कोहलपुरमा हरियाली प्रवद्र्धन अभियान सुरु गर्ने श्रेय कोहलपुर नगरपालिकाका तात्कालीन कार्यकारी प्रमुख गोविन्द पाण्डेलाई जान्छ । जनप्रतिनिधिविहीन अवस्थामा प्रमुख कार्यकारी अधिकृत पाण्डेले केही रकम छुट्याएर कोहलपुर नगरपालिकाको बजार क्षेत्रमा वृक्षरोपण गर्ने वातावरण मिलाएका थिए । कोहलपुर नगरपालिका–११ का पूर्व वडाध्यक्ष कर्णबहादुर थापाको संयोजकत्वमा एउटा सर्वदलीय समिति बनाएर कोहलपुर नगरपालिका–११ का विभिन्न क्षेत्रमा वृक्षरोपण गरिएको थियो ।
कोहलपुर ।
कोहलपुर नगरपालिकाले हरित नगर अभियानलाई तीव्रता दिएको छ । नगरपालिकालाई सौन्दर्यीकरण गर्न र यहाँको वातारणीय सन्तुलन कायम राख्न कोहलपुर नगरपालिकाले अभियानअन्तर्गत वृक्षरोपण कार्यक्रमलाई तीव्रता दिएको छ ।
बर्खायाम सुरु भएसँगै वृक्षरोपण अभियानलाई तीव्र पारिएको हो । बर्खामा बिरुवा लगाउन र हुर्काउन सहज हुने भएकाले यही सिजनमा अत्यधिक बिरुवा रोपिएको छ । अन्य समयमा पनि वृक्षरोपण कार्यलाई निरन्तरता दिइने भए पनि यो समयमा लगाउन र हुर्काउन सहज हुने भएकाले बढी बिरुवा रोपिने नगरपालिकाले जनाएको छ ।
अभियानअन्तर्गत नगरपालिकाको सहरी क्षेत्रमा सौन्दर्यीकरणलाई विशेष जोड दिएको छ भने खोलातटीय क्षेत्रमा बाढी र कटानको समस्या कम गर्न भू–क्षय रोक्न सक्ने प्रकृतिका बिरुवा लगाइने भएको छ । ‘हामी सहरी क्षेत्रमा सौन्दर्यीकरण बढाउनेखालका साना प्रजातिका बिरुवा लगाउन जोड दिइरहेका छौँ,’ कोहलपुर नगरपालिकाका प्रमुख पूर्णप्रसाद आचार्य भन्छन्, ‘खोला किनारमा भने वर, पीपल, समीलगायतका ठूला रूख रोप्ने योजना बनाएका छौँ ।’
कोहलपुर नगरभित्र डुडुवा, किरणनाला, रोहिणीखोला जस्ता खोलाहरू बग्ने गरेका छन् जस्ले बर्सेनि बिघौँबिघा खेतीयोग्य भूमि कटान गरिरहेको छ । बर्सेनि हुने यस्तो कटानलाई रोक्नका लागि पनि खोलातटीय क्षेत्रमा ठूला खालका बिरुवा रोप्नु अनिवार्य भएको नगर प्रमुख आचार्यको भनाइ छ । नगरपालिकाले विभिन्न स्थानबाट वर, पीपल, समीजस्ता ठूला प्रजातिका बिरुवा संकलन पनि गरिरहेको उनले जानकारी दिए ।
नगरपालिकाले बजार क्षेत्रमा धुपी, कोनोकार्पस, छतिवनलगायतका बिरुवाहरू लगाइरहेको छ भने अन्य खुला ठाउँ तथा खोला किनारमा भने ठूला प्रकृतिका बिरुवा रोप्ने योजना बनाइरहेको छ । यस्ता २ सयजति बिरुवा रोप्ने तयारी रहेको नगरपालिकाले जनाएको छ ।
कतिपय व्यक्तिहरूले आयातित अन्य प्रजातिका बिरुवा रोप्नुभन्दा नगर क्षेत्रभित्र स्थानीय प्रजातिकै फल र फूल दिने बिरुवा रोप्न आग्रह गर्ने गरेका छन् । तर कोहलपुर नगरपालिकाका नगर प्रमुख आचार्य अहिले नै नगरभित्र यस्ता बिरुवा रोप्ने बेला भइनसकेको बताउँछन् । समाजमा सार्वजनिक सम्पत्तिमाथि अपनत्व लिन सक्ने चेतना वृद्धि भएपछि मात्र सार्वजनिक ठाउँहरूमा त्यस्ता बिरुवा लगाउँदा पनि फरक नपर्ने उनको भनाइ छ ।
‘अहिले सडकमा रोपेका फूलहरू त बच्दैनन्,’ नगर प्रमुख आचार्य भन्छन्, ‘फल लाग्ने बिरुवा लगाएर त्यसको संरक्षण गर्न झन् गाह्रो हुन्छ ।’ भविष्यमा यहाँका नागरिकले यस्ता कुरामा अपनत्व लिन सक्ने वातावरण तयार भयो भने पक्कै पनि यस्ता बिरुवा रोप्ने कुरालाई प्राथमिकता दिइने उनले बताए ।
नगरपालिकाले गत वर्षदेखि नै यो अभियानलाई प्राथमिकताका साथ अगाडि बढाएको छ । अघिल्लो वर्ष कोहलपुर नगरपालिकाले कोहलपुर–८ गोल्छा सिक्टा सिँचाइको नहरदेखि दक्षिण जानकी गाउँपालिकाको सिमानासम्म १४ सय बिरुवा रोपेको थियो । त्यस्तै, न्युरोड, टाउन प्लानिङका विभिन्न स्थान, चौराहादेखि हाइस्कुल, नगरपालिका कार्यालय, विद्यालय, नगर विकास समिति कार्यालयलगायत सरकारी कार्यालयपरिसरमा विभिन्न जातका ३५ सय बिरुवा लगाएको थियो ।
‘बिरुवा लगाउने काम त पहिला पनि भएका थिए,’ नगर प्रमुख आचार्यले भने, ‘तर अहिले हामीले संरक्षणको काम पनि सँगसँगै गरिरहेका छौँ ।’ रोपिएका ९० प्रतिशत बिरुवाहरू संरक्षण गरिएको उनको दाबी छ । बिरुवा लगाउनुभन्दा लगाएका बिरुवा हुर्काउने काम महत्वपूर्ण भएको आचार्यको भनाइ छ ।
‘एउटा बिरुवा हुर्काउन कति कठिन छ भन्ने कुरा अहिले आएर मलाई अनुभूति भइरहेको छ,’ नगर प्रमुख आचार्य भन्छन्, ‘त्यसैले हामी वृक्षरोपण मात्र होइन, तिनको संरक्षणमा पनि उत्तिकै ध्यान दिइरहेका छौँ ।’
यस वर्ष नगरपालिकाले १० हजार नयाँ बिरुवा लगाउने घोषणा गरेको छ । केही क्षेत्रमा वृक्षरोपण गरेर यस अभियानको सुरुवात पनि नगरपालिकाले गरिसकेको छ । मूल्यका हिसाबले भन्दा पनि कामका हिसाबले यो नगरपालिकाको महत्वाकांक्षी योजना जस्तो देखिन्छ । तर नगर प्रमुख आचार्यले बिरुवा लगाउने मात्र नभएर संरक्षणसमेत गरेर देखाउने दाबी गर्छन् । ‘यो वर्ष हामी १० हजार बिरुवा लगाउने योजनामा छौँ,’ नगर प्रमुख आचार्यको दाबी छ, ‘बिरुवा लगाउने मात्र होइन, हामी ती बिरुवाको संरक्षणसमेत गरेर देखाउँछौँ ।’
कोहलपुर नगरपालिकामा २०७२ सालदेखि पहिलो पटक संस्थागत रूपमा हरियाली प्रवद्र्धन अभियान सञ्चालन गरिएको थियो । कोहलपुरमा हरियाली प्रवद्र्धन अभियान सुरु गर्ने श्रेय कोहलपुर नगरपालिकाका तात्कालीन कार्यकारी प्रमुख गोविन्द पाण्डेलाई जान्छ ।
जनप्रतिनिधिविहीन अवस्थामा प्रमुख कार्यकारी अधिकृत पाण्डेले केही रकम छुट्याएर कोहलपुर नगरपालिकाको बजार क्षेत्रमा वृक्षरोपण गर्ने वातावरण मिलाएका थिए ।
कोहलपुर नगरपालिका–११ का पूर्व वडाध्यक्ष कर्णबहादुर थापाको संयोजकत्वमा एउटा सर्वदलीय समिति बनाएर कोहलपुर नगरपालिका–११ का विभिन्न क्षेत्रमा वृक्षरोपण गरिएको थियो । अहिले नगरभित्र हुर्किएका ठूला बिरुवा त्यही अभियानका उपज हुन् ।
नगरपालिकाले हरित नगर अभियानमा नगर प्रहरीलाई पूर्ण रूपमा परिचालित गरेको छ । नगर प्रहरीले नै यसको संरक्षणको काम गर्दै आएको छ । सुक्खा र खडेरीका बेला बिरुवामा मल र पानी हाल्ने, तारबार गर्नेलगायतका काम नगर प्रहरीकै जिम्मामा छ । ‘यो नगरपालिकाकै महत्वपूर्ण अभियान हो,’ नगर प्रहरी प्रमुख वीरबहादुर थापा भन्छन्, ‘त्यसैले यो अभियानमा कोहलपुर नगर प्रहरी समर्पित छ ।’
नगरको हरियाली प्रवद्र्धनलाई कोहलपुर नगरपालिकाले आफ्नो वार्षिक नीति तथा कार्यक्रममै समावेश गरेको छ । सम्पूर्ण नगरबासीको साथ सहयोगको अपेक्षा गर्दै नगरपालिकाले एक घर दुई बिरुवा लगाउन आह्वान पनि गरेको छ ।
नगर प्रमुख आचार्यले सम्पूर्ण नगरबासीलाई नगरपालिकाको यो अभियानमा जोडिन पनि आग्रह गरे । ‘कम्तिमा आफ्नो घर अगाडि दुई वटा बिरुवा लगाउनुहोस््,’ उनले नगरबासीलाई आह्वान गर्दै भने, ‘सक्नुहुन्न भने पनि तपाईंको घरअगाडि नगरपालिकाले रोपिदिएका बिरुवाको संरक्षण भए पनि गरिदिनोस् ।’
प्रतिक्रिया दिनुहोस्