नगर सभालाई सम्बोधन गर्दै नगर प्रमुख आचार्यले जनतामा स्थानीय निकायप्रति आशा भरोसा जगाउने गरी नगरपालिकाले आफ्ना नीति तथा कार्यक्रम सार्वजनिक गर्दै आएको बताए । सीमित स्रोतहरूबाट नागरिकका असीमित आवश्यकता पूर्णरूपमा पूरा गर्न नसकिए पनि नगरपालिकाको सामाजिक, आर्थिक विकासका लागि वर्तमान सरकार दृढताका साथ अघि बढेको उनको भनाइ छ ।
कोहलपुर ।
कोहलपुर नगरपालिकाले शिक्षा क्षेत्रको सुधारलाई प्राथमिकतामा राख्दै आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम एवम् अनुमानित आय–व्यय विवरण सार्वजनिक गरेको छ । सोमबार कोहलपुर नगरपालिकाको १५औँ अधिवेशनको पहिलो नगर सभामा नगर प्रमुख पूर्णप्रसाद आचार्यले आगामी वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेका छन् भने उपप्रमुख संगीता सुबेदीले आगामी आर्थिक वर्षको अनुमानित बजेट प्रस्तुत गरेकी थिइन् ।
नगर प्रमुख आचार्यले प्रस्तुत गरेको नीति तथा कार्यक्रमलाई कोहलपुर नगरपालिकाको नगर सभाले सर्वसम्मत रूपमा पास गरेको छ । नगर सदस्यहरूबाट प्राप्त सुझावहरूलाई समेट्ने गरी नीति तथा कार्यक्रम सभाबाट सर्वसम्मत रूपमा पास भएको हो ।
नगर सभालाई सम्बोधन गर्दै नगर प्रमुख आचार्यले जनतामा स्थानीय निकायप्रति आशा भरोसा जगाउने गरी नगरपालिकाले आफ्ना नीति तथा कार्यक्रम सार्वजनिक गर्दै आएको बताए । सीमित स्रोतहरूबाट नागरिकका असीमित आवश्यकता पूर्णरूपमा पूरा गर्न नसकिए पनि नगरपालिकाको सामाजिक, आर्थिक विकासका लागि वर्तमान सरकार दृढताका साथ अघि बढेको उनको भनाइ छ ।
चालु आर्थिक वर्षमा नगरपालिकाले लिएका नीति तथा कार्यक्रमको समीक्षा गर्दै नगर प्रमुख आचार्यले शिक्षा क्षेत्रमा सुधार गर्न र बालबालिकाको शिक्षाको हक सुनिश्चित गर्न योगदान दिइएको, शैक्षिक गुणस्तर सुधार गर्न विकृति नियन्त्रणका लागि कदम चालिएको र परीक्षा प्रणालीलाई व्यवस्थित र मर्यादित बनाउने प्रयास भएको बताए । शिक्षा क्षेत्र सुधारका लागि सबैभन्दा बढी ३३ वटा बुँदामा नीति तथा कार्यक्रममा प्रस्तुत गरिएको छ ।
आगामी दिनमा पनि नागरिकका आधारभूत आवश्यकताका रूपमा रहेका शिक्षा, स्वास्थ्य, कृषि, खानेपानीलगायतका कार्यक्रमलाई प्राथमिकतामा राखिएको उनको भनाइ छ । नगर प्रमुख आचार्यले नगर सभामा प्रस्तुत गरेको आगामी नीति तथा कार्यक्रममा समृद्ध कोहलपुर नगर विकासको प्रस्थान विन्दुको रूपमा आठबुँदे मार्गनिर्देशक सिद्धान्त अगाडि सारेका छन्् ।
जसमा गुणस्तरीय शिक्षामार्फत सीपयुक्त र प्रतिस्पर्धी जनशक्ति उत्पादन, सुलभ, गुणस्तरीय र पहुँचयोग्य स्वास्थ्य सेवा सुनिश्चितता, उत्पादनमा आधारित व्यावसायिक र आधुनिक कृषि प्रणाली अवलम्बन, दिगो, पर्यावरणमैत्री र योजनाबद्ध पूर्वाधार विकास रहेका छन् ।
त्यसैगरी, सामाजिक, न्यायपूर्ण, समावेशी तथा समतामूलक समाजको निर्माण, विभिन्न तहका सरकार र निजी क्षेत्रसँगको समन्वय, साझेदारी र सहकार्य, सुशासन, सदाचार र पारदर्शी सेवा प्रवाह र प्रविधिमैत्री, सूचना तथा ज्ञानमा आधारित व्यवस्थापनलाई कोहलपुर नगरपालिकाले आफ्ना मार्ग निर्देशक सिद्धान्तका रूपमा अगाडि सारेको छ ।
भौतिक पूर्वाधार, आर्थिक विकास, कृषि, स्वास्थ्य, शिक्षा, पर्यटन विकास, खेलकुद, वातावरणलगायतका क्षेत्रलाई आगामी नीति तथा कार्यक्रममा समेटिएको छ । आर्थिक विकासका लागि नगरभित्र सञ्चालित विभिन्न उद्योग व्यवसायहरूलाई करको दायरामा ल्याउन उद्योग बाणिज्य संघलगायतका संस्थासँग समन्वय गरी व्यवसाय दर्ता अभियान सञ्चालन गरिने जनाइएको छ । साथै स्थानीय स्तरमा लगानी प्रवद्र्धन गर्न स्थानीय आर्थिक विकास संवाद समिति गठन गरिने बताइएको छ ।
नगरभित्र सञ्चालित गैरसरकारी संस्थाहरूलाई नियमन गर्न गैरसरकारी तथा सामुदायिक संघसंस्थाका कार्यक्रम तथा बजेट नगरपालिकामा अनिवार्य रूपमा पेस गर्नुपर्ने व्यवस्था गरिएको छ । त्यस्तै, कोहलपुरलाई पर्यटकीय आकर्षणको केन्द्र बनाउन पर्यटकीय सम्भावना बोकेका बाँके राष्ट्रिय निकुञ्ज अन्तर्गतको हात्तीसार, भ्यूटावरलगायत अन्य धार्मिक एवम् पर्यटकीय स्थलहरूको सम्भाव्यता अध्ययन गरी त्यस्ता स्थानहरूको व्यापक प्रचारप्रसार गरिने भएको छ ।
कृषि क्षेत्रको आधुनिकीकरण गर्दै उत्पादन तथा उत्पादकत्व वृद्धि गर्ने नीति नगरपालिकाले लिएको छ । प्रदेश सरकारसँगको साझेदारीमा बाली तथा पशु बिमा कार्यक्रम कार्यान्वयन गरिने, नगर क्षेत्रभित्र कृषि पेसामा आबद्ध किसानहरूको सूचीकरण गर्दै किसान परिचयपत्र वितरण गर्ने, बाँझो जमिन तथा खाली बगरकोे पहिचान गरी सुहाउँदो फलफूल तथा तरकारी खेतीलाई प्रोत्साहित गर्न अनुदानको व्यवस्था मिलाउने नीति कोहलपुर नगरपालिकाले लिएको छ ।
वैदेशिक रोजगारीबाट फर्केका तथा उनीहरूका परिवारलाई कृषि पेसामा आकर्षित गर्न उत्पादनमा आधारित अनुदान कार्यक्रम सञ्चालन गरिने जनाइएको छ । त्यसैगरी, बाली विशेषका पकेट क्षेत्र निर्धारणका लागि आवश्यक पहल गरिने भएको छ ।
नगर सभामा नीति तथा कार्यक्रम सार्वजनिक गर्दै नगर प्रमुख आचार्यले विद्यालयहरूको भौतिक पूर्वाधार निर्माणमा जोड दिँदै विद्यालय तहको शिक्षामा सबैको पहुँच पु¥याउन र गुणस्तरीय शिक्षण सिकाइका लागि शिक्षकहरूलाई तालिमको व्यवस्था गरिने जनाए । स्थानीय पाठ्यक्रमको प्रभावकारी कार्यान्वयनका लागि ‘विद्यार्थीसँग जनप्रतिनिधि’ कार्यक्रम सञ्चालन गरी यस क्षेत्रका अग्रजहरूलाई विद्यार्र्थीहरूसँग भेटघाट गराई स्थानीय पाठ्यक्रमका विषयवस्तुको सहजीकरण गर्ने नीति लिइएको छ ।
त्यस्तै, नैतिक, अनुशासन र जिम्मेवार मानव मूल्यको ज्ञानका लागि प्रत्येक महिनाको अन्तिम शुक्रबार पाठ्यक्रमरहित शिक्षण सिकाइ तथा आफ्नो भेषभूषा अनुसारको पोसाकमा विद्यार्थी व्यवस्थापन गर्ने कार्यक्रम घोषणा गरिएको छ । कोहलपुर–१४ स्थित राम माविमा अजिटम भएका विद्यार्थीहरूका लागि व्यवस्थित पठनपाठनको व्यवस्था गरिने जनाइएको छ ।
विषयगत शिक्षकहरूलाई विद्यार्थीको सिकाइ उपलब्धिप्रति जिम्मेवार बनाउन नगरस्तरीय कक्षा ८ को परीक्षामा कम्तीमा ५० जना वा सोभन्दा बढी विद्यार्थी सहभागी बनाई उच्च सिकाइ उपलब्धि हासिल गराउने शिक्षक तथा विद्यालयलाई प्रोत्साहन उपलब्ध गराउने नीति लिइएको छ । विद्यालयमा खेलकुद तथा अतिरिक्त कार्यक्रम सञ्चालन, पठन सीप विकासका लागि पढाइ मेला सञ्चालन तथा शिक्षण अनुभव आदान–प्रदानका लागि शैक्षिक अवलोकन भ्रमणको व्यवस्था मिलाइने भएको छ ।
खेलकुद विकासका क्षेत्रमा कोहलपुर नगरपालिकाले खेल प्रशिक्षकहरूको व्यवस्था गरी विद्यालयहरूमा घुम्ती प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ । त्यसैगरी, खेलकुदमा स्थानीय जनशक्ति उत्पादन र विकासमा जोड दिन मुख्यमन्त्री कोहलपुर गोल्डकप फुटबल प्रतियोगिता, सुशील कोइराला क्रिकेट प्रतियोगिता र अन्य स्थानीय प्रतियोगितालाई निरन्तरता दिइने भएको छ ।
आधारभूत स्वास्थ्य सेवामा सबै नागरिकको पहुँच सुनिश्चित गर्दै स्वास्थ्य सेवालाई निःशुल्क, सर्वसुलभ र गुणस्तरीय बनाउने जनाइएको छ । स्वास्थ्य बिमा कार्यक्रमलाई थप प्रभावकारी बनाउन नेपालगन्ज मेडिकल कलेजको समन्वयमा कोहलपुर नगर अस्पतालबाटै स्वास्थ्य बिमा कार्यक्रम सञ्चालन गरिने भएको छ ।
सञ्चार क्षेत्रको संस्थागत विकास, प्रोत्साहनका लागि सञ्चार नीति तथा सञ्चारकर्मीहरूको क्षमता अभिवृद्धि कार्यक्रमहरू अगाडि बढाउने नगरपालिकाले नीति लिएको छ । त्यस्तै, स्थानीय भाषा, साहित्य, कला, संस्कृतिको विकासका लागि कोहलपुर र वाङ्मय प्रतिष्ठानमार्फत रचनात्मक तथा सिर्जनशीलता अभिवृद्धिका लागि योगदान गरिने भएको छ ।
त्यस्तै, लैंगिक समानता तथा सामाजिक समावेशीकरण, वन, वातावरण, सरसफाइ र विपद् व्यवस्थापन, सुशासन तथा संस्थागत विकासका सन्दर्भमा विभिन्न कार्यक्रम अगाडि सारिएको छ । त्यस्तै, कोहलपुर नगरपालिकाले आफ्नो नीति तथा कार्यक्रममा ‘हरित सहर अभियान’, ‘उज्यालो कोहलपुर’, ‘कृषि उत्पादनमा वृद्धि ः नगरको समृद्धि’, श्रमको सम्मान नगरको अभियान’, ‘एक विद्यालय एक बगैँचा’, ‘विद्यार्थी तथा अभिभावकसँग जनप्रतिनिधि’, जस्ता लोकप्रिय नाराहरू अगाडि सारेको छ ।
नगर प्रमुख आचार्यले सार्वजनिक गरेको नीति तथा कार्यक्रममा नगर सभा सदस्यहरूले विभिन्न सुझावहरू राखेका थिए । उनीहरूले नीति तथा कार्यक्रम राम्रो भए पनि केही विषय छुटेकाले ती विषयहरूलाई समावेश गर्न आग्रह गरेका थिए । नगर सभा सदस्य गोविन्द वाग्लेले नीति कार्यक्रम अत्यन्तै उत्कृष्ट रहे पनि अपांगता, गर्भवती महिला तथा ज्येष्ठ नागरिकहरूका विषयमा नीति कार्यक्रमले सम्बोधन गर्न नसकेकाले थप गर्न सुझाव दिए ।
त्यसैगरी, अर्का सदस्य ईश्वरीप्रसाद विश्वकर्माले सामाजिक विकास समितिका कामहरूबारे नीति तथा कार्यक्रम मौन रहेको गुनासो गरे । त्यस्तै, गोमा खनालले मध्यवर्ती क्षेत्रका लागि विगतदेखि नै बजेट माग भए पनि बजेट व्यवस्था हुन नसकेको र वडा सदस्यहरूलाई चाहिँदाको भाँडो नचाहिँदाको ठाँडो बनाइएको गुनासो गरिन् ।
त्यस्तै, नगर सभा सदस्य तथा वडा नम्बर ११ की अध्यक्ष कल्पना शर्माले नीति तथा कार्यक्रम अध्ययन गर्ने पर्याप्त समय नपाएको गुनासो गर्दै कोभिडका बेला स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण योगदा पु¥याएको कोहलपुर–२ स्थित प्राकृतिक चिकित्सालयलाई बजेट नपारिएकोमा आपत्ति जनाइन् ।
त्यस्तै, नगर सभा सदस्य तथा वडा नम्बर ३ का वडाध्यक्ष माधव रिजालले वडाबासीका अपेक्षा धेरै हुने तर वडामा आउने बजेट सीमित हुने भएकाले काम गर्न अप्ठेरो हुने गरेको बताए । कोहलपुरको साँच्चिकै विकास गर्ने हो भने नहर छेउछाउका जग्गामा प्लटिङ गर्ने कार्यलाई निरुत्साहित गरिनुपर्ने, हरियाली प्रवद्र्धनलाई जोड दिइनुपर्ने, भारतीय फलफूल तथा तरकारीलाई विस्थापित गर्न ठाउँठाउँमा हाट बजार निर्माण गर्नुपर्नेलगायतका सुझाव दिए ।
त्यसैगरी, वडा नम्बर २ का वडाध्यक्ष हरिसिंह कठायतले कोहलपुरलाई बेरुजुमुक्त नगरपालिका घोषणा गर्नुपर्ने र मध्यवर्ती क्षेत्रका किसानका लागि विशेष कार्यक्रममार्फत सम्बोधन गरिनुपर्ने धारणा राखे । वडा नम्बर १ का वडाध्यक्ष बद्रीप्रसाद जैसीले शिक्षा सुधारका लागि परीक्षाका बेला सिसिटिभी राख्नुभन्दा अहिलेदेखि नै विद्यालयहरूमा सिसिटिभी राखेर शिक्षण सिकाइमा सुधार गर्नुपर्ने सुझाव दिए ।
नगर सभा सदस्यका सुभावपछि सभाका सभाध्यक्ष तथा नगर प्रमुख आचार्यले आएका आएका उपयुक्त सुझावहरू कार्यक्रममा समेटिने प्रतिबद्धता जनाएका थिए । नीति कार्यक्रम पास गर्नका लागि सभाध्यक्षले गरेको प्रस्तावलाई बहुमत नगर सभा सदस्यले ताली पड्काएर समर्थन जनाएका थिए ।
कोहलपुरको बजेट १ अर्ब ५ करोड
कोहलपुर नगरपालिकाले आगामी वर्षको नीति तथा कार्यक्रमसँगै बजेट सार्वजनिक गरेको छ । कोहलपुर नगरपालिकाकी उपप्रमुख संगीता सुबेदीले आगामी आर्थिक वर्षका लागि नगरपालिकाको अनुमानित आय–व्यय विवरण सार्वजनिक गरेकी हुन् ।
कोहलपुर नगरपालिकाले आगामी वर्षका लागि १ अर्ब ५ करोड ९ लाख २७ हजार रुपैयाँको अनुमानित बजेट प्रस्तुत गरेको छ । जसमा चालुतर्फ ६७ करोड २५ लाख ९३ हजार २ सय ८० रुपैयाँ अर्थात ६४ प्रतिशत बजेट विनियोजन गरिएको छ भने पुँजीगततर्फ ३७ करोड ८३ लाख ३३ हजार ७ सय २० रुपैयाँ विनियोजन गरिएको छ ।
वडास्तरबाट छनोट गरिने योजनाका लागि ७ करोड ४७ लाख विनियोजन गरिएको छ । जसमा योजना र कार्यक्रमका आधारमा प्रत्येक वडामा ४७ देखि ६० लाखसम्म बजेट विनियोजन गरिने उपप्रमुख सुबेदीले बताइन् । आर्थिक विकासका लागि नगरस्तरीय योजनाका लागि १ करोड ५ लाख रकम विनियोजन गरिएको छ ।
त्यसैगरी, सामाजिक विकासका लागि सामाजिक विकास समिति र शाखाहरूमार्फत खर्च गर्नेगरी एकमुष्ठ ८ करोड ७० लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ । कृषि क्षेत्रमा कृषकहरूलाई ५० प्रतिशत अनुदानमा कृषि सामग्री उपलब्ध गराउनका लागि बजेटको व्यवस्था गरिएको उपप्रमुख सुबेदीले बताइन् । महिला, दलित, जनजाति तथा लक्षित वर्गको सशक्तिकरणका लागि आवश्यक बजेट विनियोजन गरिएको उनले बताइन् ।
थोरै लगानीबाट धेरै प्रतिफल हासिल गर्नुपर्ने भएकाले सोही अनुसार बजेट विनियोजन गरिएको उपप्रमुख सुबेदीले बताइन् ।
उपप्रमुख सुबेदीले नगर सभामा प्रस्तुत गरेको बजेटमाथि नगर सदस्यहरूले छलफल गर्नेक्रम जारी छ । आगामी असार २९ गते बस्ने दोस्रो नगर सभामा छलफलपछि बजेट पारित हुने उपप्रमुख सुबेदीले जानकारी दिइन् ।
प्रतिक्रिया दिनुहोस्