धार्मिक पर्यटकको गन्तव्य बन्दै सन्तानेश्वर मन्दिर



बाँके ।
बाँकेको नरैनापुर–५ स्थित सन्तानेश्वर महादेव मन्दिरमा धार्मिक पर्यटकको संख्या दिनप्रति दिन बढ्दै गएको छ । सो मन्दिरका बारेमा विभिन्न माध्यमबाट नेपाल र भारतका सर्वसाधारणलाई जानकारी प्राप्त हुन थालेपछि त्यहाँ पुग्ने नेपाल र भारतका दर्शनार्थीहरुको संख्या अत्यधिक बढेको हो ।

नरैनापुर–५ स्थित पहाडको चुच्चोमा रहेको सो मन्दिर निकै रमणीय स्थानमा रहेको र त्यहाँ सन्तान नहुनेहरूको मनोकामना पुरा हुने गरेकोले पनि नेपाल र भारतका विभिन्न स्थानबाट दर्शन गर्न आउनेहरू बढ्दै गएको मन्दिरका पुजारी योगानन्द गिरिले बताउनुभयो । केही वर्ष पहिलेसम्म सन्तानेश्वर महादेवको महिमा बारे धेरै कमलाई मात्र थाहा भएकोमा निकै कम मानिस आउने गरेकोमा हाल आएर दैनिक सयौँको संख्यामा देश विदेशबाट श्रद्धालुहरू आउन थालेको बताए ।

पुजारी गिरिले थप्नुभयो,‘यहाँ सन्तान नभएकाले भाकल गरी स्वच्छ मनले पूजा अर्चना गरे सन्तान लाभ हुने धार्मिक विश्वास रहेकोले पछिल्लो समयमा टाढाटाढाबाट सन्तानका लागि पनि दम्पतीहरू आउन थालेका छन् ।’ सन्तानेश्वरमा ॐ आकारको पहाडको चुचुरोको मुनि गङ्गा जमुना र सरस्वती प्रभावित भएको हुँदा विशेष महत्त्व रहेको मन्दिरका पुजारी गिरिको भनाइ छ ।

चुरे पहाडको चुचुरोमा मन्दिर रहेकाले भगवानको दर्शनसँगै प्राकृतिक मनोरम दृश्यले यहाँ दर्शनका लागि आउने पर्यटकहरू आकर्षित हुने गरेको स्थानीय यम बहादुर खड्काले बताए । उहाँका अनुसार मन्दिरसम्म पुगन खोलानाला, जङ्गल र पहाड चढ्दै गरिने यात्राले सहरको कोलाहलबाट टाढा रही आनन्दित गर्दछ भने मन्दिर परिसरबाट राप्तिसोनारी र नरैनापुर गाउँपालिकाको अवलोकन समेत गर्न सकिन्छ ।

धार्मिक पर्यटनको प्रचुर सम्भावना रहेको यस क्षेत्रको पूर्वाधार विकासमा राज्यले ध्यान दिन जरुरी रहेको त्यहाँ पुग्ने श्रद्धालुहरूको भनाइ छ । सो मन्दिरमा पुग्ने सडक, विश्रामस्थल, खानेपानी र बिजुली बत्तीलगायत आवश्यक पूर्वाधारहरू निर्माणमा सरकारले विशेष ध्यान दिनुपर्ने पर्यटन व्यवसायी श्रीराम सिग्देलको भनाइ छ ।

नेपालगन्जदेखि २५ किलोमिटर पूर्व हुलाकी सडकको यात्रा पछि नरैनापुर गाउँपालिका ५ लालपुर आउँछ, त्यहाँबाट करिब ६ किलोमिटर जङ्गलको कच्ची बाटोमा मोटरसाइकल यात्रा गर्नुपर्दछ । त्यसपछि करिब दुई किलोमिटर पैदल यात्रा गर्दै पहाड चढेपछि सन्तानेश्वर मन्दिर पुगिन्छ ।

मन्दिरसम्म पुग्ने सडकको व्यवस्था नहुँदा बृद्धबृद्धा र बालबालिकालाई मन्दिरसम्म पुग्न समस्या हुँदै आएको छ । धार्मिक पर्यटन प्रवर्द्धनका लागि स्थानीय सरकारदेखि प्रदेश र केन्द्रसरकारले विशेष योजना बनाउनुपर्ने माग स्थानीय बासिन्दाको छ ।

प्रकाशित मिति : २०८१ भदौ ४ गते मंगलबार