सन्दर्भ : विश्व आत्महत्या रोकथाम दिवस : उपचार पाए रोकिन्छ आत्महत्या



मनोपरामर्शकर्ता भोजराज शर्मा भन्छन्, ‘आत्महत्या गर्ने स्थितमा पुगिसकेका मान्छेहरूलाई जोगाउने हो भने उसलाई थाहा दिनुपर्छ कि तिमी र तिमीमा घटिरहेको अवस्था के हो ? अनि तिमी गुज्रिरहेको अवस्था र तिमी अलग होऊ भनेर बुझाउन सकियो भने सबै मानिसहरू डिप्रेसनबाट मुक्त हुन सक्छन् ।’

वीरेन्द्र जैसी ।  नेपालगन्ज । 

‘मनोचिकित्सकका अनुसार म क्लिनिकल डिप्रेसनमा थिएँ । जब डाक्टरले मलाई भने कि तिमीलाई यो समस्या भएको छ, मलाई राहत महसुस भयो ।’ बलिउडकी प्रसिद्ध अभिनेत्री दीपिका पादुकोणले आफ्नो करियरको सुरुवातकालीन समयमा डिप्रेसनमा परेको अनुभव आजभन्दा ५ वर्षपहिले साझा गर्दै भनेको कुरा हो यो । उनी अगाडि भन्छिन्, ‘अन्ततः कसैले त बुझ्यो म कुन अवस्थाबाट गुज्रिरहेकी छु । मलाई थाहा थिएन कि म जुन अनुभव गरिरहेकी थिएँ त्यो सबैभन्दा ठूलो संघर्ष थियो । जसै मेरा अगाडि डायग्नोसिस आयो मेरो रिकवरी सुरु भइहाल्यो ।’

क्लिनिकल डिप्रेसन भनेको त्यस्तो मानसिक रोग हो, जुन रोगमा मानिससँग आशाको महसुस नै हुँदैन, जीवनप्रति वितृष्णा हुन्छ, जीवन समाप्त पार्ने र आत्महत्या गर्ने सोच बारम्बार आइरहन्छ । दीपिका उक्त मानसिक रोगबाट मुक्त भइसकेपछि उनले खुलेर आफ्ना अनुभवहरू बताएकी थिइन् । उनको माथि उल्लेखित भनाइमा एउटा महत्वपूर्ण कुरा लुकेको छ । त्यो हो, बिरामीलाई के भइरहेको छ बुझ्नु ।

उनीहरूको मानसिक स्थिति पत्ता लगाउनु । मनोपरामर्शकर्ता भोजराज शर्मा पनि भन्छन्, ‘आत्महत्या गर्ने स्थितमा पुगिसकेका मान्छेहरूलाई जोगाउने हो भने उसलाई थाहा दिनुपर्छ कि तिमी र तिमीमा घटिरहेको अवस्था के हो ? अनि तिमी गुज्रिरहेको अवस्था र तिमी अलग होऊ भनेर बुझाउन सकियो भने सबै मानिसहरू डिप्रेसनबाट मुक्त हुन सक्छन् ।’

तर, हामीकहाँ स्थिति यो छ कि मास हिस्टेरियाका नामले चिनिने कन्भर्जन डिसअर्डरका कारणले वर्षाैँदेखि बालबालिकाहरू विद्यालयमा एकैपटक बेहोस् हुन्छन् । समाचारहरूमा अज्ञात रोगले विद्यार्थीहरू बेहोस भनेर आउँछ । कतै देउता रिसाएको भनेर पूजासमेत गरिन्छ । शर्मा भन्छन्, ‘हामीले यति पनि बुझाउन सकेका छैनौँ कि त्यो कन्भर्जन डिसअर्डर नामको एउटा समस्या हो । उक्त समस्या यस्तो हो भनेर बालबालिकालाई भनिदियौँ भने मात्रै पनि समस्याबाट मुक्त हुन्छन् ।’

अर्काेतिर नेपाल प्रहरीले यसै वर्ष गरेको आत्महत्या न्यूनीकरण तथा व्यवस्थापन सम्बन्धी अध्ययन २०८१ ले पनि सबैभन्दा बढी आत्महत्याको समस्या मानसिक रोग र मानसिक तनावका कारण हुने गरेको नतिजा निकालेको छ । उक्त अध्ययन प्रतिवेदनका अनुसार ६७ प्रतिशत मानिसहरूले मानसिक रोग र तनावका कारण आत्महत्या गरेको पाइएको छ भने प्रेमसम्बन्धी कारणले ८.२ प्रतिशत, आर्थिक समस्याले ८ प्रतिशत, दीर्घ रोगको चिन्ताले ७.५ प्रतिशत र लागू पदार्थ सेवनका कारण ४.७ प्रतिशत मानिसहरूले आत्महत्या गर्ने गरेको पाइएको छ ।

यसको अर्थ रोग पहिचान गर्नसक्ने र बिरामी कुन स्थितिमा छ भन्ने बुझ्ने जनशक्ति भयो भने आत्महत्याबाट मानिसहरूलाई जोगाउन सकिने अवस्था रहन्छ । तर, नेपाल हेल्थ रिसर्च काउन्सिलले २०२० मा गरेको राष्ट्रिय मानसिक स्वास्थ्य सर्वेक्षणले उपचारमा बाधा ल्याउने कारणमध्ये सबैभन्दा बढी मानिसहरू मानसिक समस्याको उपचार कहाँ पाइन्छ भन्ने अन्योलमा पर्नु रहेको नतिजा निकालेको थियो ।

उक्त सर्वेक्षणका अनुसार २४ दशमलव ९ प्रतिशत मानिसहरू उपचार कहाँ पाइन्छ भन्ने अन्योलमा पर्ने गरेको, १९ प्रतिशत मानिसहरू उपचार खर्च व्यहोर्न नसक्ने अवस्थाको, १४.७ प्रतिशत मानिसहरूले कामबाट छुट्टी मिलाउन नसकेर उपचारमा आउन ढिला भएको पाइएको थियो । अर्काेतिर उपचारमा आएकामध्ये पनि ६ दशमलव ५ प्रतिशतले मात्रै मनोचिकित्सकलाई देखाउन पाएको उक्त सर्वेक्षणको नतिजाले देखाउँछ । त्यसभन्दा बढी अर्थात् ६ दशमलव ७ प्रतिशतले धामी झाँक्रीलाई देखाएको पाइएको थियो । यसैगरी, ८ दशमलव ८ प्रतिशतले अविशेषज्ञ चिकित्सकलाई देखाएको पाइएको थियो ।

नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा कार्यरत मनोचिकित्सक प्रा.डा. मोहन बेलबासे अहिले क्षेत्रीय स्तरका र निजी मेडिकल कलेज स्तरका अस्पतालमा मानसिक रोग सम्बन्धी विशेषज्ञहरू उपलब्ध रहेका बताउँछन् । यसले सहरी क्षेत्रमा केही मात्रामा मनोचिकित्सकहरूको पहुँच रहे पनि ग्रामीण क्षेत्रका मानिसहरूसम्म अझै मनोचिकित्सकहरूको पहुँच पुगेको छैन भन्ने संकेत दिन्छ ।

डा. बेलबासे सरकारले यससम्बन्धी विशेषज्ञहरूको वितरण सबैतिर सुगम हुनेगरी गर्नसक्ने हो र उपचारमा सहुलियत दिने हो भने उपचारको पहुँचमा सुधार हुने बताउँछन् ।

अर्काेतिर अधिकांश मानिसहरू आफूलाई के भएको हो भेउ पाउन नसकेर, शंका लागे पनि आफ्नो समस्या थाहा दिन हिच्किचाएर उपचारमा ढिलो पुग्ने गरेको डा. बेलबासे बताउँछन् । यस्तो अवस्थामा नजिकका आफन्तहरूले बिरामीलाई उपचारसम्म लैजान सघाउनुपर्ने बेलबासेको भनाइ छ ।

‘जीवनदेखि निराश भएमा, आत्महत्या गर्ने संकेत दिएमा, बारम्बार आत्महत्याको बारेमा कुरा गरेमा, निराशाजनक कुरा गरेमा डिप्रेसनको उपचारमा गइहाल्नुपर्छ । यसमा बिरामीलाई आफन्तहरूले सघाउनुपर्छ,’ डा. बेलबासेले भने । अधिकांश अवस्थामा बिरामीले पनि उक्त समस्यालाई समस्याको रूपमा नलिने र आफन्तहरूले पनि सही तरिकाले अवस्थाको मूल्यांकन गर्न नसक्ने अवस्था रहेको उनको बुझाइ छ ।

मनोपरामर्शकर्ता शर्मा भने मानसिक स्वास्थ्यबारे विद्यालयस्तरबाटै सचेतीकरणको काम सुरु गर्नुपर्ने बताउँछन् । विद्यार्थीहरूबाटै मानसिक स्वास्थ्यका विषयमा जागरुकता भयो र मानिसलाई थाहा भयो भने मानसिक समस्याबाट जोगाउन सकिने उनको बुझाइ छ ।

प्रहरीमा १६ प्रतिशत आत्महत्याका मुद्दा

नेपाल प्रहरीका अनुसार प्रहरीमा दर्ता हुने मुद्दामध्ये १६ प्रतिशत मुद्दा आत्महत्यासम्बन्धी छन् । पछिल्ला १० वर्षमा दर्ता भएका मुद्दाहरूको तथ्यांकलाई आधार मान्ने हो भने औसतमा प्रतिवर्ष ५ हजार ७ सय ५२ जनाले आत्महत्या गर्ने गरेका छन् ।

प्रहरीले गरेको आत्महत्या न्यूनीकरण तथा व्यवस्थापनसम्बन्धी अध्ययन २०८१ को नतिजाअनुसार पछिल्ला १० वर्षमा ५७ हजार ५ सय १७ वटा आत्महत्या सम्बन्धी मुद्दाहरू दर्ता भएका छन् ।

प्रदेशगत रूपमा हेर्दा सबैभन्दा बढी कोशी प्रदेशमा आत्महत्याका मुद्दा दर्ता भएका छन् भने त्यसपछि क्रमशः बागमती, लुम्बिनी, मधेस, गण्डकी, सुदूरपश्चिम र कर्णाली प्रदेश रहेका छन् । आत्महत्या गर्नेमा ५५ प्रतिशत पुरुष, ३४ प्रतिशत महिला, ४ प्रतिशत बालक र ६ प्रतिशत बालिका रहेका छन् ।

उमेरसमूहमा सबैभन्दा बढी १५ देखि २५ वर्षका युवाहरू २१ प्रतिशत, जातीय आधारमा सबैभन्दा बढी आदिवासी जनजाति ३९ प्रतिशत, शैक्षिक स्तरको आधारमा साधारण लेखपढ गर्ने ६३.१ प्रतिशत र पेसाको आधारमा सबैभन्दा बढी कृषि पेसा गर्ने ४६ प्रतिशत मानिसहरूले आत्महत्या गरेको पाइएको छ ।

प्रहरीमा दर्ता हुने अधिकांश मुद्दाहरूलाई प्रहरीले अनुसन्धानका क्रममा आपराधिक दृष्टिकोणबाट मात्रै हेर्ने गरेको बाँके प्रहरी प्रमुख एसपी तुलबहादुर खड्का बताउँछन् । उनले भने ‘आत्महत्यासँग जोडिएर अपराधसंहिताले गरेका आत्महत्या दुरुत्साहन सम्बन्धी व्यवस्थाका आधारमा धेरैजसो केसमा दुरुत्साहन भयो कि, उपचार र स्याहार राम्रो भएन कि भनेर प्रहरीले अनुसन्धान गर्छ ।’

प्रकाशित मिति : २०८१ भदौ २५ गते मंगलबार