कोहलपुर ।
कोहलपुर नगरपालिका–११ मा अवस्थित बालज्योति माध्यमिक विद्यालयका विद्यार्थी र मोहोर उपन्यासबारे लेखक सागर गैरेबीच अन्तरक्रिया गरिएको छ । मंगलबार विद्यालयमा आयोजित एक कार्यक्रममा लेखक गैरे र विद्यार्थीहरूबीच अन्तरक्रिया गरिएको हो ।
सो अवसरमा विद्यार्थीहरूले उपन्यासका विविध पक्षमाथि जिज्ञासा राखेका थिए । उनीहरूले उपन्यासको कथाबस्तु र शीर्षकबीच त्यति तालमेल नदेखिएको भन्दै लेखकसँग जिज्ञासा राखेका थिए । त्यस्तै, समाजमा लेख्नका लागि थुप्रै विषयबस्तु भए पनि आफ्नै बाका बारेमा लेख्नुपर्छ भनेर किन ठान्नुभयो ? उपन्यासको शीर्षक मोहोर कसरी रहन गयो ? उपन्यासले विद्यार्थीहरूलाई कस्तो शिक्षा दिएको छ ? लगायतका प्रश्नहरू गरेका थिए ।
विद्यार्थीहरूका प्रश्नको जबाफ दिँदै लेखक गैरेले यो एउटा ग्रामीण जीवनमा बसेको आम नेपाली बाहरूको कथा रहेको बताए । ‘हिजोका दिनमा नेपालको अर्थतन्त्र मोहोरमा चल्ने गरेको थियो,’ उपन्यासकार गैरेले भने, ‘मेरा बा त्यही मोहोर खेलाएको व्यक्ति भएकाले उपन्यास लेखेपछि विगत समय र समाजलाई प्रतिबिम्बित गर्न त्यसको शीर्षक मोहोर राखिएको हो ।’ बाआमाले आफ्नो सन्तान अर्थात छोराछोरीका लागि गरेको त्याग र संघर्षलाई उपान्यासको रूपमा तयार पारिएको उनले बताए ।
उपन्यासमा काल्पनिकभन्दा वास्तविक घटना र पात्रहरूको आधिक्यता रहेको र करिब सय वर्षअघिको समय र नेपाली समाजलाई प्रतिबिम्बित गर्न खोजिएका उनको भनाइ थियो । पुर्खाहरूको अनुभव र पुर्खाले बाँचेको समयमा आधारित रहेर हिजो हाम्रो समाज यस्तो थियोे भनेर चित्रण गर्न खोजिएको उनले बताए ।
अन्तरक्रिया कार्यक्रममा बोल्दै हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठानका अध्यक्ष पुष्करनाथ रिजालले बालज्योति माध्यमिक विद्यालयले साहित्यका क्षेत्रमा अनुकरणीय काम गर्दै आएको बताए । कलिला भाइबहिनीहरूमा साहित्यिक अभिरुचि वृद्धि गर्न यस्ता कार्यक्रमहरूले महत्वपूर्ण भूमिका निर्वाह गर्ने उनको भनाइ थियो ।
उक्त अवसरमा विद्यालयका प्रधानाध्यापक दामोदर पौडेलले यस्ता कार्यक्रमले विद्यार्थीहरूको साहित्यप्रतिको मोह वृद्धि गर्ने र थप लेखनमा टेवा पुग्ने विश्वास व्यक्त गर्दै हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठानको भवन निर्माणस्थलमा तारबारका लागि जाली सहयोग गर्ने घोषणा गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्