प्राविधिक कलेजमा विद्यार्थीको हाहाकार



बढी आकर्षण रहेको स्वास्थ्यतर्फका एचए, फार्मेसी र नर्सिंङबाहेक अन्य कोर्समा विद्यार्थी सङ्ख्या न्यून रहेको छ । यसरी विद्यार्थीहरू नै नपाइएपछि कलेजहरू सञ्चालनको संकटमा परेका छन् । पहिलो प्रवेश परीक्षामा कुनै पनि विषयमा कोटा सङ्ख्याको २५ प्रतिशत विद्यार्थी समेत नभएपछि अधिकांश कलेजहरू पुनः प्रवेश परीक्षा सञ्चालन गर्ने तयारीमा छन् ।

वीरेन्द्र जैसी । नेपालगन्ज ।

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीइभिटी)को नेपालगन्जस्थित आंगिक शिक्षालय भेरी प्राविधिक शिक्षालयमा यसवर्ष पहिलो प्रवेश परीक्षामा कुनै पनि विषयमा कोटा सङ्ख्या बराबर पनि आवेदन परेन । सबैभन्दा बढी विद्यार्थी भएको डिप्लोमा तहको इलेक्ट्रिकल विषयमा ४८ जनाको कोटामा ४० जना मात्रै विद्यार्थी पुगेका छन् ।

प्रि–डिप्लोमा तहको सेक्रेटरियल विषयका लागि ४० जनाको कोटा रहेकोमा मात्र ५ जना विद्यार्थी प्रवेश परीक्षाबाट छनोट भएका छन् भने इलेक्ट्रोनिक्समा ४० जनाको कोटा रहेकोमा मात्र ८ जना पुगेका छन् ।

प्राविधिक जनशक्ति उत्पादनको माग र आवश्यकता बढिरहेको भनिइरहेका बेला प्राविधिक शिक्षा तथा तालिम दिने यस क्षेत्रको सबैभन्दा ठूलो संस्थामै विद्यार्थीहरूको यो हाहाकारले गम्भीर प्रश्नहरू उब्जाएको छ । प्राविधिक धारतर्फ विद्यार्थीहरू पछिल्ला केही वर्षदेखि निरन्तर घटिरहेका छन् । भेरी प्राविधिक शिक्षालयको तथ्यांकमा पनि अघिल्ला वर्षमा पनि कोटाअनुसार विद्यार्थी नआएको देखिन्छ ।

प्राविधिक शिक्षा दिने सरकारी शिक्षालयमै विद्यार्थीहरूको हाहाकार हुँदा निजी शिक्षालयहरू त झन् सञ्चालनकै संकटमा पुगेका छन् । नेपालगन्ज टेक्निकल स्कुलमा कृषि जेटिए, सिभिल सब ओभरसियरलगायतका कोर्समा विद्यार्थीहरू न्यून आएपछि ती कोर्सहरू नै सञ्चालन हुन्छन् कि हुन्नन् भन्ने अन्योल रहेको स्कुलका तालिम प्रमुख देवेन्द्र चौधरीले बताए ।

अरू कोर्समा पनि न्यून सङ्ख्यामा विद्यार्थी आएको भन्दै उनले एसईई पुरक परीक्षाको नतिजा कुरिरहेको बताए । हेल्थ असिस्टेन्ट, रेडियोग्राफी लगायतका विषयको अध्यापन गराउने नेपालगन्जस्थित कैलपाल एकेडेमी फर हेल्थ साइन्समा कोटा सङ्ख्याको आधा मात्रै विद्यार्थी आएका प्रशासन प्रमुख अजबसिंह रानाले बताए ।

यसैगरी बागेश्वरी हेल्थ क्याम्पसमा २७ जनाको कोटा रहेकोमा १६ जना विद्यार्थीमात्रै भर्ना भएका सञ्चालक तरुण गौतमले जानकारी दिए । यसैगरी सिभिल इन्जिनियरिङको अध्यापन गराउने नेशनल इन्जिनियरिङ कलेजमा ४८ जनाको सिटमा ३४ सिट खाली रहेको प्रिन्सिपल इन्जिनियर सुमन सापकोटाले बताए ।

बर्दिया जिल्लामा रहेको कृषि जेटिएलगायतका विषयको पढाइ हुने बर्दिया टेक्निकल इन्स्टिच्युटमा पनि कोटाको १५ देखि २५ प्रतिशतमात्रै विद्यार्थीहरू भर्ना भएका छन् । कृषि भेटेरिनरीमा एक जना पनि विद्यार्थी आएनन् । अरू बढी आकर्षण रहेको स्वास्थ्यतर्फका एचए, फार्मेसी र नर्सिंङबाहेक अन्य कोर्समा पनि विद्यार्थी सङ्ख्या न्यून रहेको छ । यसरी विद्यार्थीहरू नै नपाइएपछि कलेजहरू सञ्चालनको संकटमा परेका छन् । अधिकांश कलेजहरू पुनः प्रवेश परीक्षा सञ्चालन गर्ने तयारीमा छन् ।

भेरी प्राविधिक शिक्षालयका कामु प्रमुख आशाकुमारी श्रेष्ठ यस वर्षको एसईईको नतिजामा आधाभन्दा बढी विद्यार्थीहरू नन गे्रडमा पर्नु एउटा कारण रहेको बताउँछिन् । यसका साथै नयाँ पुस्तामा विदेश मोह बढ्नुले पनि प्राविधिक शिक्षातर्फ आकर्षण घटेको श्रेष्ठको दाबी छ । उनले भनिन्, ‘एसईई पास भएदेखि नै नयाँ पुस्तामा विदेश जाने लहड चल्छ । कम्तिमा प्लस टु पास गरेपछि त अधिकांश विदेश गइहाल्छन् । यो विदेश मोहले पनि विद्यार्थी सङ्ख्या घटाएको उनको भनाइ छ ।

तर, बर्दिया टेक्निकल इन्स्टिच्युटका प्रिन्सिपल सुधाकर मिश्रा मापदण्ड मिचेर कलेजहरूलाई दिइने अध्यापन अनुमति र सम्बन्धन पनि विद्यार्थीहरूको संकट आउनुपछाडिको कारण रहेको बताउँछन् । कलेज सञ्चालकहरू एसईईको नतिजा, कोर्सलाई प्राविधिक ज्ञान दिनेभन्दा बढी सैद्धान्तिक ज्ञानको दबाब हुनेगरी तयार गरिनु र सरकारी रोजगारीमा प्राविधिक जनशक्ति खपत नहुनुलाई प्राविधिक शिक्षाप्रति विकर्षण उत्पन्न हुनुको कारण मान्छन् । यसैगरी, गाउँगाउँमा रहेका विद्यालयमा पनि प्राविधिक विषयहरू पढाइ हुन थालेपछि सहरका शिक्षालयमा विद्यार्थीहरू घटेको पनि उनीहरूको दाबी छ ।

तर, विद्यार्थीहरू भने प्राविधिक शिक्षा दिने शिक्षालय र शिक्षकहरू विद्यार्थीहरूलाई सीपयुक्त बनाउने भन्दा पनि नाफामा ध्यान दिन थालेकाले समस्या आएको बताउँछन् । भेरी प्राविधिक शिक्षालयका केही विद्यार्थीहरूले मिसन टुडेसँग कुरा गर्दै आफूहरूले प्रयोगात्मक अभ्यासहरूको पर्याप्त अवसर नपाएको र शिक्षकहरूले पनि नियमित अध्यापन नगराउने गरेको गुनासो गरे । उनीहरूले आफूहरूको कोर्स सकिँदासम्म पनि बाहिर गएर सहज तरिकाले काम पाउन सकिन्छ भन्नेमा आत्मविश्वास नपलाएको बताए । शिक्षालयको यस्तो अवस्थाले पनि नयाँ विद्यार्थीहरूमा विकर्षण उत्पन्न भएको हुनसक्ने विद्यार्थीहरू बताउँछन् ।

अर्काेतिर शिक्षा प्राप्त गरिसकेपछि पासआउट हुने विद्यार्थीहरूलाई रोजगारीसँग जोड्ने संयन्त्रको अभाव पनि प्राविधिक शिक्षालयहरूमा छ । सबैभन्दा व्यवस्थित मानिएको भेरी प्राविधिक शिक्षालयमा रोजगार समन्वय केन्द्र राखिएको छ । तर, उक्त समन्वय केन्द्र ओजेटी प्रयोजनका लागि मात्रै रहेको प्रमुख श्रेष्ठले बताइन् । यद्यपि उनले शिक्षालयबाट उत्तीर्ण अधिकांश विद्यार्थीहरू कहीँ न कहीँ रोजगारीमा संलग्न रहेको दाबी गरिन् ।

विद्यार्थीहरू न्यून सङ्ख्यामा आएपछि सिटिइभिटीले विद्यार्थी सङ्ख्या कोटाको २५ प्रतिशत अनिवार्य पु¥याउन भनेको श्रेष्ठले बताइन् । एक निजी शिक्षालय सञ्चालकले भने, ‘सिटिइभिटीको आफ्नै शिक्षालयहरूमा विद्यार्थी सङ्ख्या कोटाको सरदर २५ प्रतिशत मात्रै पुगेका छन् । निजीमा त झन् कसरी पु¥याउन सकिएला २५ प्रतिशत । बरु छात्रवृत्ति कोटामा विद्यार्थी नपाए पनि कलेज त चलाउनै प¥यो ।’

प्रकाशित मिति : २०८१ भदौ १६ गते आइतबार