स्याउको लगानी उठाउनै कठिन



कर्णाली प्रदेशका विभिन्न जिल्लाबाट कोहलपुर भित्रिएको स्याउले उचित मूल्य नपाउँदा लगानी उठाउनै कठिनाइ भइरहेको व्यवसायीहरू गुनासो गर्न थालेका छन् । स्याउ भित्रिएको सुरुवाती दिनहरूमा राम्रो मूल्य र बजार पाए पनि अहिले स्याउले बजार नपाउँदा व्यवसायीहरूलाई स्याउमा गरेको लगानी अर्थात खर्च उठाउन मुस्किल पर्न थालेको छ ।

गणेश रावत । कोहलपुर ।

कर्णाली प्रदेशका विभिन्न जिल्लाबाट कोहलपुर भित्रिएको स्याउले उचित मूल्य नपाउँदा लगानी उठाउनै कठिनाइ भइरहेको व्यवसायीहरू गुनासो गर्न थालेका छन् । स्याउ भित्रिएको सुरुवाती दिनहरूमा राम्रो मूल्य र बजार पाए पनि अहिले स्याउले बजार नपाउँदा व्यवसायीहरूलाई स्याउमा गरेको लगानी अर्थात खर्च उठाउन मुस्किल परेको हो ।

साउनको अन्तिम साताबाट व्यवसायीहरूले कर्णालीको स्याउ कोहलपुर, नेपालगन्जलगायतका बजारमा भित्र्याएका थिए । जुम्ला, कालिकोट, मुगुलगायतका जिल्लाबाट कोहलपुरसम्म पु¥याउन लागेको ढुवानी खर्च, सटर भाडा र बगैँचाबाट बजारसम्म पु¥याउन कामदारलाई दिएको रकम उठाउन कठिन भइरहेको व्यवसायी हरिकृष्ण रावतले बताए ।

उनका अनुसार बजार सीमित हुँदा मूल्य पाउन कठिन भएको छ । सुरुवाती दिनमा स्याउ ल्याउनेहरूले केही आम्दानी गरे पनि पछिल्लो समय स्याउको लगानी र खर्च उठाउन हम्मेहम्मे परेको उनको भनाइ छ ।

जुम्लालगायत कर्णाली प्रदेशका व्यवसायीहरूको स्याउको बजार विशेष गरेर कोहलपुर, नेपालगन्ज र काठमाडौँ हो । तर, बर्खामा कर्णाली राजमार्ग अवरुद्ध हुनाले पनि कतिपय स्याउ बीच बाटोमै सडेर खेर जाने गरेको उनले दुःखेसो पोखे ।

बजार नपाउँदा अहिले प्रतिकेजी ९० रुपैयाँमा स्याउ बिक्री गनुपर्ने उनले सुनाए । सुरुवाती दिनहरूमा १ सय ५० रुपैयाँसम्म बिक्री हुने जुम्लाको अग्र्यानिक स्याउ अहिले ९५ रुपैयाँमा पनि बिक्री गर्न कठिन भइरहेको उनको भनाइ छ ।

अहिले कोहलपुर–नेपालगन्जका चोकचौराहा जताततै कर्णाली प्रदेशको विशेषगरी जुम्लाको स्याउ पाइन्छ । ‘पहिलो लटमा ल्याएको स्याउले राम्रो मूल्य र बजार पायो,‘ अर्का व्यवसायी राज खत्रीले भने, ‘दोस्रो पटक तीज लक्षित गरेर ल्याएको स्याउले अहिले बजार र मूल्य नपाएर खर्च उठाउनै सकस छ ।’

कोहलपुर बजार हरियाली मार्गका प्रायः सटरहरू स्याउले भरिएका छन् । बजार र मूल्य नपाउँदा कति स्याउ सटरमा कुहिएको उनले जानकारी दिए । एकातिर राजमार्ग राम्रो नहुनु र अर्काेतिर कार्टुन पनि नपाउँदा बजारसम्म स्याउ पु¥याउन नपाउँदै सड्ने गरेको खत्रीले बताए ।

स्याउको मूल्यले गरेको लगानी अर्थात खर्च नउठ्ने भए पनि कतिपय व्यवसायीहरूले दसैँ–तिहारलाई लक्षित गरेर शीत भण्डारमा समेत राखेको उनले जानकारी दिए । ‘अहिलेको मूल्यले त ढुवानी खर्च र कृषकलाई दिएको मूल्य उठाउन पनि कठिन हुन्छ,’ खत्रीले भने ।

स्याउको बजार सुनिश्चित गर्न संसद्मा आवाज 

राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीले जुम्लाको स्याउलाई बजारको सुनिश्चितता गर्न सरकारसँग माग गरेका छन् । मंगलबार प्रतिनिधि सभामा आकस्मिक समयमा बोल्दै उनले स्याउ नबिकेर जुम्लाका किसान समस्यामा परेको बताए । जुम्लाको स्याउ ७० रुपैयाँ किलोमा पनि नबिक्ने गरेको उनको भनाइ थियो ।

आफूले सभामुख देवराज घिमिरेलाई दुई वटा स्याउ दिएको र दुई वटामध्ये एउटा विदेशी स्याउ र एउटा स्वदेशी स्याउ रहेको उल्लेख गर्दै उनले भने, ‘त्यो विदेशी स्याउ नखानुहोला सभामुखज्यू । विदेशी स्याउमा विभिन्न विषादी मिसाइएको हुनसक्छ र त्यसले क्यान्सर हुन पनि हुन सक्छ ।’ विषादीयुक्त स्याउले मानिसको पाचन प्रक्रियामा असर पार्न सक्ने उनले बताए ।

मानव स्वास्थ्यका लागि हितकर नरहेको विदेशी स्याउ बजारमा पाइने तर, हुम्लामा उत्पादन भएको स्वस्थकर स्याउ बिक्ने अवस्था नरहेको भन्दै उनले सरकारको ध्यानाकर्षण गरे । साढे तीन सय रुपैयाँ प्रतिकिलो स्याउ नेपालका भाटभटेनीदेखि ठूला–ठूला सुपरमार्केटमा बिकिरहेको तर जुम्लाका स्याउ ७० रुपैयाँ प्रतिकिलो पनि नबिकिरहेको उनले बताए ।

‘जुम्लाका किसानको स्याउ ७० रुपैयाँमा पनि सिन्डिकेडधारीहरू किन्न तयार छैनन्,’ उनले भने । यस्तो विषयमा सरकार गम्भीर हुनुपर्ने र स्वदेशी उत्पादनलाई बजारमा ल्याउन भूमिका खेल्नुपर्ने उनको आग्रह छ ।

जुम्लाका किसानले ५० करोड माथिको स्याउ उत्पादन गरेको तर बजारमा ६ अर्बको स्याउ विदेशबाट अयात हुने गरेको उनको दाबी छ । सरकारले गुणस्तर चेक गरेर त्यसअनुसार स्वदेशी उत्पादनलाई बजारमा ल्याउन भूमिका खेल्नुपर्ने उनले आग्रह गरे ।

प्रकाशित मिति : २०८१ असोज १ गते मंगलबार