कोहलपुर नगरपालिकाका प्रमुख पूर्णप्रसाद आचार्यले जमानतकर्ताको रूपमा सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । कोहलपुरका जनतालाई शुद्ध पिउनेपानी उपलब्ध गराउने दायित्व नगरपालिकाको पनि भएकाले त्यसैका लागि काम गर्दै आएको संस्थामा नगरपालिकाका तर्फबाट आफू साँची जमानी बसेको नगर प्रमुख आचार्यले मिसन टुडेलाई बताए ।
सनत सापकोटा । कोहलपुर ।
कोहलपुर बृहत सहरी खानेपानी सरसफाइ आयोजना, बाँकेको स्तरोन्नतिका लागि नगर विकास कोष र कोहलपुर बृहत सहरी खानेपानी उपभोक्ता संस्थाबीच ८९ लाख ७४ हजार रुपैयाँ ऋण सम्झौता भएको छ ।
२०८१ भदौ २३ गते कोषका कार्यकारी निर्देशक राजेशकुमार भोछिभोया र कोहलपुर बृहत सहरी खानेपानी उपभोक्ता संस्थाका अध्यक्ष टेकनारायण भुसालबीच सो ऋण सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।
कोहलपुरमा खानेपानी आयोजना विस्तार तथा मर्मत–सम्भारका लागि नगर विकास कोषसँग सम्झौता गरिएको कोहलपुर बृहत सहरी खानेपानी उपभोक्ता संस्थाका अध्यक्ष भुसालले जानकारी दिए । आयोजनाले कोहलपुर–११ टाउन प्लानिङस्थित खानेपानी कार्यालयपरिसर र वडा नम्बर २ स्थित बुद्धविहार परिसरमा स्टेसन बनाएर कोहलपुरमा शुद्ध पिउने पानी वितरण गर्दै आएको छ ।
संघीय सरकारको साना सहरी खानेपानी आयोजना (हाल सहरी खानेपानी आयोजना)अन्तर्गत एसियाली विकास बैंक (एडीबी)को ७० प्रतिशत अनुदान सहयोग र ३० प्रतिशत स्थानीय स्रोत परिचालन गरी संस्थाले खानेपानी विस्तार तथा मर्मत–सम्भारको काम गर्दै आएको छ । ‘हामीले यसअघि नै करिब ६५ प्रतिशत काम सम्पन्न गरिसकेका छौँ,’ अध्यक्ष भुसालले भने, ‘बाँकी काम सम्पन्न गर्न आर्थिक अभाव भएकाले सो ऋण सहयोग लिएका हौँ ।’
आफ्नो दायित्वअन्तर्गतको ३० प्रतिशत रकममा ५ प्रतिशत संस्थाले अनिवार्य खर्च गर्नुपर्ने र २५ प्रतिशत ऋण सहयोग लिनसक्ने प्रावधान रहेकाले कोषसँग सो ऋण लिइएको भुसालले बताए । ‘हामीसँग पैसा भएन, नत्र ऋण लिनुपर्दैनथ्यो,’ उनले मिसन टुडेसँग भने, ‘यसअघि पनि कोषसँग ऋण लिएर हामीले खानेपानी आयोजना विस्तार र मर्मतको काम गर्दै आएका हौँ ।’
एडीबीले आफूले काम गरेका आयोजनाहरूमा मर्मत–सम्भार वा विस्तार गर्नुपर्ने भए अन्तिम पटकका लागि भन्दै सूचना निकालेकाले सोको लाभ लिन ऋण लिएरै भए पनि आयोजना विस्तार तथा मर्मत गर्न लागिएको भुसालले बताए । एडीबीको अनुदानमा सञ्चालित सहरी खानेपानी आयोजना यही डिसेम्बर २०२४ बाट फेजआउट हुन लागेको छ ।
सो कामका लागि सहरी खानेपानी आयोजनाले एडीबीसँग सम्झौता गरेर टेन्डरसमेत आह्वान गरिसकेकाले आफूहरूले पनि आफ्नो दायित्वअन्तर्गतको रकम ऋण लिएरै भए पनि जोहो गरेर आयोजनाको काम अगाडि बढाउन लागेको भुसालको भनाइ छ ।
यसका लागि सहरी खानेपानी आयोजनासँग ३ करोड ३५ लाखको सम्झौता भइसकेको र सो रकमको ३० प्रतिशतले हुन आउने करिब १ करोड ६ लाखमध्ये संस्थाकै लगानी हुनुपर्ने ५ प्रतिशतको करिब १७ लाख जोहो गर्दै बाँकी २५ प्रतिशत रकमका लागि कोषसँग ऋण सम्झौता गरिएको भुसालले बताए ।
संस्थाले सो रकमबाट खानेपानीका पुराना पाइपलाइन मर्मत, साना पाइपका ठाउँमा ठूला पाइप रिप्लेसमेन्ट, १७ किलोमिटर नयाँ पाइपलाइन विस्तार तथा डिप बोरिङ गाड्ने योजना बनाएको छ । ‘कोहलपुरमा दिनानुदिन खानेपानीको माग बढ्दै गएको छ,’ भुसालले भने, ‘निकै पुराना भइसकेकाले कतिपय पुराना पाइप पनि रिप्लेस गर्नुपर्ने अवस्था छ ।’ उनले पुराना फुटेका र साना पाइप निकालेर ठूला पाइप बिछ्याइने पनि बताए ।
यसअघि पनि संस्थाले नगर विकास कोषसँगै ऋण लिएर कोहलपुरमा खानेपानी विस्तार तथा मर्मत–सम्भार गर्दै आएको थियोे । आयोजनाले कोषलाई यसअघिकै ऋणबापतको सावाँ र ब्याजबापत तिर्नुपर्ने करिब सवा ६ करोड रुपैयाँ तिर्न अझै बाँकी छ । फेरि पनि कोषले संस्थासँग पुनः ऋण सम्झौता गरेको छ ।
संस्थाबाट स्पष्ट योजनासहितको प्रतिबद्धता आएकाले थप ऋण प्रवाह गर्ने निर्णय गरिएको नगर विकास कोषका आयोजना संयोजक सुवासराज पन्तले बताए । ‘पछिल्लो समय संस्थामा धेरै सुधार देखिएको छ,’ संयोजक पन्तले भने, ‘पछिल्लो समय संस्थाले ऋणको साउँ र ब्याजबापत मासिक रूपमै ४–५ लाख रुपैयाँ तिर्न थालेको छ ।’
गत असारमा मात्र संस्थाले ऋणबापतको २८ लाख रुपैयाँ भुक्तानी गरेको पन्तले बताए । यो नगर विकास कोष र संस्थाको मात्र एकल निर्णय नभएर सबै सरोकारवाला पक्षको छलफलपछि लिइएको निर्णय भएको उनले जानकारी दिए ।
‘हामीले एक्लै यो निर्णय गरेका होइनौँ,’ संयोजक पन्तले भने, ‘नगर कार्यपालिका बैठकको निर्णय, आयोजना कार्यालयको निर्णय, संस्थाको योजनासहितको प्रतिबद्धता र संस्थामा देखिएको स्पष्ट सुधारका आधारमा सम्झौता गर्ने निर्णयमा पुगिएको हो ।’
पुरानो कार्यसमितिले ऋण तिर्न बाँकी राखेको भए पनि आफू आएपछि संस्थाले तिर्नुपर्ने दायित्वअन्तर्गतको सावाँ र ब्याज चुक्ता गरेको अध्यक्ष भुसासले दाबी गरे । कोहलपुरमा शुद्ध पिउनेपानीको बढ्दो मागलाई पूर्ति गर्न सेवा विस्तार तथा मर्मत–सम्भार नगरी नहुने अवस्था देखिएको उनको भनाइ छ ।
ऋण सम्झौतामा कोहलपुर नगर कार्यपालिको तर्फबाट नगर कार्यपालिका प्रमुख पूर्णप्रसाद आचार्य जमानत बसेका छन्् । नगर प्रमुख आचार्यले जमानतकर्ताको रूपमा सम्झौतापत्रमा हस्ताक्षार गरेका छन् ।
कोहलपुरका जनतालाई शुद्ध पिउनेपानी उपलब्ध गराउने दायित्व नगरपालिकाको पनि भएकाले त्यसैका लागि काम गर्दै आएको संस्थामा नगरपालिकाका तर्फबाट आफू साँची जमानी बसेको नगर प्रमुख आचार्यले बताए । ‘फेरि पछिल्लो समय संस्थाले रामै्र प्रगति पनि गर्दै आएको छ,’ नगर प्रमुख आचार्यले भने, ‘हामीले राम्रो काम गर्नेहरूलाई प्रोत्साहित पनि गर्नुपर्छ ।’
पछिल्लो ऋण सम्झौता फरक योजनाअन्तर्गत भएकाले पुरानो ऋणसँग यो सम्झौताको कुनै सरोकार नरहने पनि आचार्यले दाबी गरे ।
कोहलपुरमा खानेपानीको संकट गहिरिँदै गएको छ । सुक्खायाममा यहाँ दैनिक करिब ५० लाख लिटर खानेपानीको माग हुँदै आएको छ । वर्षायाममा माग पनि घट्ने र स्रोत पनि बढ्ने भएकाले पर्याप्त खानेपानी वितरण भइरहे पनि सुक्खा याममा भने मागको ५० प्रतिशत मात्र वितरण सम्भव देखिएको कोहलपुर बृहत् खानेपानी उपभोक्ता संस्थाले जनाएको छ ।
कोहलपुरको खानेपानी समस्याको दीर्घकालीन समाधानका लागि बबईको पानी ल्याउनुको विकल्प नभएको कतिपयको भनाइ छ । तर तत्कालीन समाधानका लागि सम्भव भएसम्म सेवा विस्तार र मर्मत–सम्भारलाई नै जोड दिनुको विकल्प नभएको अध्यक्ष भुसालको भनाइ छ ।
प्रथम साना सहरी खानेपानी तथा सरसफाइ आयोजनाअन्तर्गत निर्माण सम्पन्न भएको कोहलपुर बृहत सहरी खानेपानी सरसफाइ आयोजनाको स्तरोन्नति तथा स्रोत वृद्धि गरी उपभोक्ताहरूलाई सहज ढंगबाट खानेपानी उपलब्ध गराउने साथै कोषको ऋण असुली प्रक्रियामा समेत सहजता प्रदान गर्ने उद्देश्यले कोष र कोहलपुर बृहत सहरी खानेपानी उपभोक्ता संस्था, बाँकेबीच ऋण सम्झौता गरिएको जनाइएको छ ।
उपभोक्ता संस्थाका अध्यक्ष भुसालले आयोजनाको स्तरोन्नति र सेवा प्रवाह विस्तारका लागि नगर विकास कोषको ऋण सहयोग महत्वपूर्ण रहेको बताउँदै आयोजनालाई दिगोरूपमा सञ्चालन र व्यवस्थापनसहित आयोजनालाई समयमा सम्पन्न गराउनेमा कुरामा प्रतिबद्धता व्यक्त गरे ।
नगर विकास कोषका कार्यकारी निर्देशक भोछिभोयाले खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाबाट आयोजनाको निर्माण चरणमा आयोजनाको निरीक्षण र अनुगमनमा विशेष ध्यान दिनुपर्नेमा जोड दिए ।
प्रतिक्रिया दिनुहोस्