पाठकको पर्खाइमा पुस्तकालयहरू



हिजो पढ्न प्रयोग हुने गरेको मानिसको समय आज अन्यत्रै खर्च हुने गरेको छ । यसको असर घर परिवारदेखि समाज र समग्र मुलुकसम्मै परेको छ । पठन संस्कृतिमा ह्रास आउनुमा एउटा मात्रै कारण छैन । यसमा विविध कारण देखिन्छन् । सूचना प्रविधिको बढ्दो प्रयोग, मानिसहरूको बढ्दो व्यस्तता, कोभिड संक्रमण, युवा पलायन, आर्थिक मन्दी, स्पष्ट सरकारी नीति नियमको अभाव आदि कारणले पाठक घटिरहेको जानकारहरूको भनाइ छ ।

कोहलपुर ।

आज भदौ १५ अर्थात पुस्तकालय दिवस । नेपालमा प्रत्येक वर्षको भदौ १५ गतेलाई पुस्तकालय दिवसका रूपमा मनाइने गरेको छ । नेपालमा पुराना कागजपत्र र लिखतहरू संग्रह गर्ने औपचारिक कानुन बनेको दिनको स्मरण गर्दै आजभन्दा १७ वर्षअघि अर्थात २०६५ सालदेखि औपचारिक रूपमा यो दिवस मनाउन थालिएको हो ।

श्री ५ गिर्वाणयुद्ध बिक्रम शाहको पालामा विसं १८६९ साल भदौ १५ गते शुक्रबारका दिन ‘पुस्तक चिताइ तहबिल’ नामक कानुन तर्जुमा गरिएको थियो । यही ऐतिहासिक दिनको स्मरण गर्दै विसं २०६५ सालदेखि हरेक वर्ष भदौ १५ गतेका दिनलाई राष्ट्रिय रूपमा ‘पुस्तकालय दिवस’का रूपमा मनाउन थालिएको पाइन्छ । त्यसयता विभिन्न नारा तय गर्दै प्रत्येक वर्ष भदौ १५ गते मुलुकभरी यो दिवस मनाइँदै आएको छ ।

यही दिवसको अवसर पारेर आज देशव्यापी रूपमा विभिन्न कार्यक्रमको आयोजना भइरहेको छ । कोहलपुरमा ज्ञानोदय सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रले पनि दिवसकै अवरमा आज एक कार्यक्रमको आयोजना गरेको छ ।

पछिल्लो समय नेपालमा ह्रासोन्मुख पठन संस्कृतिको विषयलाई लिएर चिन्ता व्यक्त गर्ने गरिएको छ । विद्यालय, कलेज र पुस्तकालयहरू खुल्ने र पुस्तकहरू निरन्तर प्रकाशित भइरहेका छन् । तर तिनलाई पढ्ने पाठक भने घटिरहेका छन् । लेखक, प्रकाशक तथा पुस्तक व्यवसायीहरू पुस्तक बिक्री घटेकोमा निराश छन् । पाठकको अभावमा पुस्तकालयहरूमा पुस्तकमा धुलो जमेको छ । नेपालमा सीमित संख्यामा खुलेका पुस्तकालय पनि पाठकको अभावमा अस्तित्व रक्षाको संकटमा छन् ।

पहिलेको तुलनामा पुस्तकालयमा नियमित पाठक आउने क्रम निकै घटेको ज्ञानोदय पुस्तकालयका शिवध्वज शाहीको अनुभव छ । ‘पहिला दिनमा ७०–८० जना पाठक नियमित अध्ययनका लागि लाइब्रेरी आउँथे,’ उनले भने, ‘अहिले दैनिक ३०–४० जना आउँछन् ।’ कोरोना महामारीपछि लाइब्रेरी आउने पाठकको संख्या अत्यन्त न्यून रहे पनि हाल केही बढ्न थालेको उनले बताए । यही अवस्था अन्य पुस्तकालयहरूको पनि छ ।

पछिल्लो समय मुख्य गरी समय र प्रविधिले ल्याएको परिवर्तनसँगै पठन संस्कृतिमा ह्रास आएको पाइन्छ । त्यसैगरी नेपाली युवा विदेश पलायनलगायतका कुराले पनि पठन संस्कृतिमा प्रतिकूल प्रभाव पारेको छ ।

अध्येता जीतबहादुर शाह युवा पलायनले पठन संस्कृतिमा ह्रास आएको बताउँछन् । ‘पुस्तकालयतिर धाउनुपर्ने पढेलेखेका युवाहरू विदेशतिर धाइरहेको अवस्था छ,’ शाह भन्छन्, ‘पुस्तक पढ्ने मानिसहरू मोबाइल हेर्ने कर्ममा लिप्त भएपछि पठन संस्कृतिमा ह्रास नआएर के हुन्छ !’
पुस्तकालयहरूलाई अब पुराना पुस्तकहरूको भण्डारण केन्द्र मात्र नबनाएर नयाँ–नयाँ प्रविधि र ज्ञानको उद्गम र सम्प्रेषण गर्ने थलोको रूपमा विकास गर्नुपर्ने शाहको विचार छ ।

हिजो पढ्न प्रयोग हुने गरेको मानिसको समय आज अन्यत्रै खर्च हुने गरेको छ । यसको असर घर परिवारदेखि समाज र समग्र मुलुकसम्मै परेको छ । पछिल्लो केही समययता पत्रपत्रिका र पुस्तकको बिक्री पनि अस्वाभाविक रूपमा घटेको छ ।

पठन संस्कृतिमा ह्रास आउनुमा एउटा मात्रै कारण छैन । यसमा विविध कारण देखिन्छन् । सूचना प्रविधिको बढ्दो प्रयोग, मानिसहरूको बढ्दो व्यस्तता, कोभिड संक्रमण, युवा पलायन, आर्थिक मन्दी, स्पष्ट सरकारी नीति नियमको अभाव आदि कारणले पाठक घटिरहेको जानकारहरूको भनाइ छ ।

पुस्तकको बजारीकरण, लेखकलाई दिइने स्थान, सम्पादनलगायत कार्यमा दिइने कम महत्व आदिले पनि यसमा असर गरिरहेको कतिपयको भनाइ छ । पुस्तकालय सामाजिक परिवर्तनको सशक्त माध्यम भएकाले यसमा युवाहरूलाई अर्थपूर्ण र उत्पादनमूलक तरिकाले जोड्नु आवश्यक भएको अध्यापक गणेश पौडेलको भनाइ छ ।

‘यस कार्यका लागि देशव्यापी रूपमा दूरदराजसम्म स्थापना गरिएका सामुदायिक पुस्तकालयहरू निकै उपयोगी सावित हुन सक्छन्,’ पौडेल भन्छन्, ‘सामुदायिक पुस्तकालयमार्फत प्रयोग गरिने सूचना प्रविधि संसाधनले आजको युवामा विश्वव्यापी रूपमा आफ्नो समान हैसियत र सक्षमताको आभाष दिन सक्छ ।’

सामुदायिक पुस्तकालयले सञ्चालन गर्ने विविध युवा केन्द्रित कार्यक्रमहरूले युवाहरूमा नेतृत्व विकास गर्नुका साथै प्रभावकारी सञ्चार सीपको विकास गर्न महत्वपूर्ण योगदान गर्न सक्ने उनको भनाइ छ ।

पठन संस्कृति एकातिर ह्रास भएर गएको छ भने अर्कातिर पठन प्र्रक्रिया श्रव्य र श्रव्य–दृश्य माध्यमहरूतिर रूपान्तरित भएको छ । पढ्ने मानिसहरू पनि अहिले समाचार, विचार र पुस्तकहरू प्रविधिको प्रयोग गरेर पढिरहेका छन् । पढ्ने तरिका फेरिएको छ । आख्यान होस् वा गैरआख्यान नेपालीहरूले अझै पनि पढ्ने र सुन्ने गरेको देखिन्छ । तर त्यो पुस्तकका माध्यमले होइन, प्रविधिका माध्यमले ।

सञ्चार र प्रविधिको उच्चतम विकास र विस्तारले पुस्तकालयको दायरा पनि फराकिलो भएर मुद्रित सामग्री मात्र उपलब्ध हुने पुस्तकालयहरू अहिले अनलाइन एवम् ई–लाइब्रेरीको रूपमा विस्तार भएकाले यसलाई पुस्तकालय विकासका सवालमा अवसरको रूपमा लिइनुपर्ने जीतबहादुर शाहको भनाइ छ ।

त्यसैले पुस्तकालयहरूलाई पनि पुराना पुस्तकहरूको भण्डारण केन्द्र मात्र नबनाएर नयाँ–नयाँ प्रविधि र ज्ञानको उद्गम र सम्प्रेषण गर्ने थलोको रूपमा विकास गर्नुपर्ने उनको मत छ । ह्रासोन्मुख पठन संस्कृतिको ख्याल गर्दै पुस्तकालयहरूले डिजिटल तथा ई–लाइब्रेरी निर्माणमा जोड दिनु आवश्यक भएको विश्लेषकहरूको भनाइ छ ।

दिवसको पूर्वसन्ध्यामा विविध कार्यक्रम बक्स 

पुस्तकालय दिवसको पूर्वसन्ध्यामा कोहलपुरमा विविधि कार्यक्रमको आयोजना गरिएको छ । पुस्तकालय इतिहासको संरक्षण र संर्वद्धन गर्ने थलो भएकाले सूचना प्रविधिको व्यापकतासँगै विद्युतीय पुस्तकालयको अवधारणा कार्यान्वयन गर्नुपर्नेमा कार्यक्रमका वक्ताहरूले जोड दिएका छन् ।

१७औँ राष्ट्रिय पुस्तकालय दिवसका अवसरमा बाँकेको कोहलपुरमा यस क्षेत्रका पुस्तकालयहरूद्वारा संयुक्त रूपमा आयोजित लागूपदार्थ दुव्र्यसनीविरुद्धको बृहत ¥यालीको समापन समारोहमा बोल्ने वक्ताहरूले यस्तो बताएका हुन् ।

समाजमा वप्त लागुऔषध दुव्र्यसनीको कुलतलाई कम गर्न पुस्तकालयले महत्वपूर्ण भूमिका खेल्ने भएकाले यसप्रति किशोरकिशोरीलाई आकर्षित गराउन पढ्ने बानीको विकास गराउनतर्फ लाग्नुपर्ने कार्यक्रमका प्रमुख अतिथि समेत रहेका लुम्बिनी प्रदेश सरकारका वन तथा वातावरण मन्त्री बादशाह कुर्मीले जोड दिए ।

ज्ञानको अपार भण्डारण रहेको पुस्तकालयको उपयोगिता र यसप्रतिको महत्वलाई विकास गर्न सके जीवनमा पुस्तकालय लाभदायी हुने उनको भनाइ छ । ‘पुस्तक मानिसको असल साथी हो । यसले मानिसलाई असल मार्ग देखाउने भएकाले पुस्तकालयको विकास, संरक्षण र संवद्र्धनमा सबै लाग्नुपर्छ,’ उनले भने, ‘‘बालबालिका, किशोर–किशोरी, युवा, वयस्क, वृद्धवृद्धा सबैले आफ्नो फुर्सदको समयको उचित सदुपयोग गर्ने स्थल र माध्यमका रूपमा पुस्तकालयलाई प्रयोग गर्न सक्दछन् ।’

कोहलपुर नगरपालिकाका प्रमुख पूर्णप्रसाद आचार्यले अभिभावककै कारण बालबालिकाले असल शिक्षा र मार्गदर्शन नपाएको टिप्पणी गरे । उनले भने–‘जबसम्म अभिभावकहरू स्वयम मद्यपान र सुर्तीजन्य पदार्थको सेवन गर्न छाड्दैनन् तबसम्म लागुपदार्थ मुक्त समाजको कल्पना गर्न सकिँदैन ।’

दुव्र्यसनी कम गर्न पुस्तकालयले ठूलो योगदान दिने भएकाले सबैले फुर्सदको समयलाई पुस्तक पढ्ने बनाउन सक्नुपर्ने मेयर आचार्यले जोड दिए । नेपाल सामुदायिक पुस्तकालय महासंघ, लुम्बिनी प्रदेश समितिका अध्यक्ष चेतकान्त भट्टराईले निरन्तर शिक्षाका लागि पुस्तकालय अपिहार्य रहेको बताए । उनले पुस्तकालय दिवसलाई युवा पिँढीबीच लोकप्रिय बनाउन र पठन संस्कृतिको विकास गर्न आफूहरू लागि परेको बताए ।

‘निरन्तर शिक्षाका लागि पुस्तकालय’ भन्ने १७औँ राष्ट्रिय पुस्तकालय दिवसको पूर्वसन्ध्यामा नेपाल सामुदायिक पुस्तकालय महासंघ, लुम्बिनी प्रदेश समितिको आयोजना तथा ज्ञानोदय सामुदायिक पुस्तकालय, कोहलपुर, बाँसगढी सामुदायिक पुस्तकालय, बाँसगढी बर्दिया, त्रिभुवन सामुदायिक पुस्तकालय, कोहलपुर र महेन्द्र पुस्तकालय नेपालगन्जको सहआयोजनामा निकालिएको उक्त ¥यालीले कोहलपुर नगर परिक्रमा गरेको थियो ।

ज्ञानोदय सामुदायिक पुस्तकालय, कोहलपुरका सचिव एकराज शर्माले सञ्चालन गरेको सो कार्यक्रममा स्वागत मन्तव्य महेन्द्र पुस्तकालय नेपालगन्जका अध्यक्ष बलराम यादव तथा उत्प्रेरणा मन्तव्य सहारा सुधार केन्द्र नेपालगन्जका अभिकुमार क्षेत्रीले दिएका थिए ।

यसैबीच, ‘निरन्तर शिक्षाका लागि पुस्तकालय’ भन्ने १७औँ राष्ट्रिय पुस्तकालय दिवसको पूर्वसन्ध्यामा कोहलपुरमा रक्तदान गरिएको छ । कोहलपुर नगरपालिका वडा नम्बर–११ मा रहेको ज्ञानोदय सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्र कोहलपुरको आयोजनामा उक्त रक्तदान गरिएको हो ।

ज्ञानोदय सामुदायिक पुस्तकालयको प्राङ्गणमा भएको रक्तदानमा ३५ जनाले रक्तदान गरेका थिए । पुस्तकालयले दिवसको पूर्वसन्ध्यामा विभिन्न कार्यक्रम गरेको छ । जसअनुसार भदौ १ गते १४ विद्यालयका विद्यार्थी सम्मेलित खुल्ला भानुभक्तीय रामायण वाचन, ८ गते २८ वटा विद्यालयको सहभागितामा आधारभूत तहको चित्रकला प्रतियोगिता र १० गते २६ वटा माध्यमिक विद्यालयको सहभागितामा वक्तृत्वकला प्रतियोगिता सम्पन्न गरिएको थियो ।

पुस्तकालयका अध्यक्ष भट्टराईका अनुसार विभिन्न प्रतियोगिताका विजयीहरूलाई आज आयोजना हुने २०औँ वार्षिक साधरण सभामा पुरस्कार वितरण गरिनेछ ।

प्रकाशित मिति : २०८१ भदौ १५ गते शनिबार