कोहलपुरमा हाल दैनिक करिब ५० लाख लिटर पानीको माग हुने गरेको छ तर सो मागको आधाआधी दैनिक करिब २६–२७ लाख लिटर मात्र पानी वितरण भइरहेको छ । अन्य वर्षहरूमा भन्दा यस वर्ष कोहलपुरमा पानीको संकट बढी देखिएको हो । लामो समयसम्म पानी पर्न नसक्नु र अध्यधिक गर्मी र खडेरीका कारण पानीका स्रोतहरू सुक्नुले पनि समस्या बढेको देखिएको छ ।
कोहलपुर ।
कोहलपुरमा पछिल्लो समय खानेपानीको समस्या बढ्दै गएको छ । दिनप्रतिदिन खानेपानीका उपभोक्ता बढिरहेका छन् तर मागअनुसार खानेपानी वितरण हुन नसक्दा यहाँका उपभोक्ताले आवश्यक मात्रामा पानी उपभोग गर्न पाइरहेका छैनन् । कोहलपुरमा हाल दैनिक करिब ५० लाख लिटर पानीको माग हुने गरेको छ तर सो मागको आधाआधी दैनिक करिब २६–२७ लाख लिटर मात्र पानी वितरण भइरहेको कोहलपुर बृहत् खानेपानी उपभोक्ता संस्थाले जनाएको छ । विविध कारणले यो सिजनमा माग बढी हुने गरेको र मागका आधारमा पानी पु¥याउन नसकिएको संस्थाका अध्यक्ष टेकनारायण भुसालले जानकारी दिए ।
संस्थाले यो सिजनमा उपभोक्ताको माग धान्न नसके पनि अन्य समयमा भने पर्याप्त पानी वितरण गर्न सक्षम भएको उनले बताए । ‘विविध कारणले यो सिजनमा पानीको माग अत्यधिक बढ्ने गरेको छ,’ उनले भने, ‘तर दुई तीन महिनापछि पानीको माग ह्वात्तै घटेर आधाआधीमा आउने गरेको छ ।’ योे समयमा सबै उपभोक्तालाई पानी पु¥याउन हम्मेहम्मे परेको उनले जानकारी दिए ।
कोहलपुरमा प्रत्येक दिन उपभोक्ताको संख्या बढिरहेको छ । तर पानीको स्रोत भने आवश्यक मात्रामा बढ्न सकेको छैन । खानेपानी संस्थाको तथ्यांकअनुसार कोहलपुरमा अहिले खानेपानीका करिब ५६–५७ सय उपभोक्ता रहेका छन् । अन्य वर्षहरूमा भन्दा यस वर्ष कोहलपुरमा पानीको संकट बढी देखिएको छ । लामो समयसम्म पानी पर्न नसक्नु र अध्यधिक गर्मी र खडेरीका कारण पानीका स्रोतहरू सुक्नुले पनि समस्या बढेको देखिएको छ ।
भूमिगत स्रोतबाट पानी संकलन गरेर उपभोक्तालाई वितरण गर्दै आएको संस्थाले पानी पु¥याउन नसकेपछि वितरणको समयमा केही कटौती समेत गरेको छ । ‘अन्य सिजनमा हामी बिहान ५ घन्टा र बेलुकी ५ घन्टा पानी वितरण गथ्र्यौं,’ अध्यक्ष भुसाल भन्छन्, ‘तर यतिबेला ३ घन्टा वितरण गर्दै आएका छौँ, सेड्युल मिलाएर कुनै लाइनमा बिहान र कुनैमा बेलुकी पनि पानी छोड्दैै आएका छौँ ।’
यही समयमा व्यक्तिका ह्यान्डपम्प र अन्य पानीका स्रोत सुकेकाले पनि खानेपानीमा निर्भरता ह्वात्तै बढ्ने गरेको छ । ‘कतिपय उपभोक्ताले आफ्नै स्रोतबाट पानीको उपभोग गर्दै आएका थिए । तर ती स्रोत पनि सुकेपछि उनीहरू खानेपानीको धारा जडान गर्न आउने गरेका छन्,’ अध्यक्ष भुसाल भन्छन्, ‘लाइन विस्तार भएका क्षेत्रका नयाँ उपभोक्तालाई लाइन दिन्नौँ भन्न पनि मिलेन । महिनामा १०–१२ जनाको संख्यामा नयाँ उपभोक्ता थपिने गरेका छन् ।’
कोहलपुर बृहत् खानेपानी उपभोक्ता संस्थाले हाल कोहलपुरका ७ वटा वडामा खानेपानी वितरण गरिरहेको छ । जसमध्ये सबैभन्दा बढी उपभोक्ता ११ नम्बर वडाकै छन् । हिजोका दिनमा विशेषगरी टाउन प्लानिङ क्षेत्रभित्रका उपभोक्तालाई शुद्ध पानी वितरण गर्ने उद्देश्यले संस्थाको स्थापना भएको थियो ।
४ लाख ५० हजार लिटर क्षमताको एउटा खानेपानी ट्यांकी निर्माण गरेर यहाँका जनतालाई खानेपानी वितरण हुँदै आएको थियो । तर पछिल्ला दिनमा खानेपानीको माग बढ्दै गएपछि यसको क्षेत्र विस्तार गरियो । क्षेत्र विस्तार भएसँगै साना सहरी खानेपानी आयोजनामार्फत वडा नम्बर २ मा थप ४ लाख ५० हजार लिटर क्षमताको अर्को एउटा ट्यांकी स्थापना गरेर पानी वितरण गर्न थालिएको छ ।
अध्यक्ष भुसालका अनुसार हाल दुई वटा ट्यांकीमा एकपटकमा ९ लाख लिटर पानी जम्मा हुने गरेको छ । ट्यांकी थोरै भएकाले पनि ट्यांकीमा पानी जम्मा हुन पाउँदैन । पानी वितरण गर्दै गर्दाको समयमा पनि चारवटा मोटरले निरन्तर पानी तान्दै ट्यांकीमा जम्मा गर्ने गरिएको छ । ‘यता पानी वितरण पनि गर्दै जान्छौँ,’ अध्यक्ष भुसाल भन्छन्, ‘उता ट्यांकीमा पानी थप्दै जान्छौँ ।’
तर वितरण गरिएजति पानी ट्यांकीमा थप्न नसकिएको भुसालले जानकारी दिए । यही समस्यालाई सम्बोधन गर्न अहिले संस्थाले एडिबीसँगको साझेदारीमा वडा नम्बर १२ मा अर्को एउटा ट्यांकी थप्ने प्रक्रिया सुरु गरिसकेको भुसालले बताए । २०५८ सालमा एडीबीकै ७० प्रतिशत र संस्थाको ३० प्रतिशत साझेदारीमा यो आयोजना सञ्चालनमा आएको थियो ।
अर्कोतिर हिजोको आवश्यकतालाई हेरेर बनाइएका कतिपय खानेपानीका संरचना आजका लागि अपर्याप्त बन्दै गएका छन् । हिजो बस्ती सानो थियो । बाटाघाटा साँघुरा थिए । साना पाइपबाट पनि सहज रूपमा पानी वितरण भइरहेको थियो । तर आज बस्ती विस्तार र चौडा बाटाघाटा निर्माणसँगै ती पाइप कतै लिकेज हुने, कतै पाइपबाट पानी पर्याप्त नपुग्ने जस्ता समस्या बढ्दै गएका छन् ।
यही समस्यालाई सम्बोधन गर्न आफूहरूले बढी क्षमताका नयाँ पाइप नालीभन्दा बाहिर पर्ने गरी बिछ्याउने योजना बनाइरहेको अध्यक्ष भुसालले जानकारी दिए । ‘हिजो पाँच घरले खानेपानीका लागि ५० एमएमको पाइपले धान्थ्यो,’ उनले भने, ‘तर अब त्यही ठाउँमा ५० घरका लागि त्यही पाइपले कसरी धान्न सक्छ !’ वर्तमानको आवश्यकतालाई बोध गरेर नै अब ५० एमएमको पाइप विस्थापित गर्ने योजनामा आफूहरू रहेको उनले बताए ।
त्यसैगरी, वडा नम्बर १ र २ का लागि ९ लाख लिटर क्षमताको खानेपानी ट्यांकी निर्माण गरेर त्यसै क्षेत्रका जनतालाई पानी वितरण गर्ने योजनामा पनि आफूहरू रहेको उनले जानकारी दिए । त्यसका लागि आर्मी ब्यारेकको पछाडि १५ कठ्ठा २ धुर जग्गा प्राप्त गर्ने काम अन्तिम चरणमा रहेको उनले बताए ।
‘यी त भए तत्कालीन समस्या समाधानका उपाय,’ अध्यक्ष भुसाल भन्छन्, ‘दीर्घकालीन समाधानका लागि अन्य विकल्प नखोजी हुँदैन ।’ दीर्घकालीन विकल्पका रूपमा भेरी बबई डाइभर्सनका अलावा राप्ती नदीको पानी कोहलपुरसम्म ल्याउन सकिने सम्भावना रहेको पनि उनले बताए । कोहलपुरको ११–१२ किलोमिटरको दूरीमा राप्ती नदीबाट शीतल छहारी सामुदायिक वनमा एउटा ट्यांकी बनाएर पानी ल्याउने र त्यहीँबाट कोहलपुरमा पानी वितरण गर्न सकिने सम्भावना रहेको उनको भनाइ छ ।
‘कोहलपुरका लागि यो सबैभन्दा छोटो दूरी हो,’ अध्यक्ष भुसालले भने, ‘यसका लागि वनबाट एक हेक्टर जग्गा पनि लिइसकेका छौँ, बजेटका लागि प्रदेश सरकारसँग पनि कुरा भइरहेको छ ।’
प्रतिक्रिया दिनुहोस्