सडकमा पुग्छन् अल्जाइमर्सका बिरामी



सन् २०२१ मा नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा कार्यरत मानसिक रोग विशेषज्ञ मोहन बेलबासे र डा. ज्योति अधिकारीले गरेको एक अध्ययन अनुसार १ हजार ३ सय ३२ जना बिरामीमध्ये ५२ जनामा अल्जाइमर्स भएको पाइएको थियो । यसैगरी, सन् २००० देखि २०२१ सम्म फरक–फरक वर्षमा भएका यस्तै प्रकृतिका ११ वटा अध्ययनले चिकित्सकहाँ पुगेका ३ दशमलव ९ प्रतिशतदेखि २८ प्रतिशतसम्म बिरामीहरू डिमेन्सियाबाट प्रभावित पाइएको थियो ।


वीरेन्द्र जैसी । नेपालगन्ज ।

बाँकेको राप्ती सोनारी गाउँपालिकाका एक जना ७९ वर्षीय पुरुषलाई उनका भतिजाले मानव सेवा आश्रमको नेपालगन्ज आश्रममा बुझाए । ती पुरुषमा समस्या थियो बिर्सने, आफ्नो काम आफैँ गर्न नसक्ने । उनलाई एक्लै घरमा छोड्न मिल्ने अवस्था पनि थिएन । परिवारमा उनको हेरचाह गर्न सक्ने अवस्था पनि छैन । वास्तवमा ती ज्येष्ठ नागरिक अल्जाइमर्स पीडित छन् । अहिले मानव सेवा आश्रम नेपालगन्जले उनको सेवा
गरिरहेको छ ।

आश्रमका प्रमुख उर्विन सापकोटाका अनुसार एक वर्षअघि एक जना महिलालाई प्रतिक्षालयबाट उद्धार गरेर आश्रममा ल्याइएको थियो । ती महिलामा पनि अल्जाइमर्सकै समस्या थियो । हाल उनको मृत्यु भइसकेको छ । सापकोटाले देशभरका आश्रममा अहिले पनि एक सय जनाभन्दा बढी अल्जाइमर्सबाट पीडित व्यक्तिहरू रहेको जानकारी दिए । सापकोटाका अनुसार देशभरका आश्रममा १ हजार ७ सय जना मानिसहरू आश्रय लिइरहेको अवस्थामा १ हजार १ सय ३ जना मानसिक समस्या भएका व्यक्तिहरू रहेका र एक सय जना अल्जाइमर्श पीडित ज्येष्ठ नागरिकहरू रहेका छन् ।

उनका अनुसार अल्जाइमर्स पीडित व्यक्तिहरू कुनै न कुनै अवस्थामा सडकबाट र परिवारले हेरचाह गर्न नसकेकोे अवस्थामा आश्रममा ल्याइएका हुन् । सापकोटा भन्छन्, ‘परिवारका सदस्यहरूलाई पनि थाहा नै हुँदैन कि बिरामीलाई भइरहेको के हो । समाजको हेर्ने दृष्टिकोण पनि ठिक हुँदैन । आर्थिक कारणले पनि हेरचाह गर्नसक्ने अवस्था हुँदैन । अनि बिरामीहरू सडकमा आइपुग्छन् ।’

अल्जाइमर्सका बिरामीसँग जोडिएर आउने सबैभन्दा ठूलो समस्या हेरचाहको हो । बिरामीको स्मरण शक्ति, सोच्ने क्षमता नै कमजोर भएपछि कसैको सहारा र हेरचाह नभई नहुने अवस्था आउँछ । ‘कहिलेकाहीँ त खाना मुखमा राखिदिएपछि चपाउनसमेत बिर्सिनुहुन्छ । मुखमै राखेर बसिरहनुहुन्छ,’ बर्दियाको राजापुर नगरपालिका– ८ का शिशिर शर्मा आफ्ना ७९ वर्षीय बुबा राजेन्द्रप्रकाश शर्मालाई भएको अल्जाइमर्सको गम्भीरता बताउँदै भन्छन्, ‘एक दिन काममा अल्झिँदा उहाँतिर ध्यान दिन बिर्सेछौँ । कतिबेला सडकमा निस्किहाल्नुभएछ । झन्डै ट्र्याक्टरले किचेको ।’

शर्माका अनुसार एक जना व्यक्ति बिरामीलाई हेर्नेगरी २४सै घन्टा साथमा नहुने हो भने सम्हाल्न गाह्रो हुन्छ । ‘कमजोर आर्थिक अवस्था रहेका र अल्जाइमर्सका बारेमा सचेतना नभएका परिवारमा कोही बिरामी भयो भने त उसले अमानवीय तवरले बाँच्नुपर्ने हुनसक्छ,’ उनले भने ।

सन् २०२० मा जर्नल अफ इन्डियन एकेडेमी अफ जेरियाट्रिक्समा प्रकाशित अध्ययन प्रतिवेदनअनुसार नेपालमा अल्जाइमर डिमेन्सिया भएका बिरामीका हेरचाहकर्ताको भावनात्मक, सामाजिक, आर्थिक, शारीरिक र आध्यात्मिक अवस्थामा ठूलो असर गरिरहेको पाइएको थियो ।

अर्काेतिर बिरामीका आफन्तहरू उपयुक्त किसिमको परामर्शसमेत स्वास्थ्य संस्थामा नपाइने गरेको बताउँछन् । राजेन्द्रकी छोरी सपना भट्टराई भन्छिन्, ‘अस्पतालमा पनि चिकित्सकहरूले यसको उपचार नै हुँदैन । समयसँगै बढ्दै जान्छ भन्नेबाहेक अरू सल्लाह पाएको जस्तो लागेन ।’

भट्टराई अहिलेको अवस्थामा विपन्न र आर्थिक अवस्था कमजोर भएका परिवारका अल्जाइमर्सजस्ता समस्याबाट पीडित मानिसहरूलाई हेरचाह गर्नेगरी आश्रमहरू निर्माणमा सरकारले सहयोग गर्नुपर्ने बताउँछिन् । बिरामीका आफन्तलाई समस्या के हो ? कसरी हेरचाह गर्ने ? भन्ने विषयमा जानकारी दिने जनशक्तिको पनि आवश्यकता भइसकेको उनी बताउँछिन् ।

सापकोटा परिवारका सदस्यहरूले हेरचाह गर्न सक्दिन भनेका बिरामीलाई आफूहरूले आश्रममा राखेर हेरचाह गरिरहेको बताउँदै सबैभन्दा पहिले परिवाकरका सदस्यहरूले आफ्ना अभिभावकप्रतिको जिम्मेवारी निभाउनुपर्ने बताउँछन् । तर, विपन्न नागरिकहरूलाई ध्यानमा राखेर सरकारले यसबारेमा काउन्सिलिङ गर्ने र आवश्यक सहायता दिने संयन्त्र निर्माण गर्नुपर्ने उनको सुझाव छ ।

बढ्दै छन् अल्जाइमर्सका बिरामी

अल्जाइमर्स एक प्रकारको बिर्सने वा भुल्ने मष्तिस्कसम्बन्धी रोग हो । यस रोगले स्मरण शक्ति, सोच्ने क्षमतालगायत मानिसको व्यवहारलाई नै असर गर्छ । यो रोगले प्रत्येक ६८ सेकेन्डमा आफ्नो प्रभाव देखाउने चिकित्सकहरू बताउँछन् । यो समस्याका लागि हालसम्म चिकित्सकहरूले परामर्श दिनेबाहेक कुनै बिरामी सन्चो बनाउने उपचार र औषधी पत्ता लागेको छैन ।

बढ्दो उमेरसँगै सुरु हुने यो रोग अहिले विश्वभर फैलँदो छ । विश्व स्वास्थ्य संगठनका अनुसार डिमेन्सियासमेत भनेर चिनिने यो समस्याले हाल विश्वभर ५ करोड ५० लाख मानिस प्रभावित छन् । जसमध्ये ६० प्रतिशतभन्दा बढी कम र मध्यम आय भएका देशहरूका मानिस छन् । प्रत्येक वर्ष लगभग १० लाख नयाँ बिरामी थपिइरहेका छन् ।

सन् २०२१ मा नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा कार्यरत मानसिक रोग विशेषज्ञ मोहन बेलबासे र डा. ज्योति अधिकारीले उनीहरूकहाँ पुगेका बिरामीहरूलाई लिएर एक अध्ययन गरेका थिए । उक्त अध्ययनले १ हजार ३ सय ३२ जना बिरामीमध्ये ५२ जनामा अल्जाइमर्स भएको पाइएको थियो ।

यसैगरी, सन् २००० देखि २०२१ सम्म फरक–फरक वर्षमा भएका यस्तै प्रकृतिका ११ वटा अध्ययनले चिकित्सकहाँ पुगेका ३ दशमलव ९ प्रतिशतदेखि २८ प्रतिशतसम्म बिरामीहरू डिमेन्सियाबाट प्रभावित पाइएको थियो ।

यसबाहेक अल्जाइमर्सका बारेमा सचेतनाको अभावमा बिरामीहरू चिकित्सककहाँ नपुगेको अवस्था पनि छ । रोगको प्रभाव बढिरहँदा उपयुक्त परामर्श र सचेतनाको अभावमा कतिपय अल्जाइमर्स पीडित ज्येष्ठ नागरिकहरू परिवार तथा समाजबाट अपहेलित भएर वा हराएर सडकमा पुग्ने गरेका छन् । अर्काेतिर, परिवारका सदस्यहरूलाई यस समस्याबाट पीडित सदस्यलाई हेरचाह गर्न कठिन भइरहेको अवस्था छ ।

अल्जाइमर्सबारे जान्नैपर्ने कुरा

विश्व स्वास्थ्य संगठनका अनुसार मस्तिष्कका कोषहरू नष्ट हुँदै जाँदा बल्झिने डिमेन्सिया अल्जाइमर्स हुनुको यही कारण भन्ने यकिन नभए पनि केही यसमा विभिन्न रोगहरूदेखि लिएर आहार–विहारसम्मले भूमिका खेल्छ । बढ्दो उमेर विशेषगरी ६५ वर्षमाथिका बिरामीमा यो समस्या बढी हुन्छ । यसका सम्भावित कारणहरूमा उच्च रक्तचाप, मधुमेह, अधिक तौल वा मोटो हुनु, धुम्रपान, मादक पदार्थको सेवन, शारीरिक रूपमा निष्क्रिय हुनु, सामाजिक रूपमा पृथक् हुनु, अवसादलगायत हुन् ।

अल्जाइमर्सका सुरु लक्षणहरूमा भर्खरैका घटनाहरू बिर्सने, चीजहरू गुमाउनु वा गलत ठाउँमा राख्नु, हिँड्दा वा गाडी चलाउँदा हराउनु, परिचित ठाउँहरूमा पनि अलमलमा पर्नु, समय यकिन गर्न नसक्नु, समस्या समाधान गर्न वा निर्णय गर्न कठिनाइ हुनु, कुराकानी पछि समस्याहरू वा शब्दहरू फेला पार्न समस्या हुनु, गरिरहेकै काम पनि गर्न कठिन हुनु, वस्तुहरूको दूरीलाई गलत अनुमान गर्नु आदि रहेका
छन् ।

बिस्तारै यी समस्या बढ्दै गएर चिन्तित, दुःखी वा स्मरणशक्ति हानिबारे क्रोधित हुने, व्यक्तित्व परिवर्तन हुने, अनुचित व्यवहार गर्ने, काम वा सामाजिक गतिविधिबाट टाढा हुने र अरू मानिसहरूको भावनाहरूमा कम चासो हुने समस्या हुन्छ ।

यसको असरलाई कम गर्न परिवारका सदस्यले प्रेम र हेरचाह गर्ने, शारीरिक रूपमा सक्रिय भइरहने, सामाजिक क्रियाकलापमा भाग लिने र मस्तिष्क जागृत गराइराख्ने काम गरिराख्नेलगायका सुझाव विश्व स्वास्थ्य संगठनका छन् ।

प्रकाशित मिति : २०८१ असोज ५ गते शनिबार