राप्ती सोनारी–२ गोबारपुरमा जंगली हात्तीको आक्रमणबाट दुई जना गम्भीर घाइते भएका छन् । त्यसैगरी राप्ती सोनारी–१ को गाभरमा हात्तीले दुई घर भत्काएको छ । मानिसहरूले भने भागेर आफ्नो ज्यान जोगाएका छन् । कुसुम र कचनापुर क्षेत्रमा एउटा हात्तीले केही दिनयता आंतक मच्याइरहेको छ ।
बाँके ।
राप्ती सोनारी गाउँपालिकाको कचनापुर र कुसुम क्षेत्रमा जंगली हात्तीले आंतक मच्चाइरहेको छ । एक सातायता बाँके निकुञ्जबाट निस्किएको एउटा हात्तीले कचनापुर र कुसुम क्षेत्रमा आंतक मच्चाएको हो । गाउँ क्षेत्रमा पसेको एक्लो जंगली हात्तीले घर भत्काउने, अन्नबाली खानेदेखि स्थानीयलाई आक्रमण गरेर घाइतेसमेत बनाएको छ । हात्तीको आक्रमणबाट मंगलबार राति राप्ती सोनारी–२ गोबारपुरमा दुई जना घाइते भएको स्थानीय शंकर शर्माले जानकारी दिए ।
शर्माले दिएको जानकारी अनुसार नजिकैको जंगलबाट गाउँ छिरेको हात्तीले दुई जनालाई आक्रमण गरेर घाइते बनाएको हो । हात्तीको आक्रमणबाट स्थानीय ४५ वर्षीय लक्ष्मी बोहरा र उनकी १७ वर्षीया छोरी शान्ति रहेको प्रहरी चौकी कचनापुरका इन्चार्ज असई डोकलाल धितालले जानकारी दिए ।
घाइतेहरूको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचार भइरहेको छ । घाइतेमध्ये लक्ष्मीको अवस्था गम्भीर र शान्तिको अवस्था मध्यम रहेको चिकित्सकले बताएको वडा नम्बर २ का वडासदस्य दीर्घबहादुर बुढाथोकीले मिसन टुडेलाई जानकारी दिए ।
कचनापुरसहित गोबारपुर, हरिहरपुर, खोरिया, मधुईलगायतका गाउँमा दैनिकजसो हात्ती देखिन थालेपछि स्थानीयहरू त्रसित बनेको उनले बताए । यी गाउँहरूमा बाँके निकुञ्जबाट निस्किएको हात्ती सँगै जोडिएको सामुदायिक वन हुँदै आउने गरेको छ ।
गोबारपुरमा दुई जनालाई आक्रमण गरेको हात्तीले त्यसको पाँच दिन अघिमात्रै राप्ती सोनारी–१ गाभरमा दुईवटा घर भत्काएको थियो । मानिसहरू भने भाग्न सफल भएकाले मानवीय क्षति हुन पाएको थिएन ।
भदौ २८ गते बिहीबार राति १२ बजे बाँके राष्ट्रिय निकुञ्जबाट आएको हात्तीले स्थानीय धनबहादुर बुढामगर र सरिता पुनको घर भत्काएको वडाध्यक्ष यमबहादुर खड्काले जानकारी दिए । हात्तीले स्थानीय धनबहादुर बुढामगर र सरिता पुनको घर भत्काएको थियो । उनका अनुसार हात्तीले दुई घरमा क्षति पु¥याए पनि मानिस भने भागेर सुरक्षित रहेका थिए ।
हात्तीले घरको टिनको छानो, झ्याल ढोकालगायतमा क्षति पु¥याएको थियो । हात्तीले मकैबारीलगायतका बाली नष्ट गरेको स्थानीय बलबहादुर घर्ती मगरले जानकारी लिए । उनले हात्तीले बर्सेनि स्थानीयलाई दुःख दिनुका साथै सयौँ बिघामा लगाएको अन्नबाली नष्ट पार्दासमेत कुनै निकायले रोकथामका लागि पहल नगरेको बताए ।
प्रहरी चौकी कचनापुरका इन्चार्ज धितालले गाउँ क्षेत्रमा देखिएको हात्तीलाई जंगलतर्फ धपाउने काम भइरहेको जानकारी दिए । बाँके राष्ट्रिय निकुञ्ज, नेपाली सेना, प्रहरी र स्थानीयबासीहरूले हात्तीलाई निगरानीमा राखेर जंगलमा धपाउने गरेको उनले बताए ।
आइतबार मात्रै हात्तीलाई जंगलतर्फ धपाइएको थियो । दिउँसो गाउँ क्षेत्रमा हात्ती नदेखिए पनि रातिको समयमा देखिने गरेकाले स्थानीयहरू त्रसित रहेको कचनापुरका स्थानीय समेत रहेका पूर्ववडाध्यक्ष मदन ओलीले जानकारी दिए । ‘सबै मिलेर हात्तीलाई वनतिर धपाएका छौँ,’ उनले भने, ‘गाउँमा त्रास कायमै छ । धान र मकैबालीमा क्षति पु¥याइरहेको छ ।’
बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत मनोजकुमार साहले हात्ती गाउँमा पसेर नोक्सानी गर्नु सामान्य कुरा भएको बताए । ‘हात्ती गाउँ छिरेर आक्रमण गर्नु र नोक्सानी गर्नु सामान्य कुरा हो,’ उनले मिसन टुडेसँग भने, ‘जंगलमा हिँड्दै गर्दा कहिलेकाहीँ हात्ती गाउँमा समेत जानसक्छ ।’
केही वर्षयता निकुञ्ज क्षेत्रमा एक्लै देखिने गरेको भाले वयस्क हात्तीको उमेर १५÷२० वर्षको हुनसक्ने साहले बताए । ‘हात्तीलाई हामीले निगरानी गरिरहेका छौँ,’ उनले भने, ‘हात्तीलाई मैले त देखेको छैन, वयस्क भाले हात्तीको उमेर त्यस्तै १५÷२० वर्षजति हुनुपर्छ ।’
करेन्ट लागेर हात्तीको मृत्यु
बाराको कोल्हवी नगरपालिका–२ भलुवाहीखोरस्थित राष्ट्रिय वन क्षेत्रनजिकै करेन्ट लागेर एक हात्तीको मृत्यु भएको छ । वनसँगै रहेको रमेश जीसीको धान खेतको वरिपरि लगाइएको फलामे तारबाट करेन्ट प्रवाह भएर शनिबार राति अन्दाजी १७ देखि २० वर्षसम्मको भाले हात्तीको मृत्यु भएको हो ।
डिभिजन वन कार्यालय सिमराका प्रमुख राजीवकुमार झाले पर्सा राष्ट्रिय निकुञ्जबाट आएको पशु चिकित्सकको टोलीले हात्तीको पोस्टमार्टम गरेपछि जंगलमै गाडिएको जानकारी दिए ।
‘घटनाबारे अनुसन्धान भइरहेको छ,’ उनले भने, ‘करेन्ट हाल्ने जग्गाधनीसित सोधपुछका लागि खोजी भइरहेको छ ।’ धान खान गएको बेला करेन्ट लागेर हात्तीको मृत्यु भएको उनले बताए । जंगली हात्तीले धानलगायतका बालीमा क्षति गर्न थालेपछि किसानहरूले धान खेतको वरिपरि लगाइएको फलामे तारबाट करेन्ट प्रवाह गराएका थिए ।
प्रतिक्रिया दिनुहोस्