कोहलपुर ।
कोहलपुरस्थित शिव शक्ति आधारभूत विद्यालयमा सिकलसेल एनिमियाको परीक्षणसँगै विद्यार्थीहरूलाई सचेतना समेत दिइएको छ । आइतबार प्राविधिकहरू विद्यालयमै पुगेर विद्यार्थीको सिकलसेल एनिमिया परीक्षणको लागि रगत लिनुका साथै सचेतना समेत प्रदान गरेका थिए ।
विद्यालयमा अध्ययनरत कक्षा ७ र ८ का विद्यार्थीहरूको सिकलसेल एनिमिया रोग परीक्षणका लागि रगत लिइएको विद्यालयका प्रधानाध्यापक बद्रीनाथ सापकोटाले मिसन टुडेलाई जानकारी दिए । उनका अनुसार कोहलपुर नगरपालिका सिकलसेल एनिमिया प्राविधिक टोलिमार्फत विद्यार्थीहरूको रगत परीक्षण गरिएको थियो ।
विद्यार्थीहरूमा सिकलसेल एनिमिया भए नभएको पत्ता लगाउनको लागि रगत परीक्षण गरिएको सापकोटाले बताए । उनका अनुसार कक्षा ७ र ८ का ५३ जना विद्यार्थीहरूको सिकलसेल एनिमिया पत्ता लगाउनको लागि रगत परीक्षण गरिएको हो ।
गतवर्ष समेत विद्यालयमा अध्ययनरत २ सय ७५ जना विद्यार्थीहरूको सिकलसेल एनिमिया रोगको परीक्षण गरिएको थियो । तीमध्ये १५ जनामा सिकलसेल एनिमिया देखिएपछि उनीहरूले हाल औषधी सेवन गरिरहेको प्रधानाध्यापक सापकोटाले मिसन टुडेलाई जानकारी दिए ।
सिकलसेल एनिमिया रोग न्यूनिकरणका लागि निःशूल्क रूपमा परीक्षणका साथै सचेतना समेत कोहलपुर नगरपालिकाले फैलाइरहेको प्राविधिक बिकल भट्टराइले बताए । सोही अनुसार आइतबार मात्रै शिव शक्ति विद्यालयका ५३ जना विद्यार्थीको रगत संकलन गरिएको बताउँदै दुई दिनभित्र रिपोर्ट आउने उनले जानकारी दिए ।
भेरी अस्पतालका वरिष्ठ कन्सल्टेन्ट फिजिसिएन डा. राजन पाण्डेका अनुसार, रातो गोलाकार रक्तकोषिकाको स्वरूप परिवर्तन भई हँसिया जस्तै आकारमा रूपान्तरण हुने रक्तअल्पता सम्बन्धी रोगलाई सिकलसेल एनिमिया भनिन्छ ।
यो वंशानुगत रोग हो । यो रोग लागेका बिरामीका रक्तकोष हँसिया आकारको हुने भएकाले यसलाई हँसिया रोग पनि भन्ने गरिन्छ । यो वंशानुगत रोग भएकाले जिनमा हुने खराबीले आमाबुबाबाट जन्मिने सन्ततिलाई सर्ने गर्छ । यो रोग लागेको र अरूमा सार्न सक्ने व्यक्तिमा सामान्यतया खासै लक्षण देखिंदैन ।
यो रोग सार्न सक्ने व्यक्तिबीच विवाह भएमा सन्ततिमा देखिन सक्ने डा. पाण्डेले बताए । सरकारले चाहेमा र समुदायले स्विकारेमा १० वर्षमा सिकलसेल एनिमिया नियन्त्रण गर्न सकिने डा. पाण्डेले बताउँछन् । ‘सिकलसेल एनिमिया रोग वंशानुगत भए पनि यसबाट बचाउन सकिन्छ,’ उनी भन्छन्, ‘यसलाई रोक्न सबैभन्दा उत्तम उपचार भनेको बिहे हुनुअघि अनिवार्य रूपमा सिकलसेल एनिमिया परीक्षण गर्नु हो ।’
सिकलसेल एनिमिया र बिटा थालासेमिया भएका व्यक्तिले सन्तान जन्माउँदा ध्यान दिनुपर्ने उनको भनाइ छ । ‘विवाह पूर्व हेमोग्लोबिन इलेक्ट्रोफोरेसिस् जाँच गरी सिकलसेल अर्थात् थालासेमिया कुण्डली मिलाएर वैवाहिक निर्णय गरेमा जीवनभर सिकलसेल रोगबाट बच्न र बचाउन सकिन्छ,’ डा. पाण्डे भन्छन् ।
त्यसै गरी समयमै पहिचान गरेर नियमिति रूपमा औषधि सेवन गरेमा यस रोगबाट बच्न सकिने उनी बताउँछन् । यससँगै नियमित सङ्क्रमण विरुद्ध खोप, नियमित रूपमा रक्तअल्पताको उपचार गराउनुपर्ने उनी बताउँछन् ।
प्रतिक्रिया दिनुहोस्