कोहलपुरमा मनाइयो १५९औँ मोती जयन्ती



कोहलपुर ।

हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठान कोहलपुरको रचना वाचन विभागले काव्य गोष्ठी गरेर सोमबार मोती जयन्ती मनाएको छ । १५९औँ मोती जयन्तीको अवसर पारेर भएको कार्यक्रमको नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सभा सदस्य प्राज्ञ महानन्द ढकालले उद्घाटन गरेका थिए ।

सो अवसरमा बोल्दै ढकालले मोतीराम भट्टको योगदान नेपाली गजलका साथै समालोचना, कविता र पत्रकारितामा अतुलनीय रहेको बताए ।
भट्टले भक्तिधारा र वीर रसमा बगिरहेको नेपाली साहित्यको धारलाई श्रृङ्गारिक धारमा परिवर्तन गरी नयाँ युगको सुरु गरेको बताउँदै प्राज्ञ ढकालले मोतीरामको जीवनीबाट खुट्टा तान्नेहरूभन्दा हात तान्नेहरू नै जीवनमा स्थापित हुनसकेको उदाहरण दिन सकिने बताए ।

भट्टको जीवनी र कृतित्वका बारेमा उपप्राध्यापक खोपीराम ओली क्षेत्रीले भट्टले छोटो समयमा नेपाली साहित्यमा महत्वपूर्ण योगदान दिएको बताउँदै नेपाली साहित्यमा उदाहरणीय व्यक्ति भएको बताएका थिए ।

साना घरेलु महासंघ कोहलपुर नगर समिति अध्यक्ष हेम विक्रम जिसीले पूर्णिमाका कार्यक्रमहरू लोभ लाग्दा हुने गरेका बताउँदै यस प्रतिष्ठानले भाषा साहित्य र संस्कृतिको संरक्षणमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएकोमा खुसी व्यक्त गरे ।

साहित्यकार सागर गैरेले हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठान पश्चिम क्षेत्रको भाषा, साहित्य, कला र संस्कृति संरक्षणमा निरन्तर लागिपरेको बताउँदै पूर्णिमाले पत्रिका प्रकाशन, पुस्तक प्रकाशन र रचना वाचनलाई प्राथमिकतामा राख्दै आएकोले नयाँ स्रष्टाहरू जन्माउन सहयोग गरेको बताए ।

प्रतिष्ठानका अध्यक्ष साहित्यकार पुष्कर रिजालले रचना वाचन विभागलाई धन्यवाद दिदँै युवा कवि भट्टको जन्म जयन्तीको अवसरमा मोतीरामलाई सम्झदै मोतीरामप्रति समर्पित कविता सुनाएका थिए ।

कार्यक्रमका सभापति तथा रचना वाचन विभागका संयोजक प्रकाश मरासिनीले नेपाली साहित्यमा नयाँ सर्जक जन्माउन रचना वाचन कार्यक्रमलाई युवा तथा विद्यार्थीहरूको माजमा लैजाने बताउँदै नेपाली साहित्यमा योगदान दिने विशिष्ट व्यक्तित्वका जन्म जयन्तीमा यस्तै रचना वाचन कार्यक्रमहरू गर्दै जाने बताए ।

कार्यक्रममा देवकी निरौला, बद्री ढकाल हिरामणि, कासीराज अधिकारी, हुकुम धड्कन, बलराम काफ्ले, गणेश पौडेल, केशव निमेष, हरि त्रिपाठी, प्रकाश क्षितिज, विमला खत्री, आयुषा काफ्ले, श्रया पौडेल, बिमला खत्री, सक्षम चालिसे, विपिन सिङ, अपि लम्साल लगायत दुई दर्जन बढी स्रष्ठाहरूले रचना वाचन गरेका थिए ।

प्रकाशित मिति : २०८१ भदौ १८ गते मंगलबार