फलेकसीकाटोका रोगका कारण केरा किसान हैरान



नवलपरासी ।

बर्दघाट सुस्ता पश्चिमका किसानले लगाएका केराका बोटमा फलेकसीकाटोका रोगको संक्रमण देखिएपछि किसान चिन्तित बनेका छन् । फलेकसीकाटोकाको संक्रमणका कारण केराका बिरुवा र पात सुक्दै जाने, फलेका फल पाकेको जस्तो पहेँलो देखिने र विस्तारै सुकेर भुइँमा खस्ने समस्या देखिन थालेको नवलपरासी केरा उत्पादन संघका अध्यक्ष लख्खु यादवले जानकारी दिए ।

जिल्लाको सुस्ता र प्रतापपुरमा करिब १ हजार ६ सय बिघा जग्गामा व्यावसायिक केराखेती हुँदै आएको बताउँदै सुस्ता र प्रतापपुरमा केरा जोन कार्यक्रम सञ्चालन भइरहेको जिल्लास्थित कृषि ज्ञान केन्द्रले जनाएको छ ।

प्राविधिक, केरा विज्ञसहितको टोलीले अध्ययन गरी केरामा देखिएको सङ्क्रमण फलेकसीकाटोका नामक किराका कारण लागेको पुष्टि भएको केन्द्रका प्रमुख डा. रविन्द्रनाथ चौबेले जानकारी दिए । सम्बन्धित निकायसँग समन्वय र सहकार्य गरेपछि प्रधानमन्त्री कृषि आधुनिकीकरण विकास परियोजनाले तीन किसिमका विषादी उपलब्ध गराएको अध्यक्ष यादवले जानकारी दिए ।

भारतको महाराष्ट्रबाट केरा उत्पादनसम्बन्धी तालिम लिएपछि यहाँका किसानले व्यावसायिक रूपमा केरा खेती गर्न थालेको बताउँदै अहिले बोटमा संक्रमण देखिन थालेपछि चिन्तित बनेका यादवले उल्लेख गरे ।

उनका अनुसार महाराष्ट्रका प्राविधिकको सुझाव र परियोजनामार्फत उपलब्ध औषधिको प्रयोग गरेपछि केही मात्रामा सङ्क्रमण नियन्त्रणमा आएको छ । यस क्षेत्रमा केराका बोटमा प्रत्येक वर्ष फलेकसीकाटोकाको सङ्क्रमण देखिने गरेको संघका अध्यक्ष यादवले बताए ।

केरा खेतीलाई रोगबाट बचाउन रोग पहिचान, उपचार विधि, व्यावसायिक उत्पादन तथा बजारीकरणमा सरकारले तालिम दिन जरुरी रहेको उनले उल्लेख गरे । केराको बीउ तथा औषधि बिक्री गर्ने एग्रोभेट क्षेत्रीय निर्देशनायल राख्न माग गर्दै आए पनि कार्यान्वयन नहुँदा किसानलाई सास्ती भएको यादवको भनाइ छ ।

स्थानीय सरकारसँग केरामा छर्ने औषधि तथा बीउ बिक्री गर्ने एग्रोभेट सञ्चालन लागि पटक–पटक अनुरोध गरिएको बताउँदै सरोकार भएका निकायले चासो नदिँदा प्रत्येक वर्ष किसान पीडित हुने गरेको उनको जिकिर छ ।

केही समय परीक्षणका रूपमा केराखेती गरेका किसानले अहिले व्यावसायिक खेती थालेको भन्दै केरा उत्पादन संघका अध्यक्ष यादवले किसानलाई सहजीकरण गर्न संघ प्रयासरत रहेको बताए ।

फलेकसीकाटोकाको संक्रमणले केरा बगानमा क्षति पु¥याउँदा उत्पादनमा क्षति हुने सुस्ता–४ का किसान लीला गुरुङले चिन्ता व्यक्त गरे । उनका अनुसार २ सय बिघाभन्दा बढी बगानमा किराको संक्रमण फैलिएको छ ।

केराखेती गर्ने किसानलाई सहजीकरण गरी समस्या समाधान गर्ने उद्देश्यले बीउ, विषादी बिक्री गर्न र प्राविधिक सहयोग उपलब्ध गराउन एग्रोभेट सञ्चालनका लागि योजनाबद्ध रूपमा पहल भइरहेको प्रतापपुर गाउँपालिका कृषि शाखा अधिकृत सृजना न्यौपानेले जानकारी दिइन् ।

कृषि ज्ञान केन्द्रमार्फत परियोजनाबाट उपलब्ध गराइएको विषादी तथा औषधिले संक्रमण नियन्त्रण हुँदै गएको केन्द्रका प्रमुख डा. चौबेले
बताए ।

प्रकाशित मिति : २०८१ भदौ २४ गते सोमबार