टायरमा मोटरसाइकल ठोक्किँदा एकको मृत्युः बाँसगढीमा प्रहरी र स्थानीयबीच विवाद



प्रहरीको गाडीबाट खसेको टायरका कारण दुर्घटना भएकाले त्यसको जिम्मेवारी प्रहरीले लिनुपर्ने भन्दै स्थानीय आन्दोलनमा उत्रिएका छन् । बाँसगढी प्रहरीले भने टायर प्रहरीको गाडीबाट खसेको नभएर पहिल्यैदेखि सडकमा खसेको टायरमा ठोकिएर दुर्घटना भएको जिकिर गर्दै आइरहेको छ ।

कोहलपुर ।

बाँसगढी नगरपालिका–३ स्थित लखनाचोक नजिक मंगलबार राति प्रहरीको गाडीबाट खसेको टायरका कारण दुर्घटना हुँदा मानिसको मृत्यु भएको भन्दै स्थानीयबासी आन्दोलित भएका छन् । प्रहरीको गाडीबाट खसेको टायरका कारण दुर्घटना भएकाले त्यसको जिम्मेवारी प्रहरीले लिनुपर्ने भन्दै उनीहरू आन्दोलनमा उत्रिएका हुन् ।

तर प्रहरीले भने दुर्घटना प्रहरीको गाडीबाट खसेको टायरका कारण नभएर पहिल्यैदेखि सडकमा खसेको टायरमा ठोक्किएर दुर्घटना भएको जनाएको छ । मंगलबार राति करिब १० बजेतिर बाँसगढी नगरपालिका–३ स्थित लखनाचोक नजिक मोटरसाइकल दुर्घटना हुँदा एक जनाको घटनास्थमै मृत्यु भएको थियो भने एक जना घाइते भएका थिए ।

कोहलपुरबाट बाँसगढीतिर जाँदै गरेको रा७प ४५५४ मोटरसाइकल सडकमा खसेको टायरमा ठोक्किएर दुर्घटना हुँदा बाँसगढी नगरपालिका–४ का तौहित जागाको मृत्य भएको थियो भने सोही स्थानका सफिक जागा घाइते भएका छन् ।

घटना विवरण अनुसार राति करिब १० बजेतिर इप्रका बाँसगढीको गाडी लखनाचोकदेखि दक्षिणतिर रहेको गाउँमा गस्ती गरेर फर्किंदै थियो । गाडी राजमार्गमा प्रवेश गरेर अलिकति अगाडि बढ्नेबित्तिकै पूर्वतिरबाट आएको मोटरसाइकल दुर्घटना भयो । दुर्घटना सडकमा खसेको गाडीको टायरका कारण भएको थियो ।

दुर्घटनास्थलनजिकै घर भएका किसुन चौधरीले प्रहरीको गाडी राजमार्गमा पुग्नेबित्तिकै टायर खसेको र त्यो थाहा पाएर प्रहरी गाडीबाट झर्न नपाउँदै मोटरसाइकल झ्याम्मै त्यसैमा ठोकिएर दुर्घटना भएको बताए । आफ्नो घर नजिकैै भएकाले आफूले सबै कुरा देखेको उनको दाबी छ ।
उनका अनुसार दुर्घटनालगत्तै प्रहरीले सोही गाडीमा घाइते दुवै जनालाई उपचारका लागि नेपालगन्ज शिक्षण अस्पताल कोहलपुर लिएर आएको थियो । चौधरी पनि प्रहरीकै गाडीमा घाइतेलाई लिएर अस्पताल आएका थिए ।

दुर्घटनालगत्तै घटनास्थलमा पुगेका सफिकका दाजु जाकिर अलि जागाले सुरुमा प्रहरीले पनि आफ्नो गाडीबाटै टायर खसेको स्वीकार गरे पनि पछि भनाइ फेरेको आरोप लगाएका छन् । ‘सर हाम्रै गाडीको टायर हो, तर यस विषयमा पछि कुरा गरौँला,’ प्रहरीको भनाइ उद्धृत गर्दै उनले भने, ‘पहिला तपाईं आफ्नो भाइको उपचारमा ध्यान दिनुस् ।’

प्रहरीले त्यति भनेकाले आफू अस्पताल आएको तर प्रहरीले भने पछि कुरा फेरेको उनले बताए । सुरुमा आफ्नो टायर भएको स्वीकार गरेको प्रहरीले बिहानदेखि टायर आफ्नो गाडीको नभएको दाबी गरिरहेको उनले बताए । करिब १० बजेको घटनाको मुचुल्का प्रहरीले राति १ बजेमात्रै गरेको पनि उनले जानकारी दिए ।

उनले प्रश्न गर्दै भने, ‘करिब १० बजेतिरको घटनाको किन राति १ बजे मात्रै मुचुल्का गरियो ? जो रक्षक हो उही भक्षक बनेर आएपछि हामी कोसँग न्याय माग्न जाने ?’ मुचुल्का गर्नुअगावै घटनास्थलबाट प्रहरीले टायर उठाएर लगेको पनि पीडितहरुले आरोप लगाएका छन् ।
तर प्रहरीले भने टायर प्रहरीको गाडीबाट खसेको नभएर पहिल्यैदेखि सडकमा खसेको टायरमा ठोकिएर दुर्घटना भएको जिकिर गर्दै आइरहेको छ ।

इलाका प्रहरी कार्यालय बाँसगढीका प्रहरी निरीक्षक रुपेश शाहले प्रहरीको गाडी राजमार्गमा प्रवेश गर्नेबित्तिकै सडकमा टायर खसेको देखेर ‘ए सडकमा टायर खसेको रहेछ’ भनेपछि ड्राइभरले गाडी केही घुमाएर अगाडि बढाएर रोकेको र त्यहीबेला मोटरसाइकल आएर टायरमा ठोकिएको बताए ।

उनले घटना हुँदै गर्दाको प्रत्यक्षदर्शी कोही नभएको तर घटनापछि जम्मा भएका स्थानीयबासीले प्रहरीकै गाडीबाट टायर खसेको भनेर दाबी गरिरहेको उनले बताए । ‘गाडीमा म त थिइनँ, हाम्रो असईसाबको नेतृत्वमा टोली गस्ती गएको थियो,’ उनले भने, ‘मलाई दिइएको जानकारी अनुसार टायर प्रहरीको गाडीबाट खसेको होइन, पहिल्यै खसेको थियो । त्यो देखेर प्रहरीले त्यसलाई क्लिएर गर्न जानुअगावै दुर्घटना हुन पुगेको
हो ।’

यही विवादबीच बुधबार दिनभरि नै इलाका प्रहरी कार्यालय बाँसगढीमा स्थानीयबासीले धर्ना दिएका थिए । राजनीतिक दलका नेता, सामाजिक कार्र्यकर्ता, स्थानीय जनप्रतिनिधिसहित बाँसगढी पुगेका स्थानीयबासीले प्रहरीकै गाडीबाट टायर खसेको स्पष्ट भएकाले यो कुरालाई स्वीकार गरेर प्रहरीले निकास खोज्नुपर्ने बताएका थिए ।

पूर्व राज्यमन्त्री दलबहादुर सुनार, बाँसगढी नगरपालिकाका प्रमुख खड्कबहादुर खड्का, पूर्वमेयर शालिकाराम अधिकारी, पूर्वउपमेयर सुष्मा चौधरी, बाँसगढी उद्योग बाणिज्य संघका अध्यक्ष बद्रीनाथ बराललगायत स्थानीयबासीले प्रहरीकै कमजोरी देखिएकाले पीडितलाई राहत मिल्नेगरी चाँडो निकास खोज्न आग्रह गरेका थिए ।

जिल्ला प्रहरी कार्यालय बर्दियाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डिएसपी) तुल्सीराम अर्यालसँग स्थानीय अगुवाले दिनभरि वार्ता गरे पनि सफल हुन सकेन । प्रहरीले कुनै पनि हातलमा जिम्मेवारी नलिने र स्थानीयबासीले प्रहरीले नै जिम्मेवारी लिनुपर्ने अडान लिएपछि वार्ता सफल हुन सकेको थिएन ।

डिएसपी अर्यालले दुर्घटनाका पीडित परिवारलाई सहयोग जुटाउने कुरामा प्रहरीले सहजीकरण गरे पनि टायर प्रहरीको गाडीबाट खसेको कुरा मान्न भने अस्वीकार गरे । ‘छानबिन नगरीकन कसैले भनेकै भरमा कसरी थाहा हुन्छ ?’ उनले भने, ‘हामी छानबिन समिति गठन गरेर यसको छानबिन गर्छौं ।’

डिएसपी अर्र्यालसँग स्थानीय अगुवाहरूले पटक–पटक वार्ता गर्दा पनि कुरा नमिलेपछि पीडितहरूले साँझ राजमार्गमा चक्काजाम गर्दै प्रहरीविरुद्ध नाराबाजी गरेका थिए । उनीहरूले टायर बालेर केही समय राजमार्ग अवरुद्ध गरेका थिए ।

डिएसपी अर्याल नेतृत्वको टोलीले केही निकास दिन नसकेपछि पीडितका परिवारसहित स्थानीय अगुवाहरू जिल्लामा गएर प्रमुख जिल्ला अधिकारी र एसपीसँग वार्ता गर्ने सहमति भएको छ ।

प्रहरीले स्वीकार गरेर पीडितलाई राहत दिने प्रतिबद्धता नजनाएसम्म मृतकको दाहसंस्कार नगरिने पीडितले जनाएका छन् । मृतकको शव हाल नेपालगन्ज शिक्षण अस्पताल कोहलपुरमा राखिएको छ भने घाइतेको पनि सोही अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित मिति : २०८१ असार १४ गते बिहीबार