अष्टिम्की पर्व थारू समुदायका महिलाहरूको ठूलो पर्व हो, महिलाहरू आफ्नो मनोकांक्षा पुरा होओस् भनेर ब्रत बस्ने पर्व हो । थारू समुदायका महिलाहरूको प्रमुख पर्वका रूपमा मनाइने यो पर्वमा पुरुषहरू ब्रत नबस्ने पुरानो चलन रहेको छ ।
नेपालगन्ज ।
थारू समुदाय हर्षोल्लासपूर्वक आज अष्टिम्की (श्रीकृष्ण जन्माष्टमी)पर्व मनाइरहेका छन् । सो समुदायले पृथक् शैलीले अष्टम्की पर्व मनाउने गर्दछन् । थारू समुदायका घरमा भगवान् श्रीकृष्णसहित मानव जातीको जन्मदेखि मृत्युसम्मका क्रियाकललाप दर्शाउने चित्र कोरेर पूजा गरेर पर्व मनाइने गरिन्छ । सो अवसरमा घर–घरमा पूजा गर्नका लागि परापूर्वकालदेखि नै चित्र कोर्नुपर्ने चलन चल्दै आएको छ ।
थारू समुदायका घर–घरमा रहेका बैठक कोठामा अष्टिम्कीका अवसरमा मानव जातिको जन्मदेखि मृत्युसम्म गर्ने क्रियाकलापको चित्रको माध्यमबाट देखाउने गरिएको बडघर रामप्रसाद चौधरीले बताए । महिला पुरुष दुवै जनाले अष्टम्कीका अवसरमा चित्र कोर्ने गरेका छन् ।
विशेषगरी ब्रतालु महिलालाई चित्र बनाउनमा बेफुर्सदिला बनेका छन् । ‘ब्रम्ह मूहर्तमा दर खाएपछि घरमा रहेको बर्ही (बैठक) कोठामा व्रतालु थारू महिलाले आफ्नै हातले कान्हा अर्थात भगवान श्रीकृष्णको चित्रसहित अन्य लोक चित्र बनाउने कार्य गर्दै आएका छन्’ उनले भने, ‘महिलाले बनाउन नजानेको ठाउँमा पुरुषले गएर चित्र कोर्ने गर्छन् ।’
चित्र बनाउँदा पश्चिमतर्फ चन्द्रमा, पूर्वमा सूर्य, माछा, लठ्ठी, गँगटा, सर्प, कुकुर, रूखमा बसेका बाँदर गँड्यौला, कछुवा, हात्ती, घोडा, गोरु, उँट, कुखुरा, मयूर, बिच्छी, वासुकी नागलगायतका जलचर र थलचर प्रणीहरूका चित्र बनाइने गरिन्छ । चित्र बनाउनेबीच भागमा दुलही अनमाउँदा दुलहीलाई लैजाने डोले सहितको डोलीको समेत चित्रका माध्यमले देखाउने गरिन्छ ।
अन्न राख्ने भाँडो र दिवालमा यी चित्र बनाइने गरिएको सीताराम चौधरीले बताए । ‘पहिले महिलाले मात्रै अष्टिम्कीका बेला चित्र बनाउने गर्दथे’ उनले भने, ‘हाल पुरुषले समेत चित्र बनाउने गरेका छन् ।’ सिलौटामा पिनेको चामल, धानको भुसको प्रयोग गरी डेहरीमा पोतेपछि परम्परागत तरिकाले बाँसको सिन्कामा कपास लगाई रङमा डुबाई चित्र बनाइने गरिने भए पनि हाल बजारमा पाइने रङमा कुचिको प्रयोग गरी चित्र बनाइने गरिएको उनको भनाइ रहेको छ ।
सृष्टिको रचनादेखि मानव जातिलाई बाँच्नका लागि आवश्यक पर्ने वस्तुबारे चित्रका माध्यमले व्यक्त गरिने भएकाले थारू समुदायको लोक चित्रकलाको निकै महत्व रहेको छ । थारू समुदाय प्रकृति पुजारीका रूपमा रहेकाले पाँच हजार वर्ष अघिदेखि चित्र बनाउने कलाको सुरुवात भएको धनबहादुर कुश्मी बताउँछन् ।
उनका अनुसार थारू समुदायले अष्टिम्कीका बेला बनाउने चित्रका लागि सिमीको पातबाट हरियो, खयरबाट कत्थइ, पवैको गेडाबाट रातो, सुकेको लौका आगोमा डढाएर कालो रङ बनाउने गर्दथे । उनका अनुसार चित्रमा लगाइने रङगकोसमेत आ–आफ्नै महत्व रहेको छ ।
कालो रङ्ग शून्यताको प्रतिक, रातो रङ्ग जीवनको उमङ्गता, हरियो रङग धैर्यताको प्रतिक, पहेँलो रङ्ग बुद्धिमताको प्रतिक, खैयर रङग शरीरको संवेगात्मक अवस्थाको प्रतिक र निलो रङगलाई परम्परा र मूल्य मान्यताको प्रतिकका रुपमा लिइने गरिन्छ ।
‘यो पर्व थारू समुदायका महिलाहरूको ठूलो पर्व हो, महिलाहरू आफ्नो मनोकांक्षा पुरा होओस् भनेर ब्रत बस्ने पर्व हो,’ दाङका थारू अगुवा अध्यक्ष लक्ष्मीमान चौधरीले भने ‘थारू समुदायका महिलाहरूको प्रमुख पर्वका रुपमा मनाईने यो पर्वमा पुरुषहरू ब्रत नबस्ने पुरानो चलन छ ।’
थारू संस्कृतिका जानकारका अनुसार अष्टिमकीको चित्रमा अत्यधिक मात्रामा ज्यामितीय स्वरुपहरूको प्रयोग गरिन्छ ।
थारू लोक चित्रकारहरूले शिर र रोदनका लागि अण्डाकार शरीरको लागि घनाकार वा त्रिभुजाकार हात र खुट्टाका लागि शङ्कु आकारको प्रयोग गर्दछन् । यी चित्र सरल तरिका आकर्षक रूपमा बनाइने गरिन्छन् ।
अष्टिम्कीको चित्र बनाउने र पूजा सामग्री तयार गर्नेकार्य गरिएपछि महिलाले निरहार बसी भोको पेटमा परम्परागत आभूषण र पहिरनमा सजिएर चामल, फलफूल, दियो, धानको बोट, कागतीको हाँगा र जोडा फल लिई पूजा गर्ने गरेको हबल्दार चौधरीले बताए । पूजा गर्दा घरका सबै सदस्य पूजा गर्ने ठाउमा जम्मा हुने गर्दछन् उनले भने, ‘व्रतालु महिला चोखो गरी पकाएको खाना र फलफूल ग्रहण गर्दछन् ।’
अष्टिम्कीको रातभरी जाग्राम बसी घरका सबै जनाले कान्हा (श्रीकृष्ण)को परम्परागत लोक भाखामा गीत गाउने गर्दछन् । अष्टिम्कीको दोस्रो दिन अर्थात् भोली बिहानै पूजा गरी पूजा गरिएको सामग्रीसहित चालमसहितको दियो बालेर नदी तलाउमा विषर्जन गरी स्नान गरेर सबै जना घर फर्कने गर्दछन् । घरमा बनाइएका पकवानको केही भाग भगवानलाई अर्पण गरी व्रतालु महिलाले भोजन ग्रहण गर्दछन् ।
यसैगरी यो पर्वमा महिलाहरूले आफ्ना दाजु भाईहरूलाई पाहुर दिने प्रचलन पनि रहेको छ । माईती र ईष्ट बीचको सम्बन्ध प्रगाढ पार्ने पर्वका रूपमा पनि यो पर्वलाई लिने गरिन्छ । ‘ब्रत बस्ने महिलाहरूले दाजु भाइहरूलाई पाहुर दिने प्रचलन पनि रहेको छ,’ राप्ती सोनारीका थारू अगुवा रामलखन थारूले भने, ‘यसले दाजु भाईसँगको सम्बन्ध प्रगाढ बनोस् भन्ने हो ।’
प्रतिक्रिया दिनुहोस्