मनाइयोे हरितालिका तीज



कोहलपुर ।

हिन्दु नेपाली महिलाहरूको महान् पर्व हरितालिका तीज शुक्रबार देवादिदेव महादेवको पूजा आराधना गरी उल्लासपूर्वक मनाइएको छ । तीजका अवसरमा पूजा आराधना गर्न नेपालगन्जको बागेश्वरी मन्दिर, बाँसगढीको केदारेश्वर धाम, काठमाडौंको पशुपतिनाथलगायतका शक्तिपीठहरूमा व्रतालु भक्तजनहरूको भीड लागेको थियो ।

महादेवको पूजा आराधना गरी भाद्र शुक्ल तृतीयाका दिनमा हरितालिका तीज पर्व मनाउने गरिन्छ । तीजको अवसरमा शुक्रबार नै बाँकेको खजुरा, कोहलपुर बर्दियाको बाँसगढी, मैनापोखरलगायतका स्थानहरूमा विभिन्न क्लब तथा संघ संस्थाहरूले साँस्कृतिक कार्यक्रमको आयोजनासमेत गरेका थिए ।

शुक्रबार दिउँसो तथा रातिसमेत घरमा र मन्दिरहरूमा नाचगान गरेर महिला दिदीबहिनीहरू रमाइलो गरेका थिए । त्यसैगरी, बाँसगढीमा समेत तीज धुमधामसँग मनाइएको छ । बिहान केदारेश्वर धाममा पूजाआजा गरी बाँसगढी वरपरका महिला दिउँसो किसान चोकमा जम्मा भई नाचगान गरेर रमाइलो गरेका थिए ।

उद्योग वाणिज्य संघ बाँसगढीले किसानचोकमा मञ्च व्यवस्थापन गरेको थियो जसमा यसक्षेत्रका महिला दिदी बहिनीले नाचगान गरेर रमाइलो गरेका थिए । सो अवसरमा नृत्य प्रतियोगितासमेत गरिएको थियो ।

भाद्र शुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा पारिवारिक सुख, शान्ति र कल्याणको प्राप्ति हुने धार्मिक विश्वास रहेको छ । सत्ययुगमा हिमालय पुत्री पार्वतीले गौरीघाटमा बसी तपस्या गरेर श्री महादेव पति पाउने वरदान पाएको विश्वासमा यो व्रत सुरु भएको पौराणिक मान्यता छ ।

वरदान विपरीत पार्वतीका पिता हिमालयले पार्वतीको इच्छाविपरीत विष्णुसँग विवाह गरिदिन खोजेपछि साथीहरूलाई आफ्नो समस्या सुनाएको धार्मिक ग्रन्थमा उल्लेख छ । पार्वती समस्यामा परेको थाहा पाएपछि उनका साथीहरूले हरण गरेर लगी कसैले नदेख्ने ठाउँमा लुकाएर राखिदिएका थिए । साथीहरूले लुकाएकै ठाउँमा पार्वतीले निराहार व्रत गरी महादेवलाई पतिका रूपमा प्राप्त गरिन् ।

यसरी पार्वती साथीहरूद्वारा हरण भएको दिन भाद्र शुक्ल तृतीयको दिन भएकाले त्यही समयदेखि हरितालिका तीजको व्रत लिने प्रचलन सुरु भएको धर्मशास्त्रीय मत रहेको छ । संस्कृत भाषाका ‘हरित’ र ‘आलिका’ दुईवटा शब्द मिलेर हरितालिका शब्द बनेको छ । जसमा ‘हरित’ शब्दको अर्थ हरण गरिएको र ‘आलिका’ शब्दको अर्थ साथी भन्ने हुन्छ ।

प्रकाशित मिति : २०८१ भदौ २२ गते शनिबार