व्यापारसहित चार क्षेत्र ऋणात्मक



बाँके ।

आर्थिक वृद्धिदर मापन गर्ने कृषि बाहेकका चार महत्वपूर्ण क्षेत्रमा एक साथ ऋणात्मक वृद्धिदर कायम भएको छ । गत आर्थिक वर्षको तेस्रो त्रैमासिक (माघ, फागुन र चैत महिना)मा व्यापार, उत्पादनमूलक उद्योग, निर्माण, खानी तथा खनिज क्षेत्रमा ऋणात्मक वृद्धिदर देखिएको हो ।

राष्ट्रिय तथ्यांक कार्यालयका अनुसार त्रैमासिक कुल गार्हस्थ उत्पादन आधारभूत मूल्यमा अघिल्लो वर्षको सोही त्रैमासिक अवधिको तुलनामा २.२ प्रतिशतले वृद्धि हुने अनुमान गरिएको छ । यो त्रैमासिकमा अर्थतन्त्रको धनात्मक वृद्धि हुनुमा गहुँ, आलु, नगदे बाली तथा फलफूल उत्पादनमा भएको वृद्धिलाई प्रमुख कारणको रूपमा हेरिएको छ ।

त्यस्तै, पर्यटन आगमनमा भएको वृद्धिसँगै होटेल क्षेत्रको कुल मूल्य अभिवृद्धिमा भएको बढोत्तरीले पनि सहयोग पु¥याएको तथ्यांक कार्यालयले उल्लेख गरेको छ । नेपालको अर्थतन्त्रमा कृषि क्षेत्र मात्रैको योगदान २४ प्रतिशत छ । यसका अतिरिक्त निर्माण, उद्योग, व्यापार, खानी तथा उत्खननबाहेकका अन्य क्षेत्रहरूको धनात्मक वृद्धि छ ।

विगतमा आर्थिक वृद्धि न्यून हुनुको प्रमुख कारण कृषि हुने गरेको थियो । यो पटक कृषिले औसतभन्दा बढी वृद्धिदर कायम गर्दा पनि समग्र वृद्धिदर न्यून हुने देखिएको छ । विशेषगरी व्यापार र निर्माण चक्रमा समस्या देखिएको छ । अर्थतन्त्र मापन गर्ने १८ क्षेत्र कृषि पछिको स्थानमा व्यापार रहेको छ । अर्थतन्त्रमा व्यापार क्षेत्रको योगदान करिब १४ प्रतिशतको छ ।

गत आर्थिक वर्षको तेस्रो त्रैमासमा व्यापार क्षेत्र २.७ प्रतिशतले ऋणात्मक छ । त्यस्तै, अर्थतन्त्रमा ५ प्रतिशतको योगदान रहेको निर्माण क्षेत्र ११ प्रतिशतले ऋणात्मक भएको छ । उत्पादनमूलक उद्योग २ प्रतिशत र खानी तथा उत्खनन क्षेत्र ४.८ प्रतिशतले ऋणात्मक छ ।

गत वर्षको तेस्रो त्रैमासमा विद्युत् तथा ग्यास उद्योगसँग सम्बन्धित क्रियाकलापको वृद्धिदर सबभन्दा धेरै ३७.१ प्रतिशत छ । आवास तथा भोजन सेवाको १९.१ प्रतिशत वृद्धिदर सहित दोस्रो धेरै वृद्धि हुने क्षेत्रमा परेको छ । यातायात तथा भण्डारण क्षेत्रमा १५ प्रतिशतको वृद्धिदर रहेको छ ।

त्यसैगरी, अन्य सेवाका क्रियाकलापहरू कला, मनोरन्जन लगायतका क्रियाकलापहरूको वृद्धिदर ८.३ प्रतिशत भएको देखिन्छ । यसका साथै निक्षेप तथा कर्जामा भएको वृद्धिसँगै वित्तीय तथा बीमा सेवाको वृद्धिदर ६.१ भएको छ ।

प्रकाशित मिति : २०८१ साउन ५ गते शनिबार