खडेरीले किसानलाई सास्ती



अत्यधिक गर्मीले पश्चिम तराईबासीको जनजिवन प्रभावितमात्रै होइन, किसानको कृषि कर्मलाई समेत प्रभावित पारेको छ । उच्च गर्मीसँगैको खडेरीले अन्नभण्डारको रूपमा चिनिने पश्चिम तराईका जिल्लामा अझै किसानले धानको बीउ राख्न सकेका छैनन् ।

बाँके ।

केही सातादेखि पश्चिम तराईमा उच्च गर्मीसँगैको खडेरीले किसानको कृषि कर्मलाई समेत प्रभावित पारेको छ । अत्यधिक गर्मीसँगै खडेरीले खेतबारी सुक्खा भएपछि पश्चिम तराईका किसानले धानको बीउ राख्न सास्ती भोगिरहेका छन् । समयमै पानी नपर्दा अन्नभण्डारको रूपमा चिनिने दाङ, बाँके, बर्दिया, कैलाली र कन्चनपुरका किसानले धानको बीउ राख्न पाएका छैनन् ।

सिँचाइ सुविधा भएको क्षेत्रमा धानको बीउ राखिएपछि उच्च गर्मीले त्यसलाई असर पु¥याएको छ । सिँचाइ सुविधा नपुगेको क्षेत्रमा घरायसी प्रयोजनका लागि राखिएका मोटर र कतिपय क्षेत्रमा खानेपानी धाराको पानी प्रयोग गरेर किसानले बीउ राखिरहेका छन् । कृषि ज्ञान केन्द्र बाँकेका प्रमुख शकील अहमद खाँले गर्मीले दैनिक कार्यमा मात्र नभएर कृषिका कामहरूमा समेत प्रत्यक्ष असर गरेको बताए ।

उनका अनुसार धानको बीउ राख्ने, तरकारीबाली लगायतमा समेत पानी नपर्दा किसानले सास्ती भोग्नुपरेको छ । अहिले धानको ब्याड राख्ने समय सुरु भएपनि किसान आत्तिहाल्नुपर्ने अवस्था भने नरहेको खाँले बताए । ‘लामो खडेरीका कारण सिँचाइ सुविधा नपुगेको क्षेत्रका किसानलाई धानको बीउ राख्न समस्या भएको छ’ उनले मिसन टुडेसँग भने, ‘अझै समय रहेकोले किसान अहिल्यै आत्तिहाल्नुपर्दैन ।’
असारको पहिलो सातासम्म मनसुन सक्रिय भएमा बाँकेमा धान उत्पादनमा असर नहुने खाँले बताए । धानको बीउ राखिसकेका किसानलाई दिउँसोको समयमा चर्को घामबाट जोगाउन भने उनले अनुरोध गरे ।

‘धानको बीउ जती छिटो राख्यो त्यती नै राम्रो हुन्छ । केही स्थानमा राखेको देखिएको छ । उहाँहरूलाई दिउँसोको समयमा घामबाट बचाउन आग्रह गर्दछु’ कार्यालय प्रमुख खाँले भने, ‘बीउ राखेको खेतमा पानी जम्मा हुन दिनुहुँदैन । सकेसम्म पानी बग्ने व्यवस्था मिलाउनुपर्छ ।’
बीउ राखेको खेतमा दिउँसोको समयमा पानी राखिराख्दा घामले तातिएर बीउ मर्ने सम्भावना रहने उनले बताए । बाँकेमा करिब २७ प्रतिशत क्षेत्रमा मात्रै सिँचाइ सुविधा पुगेको कृषि ज्ञान केन्द्र बाँकेले जनाएको छ ।

खडेरीले खेतबारी सुक्खा भएपछि किसानलाई यस वर्ष धानको बीउ राख्नै समस्या भएको छ । जेठ अन्त्यसम्म पनि वर्षा नभएपछि किसानले धान रोपाइँका लागि आवश्यक बीउ राख्न पाएका छैनन् । आकाशे पानीको भर पर्नुपर्ने किसानलाई यस वर्ष धानको बीउ राख्नै समस्या भएको किसान महासंघ बाँकेका अध्यक्ष कृष्णविक्रम केसीले बताए ।

सिँचाइको व्यवस्था नभएकाले किसानले धानको बीउ राख्न पनि आकाश हेरेर बस्नुपर्ने बाध्यता रहेको उनी बताउँछन् । ‘धानखेतीका लागि आवश्यक सिँचाइ, बीउ र मल नपाउँदा बर्सेनि गरिखाने किसानले दुःखमाथि दुःख झेल्नुपर्ने बाध्यता छ’, उनले भने, ‘समयमै बीउ राख्न नपाउँदा किसान चिन्तित भएका छन् ।’

जेठ सकिन लाग्दा पनि बीउ राख्न नपाएकाले यस वर्ष धान उत्पादनमा पनि कमी आउने चिन्ता बढेको खजुरा गाउँपालिका–२ का अगुवा किसान गेहेन्द्र धितालले बताए । उनका अनुसार मोटरको प्रयोग गरी रोपेको बीउ अत्यधिक गर्मीले सुक्न थालेको छ ।

एकिकृत कृषि तथा पशुपन्छी विकास कार्यालय बर्दियाका प्रमुख सागर ढकालले गत वर्षभन्दा यसवर्ष धानको बीउ राख्ने समय ढिलो भइसकेको बताए । ‘पोहोर यतीबेला जिल्लामा धानको बीउ राखिसकिएको थियो । पहिलेको भन्दा अहिले ढिला भएको छ’ उनले भने, ‘अझैं केही समयभित्र बीउ राख्न सकिए उत्पादनमा कमी आउँदैन ।’

आकाशको पानीको भरमा बीउ राख्नुपर्ने बाध्यता भएपनि अहिले नै किसान आत्तिहाल्नुपर्ने र डराइहाल्नुपर्ने अवस्था नरहेको कार्यालय प्रमुख ढकालले बताए । जिल्लाभर ५० हजार बढी हेक्टरमा धान खेती हुने गरेपनि लामो खडेरीका कारण किसानले धानको बीउ राख्न नसकेको उनले बताए । उनका अनुसार जिल्लामा करिब २७ प्रतिशत क्षेत्रफलमा मात्र सिँचाइ सुविधा पुगेको छ ।

प्रकाशित मिति : २०८१ जेठ २८ गते सोमबार