बाँसगढीबासीमा बाघ आक्रमणको त्रास



कोहलपुर ।

पछिल्लो समय बाँसगढी नगरपालिकाका विभिन्न स्थानमा बाघले जनावरहरू आक्रमण गर्न थालेपछि स्थानीयबासी आतंकित बनेका छन् । नगरपालिकाका विभिन्न क्षेत्रमा एक दुई दिन बिराएर बाघ देखिने गरेको स्थानीयबासीले बताएका छन् ।

पछिल्लो समय देखिएको बाघले सोझै मानिसलाई आक्रमण नगरे पनि जनावरहरूलाई भने निरन्तर आक्रमण गरिरहेको छ । रातिराति गाउँमै पसेर बाघले जनावरलाई आक्रमण गर्ने गरेको छ ।

गत जेठ १० गते बिहीबार बाँसगढी नगरपालिका–४ स्थित जनचेतना सामुदायिक वनमा बाघको आक्रमणबाट बाँके बैजनाथ गाउँपालिकाकी मनीषा रोकायाको मृत्यु भएपछि त्यसयता सो क्षेत्रमा पटकपटक बाघ देखिने र पछिल्लो समय घरपालुवा जनावरमाथि निरन्तर आक्रमण गर्ने क्रम बढेको छ । पछिल्लो समय गाउँघरमै बाघ देखिने गरेको स्थानीयबासीले बताएका छन् । यसरी गाउँमै निरन्तर बाघको आक्रमण बढेपछि बाँसगढीबासी आतंकित बनेका छन् ।

गत साउन २५ गते शुक्रबार बारबर्दिया नगरपालिकाको बैदीमा समेत बाघको आक्रमणबाट जंगलमा च्याउ टिप्न गएका स्थानीय चन्द्रबहादुर कसेरा घाइते भएका थिए । त्यसयता यस क्षेत्रमा पटकपटक बाघ देखिने गरेको स्थानीयबासीको भनाइ छ ।

त्यसयता बाघले मानिसलाई आक्रमण नगरे पनि पटकपटक घरपालुवा जनावरमाथि आक्रमण गर्दै आएको छ । गत साउन ३२ गते साँझ बेलुकी ६ बजेतिर बाँसगढी नगरपालिका–५ झरसैलास्थित सालघारी सामुदायिक वनछेउको सडकमा अन्दाजी ४ फिट लामो पाटेबाघ देखिएको स्थानीयले बताएका छन् ।

त्यसैगरी, भदौ १ गते राति बाँसगढी नगरपालिका–४ स्थित मटेरिया थारू गाउँभित्र पसेर बाघले बंगुरलाई आक्रमण गरेको थियो । त्यस्तै, भदौ २ गते बाँसगढीकै वडा नम्बर ५ हाउपुर र वडा न ८ रिहारटोलमा बाघ देखिएको स्थानीयले बताएका छन् ।

त्यस्तै, भदौ १० गते राति बाँसगढी–४ मदाहाको सुकुमबासी टोलमा बाघले बाँधिरहेको बाख्रोमाथि आक्रमण गरेको थियो भने सोही दिन वडा नम्बर ४ कै शंखरियामा बाघ देखिएको स्थानीयको भनाइ छ । यसरी गाउँमै पटकपटक बाघ देखिएपछि आफूहरू जतिबेला पनि त्रासमा बाँच्नुपर्ने अवस्था आएको एक स्थानीयले मिसन टुडेसँग दुखेसो पोखे ।

स्थानीयबासीले पटकपटक बाघ देखिएकाले त्यसको खोजी गर्न र नियन्त्रणमा लिन आग्रह गरे पनि सुनुवाइ नभएको गुनासो गरेका छन् । चाँडोभन्दा चाँडो बाघ नियन्त्रणमा लिइदिन स्थानीयले सरोकारवाला निकायसँग आग्रह गरेका छन् । बाघको त्रासले आफूहरूलाई साँझ बिहान हिँड्न पनि डर लाग्ने गरेको स्थानीय रमा रोकाले बताइन् । ‘हामी राति पनि ढुक्कसँग सुत्न पाएका छैनौँ,’ उनले भनिन्, ‘जनावरमाथि आक्रमण गर्ने बाघले घरमै आएर मानिसलाई नै आक्रमण गर्ने हो कि भन्ने डर सधैँ छ ।’

पटकपटक गाउँमा बाघ देखिएको र निरन्तर घरपालुवा जनावरमाथि आक्रमण भइरहेको गुनासो आएपछि आफूहरूले सम्बन्धित निकायमा खबर गरेको इलाका प्रहरी कार्यालय बाँसगढीका प्रमुख प्रहरी निरीक्षक रूपेश साहले बताए । ‘यो बाघले पनि हैरानै पारिसक्यो, भोलि फेरि मान्छेमाथि नै आक्रमण हुने हो कि भन्ने त्रास बढिरहेको छ,’ प्रहरी निरीक्षक साहले भने, ‘त्यसैले हामीले समयमै जिप्रका, वन, निकुञ्जलगायतका सरोकारवाला निकायमा खबर गरेका छौँ ।’

पछिल्लो समय देखिएको बाघ हो वा चितुवा भन्ने स्पष्ट नभएकाले पनि खोजी कार्यमा तदारुकता नदेखाइएको हुनसक्ने उनको अनुमान छ ।
पछिल्लो समय रातिराति गाउँमा पसेर घरपालुवा जनावरमाथि आक्रमण गर्ने बाघ हो वा चितुवा भन्ने नै स्पष्ट हुन नसकेको डिभिजन वन कार्यालय बर्दियाका निमित्त प्रमुख वरिष्ठ वन अधिकृत टंक गुरुङले जानकारी दिए ।

‘बाघ देखिएको स्थानीयको गुनासो आएपछि हामीले त्यसको खोजी र पहिचान गर्ने कोसिस ग¥यौँ,’ वरिष्ठ वन अधिकृत गुरुङले भने, ‘तर त्यो बाघ हो वा चितुवा भन्ने नै स्पष्ट हुन सकेन ।’ स्थानीयको भनाइअनुसार यसरी आक्रमण गर्ने चितुवा हुनसक्ने उनले बताए । ‘फरकफरक ठाउँमा देखिनु, रातिराति मात्र गाउँ पसेर जनावरमाथि आक्रमण गर्नु आदिले त्यो बाघ नभएर चितुवा हो भन्ने देखिन्छ,’ उनले भने, ‘फेरि त्यसको कुनै पाइला पनि भेटिएको छैन ।’

बाघ वा चितुवा जे भए पनि आक्रमण भएका क्षेत्रका बासिन्दालाई सचेत रहन आग्रह गरिएको गुरुङले जानकारी दिए । बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख डा. अशोककुमार रामले बाघ देखिएका ठाउँमा हात्ती र निकुञ्जको टोली नियमित परिचालन भइरहेको जानकारी दिए । ‘बाँसगढीबाटै हिजो मात्रै बाघको खोजी गर्न गएको हात्तीसहित निकुञ्ज टोली फर्किएको छ,’ उनले भने, ‘अब भेटिँदैन त के गरौँ !’ ठाउँठाउँमा डिटेक्टिभ क्यामेरासमेत राख्ने काम भएको उनले बताए ।

निकुञ्जसँग जोडिएको क्षेत्र भएकाले लगातार यस क्षेत्रमा बाघ देखिइरहेको बाँसगढी नगरपालिका–४ का वडाध्यक्ष कृष्णप्रसाद बाँस्तोलाले बताए । पछिल्लो समय घरपालुवा जनावरमाथि निरन्तर आक्रमण भइरहेपछि केही ठाउँमा सिसी क्यामेरा राखेर बाघ हो वा चितुवा भन्ने कुराको पहिचान गर्ने काम भइरहेको उनको भनाइ छ ।

‘वडा नम्बर ४ को मटेरिया र ५ को झरसैला दुई ठाउँमा सिसी क्यामेरा राखिएको सुनेको छु,’ वडाध्यक्ष बाँस्तोलाले भने । पछिल्लो समय विभिन्न सामुदायिक वन क्षेत्रमा बाघ आक्रमणको त्रास बढेको छ । जिल्लास्थित अधिकांश सामुदायिक वनमा बाघ देखिन थालेकाले सर्वसाधारण त्रसित
छन् । सामुदायिक वनसँग जोडिएको चल्ती बाटोमा साँझ–बिहान हिँड्नसमेत सर्वसाधारण डराइरहेको अवस्था छ ।

प्रकाशित मिति : २०८१ भदौ १३ गते बिहीबार