खुट्टाले लेखेरै एसइईमा २ दशमलव ९२ जिपिए !



‘एकपटक असफल भइयो भन्दैमा मनमा गलत विचार नल्याउनुहोला, गलत कदम नचाल्नुहोला,’ उमेशले एसइईमा असफल हुने साथीहरूलाई सम्बोधन गर्दै भनेका छन्, ‘सरकारले एनजी लागेका विद्यार्थीहरूलाई पनि यसपटक मौका परीक्षा दिने व्यवस्था गरेको छ । यसको सदुपयोग गरेर मेहनत गर्नुहोला, सफलता अवश्य मिल्नेछ ।’

कोहलपुर ।

भनिन्छ, शरीरका दुई अंगमध्ये एक अंगमा कमजोरी भयो भने त्यो अंगको समेत शक्ति अर्को अंगमा सर्छ र उसले एकै अंगले पनि दुई अंगले गर्ने काम सहजै गर्न सक्छ । अर्थात उसको एक पक्षको अशक्तता अन्य पक्षमा सशक्तततामा परिणत भएको हुन्छ । शारीरिक अपांगताले मानिसको मानसिक स्थितिलाई अझ मजबुत बनाउन मद्दत गर्छ ।

यो कुराका उदाहरण विश्वमा धेरै पाइन्छन् । हाम्रै देशका साहित्यकार झमक घिमिरे, गायिका मेनुका पौडेललगायत धेरै यस्ता उदाहरण छन् जसले शारीरिक अशक्ततताका बाबजुद उदाहरणीय काम गरेका छन् । आफ्नो प्रतिभा र क्षमताको उपयोगबाट उनीहरू समाजमा योगदान दिइरहेका छन् । यसै मेसोमा बाँकेको राप्ती सोनारी गाउँपालिका–मदुवाका १८ वर्षीय उमेश खत्री पनि थपिएका छन् ।

खत्री शारीरिक रूपमा अशक्त छन् । उनका दुवै हात चल्दैनन् । खुट्टामा पनि समस्या छ । तथापि हातले गर्नुपर्ने काम उनले आफ्नो खुट्टाले गर्दै आएका छन् । हातले केही काम गर्न नसके पनि उनी खुट्टाले लेखेरै २०८० सालको एसइईमा २ दशमलव ९२ जिपिएसहित उत्तीर्ण भएका छन् । लक्ष्मी मावि मदुवाबाट एसइईमा सहभागी भएर उनले खुट्टैले लेखेर २ दशमलव ९२ जिपिएसहित उत्तीर्ण गरेका हुन् ।

प्राविधिक धारतर्फ कृषि बाली विज्ञानबाट उमेशले एसइई उत्तीर्ण गरेका छन् । साधारणतर्फ ५८ जना विद्यार्थीमध्ये ५ जना उत्तीर्ण भएका थिए भने प्राविधिक धारतर्फ ४७ जना विद्यार्थीले एसइई दिएकोमा उमेशसहित ७ जना मात्र उत्तीर्ण भएका छन् ।

एसइईमा सफलता मिलेपछि उमेशलगायत परिवारमा खुसी छाएको छ । उमेशकी आमा गोमा खत्री भन्छिन्– ‘कतिपय सपांगले पनि परीक्षा पास गर्न नसकिरहेका बेला मेरो छोरा अपांग भएर पनि एसइईमा राम्रो रिजल्ट ल्याउन सफल भएको छ । यसले हामीलाई अत्यन्तै खुसी दिएको छ ।’

उनले छोराले अगाडि जति पढे पनि पढाउन आफूहरू तयार रहेको बताइन् । उमेशले पनि आफ्नो यो सफलताका पछाडि बाआमा, भाइ, छिमेकी र विद्यालयका गुरु तथा साथीभाइ सबैको सहयोग र सद्भाव रहेको बताए ।

उमेश हातले गर्नुपर्ने कुनै काम पनि गर्न सक्दैनन् । यतिसम्म कि उनका लागि खाना खुवाउनेदेखि व्यक्तिगत सरसफाइसम्मको जिम्मेवारी आमा गोमाले गर्दै आएकी छन् । उमेशलाई तयार गरेर स्कुलसम्म पु¥याउने काम पनि गोमाकै हो । उमेशका बाबा जागिरका क्रममा नवलपरासीमा छन् । परिवारमा उमेशभन्दा सानो एउटा भाइ र आमा छन् ।

उनीहरूले नै उमेशका लागि सबै सुविधा जुटाइदिँदै आएका छन् । उमेश जन्मँदै हात र खुट्टा नचल्ने अवस्थामा जन्मिएका थिए । सानोमा खासै वास्ता नभए पनि ५–६ वर्षको उमेरमा परिवारले उनलाई काठमाडौँ लगेर उपचार गरे । उपचारपछि खुट्टामा केही सुधार आयो । उनी सामान्य हिँडडुल गर्न सक्ने भए । तर हातमा भने खासै सुधार आउन सकेन । जसले गर्दा उनले हातको सट्टा खुट्टाले नै लेख्ने अभ्यास गर्न थाले । फलस्वरूप उनले यो सफलता प्राप्त गरेका हुन् ।

‘सामान्य मान्छेले गर्न नसकेको काम मैले गर्न पाउँदा अत्यन्तै खुसी छु,’ उनले भने, ‘कति साथी मसँगै एसइई दिए पनि सफल हुनुभएन,’ उमेशले भने, ‘मैले खुट्टाले नै लेखेर एसइई उत्तीर्ण गर्दा सबै जनाले बधाई दिइरहनुभएको छ, यसले मलाई अझै प्रोत्साहन गरेको छ ।’ सबैले आफूलाई माया र सहयोग गरेकाले आफू शारीरिक रूपमा अशक्त छु भन्ने नै बिर्सने गरेको उनको भनाइ छ । ‘यसले मलाई थप अगाडि बढ्न हौसला मिलेको छ ।’

यो सफलतापछि उमेशलाई चाहेको विषयमा आगामी अध्ययन अगाडि बढाउने बाटो खुलेको छ । उनी पनि थप अध्ययन जारी राख्दै सरकारी जागिरको तयारी गर्न चाहन्छन् । कोही सहयोगी मनहरू भए ११ कक्षा पढ्नका लागि बाहिर राम्रो ठाउँमा जाने विचार रहेको उनले बताए ।

‘कसैले सहयोग गरिदिए त राम्रो सहरमा गएर थप अध्ययन गर्ने रहर थियो, तर म एक्लै गएर पनि भएन, मसँग मेरो हेरविचार गर्न मम्मी पनि जानुप¥यो, डबल खर्च हुने भयो,’ उमेशले भने, ‘कतैबाट सहयोग जुटेन भने पनि यही स्कुलमा अध्ययन गर्छु, यही स्कुलमा अझै धेरै मेहनत
गर्छु ।’ पढेर सरकारी सेवामा प्रवेश गरेर बुबा आमाको सपना पूरा गर्ने उनको चाहना छ ।

‘शारीरिक अशक्तताका कारण खुवाउने, दिसा–पिसाब गराउने, कपडा लगाइदिने, नुहाइदिने लगायतका हातले गर्नुपर्ने काम सबै अरूले गरिदिनुपर्दा भने कहिलेकाहीँ खिन्न हुने गरेको उनले बताए । ‘घरमा सबै काम आमाले गरिदिनुहुन्छ, स्कुल आउँदा शिक्षक र साथीभाइहरूले सहयोग गरिदिनुहुन्छ,’ उनले भने, ‘शिक्षक र साथीभाइहरू अत्यन्तै मिलनसार हुनुहुन्छ, मैले सबैबाट धेरै सहयोग पाएको छु ।’

डाक्टरहरूका अनुसार उनको उपचार नेपालमा सम्भव नभए पनि विदेशमा भने सम्भव नभएको होइन तर विदेश गएर उपचार गराउन सक्ने उनको परिवारको आर्थिक अवस्था छैन । ‘मेरो हातको उपचार नेपालमा सम्भव छैन भनेर चिकित्सकले भनेका छन्, विदेशमा गएर उपचार गर्ने परिवारको स्थिति छैन,’ उनले भने, ‘कसैले सहयोग गरेर उपचार गराइदिए अत्यन्तै आभारी हुने थिएँ ।’

उनले लेख्ने मात्र होइन, खुट्टैले मोबाइल चलाउने, कम्प्युटर चलाउनेलगायतका काम गर्दै आएका छन् । ‘कहिलेकाहीँ त फुटबल पनि खेल्छु,’ उनले भने, ‘तर कुनै पनि काम धेरै समयसम्म गर्न सक्दिनँ । अप्ठ्यारो हुन्छ, लामो समयसम्म उभिन र हिँडडुलसमेत गर्न सक्दिनँ ।’

उमेश सानैदेखि जेहेन्दार, मिहिनेत र अनुसासित विद्यार्थी भएको लक्ष्मी माविका प्रधानाध्यापक लक्ष्मण आचार्यको भनाइ छ । शारीरिक अवस्था त्यस्तो हुँदा पनि उनले कहिल्यै आफू कमजोर भएको महसुस नगरेको प्रधानाध्यापक आचार्य बताउँछन् ।

उमेशमा ठूलो आत्मविश्वास भएको उनलाई लाग्छ । ‘एसइई दिने समयमा शारीरिक अशक्त भएका व्यक्तिलाई सहयोगीमार्फत परीक्षा दिने व्यवस्था छ, हामीले आग्रह ग¥यौँ,’ प्रधानाध्यापक आचार्यले भने, ‘तर उमेशले मानेनन्, आफैँले खुट्टाले नै लेखेर परीक्षा दिए ।’

कुनै संघसंस्थाको सहयोग पाए उमेशको बाहिर राम्रो सहरमा गएर अध्ययन गर्ने रहर भएको तर घरको स्थिति राम्रो नभएको उनले बताए । ‘कुनै सहयोगी संघसंस्थाको सहयोग पाएर बाहिर अध्ययन गर्न गए भने ठिकै छ,’ आचार्यले भने, ‘नभए उनलाई विद्यालयले नै यहीँ निःशुल्क अध्ययन गर्ने व्यवस्था गर्छ ।’

आफूसँगै यसवर्ष एसइई दिएर असफल भएका साथीहरूलाई मेहनत गरेर आफ्नो भविष्य उज्ज्वल बनाउन उमेशले आग्रह गरेका छन् । ‘एकपटक असफल भइयो भन्दैमा मनमा गलत विचार नल्याउनुहोला, गलत कदम नचाल्नुहोला,’ उनले एसइईमा असफल हुने साथीहरूलाई सम्बोधन गर्दै भनेका छन्, ‘सरकारले एनजी लागेका विद्यार्थीहरूलाई पनि यसपटक मौका परीक्षा दिने व्यवस्था गरेको छ । यसको सदुपयोग गरेर मेहनत गर्नुहोला, सफलता अवश्य मिल्नेछ ।’

प्रकाशित मिति : २०८१ असार १९ गते मंगलबार