मेडिकल कलेज कोहलपुरमा पुनः बिमा कार्यक्रम सुरु



कोहलपुर मेडिकल कलेजमा बिमा कार्यक्रम स्थगित भएपछि यस क्षेत्रका स्वास्थ्य बिमामा जोडिएका बिरामीहरूलाई भेरी अस्पताल नेपालगन्जसम्म पुग्नुपर्ने बाध्यता थियो । स्वास्थ्य बिमाका सबै बिरामी भेरी अस्पताल जाँदा त्यहाँको सेवासमेत प्रभावित हुने गरेको थियो । तर कोहलपुरमै पुनः बिमा कार्यक्रम सुरु भएपछि यस क्षेत्रका आमनागरिकलाई स्वास्थ्य सेवा लिन सहज भएको छ ।

कोहलपुर।

नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरले मंगलबारदेखि राष्ट्रिय बिमा कार्यक्रम सुरु गरेको छ । कलेजका संस्थापक प्रबन्ध निर्देशक डा. सुरेशकुमार कनौडियाले एक कार्यक्रमका बीच बिमा कार्यक्रम उद्घाटन गरेका हुन् ।

स्वास्थ्य बिमा बोर्डले नेपालगन्ज मेडिकल कलेज कोहलपुरलाई समेत राष्ट्रिय बिमा कार्यक्रममा सूचीकृत गरेपछि नयाँ आर्थिक वर्षको सुरुवातदेखि नै कलेजमा सो सेवा सुरु गरिएको हो । राष्ट्रिय बिमा बोर्डले गत जेठमा नेपालगन्ज मेडिकल कलेज कोहलपुरसहित मुलुकका १० वटा शिक्षण अस्पताल र २ वटा आँखा अस्पताललाई राष्ट्रिय बिमा कार्यक्रममा सूचीकृत गरेको थियो ।

‘आज (साउन १ गते)बाट हामीले पुनः राष्ट्रिय बिमा कार्यक्रमको सुरुवात गरेका छौँ,’ नेपालगन्ज मेडिकल कलेज कोहलपुरका निर्देशक डा. रेशमबहादुर रानाले भने, ‘आम विपन्न नेपालीले पनि स्वास्थ्य सेवा प्राप्त गर्न सकून भन्ने उद्देश्यले हामीले यो सेवा पुनः सुरु गरेका हौँ ।’

सरकारले बिमा कार्यक्रम लागू गरेदेखि नै यो कार्यक्रमसँग जोडिएको नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा गत वर्षदेखि बिमा कार्यक्रम स्थगित गरिएको थियो । विभिन्न झमेला बेहोर्नुपरेको र बोर्डले समयमै भुक्तानी नदिएको भन्दै बिमामा आबद्ध निजी मेडिकल कलेजहरू यसबाट बाहिरिएका थिए ।

पुनः सूचीकृत भएपछि यस आवदेखि नेपालगन्ज मेडिकल कलेज कोहलपुर पुनः बिमा कार्यक्रममा जोडिएको हो । बिमा कार्यक्रमबाट आफूहरूलाई प्रत्यक्ष फाइदा नभए पनि आम जनताको स्वास्थ्यसँग जोडिएको विषय भएकाले कलेजले सामाजिक उत्तरदायित्व बहन गर्ने हिसाबले पनि यो कार्यक्रम पुनः सुरु गरेको रानाले बताए । यसबाट अस्पतालमा बिरामीहरूको फ्लो बढ्ने रानाले बताए । बिमा कार्यक्रम सुरु भएसँगै मंगलबारदेखि नै मेडिकल कलेज कोहलपुरमा बिरामीको चाप बढेको छ ।

विगतमा कुरा बुझ्न र बुझाउन नसक्दा यसबाट अस्पताल र सेवाग्राही दुवै पक्षले धेरै झमेला व्यहोर्नुपर्ने अवस्था सिर्जना भएकाले आगामी दिनमा स्पष्ट बुझेर र सबैखाले औपचारिकता पूरा गरेर मात्र उपचारका लागि अस्पताल आउन उनले स्वास्थ्य बिमा कार्यक्रमका बिमितहरूलाई आग्रह गरे ।

‘विगतमा कतिपय भ्रमहरू सिर्जना हुँदा यो कार्यक्रमबाट अस्पताल र सेवाग्राही दुवैलाई झमेला भयो,’ अस्पताल निर्देशक डा. रानाले भने, ‘त्यसैेले सेवा सुविधाबारे स्पष्ट भएर र सबै कागजी प्रक्रिया पूरा गरेर मात्र अस्पताल आउन म सेवाग्राहीलाई आग्रह गर्दछु ।’

नेपाल सरकारका स्वीकृति प्राप्त अस्पतालहरूबाट प्रथम स्वास्थ्य सेवा लिएर त्यहाँ उपलब्ध नभएका सेवाहरूका लागि रिफर भएर आए मात्र उपचार गर्न पाइने उनले बताए । ‘प्रथम स्वास्थ्य बिन्दुबाट लेखिएको रिफरल लेटरमा स्पष्ट रूपमा तोकिएको अस्पतालबाट मात्र तोकिएको सेवा लिन सकिन्छ,’ उनले भने, ‘बिरामीले बिमाबापत आफूले पाउने सेवा सुविधाका बारेमा सुरुमै स्पष्ट हुनुपर्छ । तब मात्र उपचारका लागि दुःख पाउनुपर्दैन ।’

विगतमा बिमितहरू धेरै कुरामा स्पष्ट नहुँदा अनावश्यक रूपमा दुःख र झन्झट व्यहोर्नुपर्ने अवस्था आएको उनको भनाइ छ । ‘विगतमा एउटा अस्पतालबाट रिफर हुने अर्को अस्पतालमा सेवा लिने दिने गर्दा धेरै झमेला भयो,’ उनले भने, ‘अब यहाँ उपचारमा आउने स्वास्थ्य बिमा कार्यक्रमका बिमितहरूले स्पष्ट रूपमा प्रथम सेवा अस्पतालबाट ‘लर्ड बुद्ध एजुकेशनल एकेडेमी, नेपालगन्ज मेडिकल कलेज कोहलपुर’का नाममा रिफरल लेटर ल्याउनुपर्नेछ ।’

सबै औपचारिकता पूरा गरेर आएका बिमितहरूले तीन किसिमबाट सेवा लिन सक्ने व्यवस्था बिमा कार्यक्रममा भएको उनले जानकारी दिए । पहिलो त ओपिडी सेवा, दोस्रो, डेली प्याकेजमा दुई दिनसम्मको सेवा र तेस्रो भर्ना भएरै सेवा लिन सकिने व्यवस्था गरिएको उनले बताए । तर यसपटक ‘कोपे’अन्तर्गत स्वास्थ्य बिमाका बिमितहरूले जम्मा बिल रकमको निजी अस्पतालहरूमा २० प्रतिशत र सरकारी अस्पतालहरूमा १० प्रतिशत नगद तिर्नुपर्ने व्यवस्था गरिएको डा. रानाले बताए ।

‘यो बिमा कार्यक्रम भनेको आर्थिक रूपमा विपन्न र स्वास्थ्यमा पहुँच नभएका बिरामीहरूसम्म स्वास्थ्य सेवा पु¥याउने उद्देश्यले सञ्चालन गरिएको हो,’ डा. रानाले भने, ‘तर विगतमा स्वास्थ्यमा पहुँच भएका र कुनै बिरामी नै नभएका व्यक्तिले समेत यसको दुरूपयोग गर्ने गरेका कारण अनावश्यक रूपमा त्यस्ता व्यक्तिहरू अस्पताल नआउन् भनेर यो शुल्कको व्यवस्था गरिएको हो ।’

विगतमा लक्षित वर्गका बिरामीभन्दा पनि सद्दे व्यक्तिहरुले बिमाको सुविधा दुरुपयोग गर्ने गरेको पाइएको उनले बताए । अस्पतालका तर्फबाट विगतमा देखिएका कमीकमजोरीहरूलाई सुधार गर्दै बिमा कार्यक्रममार्फत बिमितहरूलाई सहज ढंगले सेवा उपलब्ध गराउने प्रयास अस्पतालको रहने डा. रानाको दाबी छ । बिमा कार्यक्रममा सूचीकृत सबैखाले औषधि अस्पतालमा उपलब्ध हुने पनि उनले जानकारी दिए ।

सन् २०१८ देखि २०२३ सम्म पाँच वर्ष निरन्तर स्वास्थ्य बिमा कार्यक्रम लागू गरेको नेपालगन्ज मेडिकल कलेज कोहलपुरले यो अवधिमा ३७ हजार ५ सय १० जनाभन्दा बढी बिमामा आबद्ध बिरामीलाई सेवा दिएको अस्पतालले जनाएको छ ।

बिमा कार्यक्रमअन्तर्गत उपचार गर्न अस्पताल आउनेमा सबैभन्दा बढी मेडिसिनसम्बन्धी बिरामी नै हुने गरेको डा. रानाले जानकारी दिए । स्वास्थ्य बिमा कार्यक्रमका लागि अस्पतालले छुट्टै युनिट खडा गरेर स्वास्थ्य बिमाका बिरामीहरूलाई उपचार गर्दै आएको छ ।

गत वर्षदेखि कोहलपुर मेडिकल कलेजमा बिमा कार्यक्रम स्थगित भएपछि यस क्षेत्रका स्वास्थ्य बिमामा जोडिएका बिरामीहरूलाई भेरी अस्पताल नेपालगन्जसम्म पुग्नुपर्ने बाध्यता थियो । स्वास्थ्य बिमाका सबै बिरामी भेरी अस्पताल जाँदा त्यहाँको सेवासमेत प्रभावित हुने गरेको थियो । तर कोहलपुरमै पुनः बिमा कार्यक्रम सुरु भएपछि यस क्षेत्रका आमनागरिकलाई स्वास्थ्य सेवा लिन सहज भएको छ ।

नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा मंगलबारदेखि पुनः सुरु भएको स्वास्थ्य बिमा कार्यक्रममा दुई जना बिमामा आबद्ध बिरामीहरूले मात्र सेवा लिएका छन् । पालिका सरकारले केही कडा खालका प्रावधान राखेकाले उपचारका लागि आएका बिरामीले पनि डकुमेन्ट नमिलेका कारण उपचार पाउन नसकेको नेपालगन्ज मेडिकल कलेज कोहलपुरका जनसम्पर्क अधिकृत रामकृष्ण हमालले जानकारी दिए ।

‘आउन त बिमामा आबद्ध धेरै जना बिरामी आउनुभएको थियो तर डकुमेन्ट पूरा नभएका कारण दुई जनाबाहेक अरूले सेवा लिन सक्नुभएन,’ अधिकृत हमालले भने ।

प्रकाशित मिति : २०८१ साउन २ गते बुधबार