बाँके ।
नेपालगन्जस्थित भेरी अस्पतालले अत्याधुनिक नयाँ अपरेसन थिएटरबाट शल्यक्रिया सेवा सुरु गरेको छ । नयाँ भवनमा निर्माण गरिएको अत्याधुनिक शल्यक्रिया कक्षको शनिबार वरिष्ठ आर्थोस्कोपी सर्जन प्रा.डा.अमित जोशीले लाइभ सर्जरी गरेर उद्घाटन गरेका
थिए ।
घुँडाको भित्री भागमा चोट लागेर घाइते भएका नेपालगन्जका १८ वर्षीय युवकको शल्यक्रिया गरेर नयाँ भवनको अत्याधुनिक शल्यक्रिया कक्षको उद्घाटन गरिएको थियो ।
प्रा.डा. जोशीले भेरी अस्पतालमै सञ्चालन भइरहेको कार्यशालाका सहभागी हुनुभएका आर्थोकोपी सर्जन तथा अर्थोपेडिक सर्जनहरूसँग लाइभ भिडियो संवाद गर्दै शल्यक्रिया गरेका थिए ।
अस्पतालका प्रमुख डा. प्रकाशबहादुर थापाले दिएको जानकारी अनुसार आर्थोस्कोपी कार्यशालामा सहभागी हुन नेपालगन्ज आएका डा.जोशीबाट शल्यक्रिया कक्षको उद्घाटन गराइएको हो ।
करिब एक घण्टा लगाएर सो शल्यक्रिया गरिएको थियो । डा. थापाका अनुसार सो शल्यक्रियाको भिडियो लाइभ गरिएको थियो । त्यस क्रममा सर्जनहरूले राखेका विभिन्न जिज्ञासाको प्रा.डा.जोशीले जवाफ दिएका थिए ।
‘लिगामेन्टको शल्यक्रिया भेरी अस्पतालमा यसअघि पनि भइरहेका थिए । तर अबदेखि शल्यक्रिया सेवा नयाँ भवनबाट दिने तयारी गरिएको छ’ डा. थापाले भने । हाल भेरी अस्पतालले पुरानो भवनमा रहेको अपरेसन थिएटरबाट शल्यक्रिया सेवा दिदैँ आएको छ । अब क्रमशः अत्याधुनिक नयाँ अपरेसन थिएटरबाट शल्यक्रिया सेवा दिने डा. थापाले जानकारी दिए ।
भेरीमै आर्थोस्कोपी कार्यशाला
यस क्षेत्रमै पहिलोपटक भेरी अस्पताल नेपालगन्जमा शनिबार आर्थोस्कोपी कार्यशाला सञ्चालन गरिएको छ । देशभरका आर्थोस्कोपी र आर्थोपेडिक सर्जन गरी ७० बढी चिकित्सकहरू कार्यशालामा सहभागी रहेका थिए ।
कार्यशालामा बि एण्ड बि अस्पतालका आर्थोस्कोपी सर्जन प्रा.डा. अमित जोशी, डा. विवेक वासुका, साइन्टिफिक अध्यक्ष डा. निरब कायस्थ, आर्थोस्कोपी सर्जन डा. तिर्थेन्द्र खड्का, डा.विहानी श्रेष्ठ, कन्सल्टेन्ट रेडियोलोजिष्ट डा.विश्वनाथ शर्मा, एनेस्थेसिष्ट डा. पारश पाण्डेलगायत दर्जन बढी चिकित्सकहरूले विभिन्न विषयमा कार्यपत्र प्रस्तुत समेत गरेका थिए ।
सो कार्यशालामा उपचार पद्धतिमा आएका प्राविधिक विकास र अनुभव आदानप्रदानका साथै आर्थोस्कोपी सर्जरीमा आउने जटिलताहरूलाई भविष्यमा कसरी सामाना गर्ने भन्ने विषयमा पनि विस्तृत छलफल भएको भेरी अस्पतालका अर्थोपेडिक विभाग प्रमुख डा. तिर्थेन्द्र खड्काले जानकारी दिए ।
उनका अनुसार उपचार पद्धतिमा आएका प्राविधिक विकास र अनुभव आदानप्रदानका साथै आर्थोस्कोपी सर्जरीमा आउने जटिलताहरूलाई भविष्यमा कसरी सामना गर्ने भन्ने विषयलाई समेत कार्यशालामा छलफल भएको थियो ।
प्रतिक्रिया दिनुहोस्