्तो बनाएर समेत उपभोक्ताहरूलाई झुक्याइरहेका छन् मिल सञ्चालकहरूले । यसरी नक्कली ब्रान्ड लेखिएको बोरामा चामल हालेर बेच्नेमा नेपालगन्जका मिल सञ्चालकहरू मात्रै नभएर विभिन्न ठाउँका मिल सञ्चालकहरू पनि रहेका छन् ।

बाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय नेपालगन्जले पनि ‘कलश ब्रान्ड’ लेखिएको नक्कली बोरामा चामल बेचिरहेका ठूला व्यापारीदेखि लिएर मिल सञ्चालकसम्मलाई कारबाही गरेको जनाएको छ । कार्यालयका नायब सुब्बा डम्मर बुढाका अनुसार गतवर्ष जाजरकोटको खलंगामा एक गोदाममा कलश ब्रान्ड लेखिएका चामलका बोरा भेटिएपछि उक्त गोदाम सञ्चालकलाई दुई लाख रुपैयाँ जरिवाना गरिएको थियो ।

बुढाका अनुसार गत आर्थिक वर्षमा यस्तो ब्रान्डको चामल बेच्ने चारवटा होलसेल व्यापारी र उत्पादक मिलहरूलाई जनही दुई÷दुई लाख रुपैयाँका दरले जरिवाना गरिएको थियो । जरिवानापछि उक्त नक्कली ब्रान्ड लेखिएका बोराको प्रयोग कम भए पनि उपभोक्ताले प्रयोग गर्न नछोड्दा बजारमा अहिले पनि बिक्री भइरहेको बुढाले जानकारी दिए ।

यस्ता बोरामा भएको चामलको गुणस्तर, म्याद र मूल्यको यकिन गर्न कठिन हुने भएकाले उपभोक्ताहरू मूल्यमा पनि ठगिन सक्ने साथै अखाद्य अवस्थामा पुगिसकेको चामल उपभोक्ताले उपभोग गरेका महामारीलगायत स्वास्थ्य समस्याहरू निम्तन सक्ने जोखिम रहेको बुढाले बताए ।

यस्ता नक्कली नामका चामलको उत्पादक को हो भन्ने नै यकिन गर्न नसकिने भएकाले उपभोक्ताहरूले उत्पादकको नाम, उत्पादन गरिएको मिति, उपभोग गर्न सकिने मिति उल्लेख भए नभएको हेरेर मात्रै प्रयोग गर्न उनले आग्रह गरे ।

उनले भने, ‘पहाडी क्षेत्रका साना–साना पसलहरूमा पनि यस्तो चामल हामीले भेटेका छौँ । पूर्वतिरबाट पनि यही नामको बोरामा चामलहरू आउने गरेको रहेछ ।’

बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले यस विषयमा तत्काल चासो दिएर अनुगमन गरिने बताएका छन् ।

तीन लाख जरिवाना र ६ महिना कैद हुने कसुर

खाद्य स्वच्छता तथा गुणस्तरसम्बन्धी कानुनलाई एकीकृत गरेर सरकारले २०८१ सालमै खाद्य स्वच्छता तथा गुणस्तरसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको ऐन लागू गरेको छ । उक्त ऐनमा खाद्य पदार्थसम्बन्धी उत्पादकले उत्पादन गर्नुपूर्व सम्बन्धित निकायबाट अनुमति लिनुपर्ने व्यवस्था गरेको छ ।

उक्त ऐनले मानव शरीरलाई हानि पु¥याउने उत्पादन गर्न नमिल्ने, गुणस्तरहीन खाद्यवस्तु उत्पादन र बिक्री विरतण गर्न नपाइने, झुक्याएर खाद्यवस्तु बिक्री गर्न नपाइने व्यवस्था गरेको छ । यसैगरी लेबल नलगाएर पनि खाद्यवस्तु बिक्री गर्न पाइँदैन ।

उक्त ऐनले झुक्याएर खाद्यवस्तु उत्पादन तथा बिक्री वितरण गर्नेलाई ६ महिनासम्म कैद वा तीन लाख जरिवाना वा दुवै सजाय हुने व्यवस्था गरेको छ ।

प्रकाशित मिति : २०८१ असोज १० गते बिहीबार